
टंक पन्थ

टंक पन्थ
नेपाली मन्त्र छाए अटुट जगतमा दिव्य छन् देवकोटा
आफै गाए सुनौला सुमधुर कविता भव्य छन् देवकोटा
दानी त्यागी सबै ती मदन र मुना सुन्दछन् देवकोटा
नेपालीका व्यथामा हरपल रचना गुन्दछन् देवकोटा ।।१।।
यात्रीका भावना ती विकल हृदयमा खोज्दछन् देवकोटा
मान्छेलाई सपारी मनुज सुजयमा बोल्दछन् देवकोटा
ऊर्जा ठान्छन् भिखारी अवसर नलिई चुड्दछन् देवकोटा
घण्टौँघण्टा छटाई प्रकृति गगनमा उड्दछन् देवकोटा ।।२।।
नेपाली भाव ल्याई समय लय बुझी उठ्दछन् देवकोटा
आशा विश्वास छायी जब प्रमिथसमा फुट्दछन् देवकोटा
प्यासी ठान्छन् कसैले विषय विनयका तिर्सना देवकोटा
जागा मान्छन् कसैले अविदित सुरका सिर्जना देवकोटा ।।३।।
गाथा गाई उकेल्छन् समय गतिसँगै सभ्यता ऊध्र्वगामी
शिक्षा ल्याई सुसेल्छन् रसमय कविता काव्यका दिव्यवाणी
कालामैला बगाई अविरल सरिता बग्दछन् देवकोटा
नेपाली गर्व गर्दै रसमय कविता रच्दछन् देवकोटा ।।४।।
पाखा पर्छन् सुराकी सकल मनुजका ब्रह्म हुन् देवकोटा
दाबा गर्छौँ नढाँटी रस गुण गरिमा मर्म हुन् देवकोटा
आस्था बन्छन् सबैका मृदुल महकिला शब्दमा दवकोटा
भेट्छन् सारा विचारी सघन गहकिला अर्थमा दवकोटा ।।५।।
आफू बोल्दै सुनौँ लौ कलमष नलिई छेक्छ को देवकोटा ?
ताते गर्दै हिँडौँ है अलमल नगरी भेट्छ को देवकोटा ?
आँखा आफ्नै लगाई सुझबुझ कसले देख्छ खै देवकोटा !
भाषा हाम्रो सजाई युगयुग कसले लेख्छ खै देवकोटा !! ।६।।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

