

टंक पन्थ
रोजौँ इमानका नेता मत नै अधिकार हो
खोजौँ सम्भावना हाम्रा लक्ष्यकै फलिफाप हो
स्वार्थका मोहमा फस्दा पछाडि पर्छ देश यो
मतले कसीमा जाँचौँ बुझौँ है परिवेश यो ।।
साझा चिन्तन जो राख्छन् तिनैलाई जिताउँला
योजना जसले थाल्छन् तिनैलाई जिताउँला
राष्ट्रको भार जो थाम्छन् तिनैलाई जिताउँला
दिएरै ज्यान जो लाग्छन् तिनैलाई जिताउँला ।।
रोजगारी खुलुन् हाम्रै श्रमका पसिना बगी
जनता गर्वले बाँचुन् नेपाली ममता पढी
योग्यको योग्यता नापी जिम्मेवारी दिलाइयोस्
समृद्ध राष्ट्रको नारा नसा नसा सजाइयोस् ।।
राजनीति बनोस् सेवा नेता पौरखमा बढुन्
कर्मका कर्मचारी यी सेवा भाव लिई चलुन्
कार्खाना देशमै खोलौँ समृद्धि शीघ्र आउँछ
ध्यानले साधना गर्दा युग नै स्वर्ण छाउँछ ।।
बग्दै छन् पसिना हाम्रा खाडीका धूपमा उता
बाँझियो उर्वरा धर्ती मक्कियो चेतना यता
झुटा आश्वासनै बाँड्ने प्रतिस्पर्धा छ देशमा
नेतृत्व रसमा डुब्छन् जनता खिन्न भोकमा ।।
प्रतिज्ञा अबको हाम्रो सदाचार सुशासन
आचारसंहिता बाँधी तोकौँ क्यै अनुशासन
मतको गरिमा सम्झौँ सौन्दर्य लोकतन्त्रको
नेपाली हितमा चल्ने बुझौँ यै दिव्य मन्त्र हो ।।
उज्यालो छाउनै पर्छ देशमा लोकतन्त्र छ
वासना ल्याउनै पर्छ युगको मूल मन्त्र छ
मतपत्र लिई सोचौँ देशको सब हालत
बेप्रवाह गरे आफ्नै अँध्यारो हुन्छ आगत ।।
छन्दः अनुष्टुप



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

