टङ्क पन्थ

टङ्क पन्थ

आस्था बलेको छ नयाँ बिहानी
संसार जागा तब बन्छ ज्ञानी
संस्कार पायौँ अविराम गायौँ
विश्वासको राग अनन्त गायौँ ।।१।।

धिक्कार भन्दै नहिँडौँ कसैले
चीत्कार गर्दै नभिडौँ कसैले
आधारमा धार म हाल्न थाल्छु
सद्भावमा भाव म गाल्न थाल्छु ।।२।।

लाचार हामी कति बन्नु आज
भन्छन् हरामी तब लाग्छ लाज
सक्दैन ताजा परिणाम भेट्न
लाग्दैन कोही महिमा समेट्न ।।३।।

संवृद्धिको खेल हुँदै भएन
आपस्तमा मेल हुँदै भएन
संसार जित्ने अभिमान हाम्रो
खोजौँ कता खै पहिचान हाम्रो ।४।।

आयोजना नै किन छुट्न थाले
विश्वासको ताज कहाँ खसाले ?
चल्दै नचल्ने किन बन्न थाल्यौँ
गल्दै गयौँ मात्र उधिन्न थाल्यौँ ।।५।।

बेला भयो लौ अब उठ्नुपर्छ
सङ्कल्प बोकी सब जुट्नुपर्छ
सन्देहले देह सिकिस्त हुन्छ
उद्देश्यको धेय सुषुप्त बन्छ ।।६।।

उद्गार हाम्रो किन सुन्न छाड्यौ ?
जाली तमासा किन बुन्न थाल्यौ ?
त्यागी बनी द्वेष निफन्न आऊ
जागा बनी देश समेट्न आऊ ।।७।।

छन्द- इन्द्रवज्रा