
रूद्र दाहाल
आयो नौलो माहामारी बिश्वसामु, फैलियो एकै चोटी
संसारलाई यसले सखापै पार्ने भो, रोकिएन यसको गति,
कति दुष्ट रहेछ यो कोरोना, ज्यान लियो निर्दोषको
यसलाई नियन्त्रण गर्न नसकेर, हार भयो विज्ञानको ।।१ ।।
लालाबाला अनि जवान र वृद्धवृद्धा, सबलाई निशाना लायो
आजसम्म मानवले गरेको विकासको, क्षणमै सखाप बनायो
मै हुँ भन्ने शक्तिशाली राष्ट्रहरुमा, पस्यो हुङ्कार लिई,
गयो बनाई स्वाहा मानवलाई, वेदना र चित्कार दिई ।। २ ।।
यो नै पहिलो भाइरस थिएन, विगतमा धेरै आए,
यसले जति विनाश अरुले गरेनन्, यसमा रहस्य छ के?
इतिहास साक्षी छ विनाशको, हाम्रै पालामा पनि,
खोजी गर्नु पर्यो अब मिली सब, यो हतियार पो हो कि? ।। ३ ।।
चाइना र अमेरिका प्रतिस्पर्धी छन्, यिनको कर्तुत पो हो कि?
जमाना बदलियो, समय बदलियो, युद्ध नै पो यो हो कि?
चाहिन्न अहिले सेना र हतियार, पुर्खाको पालामा जस्तो,
जीव अस्त्र लिएर संसारै मास्ने, यो चाला हो कि तिनको? ।।४ ।।
यो तथ्य एकदिन उजागर होला, ती दिन कुरी बसौं
आफ्नो ज्यान जोगाउन जरुरी छ अहिले, घरभित्रै कुना पसौं,
सचेत भएर जति बसे पनि, एकदिन त पार्छ पासो
खोप या औषधीमध्ये एक नभई, फर्कन्न मानव हाँसो ।। ५ ।।
जाबो एउटा जीवाणुले यहाँ, संसार हल्लाई दियो,
यति उदण्ड हुनु भन्दा पहिले, कहाँ बसेको थियो?
बाँच्ने इच्छा त सबैलाई हुन्छ, यो धर्तिको रहर
जसरी नि यहाँ सहनै पर्या छ, यो कोरोना कहर ।। ६ ।।
लाग्दछ शंका मनमा घरिघरि, रोग या हतियार भनी,
यथेष्ठ प्रमाण अझै भेटिएन, टुंगो गर्नलाई पनि
एक दिन त यसको पक्कै नि टुंगो त, अवश्य नै लाग्नेछ
ती पापीहरुको विरुद्धमा सारा, संसार जाग्नेछ ।। ७।।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
३० जेष्ठ २०८३, शनिबार 










