संसार पूरै बन्द छ, मृत्युको डरले । के यस्तो दिनको कहिल्यै कल्पनासम्म गरेका थियौं र ?
खुला सीमा, खुला जीवन, खुला अर्थतन्त्र, खुल्मखुल्लाका समर्थकहरु सबै आफैँ सीमारेखा कोरेर आफैँलाई कैदी बनाइरहेका छौँ । संसारकै सर्वश्रेष्ठ प्राणी भनेर आफैँले आफैँलाई घोषणा गरेका हामी मृत्युको डरका कारण पुराना बिर्सिसकेका सीमाहरुलाई सम्झाइरहेछौँ, नयाँ सीमाहरु कोरिरहेछौँ । मानिसहरुलाई टुक्राटुक्रामा विभाजित गरिरहेछौँ । एकअर्कालाई जोड्ने सबै आधारहरुलाई अल्पकालीन मात्र हो भनेर तोडिरहेछौँ । जस्तै महादेशको सीमा, देशको सीमा, राज्यको सीमा, प्रदेशको सीमा, जिल्लाको सीमा, टोलको, हुँदाहुँदा परिवारकै सदस्यहरुबीच पनि सीमा कोरेर जिन्दगी बाँचिरहेछौँ।
सबै सम्बन्धहरुलाई थाँति राखेर बसेका छौँ । मित्रता, दाजुभाइ, दिदीबहिनी, छोराछोरी , बाबुआमा जेजस्तोसुकै नातालाई पनि दूरीमा राखिरहेका छौँ।
संसारका सर्वश्रेष्ठ तर दुःखी प्राणी हे मानव, यो किन तिमीलाई मात्रै भइरहेको छ ?
हिजो एक हुल बाँदरहरु सँगै आए । टोलभरिका घरआँगन चहारे । भेटेका खानेकुरा टिपे । एउटाले फलेको फलहरुको निरीक्षण गर्यो, खाएर हेर्यो, केराको पात पनि तीन पटक चपाएर हेर्यो । मीठो लाग्यो कि कुन्नी अर्कोलाई पनि दियो । उसको जीवनमा कुनै बन्देज छैन ।
परेवा पनि एक एक गरी आए । बिस्तारै एक दर्जन परेवा माटोमा ठुंग्दै खाँदै थिए । एउटा भाले परेवा सबै पोथी परेवाहरुलाई गर्दन फुलाएर घुर्रघुर्र गर्दै थियो । काग, ढुकुर, भंगेरा आदि भएभरका चराहरु ठूलो-ठूलो स्वरमा रमाइलो गर्दै थिए । म भने घरको झ्यालमा बसेर नजिकको छिमेकीसँग पनि नभेटीकन बसेको छु ।
एउटा सानो जमीनमा हजारौं बीउहरुले पालुवा हालेका छन्, बिरुवा बनेका छन् । फूल फुलेका छन्, फल फलेका छन्। मान्छेले नै काम गरेका छन्। उनीहरुको सामूहिक जीवनमा त केही पनि फरक परेको छैन ।
अहिले देखिरहेको छु, सडक सुनसान छ तर बैजनीमा सिंगारिएर सिरिषहरु बैंशले मात्तिएर बसेका छन् तर मान्छे, ऊ भने आफैँसँग आतंकित छ । अलिकति रुघा लाग्यो भने, अलि खोकी मात्र लाग्यो भने, पनि आत्तिरहेछ, कतै मेरो मृत्युको संकेत त होइन ? त्यति मात्र कहाँ हो र ? मलाई यो किन भयो ? कसरी सर्यो ? कसले सार्यो ? हेर्छ शंकाको दृष्टिले आफैँलाई र आफ्नै नजिककाहरुलाई ।
मानिसले अहिलेसम्म आर्जन गरेको सम्पत्ति, निर्माण गरेको भौतिक पूर्वाधार, जानेको ज्ञान, व्यवस्था, संस्कृति, विकास, सबैलाई चुनौती दिएको छ, एक अज्ञात मृत्युको डरले । न धनी न गरीब, न निर्धा न शक्तिशाली, न सानो न ठूलो कसैलाई पनि यसले बाँकी राखेन । त्यसो गर्दा पनि मानिसले आफ्नो शक्ति विभेदमै खर्चेको छ । यो विपतमा पनि आफूले गर्न सक्ने विभेद भने रोकेन । दुःख पाउनेमा गरिब नै भए, अपहेलित त निर्धा नै भए ।
अर्को देशमा दशौंलाख मानिस मार्न तयार हुने पनि त्रसित छ । पुरै शहरमा आगो लगाउने पनि थर्कमान छ । खरबपतिहरु डराइरहेछन् । निर्धा र गरिब त जहिले पनि जोखिममै थिए । उसलाई एउटा अर्को जोखिम थपियो ।
म सुन्छु कतिपय मानिसहरु स्वैच्छिक मृत्युको साधना गर्थे रे ! मृत्युको पूर्व संकेत हुन्थ्यो रे ! मृत्युपूर्व आफ्ना कुराहरु भन्न पनि भ्याउँथे रे ! खै यो कस्तो साधना हो ? कस्तो शक्ति, कसरी प्राप्त गर्ने हो ?
आम रुपमा यसरी सोच्न कहाँ फुर्सद छ र ? मानिसहरुलाई त पैसा जम्मा गर्ने हतार जो छ ! सबै पैसामै आएर त अड्किरहेको छ । अझै पैसा कमाउँदा कमाउँदै उसले आफ्नै हत्या गरेको पत्तो पाइरहेको छैन ।
अहिले संसार बन्द छ । खरबपतिहरु टाट उल्टिने क्रममा छन् । सबैले पैसा होइन, ज्यान बचाउन लागेका छन् । उनीहरु जो अरुको मृत्युमा आफ्नो व्यापारको भविष्य देखिरहेछन्, यस्तो बेलामा प्रेमको स्थान कहाँ ?
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।