पत्रु खाना न खाएर, ताजा स्वस्थ खान सिकौं,
कोरोनालाई हराउन, कोरोना संगै बाँच्न सिकौं।
केही हिँडौं, अल्ली उफ्रौं, कसरतको रोपौं बिउ,
प्राणायामलाई जीवनमा, हामी थोरै समय दिऊँ।
फूल बिरूवा, पशु पंछी सबलाई हामी माया गरौं,
मान्छे झ्वाट्ट नजिक आए, हामी अल्लि पर सरौँ।
अंगालेर आधुनिकता, हातै मिलाउन कोही आउलान् ,
प्रेमपूर्वक किटाणुलाई, फुत्त हामी तिर सार्लान्।
स्नेह सहित नमस्कारमा आफ्ना दुबै हात जोडौं,
थन्क्याइएको संस्कारलाई, अब पुनः बाहिर झिकौं।
चीनमा खोक्दा, इटलीमा, पर्न गयो प्राण घात,
एकै रैछ विश्व सारा, एउटै रैछ हाम्रो जात।
घर, तराई, पहाड, हिमाल, स्वच्छ हामी राख्न जुटौं,
हुने खाने सबै मिलि, हुँदा खानेको मर्का बुझौं।
किटाणुका मित्रलाई, शत्रु हामी बनाऊँ आज,
उस्का शत्रु, हाम्रा मित्र, यो हो जितको अर्को राज।
नआत्तिई, नडराई, होशियार बन्न सिकौं,
बाढी आऊॅदा खोला तर्न, छाल संगै बग्न सिकौं।
कोरोनालाई हराउन, कोरोना संगै बाँच्न सिकौं,
कोरोनालाई हराउन, कोरोना संगै बाँच्न सिकौं।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

