साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

कोरोनाको पराजय

कथा

लक डाउन — लकडाउन — लक डाउन
सबैतिर छ लकडाउन । पसल, गाडी, स्कुल, कलेज, कलकारखाना सबै सटडाउन छ । कसरी आयो यत्रो हाहाकार मच्याउने आँधीबेरी ! धेरैजसो मानिसहरू घरभित्र बन्दी हुन बाध्य छन् । घर नहुनेहरू वा अस्थायी जागिर हुनेहरू आफ्नो घर फर्कन सडकमा लामबद्ध भएर भोकै र प्यासै हिँडिरहेका छन् । कोरोना कहर जताततै छ । गाउँदेखि शहरसम्म, देशदेखि महादेशसम्म यसले आफ्नो विध्वसकारी चरित्र देखाइरहेको छ । लक डाउन भएको झण्डै डेढ महिना नाघिसकेको छ । अब केही हल्का होला भन्दाभन्दै नेपालमा कोरोनाबाट सुत्केरीको मृत्यु भएपछि अझ त्रास बढ्दै गएको छ । मन अशान्त छ, छटपटी छ, बेचैन छ । किन हो मास्तिष्कले के सोचिरहेछ थाहा नै पाउँदिनँ । कहिल्यै त्यसै रिसाउन मन लाग्छ । कहिले कहाँ जाउँ, कहाँ जाउँ हुन्छ । आजकल त बिहान तीन बजे निद्रा टुट्छ । बिहान केही समय योग गरेर चिया नास्ता खाएर फेरि खाना पकाउन सुरु गरिहाल्छु ।
जेठो छोरा आइपुग्छ किचनमा ल्यापटप बोकेर ।
ऊ भन्छ, ‘मम्मी चिया खाऊँ न ।’
मलाई झनक्क रिस उठ्छ । म भन्छु, ‘म अब सक्दिनँ आफैँ पकाएर खा । त्यही एउटा ठाँडोमा झुन्डिएको छ झुन्डिएको छ । बुहारी लिएर आइज । घरधन्दा हेर्छे भनेको नि सुन्नु छैन ।’
छोरा नम्र भएर भन्छ, ‘उसलाई अहिले बिहे गर्नु छैन रे मम्मी ! उसको करिअर बिग्रन्छ रे ! जागिर छ फेरि पढदै छे ।’
‘हो उसको करिअर बिग्रन्छ । म बूढो हड्डी खियाइरहुँ ? यो घरधन्दा भन्ने कुरा सानो हो ? दिनभरि यही भान्सामा बित्छ मेरो । अझ लकडाउन भएदेखि त यो घरको भान्से बज्यैजस्ती भा छु म । त्यत्रो फेसन डिजाइनर मान्छे, यो घरको सुसेधन्दाले समय खान्छ । फेरि यो कोराना असत्तीले त्यत्रो व्यापार डामाडोल हुने भो । पसलको भाडा कसरी तिर्ने होला ? ती बुटिकका फेसनदार लुगा किन्न को आउला ? बिहेको सिजन थियो, कति कमाइ हुन्थ्यो, सब हावामा उडेर गयो । अब कसले किन्छ त्यत्रा महँगा लुगा ? मान्छेलाई खानु र बाँच्न नै धौधौ हुने भयो,’ भनेर छोरालाई भन्न मन थियो तर भन्न सकिनँ । यी वाक्य भित्रभित्रै दबिए तर मुखबाट चाहिँ अर्कै वाक्य निस्कियो ।
‘तिमीहरू बाउछोरा दिनभर तास खेलेर, लुँडो खेलेर, टिभी हेरेर बस्छौ, मलाई काम सघाए पनि हुने नि !’
प्राय शान्त रहने म अलिक रिसाएर बोलेको सुनेर छोरो नम्र हुँदै भन्न थाल्छ, ‘मम्मी, हजुर किन रिसाउनु भएको ? काम गर्ने फूलमाया छँदैछे नि । ऊ सबै काम गर्छे त ।’
किन हो मलाई निकै रिस उठिरहेको थियो । म अलिक चर्को स्वरमा बोल्छु, ‘हो तिमेरु काम गर्ने छ भनेर सोच्छौ हैन ? उसलाई पनि त अह्राउन पर्यो । फेरि उसको घरमा केटाकेटी स्कुल जाँदैनन् । घर छिट्टै पुग्न परो । अनि यो घरमा कति काम हुन्छ तिमीहरूले हिसाब गरेका छौ ? बरु नितालाई खुरुक्क बुहारी बनाएर लिएर आइहाल । मलाई कामको बोझ कम हुन्छ । कति रिलेशनसिपमा बस्छौ ?’
‘मम्मी रिल्याक्स । अरू दुई वर्ष हेरौँ न, उसको प्रमोसन हुन्छ अनि बिहे गरुँला । प्राइभेट बैंकमा काममा कति खटाउँछ । म त अहिले घरव्यवहार हेर्न सक्दिनँ भन्छे ।’
‘अहिलेका केटीहरू हामी जस्ता हुन् र ? मारे पाप, पाले पुण्य भनेर तील जौ समाएर क्रिया सारेर दिएका हुन् । काँचो माटोजस्तो थियो दिमाग, जे सिकाए नि सिक्ने । विरोध कहिल्यै गर्न नहुने । जे भने पनि ज्यू, हजुर, हवस् बाहेक केही बोल्यो कि घरका सबैका आँखा पोल्ने, मन पोल्ने । कताबाट आफूले अनेकौँ दुःख हण्डर खाएर फेसन डिजाइन सिकियो । नत्र त उही हो उनीहरूको सम्पत्ति खान परेको भए आज कुन हालत भइसक्थ्यो । अहिलेका केटीहरू हामीजस्ता हुन् र ? कति धेरै कुरा सोच्ने भइसके । कति परपक्व भइसके । रोमान्स गर्ने केटो पाएकै छ । घरमा बाउआमाले सबै कुरा ठीक्क पारदिएकै छन् । आफैँ स्वावलम्बी बनेका छन् । आफैँ निर्णय गर्न सक्ने भएका छन् । यस्तो पो जिन्दगी त ! हाम्रो जस्तो अभागी जिन्दगी हो र ? हामी माथिका पुस्ता बाउआमाका सारा आदर्श र संस्कार बोकेर हिँडिदिनु पर्ने अनि व्यवहारमा पनि उतार्नु पर्ने । कतै दायाँबायाँ गर्न नहुने । यति गर्दा पनि कहिल्यै सासूससुरा बाउआमालाई खुसी पार्न सकिएन । हामी मुनिका पुस्ता आफ्ना छोराछोरीको पनि कुरा सुनिदिनुपर्ने । उनीहरूको साइकोलोजी बुझेर व्यवहार गर्नुपर्ने । उनीहरू भने खाली आधुनिकतामा रमाउन चाहने । हाम्रा भावना, विचार र आर्दशका कुरा पटक्कै नसुन्ने । यी दुई पुस्ताका बीचका हामी कति धेरै चेपुवामा परेर निसास्सिएका हुन्छौँ । हामी माथिका पुस्तालाई पनि सधैँ खुसी बनाउनमा नै हाम्रो जिन्दगी बित्यो अनि मुनिका सन्तानका मनोभावना विचार र धारणमा आफूलाई ढाल्दै बित्यो । कति अभागी हाम्रो पुस्ता त ?’
मनमा यिनै कुरा खेलिरह्यो । छोरालाई भन्छु भन्छु भनेर सोच्दा सोच्दै मुखबाट त अर्कै कुरा पो निस्कियो । आजकल किन हो मलाई यस्तै हुन्छ । चित्त नबुझेको एउटा कुरा भन्छु भन्यो मुखबाट अर्कै कुरा निस्किन्छ । यो बुढेसकालको लक्षण हो कि कतै कोरोनाको असर पो हो कि ! एउटा कुरा भन्छु भनेर सोच्छु दिमाग अन्तै मोडिएको हुन्छ ।
‘खै भाइ के गर्दैछ ? उठेको छैन ? खाजा पकायो त्यसै हुन्छ । खाना पकायो त्यसै हुन्छ । खाने होइन । के भा छ त्यसलाई हिजो आज ?’
‘मम्मी खै त्यसलाई लभ ट्रेजडी पर्यो रे ! सलिनासँग ब्रेकअप भयो रे ! सिरियस छ । खान मन लाग्दैन भन्छ । बेलुका पनि म एक्लै खाएर सुत्न गएँ । हजुर सम्झाउनु है, त्यसलाई ।’
‘यत्रो तन्नेरी छोरालाई कसरी सम्झाउनु ? यस्ता लुगा फेरेजस्तो केटाले केटी फेर्ने केटीले केटा फेर्नेलाई पनि केको लभ ट्रेजडी पर्छ । किन सिरियस हुनु ? अहिले बेला ने यस्तै छ । सबैलाई टेन्सन छ । बुझनु पर्दैन ?’
म अलिक झर्कोफर्को गरेको मेरो श्रीमानले सुनिराख्नु भएको थियो । उहाँ हामी भएठाउँमा आएर भन्नुभयो, ‘आज अलिक घाम लाग्ला जस्तो छ । काठमाडौँमा पानी नपरेको धेरै भयो । गर्मी बढ्ला जस्तो छ ।’ बाउछोरा आँखा आँखाले इशारा गर्दै हाँस्न थाले ।
छोराले भन्यो, ‘हो बुवा, आज त आठतीस डिग्री होला जस्तै छ । चौतीस त पक्कै हुन्छ होला ।’
उनीहरूको कुरामा मेरो ध्यान मोडिएको बहाना गर्दै बाहिर हेर्छु । मेरो ध्यान मोडिन्छ । प्रायः घरमा यस्तो डिस्कस हुँदा मेरो ध्यान अन्तै मोड्न मेरो श्रीमान यस्तै चलाखी गर्नु हुन्छ । म पनि बुझेर पनि नबुझेझैँ गर्छु । बुझलाई राम्रोसँग चबाएर निलिदिन्छु अनि अबुझ उग्राइदिन्छु । मेरो अबुझार्ई उग्राइ देखेर आफ्नो मिसन सफल भएकोमा उहाँ खुसी मान्नुहुन्छ । यो बुझाइ र अबुझाइको भ्रममा हाम्रो जीवनको घामछाँया वर्षौंदेखि चलिआएको छ । यही घामछाँयाले मेरो जीवनमा लागेको इन्द्रेणी रङलाई खुसी सम्झेर बाँच्नु नै म सिमोन द वुभरको दोस्रो दर्जाको नागरिकको नियति बनेको छ ।
मलाई दिक्क लाग्छ । हेर्छु बाहिर घाम मजाले लागेको छ । ओहो ! भिटामिन डि कम भएको मान्छेले बिहानको घाममा बस्दा राम्रो हुन्छ भनेको सम्झन्छु । फेरि भिटामिन डि कम हुनेलाई कोरानाले अलिक सिरियस पारेको छ रे भन्ने विदेशको समाचार सम्झन्छु । बरु घाममा बसेर बोडी केलाउनु पर्यो, बिनासित्तिको छोरासँगको विवादलाई बिट मार्दै म घाममा बस्छु ।
त्यही बेला श्रीमान् आउनुहुन्छ अनि भन्नुहुन्छ, ‘आमाको कल थियो मेसेन्जरमा ।’
‘ए ऽ अनि काटिदिनु भयो ?’
‘काटिदिएको होइन आउँदा आउँदा यहाँ नेट ने टिपेन आफैँ काटियो ।’
‘भैगो म खाना पकाएपछि कल गरुँला ।’
म विगतमा आमासँग भएको यात्राको घामपानीमा रुझ्न पुग्छु ।
आमा भन्ने गर्नुहुन्थ्यो, ‘जेठीबाठी छोरी होस् छोरी । तैँले नगरे कसले गर्छ ? तेरा भाइबहिनी सानै छन्, बाउ पनि काम गर्न नसक्ने भए । जोरीपारीको अघि के गर्छस् ? यसो औषधि उपचार गरेर पठाइदे छोरी । काठमाडौँमा राम्रा डाक्टर छन् भन्छन् । हस्पिटल पनि पनि राम्रो छ रे ।’
यो मेरो जीवनको बर्खे झरी थियो, मैले कमाउन थालेपछिको । आर्थिक अभाव र अन्य समस्याले जति चुटे पनि मैले यो बर्खेझरी खेप्तै बाउलाई उपचार गरेर पठाइदिएँ ।
केही समयपछि आमाको फेरि फोन आयो यसरी, ‘छोरी के गर्छस्, भाइलाई क्याम्पस पढाउन सकिएन । आम्दानी केही छैन । यता बिग्रन्छ कि भन्ने डर उस्तै छ । उसका साथीसंगत राम्रो छैन । उतै लगेर पढाइदिइस् भने तलाई ठूलो धर्म हुन्छ । तँ छोरी हैन, छोरो भएर जन्मेकी रहिछस् । सकेसम्म जुवाइँसँग सल्लाह गरेर यति गरिदे छोरी । बाउआमाको भारबाट मुक्त हुन्छेस् ।’
यो मेरो लागि हिउँदे झरी थियो । काठमाडौँको महँगी र अभावमा मेरो जीवन हिउँदको चिसो सिरेटोलेझैँ कठयाङ्याग्रिए पनि सहनै पर्ने थियो । त्यसमाथि भाइको सम्पूर्ण लालनपालन र पढाइ खर्च व्यहोर्नुपर्दा हिउँदको चिसोमा झरी परेर इन्तु न चिन्तु बनेको थियो मेरो जीवन । यो झरीमा रुझ्दै मैले भाइलाई डिप्लोसम्मको सिँढी उक्लाइदिएँ । पढाइ सकेपछि भाइले अमेरिका जाने इच्छा गर्यो । उसको इच्छालाई मार्ने वा बदल्ने कुनै अस्त्र नै हामीले पाउन सकेनौँ । अन्तमा काठमाडौँमा साह्रै दुःख गरेर जोडेको सानो घडेरी बेचेर भए पनि मैले भाइलाई अमेरिका पठाउने विचार गरेँ । नभन्दै योजना सफल भयो । आमा-बुवा, भाइहरू साह्रै खुसी भए । म भने मेरो मुटुको टुक्राझैँ कति दुःख गरेर जोडेको जमिन बेच्नु परेकोमो दुःखी थिएँ ।
मेरा दुई छोरा पनि हुर्कंदै थिए । म काठमाडौँमा चिटिक्क परेको सानो सुन्दर घरको सपना देख्न थालेकी थिएँ । मेरा सपना दिनमा देखिने सपना नभई रातमा मात्र देखिने सपनामा सीमित हुन थाल्यो । भाइले अमेरिका गएर पैसा पठाउला अनि घर बनाउँला भनेर रातमा पनि नसुती नसुती देखेको सपना दिनपर दिन टुक्रिदै र छरिदै जान थाल्यो । म तिनलाई समेटन र बटुल्न नसक्ने अवस्थामा थिए । त्यो सपना साकार हुने सपना नभएर सुत्न नदिने सपना भएर निस्कियो ।
मेरो भावना र चाहना बुझेर मेरी आमा मेरो आत्मालाई मर्म हुने गरी लक्ष्यभेदी वाण हान्दै भन्नुहुन्थ्यो, ‘भाइ अमेरिका गएको छ । पैसा पठाइहाल्छ नि, अनि एउटा घर बनाउनु । तिमीहरूले धेरै गर्यौ माइतीका लागि । तँ छोरी हैन छोरा भएर जन्मेको रहिछस् । बाउआमाको जन्म दिएको भार तिरिस् छोरी तैँले । तेरा दाजुहरू मरेजस्ता भए । उनीहरू खेती किसानी गर्ने मान्छे, खासै पैसा हुँदैन । भए गर्थे होलान् । भाइलाइ पढाइबढाइ गरेर विदेश पठाइस् । तिमीहरू नै बाउआमा हौ । मैले भाइलाई पनि भनेको छु, हामीलाई केही गर्न पदैन । खानलाउन छँदैछ । दिदी भेनाजूलाई गर्नु । उनीहरूले कति दुःख गरेर हुर्काएका छन् ।
आमाको यो लक्ष्यभेदी वाँण अर्जुनको कहिल्यै हुन सकेन । त्यो वाणले कहिल्यै लक्ष्य पूरा गर्न सकेन । म मनमनै भन्थेँ ‘भोलि छोरीले दुःख पाउँछे अनि नातिनातिनासहित स्याहार गर्नुपर्छ भनेर मारे पाप पाले पुण्य भनेर क्रिया सारेर दिने हाम्रो हिन्दु संस्कृतिमा छोरीको कमाइ खाने बेलामा चाहिँ तँ नै छोरा होस् भन्दै छोरीको आश गर्छन् बाउआमा । कस्तो संस्कार हो ? पैसाको लागि त संस्कारको अर्थ जता लाँदा नि हुने रहेछ नि ! छोरीलाई नि छोरासरह हुर्काए भैहाल्यो नि, किन क्रिया सार्नु पर्यो र ? छोरा र छोरी एउटै हो भनेर संस्कारमा रहेको कुरीति सच्याउन मिल्दैन र ? हिन्दुधर्ममा भएका यस्ता कति कुप्रथा कुरीतिहरू समयअुनसार सच्चिदै गएका नै हुन् त ? त्यसो छोरीलाई नै छोरासरह अश दिने र क्रिया गर्ने अधिकार किन दिँदैन हाम्रो संस्कारले ? म यस्तै कुराले विचलित हुने गर्दथेँ ।
एक वर्ष दुई वर्ष गर्दै भाइ अमेरिका गएको पाँच वर्ष भयो तर उसले पैसा पठाउन सकेन । म नराम्ररी विचलित बनेँ । भाइ अमेरिका जाँदा बेचेको जमिनको भाउ दस गुनाले वृद्धि भएको थियो । अब त मैले किन्न सक्ने अवस्था नै थिएन । एक दिन त भाइले पैसा पठाउला भन्ने झिनो आशा लिएर बाँचेकी थिएँ र बाँचिरहेकी छु ।
एकछिन पछि जेठो छोरा ‘मम्मी मम्मी’ भन्दै चिच्याउँदै आयो ।
‘किन के भयो ?’ मेरो प्रश्न थियो ।
‘आमाले फोन गर्नुभएको छ मेरो मोबाइलमा । अघि मेसेन्जरमा लागेन भनेर भन्दै हुनुहुन्थ्यो ।’ (ऊ मेरो आमालाई आमा नै भन्दथ्यो )
‘ये खै ले बोल्छु म अघि पनि गर्नुभएको थियो रे ।’
‘हैलो … आमा दर्शन.. हजुर ऽ अँ ऽ हजुर ऽ’
‘के रे ? फोन लागेन रे ? ये ल..ल म गर्छु । अनि तपाईंलाई गरुँला । पीर नमान्नुस् ।’
यति भनेर मैले फोन राखिदिएँ । मेरो आँखाभरि आँसु भरियो । श्रीमानले सोध्नुभयो, ‘के भयो ?’
‘विपिनको फोन लागेन रे, आमाले भन्नुभएको अब के गर्ने होला ?’
‘अनि तिमी किन रोएकी त ?’
‘न रोएर के गर्नु ? हेर यो कस्तो आपत आइपर्यो । मेरो बूढीआमालाई कत्रो चिन्ता पर्यो । विपिनलाई ज्वरो आएको छ भन्थ्यो रे ! अमेरिकामा मान्छे मरेको मरै छन् । यो ट्रम्पपनि कस्तो मान्छे रहेछ ? उसको अर्थव्यवस्था बिग्रन्छ भनेर जति मान्छे मरे नि मरोस् भन्छ । उसका लागि त मान्छेको जीवनको कुनै मूल्य रहेनछ । सुरुमा उसैलाई कोरोना लागे पनि हुने अनि थाहा पाउँथ्यो, मान्छे ज्यानको महत्त्व कति हुन्छ भनेर । विपिनलाई केही भइहाल्यो भने के गर्ने होला ? लौन तपाईंका एनआरएनका कोही चिनेका मानिस छन् भने हारगुहार गर्न पर्यो ।’
मेरो कुराले मेरो श्रीमानलाई अलिकति पनि छोएको थिएन ।
‘हैन तपाईलाई केही हुँदैन ? जस्तै भा नि आफूले बाउआमासरह हुर्काएर पढाएर बढाएको साला हो । साला हरामी नै त होइन नि ! अलिकति माया त हुनुपर्ने हो । कुनै चिन्ता पीर देख्दिनँ ।’
‘मलाई त तिमीलाई देख्दा पो ताज्जुव लाग्छ । हिजोसम्म मैले यति गरेँ उति गरेँ उसले मलाई केही गरेन । केही हेरेन । मेरो गुण सम्झेन भन्थ्यौ । अहिले फेरि यो चिन्ता कहाँबाट आयो त ?’
मैले भनेँ, ‘हो, हामी महिला र तपाईंहरू पुरुषमा यही कुराको फरक छ । तपाईंहरू जे कुरा पनि मनमा राख्ने अनि गुन्ने । केही नभन्ने अनि जे कुरालाई पनि जहिले पनि पैसामा तौलने । यस्ता दुःखले हामीलाई मात्र पिरोल्ने । सारा दुःखको ठेक्का लिइदिने त हामी त हौँ नि ? तीजमा भोकभोकै बसेर तपाईंहरूको आयु लामो पारिदिने हामी । भाइटीकामा दाजुभाइको पूजा गरेर आयु र सुस्वास्थ्यको कामना गरिदिने हामी नै त हौँ नि ! अनि तपाईंहरूलाई किन पीर लिन पर्यो र हैन ?
जे भए नि भाइ हो ! मैले छोराजस्तै गरी हुर्काएकी हुँ । पैसा पठाएन त के भो ? मेरो मायालाई पैसासँग त तौलन सक्दिनँ नि म । पैसाले उसको मायालाई विस्थापित गर्न त सक्दिन नि ! त्यो माया राख्ने मेरो हृदयमा अर्कै कुना छ । जहाँ समवेदनाको पर्खाल लगाइएको छ, अनि मीठामीठा भावनाले लिपपोत गरिएको छ । तपाईंहरू व्यापारिक लेनदेन मात्र सोच्नुहुन्छ । त्यसलाई पगारेर माया, प्रेम, संवेदनामा कहिले बदल्न सक्नु हुन्न ।’
मेरो कुरा सुनेर मेरो श्रीमान चुप लाग्नुभयो । किनकि म मेरो भाइको मायामा निस्सासिने गरी डुबेकी थिएँ । यो कुरा उहाँले थाहा पाइसक्नुभएको थियो ।
भाइको मायाले मलाई भित्रसम्म दुखाउँछ । खान मन लाग्दैन । अमेरिकामा कोरोनाले मान्छेहरू कोठामा सुतेको ठाउँमा नै मरिराखेका छन् । कतिपय कागजपत्र नभएको अवस्थामा लुकेर बस्नेलाई झन् गाह्रो छ रे ! टिभीमा मानिसको लाससम्म गाड्न नभ्याएको दृश्यले मेरो मनमा दश रेक्टरको भुकम्प जान्छ । के गरौँ ? कसो गरौँ हुन्छ । हे भगवान् ! यो कस्तो अवस्था आयो ? संसारलाई नै आफ्नो शक्तिले थरथर कमाउने अमेरिका अहिले सानो जीवाणुसँग आफैँ कामिरहेको छ । विज्ञानमा यस्तो गरियो उस्तो गरियो भन्छन् विकसित देशहरू खै यसको औषधि पत्ता लगाउन सकेको ? हामी त नाथे मान्छे नै रहेछौँ, खै को एकजना कविले ‘हामी त नाथे मान्छे’ भन्दै कविता लेखेको देखेकी थिएँ त्यस्तै भइसक्यो । कत्रा कत्रा विज्ञानको चमत्कारले अचम्म पार्ने कुराहरू गरेको थियो मान्छेले । कति घमण्ड गरेको थियो मान्छेले तर अहिले खै के गर्न सक्यो र ? अहिले त एउटा जाबो आँखाले नदेख्ने जीवाणुसँग डराएर घरमा लुकी बस्नुपरेको छ ।
भाइलाई सम्पर्क गरेँ, हुन सकेन ।
आमाले भन्नुभएको थियो, ‘उसलाई ज्वरो आइराखेको छ रे ! हस्पिटलमा पनि भर्ना लिन मानेन रे ! साधारण ज्वरोको औषधि दिएर पठाएछ छोरी, के हुने हो ? खाली यति मानिस मरे उति मरे भनेको मात्र सुन्छु । के कसरी हुन्छ त्यहाँ कोही नेपाली छन् कि खोजखबर गर्नु पर्यो छोरी ।’
हो त साँच्ची, आमाले भनेजस्तै त्यता कोही नेपाली पो छन् कि चिनेका ! मेरी एकजना साथी टेक्सासमा नै बस्छु भन्छे । त्यसलाई सोधीखोजी गर्न पर्यो। आखिर विदेशमा नेपालीको सहयोगी अरू को हुन्छ र ? आफ्नै नेपाली दाजुभाइ त हो नि ! गरिराखेका पनि छन् । तर खै आफूलाई त उसको सम्पर्क ठेगाना पनि थाहा छैन । अब त पशुपतिनाथको भरोसा पर्नुसिवाय केही रहेन ।
म रातदिन भाइको सम्झनामा डुब्न थालेँ । मेरो घर बनाउने सपनालाई त भाइको मायाको सम्झनाले धुलीपिठी पारिदियो । मलाई मेरो भाइ बाँचेर आए अरू केही चाहिँदैन भनेजस्तै भयो । कति पटक भाइसँग सम्पर्क गरेँ, सम्पर्क हुन सकेन ।
हप्तापछि भाइको मेल आयो । भाइको यो समाचारको पर्खाइ मलाई वर्षौंझैँ लागेको थियो । मेल यस प्रकारको थियोः
आदरणीय दिदी भेनाजु
नमस्कार
म भाइ विपिनको ढोग छ । दिदी धेरै दिनपछि सम्पर्क गरिरा’छु । मलाई माफ गरिदिनु होला । मैले तपाईंहरूको मन दुखाएको छु । मलाई यति धेरै दुःख गरेर बुबाआमाले भन्दा नि धेरै माया गरेर हुर्काउन भयो । पढाइलेखाइ गरेर अमेरिका पठाउन मनग्गे खर्च गर्नुभयो । मैले तपाईंहरूको गुणको बदला केही गर्न सकिनँ । म आउँदा लागेका खर्चसम्म तिर्न सकिनँ । मलाई माफ गर्नु होला । म सोच्थेँ, अमेरिकामा डलर फल्छ होला तर त्यति सजिलो हुँदैन रहेछ । यहाँ आएर यहाँको नियमकानुन बुझ्नुपर्ने हुन्छ । केलजको फि बुझाउन, बस्नखानको लागि अपार्टमेन्टको खर्च जुटाउँदा जुटाउँदै जीवनदेखि नै हरेश लागेर आउँदो रहेछ । मेरा कतिपय साथीहरूले यो टेन्सन खप्न नसकेर सुसाइड गरे । मैले जसोतसो आफूलाई सम्हाल्दै लगेँ । एकदिन त सफल हुन्छु र तपाईंको सपनालाई साकार पार्छु भन्ने सोचेको थिएँ र सोचिराखेको छु । म पढाइमा राम्रो हुन सकिनँ, मैले राम्रो जागिर पनि पाउन सकिनँ । मैले भिसा थप्नको लागि पुनः कलेज एडमिसन गरेँ । खर्च बढ्दै गयो । काम पाउन पनि पहिलाको जस्तो सजिलो थिएन । म नेपाल फर्कन पनि सक्दिनथेँ । अब मैले अमेरिकामा नै बस्ने उपाय निकाल्न पर्यो । यसका लागि के गर्ने भनेर साथीभाइसँग सरसल्लाह लिएँ । उनीहरूले डिभी परेको केटीसँग विवाह गर्ने सल्लाह दिए । नभन्दै डिभी परेकी निशासँग मैले विवाह गरेँ तर यो कुरा गोप्य नै राखेँ । विवाह गर्नअघि हामीबीच एउटा सम्झौता भएको थियो । त्यो के भने, मेरो कमाइमा उसको अधिकार हुने । नभन्दै मैले कमाएको जति सबै उसलाई बुझाउनुपर्दथ्यो । पहिला कलेजलाई खानबस्नलाई ठीक्क हुन्थ्यो भने अब मैले सबै रकम निशाको हातमा दिनुपर्दथ्यो । मैले यो शर्त स्वीकार गरेको थिएँ । केही समयपछि आफैँ सबै ठीक हुनेछ भन्ने सोचेर यो गरेको थिएँ ।
तपाईंहरूलाई खुसी दिन नसकेको पीडाले म भित्रभित्रै जल्दथेँ । यो कुरा म निशालाई सुनाउन धेरै चोटि प्रयास गरेँ तर सकिनँ । बिस्तारै सबै ठीक होला भन्ने लागेको थियो । अन्तिममा मैले एकदिन उसलाई यो कुरा सुनाएँ । उसले यसलाई सहज रुपमा लिन सकिन । पहिला किन नभनेको भनेर उल्टै झगडा गरी । त्यसपछि मलाई तनावमा हुन थाल्यो। म मनोरोगी बन्दै गएँ । त्यसपछि बिस्तारै पबतिर रक्सी खाने लत बस्दै गयो । ममा अझै आशा थियो, एक दिन तपाईंको भारबाट म मुक्त हुन्छु भन्ने तर यो कोरोना महामारीले सबै तहसनहस पारिदियो ।
मलाई ज्वरो आएको सात दिन भइसकेको छ । डाक्टरहरूले घरमा नै बस् भनेका छन् । अनलाइनबाट सोधीखोजी गर्छन् । अस्पतालमा बेड छैन भन्छ । जीउ दुखेर खप्नुभएको छैन । श्रीमतीले ल्याएर राखिदिएको खाना अनि यहाँसम्म कि पानी पनि उठाएर खाने शक्ति ममा छैन । यो मेल पनि मैले मुश्किलले लेखिराछु । मन सधैँ नेपालमा हुन्छ । तपाईंले बिमारी हुँदा स्याहार गरेको सम्झना आउँछ । तपाईंले भाइटीकामा पकाएको सेलरोटीको बासना हरहर आइरहन्छ । उडेर आफ्नै देश पुगुँजस्तो हुन्छ । तर खै ? कसरी होला र ? अमेरिकाको वैभव, चमकधमकमा हामी धेरै युवा अन्धो भएर आयौँ, आफ्नो मातृभूमिको मायालाई बिर्सेर । तर अहिले हामीलाई भगवानले प्रायश्चित गर्ने मौका पनि नदेलान् कि भन्ने लागेको छ । म भगवानसँग यही कामना गरिराछु कि मलाई नेपाल गएर प्रायश्चित गर्ने मौका देऊ भनेर अनि मर्न परे पनि मेरै देशमा मरुँ भनेर कामना गरिराछु । भगवानले मेरो कामना सुने भने म नेपाल आउनेछु दिदी अनि तपाईंको सेवामा जुटनेछु । म आउन सकिनँ भने मलाई माफ गरिदिनु दिदी । आइ एम भेरी सरी ।
उही तपाईंको अभागी भाइ विपिन
भाइको यो मेलले मेरो हृदय भारी भएर आयो अनि आँखाले हृदयको बोझ थाम्न नसकी तरल बनाई पोख्न थाल्यो । मैले भेललाई थाम्न सकिनँ ।
‘उफ्, मेरो भाइ तिमीलाई केही हुनुहुँदैन र हुँदैन पनि । तिमीले कोरोनालाई जितेर आउनुपर्छ । भाइ तिमी आउनुपर्छ । कोरोनाको पराजय हुनैपर्छ ।’
म मेलका शब्दशब्दमा भक्कानिन्छु ।
हृदयले भाइको मायालाई वेदनामा पोख्दै उच्छवास लिन थाल्यो । मैले भगवानलाई मेरो भाइको चिरिन्जीवी आयुका लागि प्रार्थना गरेँ । भाइटीकामा भाइको लामो आयुको लागि यमराजबाट जोगाउन गरेको संस्कार मनमनै कल्पना गरेँ अनि प्रार्थाना गरेँ, ‘हे यमराज, तिमी कोरोनारूपी मृत्यु बोकेर आयौ भने मेरो भाइलाई केही गर्न सक्नेछैनौ किनकि यो एउटी दिदीको भाइप्रतिको असीम प्रेमको शक्ति हो । त्यो शक्तिले तिमी कहिल्यै विजयी हुन दिने छैन।’

प्रतिक्रिया
Loading...