साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Sahityapost Book

नयाँ युगको संघारमा उभिएर

Chovar Blues Mobile Size

अनुभूति १
५३ दिनदेखि आँखाले पनि देख्न नसकिने एउटा कीटाणुको त्रासले घरभित्र बन्दी भएको छु । मलाई भनिएको छ, घरबाहिर मृत्युरुपि त्यो अदृश्य कीटाणु यमराजको रुपमा उभिएको छ, खबरदार ननिस्क घरबाहिर ! यस्तो लाग्छ, घरबाहिर निस्कियो भने उसले हामीलाई क्वाप्प पार्छ र सरासर मृत्युलोकतिर लैजान्छ । जहाँ पुगेपछि मानिस आजसम्म फेरि यस संसारमा फर्केर आएको छैन । यति सानो जीवले यस्तो सर्वशक्तिमान् मानव जातिलाई धम्की दिने ? मलाई घरीघरी त झोँक पनि चल्छ । उसको धम्कीदेखि तर फेरि आफैँलाई सम्झाउँछु- पख्, कतै उसको धम्की सत्य भइदियो भने ? म यो रमाइलो संसारमा छाडिहाल्न चाहन्न अहिल्यै । त्यसैले म घरभित्रै बन्दी बन्न राजी भएको छु, मृत्युको भय मनमा लिएर । कति निरीह रहेछ मानव जाति ! घरीघरी त मानव जातिकै सामर्थ्यप्रति अविश्वास हुन्छ मलाई, आखिर मानिसको शक्ति कहाँ छ त ? सायद मृत्युको भय नभएको भए ऊ यति निरीह भएर कोठाभित्र यति लामो समयसम्म कैद हुने थिएन ।
म बन्दी बनेर घरभित्र बस्न राजी भएपछि सडकमा तँछाडमछाड गरेर गुड्ने गाडीहरु पनि ग्यारेजभित्रै लुकेका छन् । मानिस सडकमा निस्कनु पर्दा मात्र पनि सोचिरहेको छ, कतै म त्यो कालरुपि कीटाणुको मुखमा त पर्दिनँ ? त्यसैले होला सडकमा मानव पाइला पातलिएका छन् । सडक लमतन्न परेर अट्टहास गरिरहेको छ र मानिसलाई भन्दै छ, हिजो त मलाई कुल्चेर बहादुरी देखाउँदै थियौ त, आज किन ममाथि पाइला राख्न पनि डराइरहेका छौ ? ऊ अट्टाहास यसरी गर्दैछ मानौँ, मानिस उसको अगाडि दुई कौडीको भएको छ अहिले ।
मेरो घरअगाडिका पुस्तौँसम्म पुग्ने धन कमाउन दिनरात नभनी खटिरहने व्यापारीहरु पनि चाउरिएर बिहान १० बज्दानबज्दै पसल बन्द गरेर गायब हुन्छन् । के धनप्रतिको मोह सकिएको हो उसमा ? सायद उसले पनि सोचेको होला जीवन नै रहेन भने धन केका लागि ? मलाई थाहा छैन मेरो यो बन्दी अवस्था कहिलेदेखि फुक्का हुने हो । मानिसलाई मृत्यु र बन्दी जीवनमा कुन प्यारो छ भनेर सोध्यो भने अहिले उसले बन्दी जीवन नै रोज्छ होला । म पनि त बन्दी बन्न पनि तयार भएको छु अहिले, जीवन पाउन । के मानिसको स्वतन्त्रताको प्यास मृत्युभयलाई जितेपछि सुरु भएको हो ? यदि होइन भने किन स्वतन्त्रताको खोजी गरिरहेको छैन मान्छे ? मानिसभित्र कि मृत्युको भय रहन्छ कि स्वतन्त्रताको प्यास, दुवै एकै ठाउँमा एकैसमयमा बस्न सम्भव छैन ।
…….
सुरुका दिनमा फुर्सत भएकोमा मानिसहरु उत्साहित पनि थिए । सामाजिक सञ्जाल क्रियाप्रतिकृयाको भीडले घेरिएका थिए । यसलाई उपयोग गर्न केहीले यस कीटाणुबाट कसरी बच्ने भनेर भिडियो बनाए । केहीले गीत गाएको, नाचेको, खाना पकाएको सबै भिडियो र फोटाहरु पोष्ट गर्ने होड चलाए । म पनि त्यसमा बगिरहेँ, अछुतो रहिनँ । केही दिन त हो नि केही अलमलिएका, नभ्याइएका, मन लागेका काम गर्छु, भ्याउँछु, केही नयाँ सिर्जना गर्छु यस्तो सोचेको थिएँ मैले ।
मलाई लागेको थियो अब मसँग प्रशस्त समय छ सिर्जनात्मक काम गर्न, टिप्पणी गर्न र जान्ने भइटोपल्न । किनकि म आफूलाई कलमजीवि पनि ठान्थेँ, सर्जक पनि मान्थेँ । दिन बित्दै गयो, बन्दाबन्दी लम्बिँदै गयो । मेरो सक्रियताको कल्पना छटपटीमा परिणत हुन थाल्यो । अवचेतनामा मृत्युको त्रास बोकेर सिर्जनात्मक हुन सक्तैन मान्छे । सिर्जनाका लागि आशा आवश्यक छ । समय प्रशस्त हुँदा सर्जक बनिन्छ भन्ने पनि भ्रम रहेछ । सिर्जनाको लागि त मन स्वतन्त्र हुनुपर्छ, भविष्यको उज्यालो हुनुपर्छ मनमा । ज्वार उठ्नुपर्छ मस्तिष्कमा, कल्पनाका छाल उर्लिनुपर्छ हृदयमा । पोखिने स्वतन्त्रताको अवसर हुनुपर्छ ऊभित्र । जब मृत्युको डरले सताउँछ त्यसपछि मानिस न सिर्जनात्मक हुनसक्तो रहेछ न कल्पनाशील । यो भ्रम नराम्ररी च्यातिएको छ अहिले मभित्र ।
अहँ मानिस फुर्सत भएर कल्पनामा रमाउने होइन रहेछ । समय पाउँदैमा कुनै गतिलो काम गरिहाल्ने पनि होइन रहेछ । समय पाउँदैमा र अरु कामले चापमा नपार्दा ठूलो लेखक, अध्येता बन्ने पनि होइन रहेछ । यस्ता निकैवटा भ्रम सखाप पारिदिएको छ यो बन्दाबन्दीको कहरले । आँखाले नदेखिने एउटा सूक्ष्म कणले मानव जातिलाई नै बन्दी बनाएर कोठाभित्र खुम्च्याइदेला भनेर कसले पो सोच्या थियो होला र ? परमाणु बम बनाएर संसारलाई त्रसित बनाएर आफ्नो मुठीमा राख्न सकिन्छ भनेर सोच्नेहरु पनि आज हायलकायल भएर यस कीटाणुसँग जुधिरहेका छन् ।
संसारकै शक्तिशाली हतियार र सैन्य संरचना लिएर संसार जित्छु भन्नेहरुलाई असली सामर्थ्यबोध गराइदिएको छ यो सूक्ष्म जीवले । मानिसले सिर्जना गरेका भौतिक सम्पदा र आविष्कार गरेका कुरा कति निरिह छन्, तिनले प्रकृतिमा सिर्जित एउटा सानो कणलाई पनि परास्त गर्ने सामर्थ्य राख्तैनन् भन्ने कुराको बोध पनि सायद यसले गराएको छ संसारलाई ।
हुनतः यस्ता महामारी मानव जातिले इतिहासमा कैयौँ पटक भोगेको थियो र त्यसलाई परास्त गर्दै अगाडि बढेको हो तर यस पटकको जस्तो संसारभर एकैपटक सबैले एउटै समस्या भोगेको चाहिँ सायद पहिलो पटक हो । भूखण्डको एकातिर महामारी, अर्कोतिर सामान्य अवस्था त बेलाबेला भोगिएकै हो तर एकैपटक सारा पृथ्वीलाई नै कँपाउने मृत्युको त्रास बेहोरोको भने पहिलो पटक नै हो । यसले मानिसलाई अवश्य बदल्नेछ । युगलाई कोरोमाअघि र पछिको युगमा विभाजित गरेर छुट्याउने छ । म अहिले यही युगीन सँघारमा उभिएको छु । म यसबाट अगि बढेँ भने अर्कै युगमा हुनेछु, नितान्त भिन्न सोच, भिन्न व्यवहार र भिन्न चिन्तनको युगमा । हो, यस्तै महामारी र त्रासले नै मानिसलाई शक्तिका साथ बदलेको छ आजसम्म । अब पनि त्यही हुनेछ, म बदलिनेछु, तपाईं बदलिनुहुनेछ ।

अनुभूति २
म आज कोठमा पल्टिएर आराम गरिरहेको छु । शरीर कोठाभित्र बन्दी भए पनि मन ब्रह्माण्डको भ्रमणमा फन्को लगाइरहेको छ । म कहिले भूभागमा घुमिरहेको छु त कहिले आकासतिर । कहिले भूतमा उडिरहेको छु त कहिले भविष्यतिर । म अर्धनिद्रित अवस्थामा पुगेको छु, न निद्रा न जागाको दोसाँधमा छु । मेरो मस्तिष्कमा एउटा दृश्य लबालब भरिएको छ । एक अनौठो खालको दृश्य देख्तै छु म । म यसलाई सपना पनि भन्न सक्तिनँ अनि पूर्ण रुपमा स्वप्नरहित हो भन्न पनि सक्तिनँ । बरु यो नयाँ युगको परिकल्पना पनि हुनसक्ला ।
…….
मेरो आँखाअगाडि एउटा ठूलो त्रिपाल टाँगिएको छ । त्यहाँ एक हुल मानिसजस्ता आकृति भेला भएका छन् । मानिसजस्ता यस अर्थमा कि उनीहरुले लगाउने पोसाकदेखि बस्ने र गर्ने व्यवहार पनि बदलिएको छ । त्यहाँको दृश्य सधैँको जस्तो छैन नितान्त भिन्न छ । त्यहाँ भेला भएका सबैको अनुहार शरीर पूरै ढाकिएको छ । कसैको पनि अनुहार देखिँदैन । स्त्री र पुरुष छुट्याउन उसको बोली नै सुन्नुपर्ने हुन्छ । बोलीले नछुट्टिए छुट्याउन सकिन्न । एकअर्कालाई अनुहार देखाएर हेराहेर गर्ने काम बन्द भएको छ । दूरी पनि अलि टाढै छ कम्तीमा एक मिटरको फरकमा बसेका छन्, सबै । सबैजना अनौठो खालको सुरक्षित पोसाकले बेरिएका छन् । यतिबेला तिनलाई न कुनै फेसनदार लुगाको आवश्यकता परेको छ, न कुनै साजशृंगार । छन् त सबै कपडा लपेटिएका मानव आकृति । सबैको आकृति उस्तै छ । व्यक्तिगत पहिचान हराएको छ । छ त केवल मानव आकृतिको पहिचान ।
सबै जम्मा भएर कुराकानी गर्न राखिने राउन्ड टेबल पनि त्यहाँ छैन । सबैको अनुहार ठूलो चश्मा, प्लाष्टिकको बार र घम्ल्याङ्ग तलदेखि माथिसम्म ढाक्ने गाउनले ढाकिएको छ । जुत्ता लगाउने खुट्टामा सबैले प्लाष्टिकको खोल बेरेजस्तो देखिन्छ । मुखमा पट्टि बाँधेजस्तो देखिन्छ । ती रंगीचंगी छन्, कसैको सेतो, कसैको कालो, कसैको खैरो थरीथरीका । एउटा नयाँ शब्द आविष्कार भएको छ त्यस पोसाकलाई चिनाउन, पिपिई ।
उनीहरु त्यहाँ केही जरुरी कुराको छलफल गर्न भेला भएका छन् । छलफल गर्ने विषय छ, नयाँ युगमा सिर्जनाको विषय, भाषा र शैली । अबको युगमा के बारेमा लेख्ने, कसरी लेख्ने, मानिसको र स्रष्टाको रुचि र चासोका विषय के हुनुपर्छ यस्तैयस्तै विषय उठेका छन्, उनीहरुका कुरा सुन्दा । त्यहाँ भेला भएका आकृतिहरु सबै एकैनाशे छैनन्, अग्लाहोचा छन्, थोरैथोरै मोटापातला जस्ता पनि छन्, छुट्याउन चाहिँ मुस्किल छ । तिनको अनुहार देख्न र ठम्याउन नसकिएकाले फोटो खिच्नेहरु त्यति उत्साहित छैनन् । फोटो खिच्नमा कसैको पनि रुचि देखिँदैन । यसअगि यस्ता कार्यक्रममा फोटो खिच्न सबैका मोबाइल तँछाडमछाड गर्थे । आज कसैका पनि मोबाइल बाहिर देखिएका छैनन् । पूरै परिपाटी फेरिएको छ ।
पत्रकारहरु पनि तँछाडमछाड गरिरहेका छैनन् । उनीहरु अलि परै टाढटाढा उभिएर दृश्यांकन गरिरहेका छन् । शायद उनीहरु त्यो दृश्यांकनमा पनि त्यति सन्तुष्ट र खुसी छैनन् । किनकि त्यहाँ उपस्थित सबै मानव आकृति फोटोमा उस्तैउस्तै देखिन्छन् ।
सेतो कपडाले बेरिएको एउटा आकृति एक्कासि उभिन्छ र भन्न थाल्छ, “आज हामी एउटा नयाँ युगमा प्रवेश गर्दैछौँ । न भित्र न बाहिर, सँघारमा उभिएका छौँ । यसबाट भित्र पसेपछि हाम्रो समय असाधारण रुपमा बदलिनेछ, हिजोकै जस्तो रहने छैन । रहिहाल्यो भने पनि त्यसको ढाँचा पूरै परिवर्तित हुनेछ । त्यसैले अब हाम्रो लेखनको ढाँचा पनि बदलिनुपर्छ, विषय पनि बदलिनुपर्छ । शैली पनि बदलिनुपर्छ । किनकि हामी बदलिनैपर्ने अवस्थामा पुगेका छौँ ।”
उसले सबैलाई सम्बोधन गर्दै थप्यो, “नयाँ युगको सँघारका प्रिय नवलेखकहरु, नवपत्रकारहरु, नवस्रोताहरु, अब हामी आजबाट नयाँ युगमा नयाँ लेखनीका विषय, शैली र भाषा खोजी गर्न भेला भएका छौँ । हिजोसम्म हामीले सरकारलाई गाली गर्ने, समाजका विकृति उतार्ने, प्रशासनका बेइमानीहरु देखाउने, मानिसबीच भएका उचनिचका प्रवृत्तिका बारेमा कलम चलायौँ । तिनलाई यो भएन, ऊ भएन भनेर सुधारको आश्वासन बाँड्यौँ । मानिसलाई सुचित गर्यौँ । अहिले त हामी तिनले गर्ने, गराउने, हामीले देखाउने कुनै पनि कुराले काम गर्ने रहेनछ भन्ने देखिरहेका छौँ, अनुभव गरिरहेका छौँ । हाम्रोअगाडि ठूलो खाडल खडा भएको छ । अब के विषयमा लेख्ने, कसरी लेख्ने छलफल चलोस् ।”
यति भनेर त्यो आकृति बस्यो आफ्नो कुर्सीमा । अर्को आकृति उठ्यो अर्कोतिरबाट । नीलो टल्कने कपडाले लपेटिएको त्यो आकृतिको बोली स्त्रीको जस्तो सुनिन्थ्यो ।
त्यस आकृतिले भन्यो, “अब हामी नयाँ युगमा प्रवेश गरिरहेका छौँ, केहीबेरमा । त्यसैले अब हाम्रो लेखनका विषय बदलिनुपर्छ, भाषा र शैली पनि बदलिनुपर्छ, हिजोका संरचना पनि गलिसकेका थोत्रा रहेछन् भन्ने हामीले देखिसक्यौँ । राज्य, सरकार, समाज, पद, संस्था सबका सब सजिलो हुँदा मात्र काम गर्दारहेछन् । साँच्चिकै संकट पर्दा ती सबै निकम्मा हुँदा रहेछन् । यस्तो बेला न तिनका हतियारले, न सुरक्षा प्रणालीले, न संस्कारले, न धर्मले, न रीतिरिवाजले, न कानुनले थाम्दोरहेछ । यी सबै निकम्मा हुँदा रहेछन् । त्यसैले महोदय, अब हामीले ती निकम्मा विषयमा लेखेर समय खेर फाल्नुहुँदैन । नयाँ विषय खोज्नुपर्छ । यो खोजी आजै हुनुपर्छ, किनकि भोलिदेखि त हामी नयाँ युगमा प्रवेश गर्दैछौँ । त्यो युगमा प्रवेश गरिसकेपछि त हाम्रो लेखन ढाँचा बदलिनुपर्छ । त्यसैले अब चिन्तन होस्, नयाँ विषयको जहाँ अहिलेकाजस्ता निकम्मा राजनीतिक व्यवस्था नहोउन्, निकम्मा संस्था नहोउन्, निकम्मा संरचना नहोउन्, हिजोकैजस्ता भाषा र शैली पनि नहोउन् । अब हामीले नितान्त नयाँ कुराको खोजी गर्नुपर्छ ।”
त्यो स्त्रीको आकृति यति भनेर थुचुक्क बस्यो, कुर्सीमा । अर्को आकृति उभियो खैरो रंगको । ऊ पनि अगिल्ला आकृति जस्तै थियो तर उसमा फरक के थियो भने त्यो निकै अग्लो थियो अगिल्ला दुईभन्दा । उसले उभिएर सबैलाई सम्बोधन गर्दै भन्यो, “हामी सबै लेखकहरु अबका दिनको लेखनका विषय, शैली र भाषा अनि विषय र संरचना बदल्न, नयाँ युगमा प्रवेश गर्दाको यस संक्रमणको घडीमा नयाँ व्यवस्था खोजी गर्न यहाँ भेला भएका छौँ तर यो मानव जातिले करिब ७० हजार वर्षको इतिहासमा यस्ता कैयौँ नयाँ कुरा जन्मायो, हुर्कायो अनि फेरि मास्यो पनि । कति कुरा एकअर्कामा मिसिएर वर्णशंकर भए, कति कुरा हराए, लोप भए । कति कुरा चैँ हामीले सधैँ उही राख्यौँ । त्यसमध्ये एक हो हामीभित्रको सोच । हामीले जतिसुकै नयाँनयाँ साधन, सुख र सुविधाका वस्तु, प्रविधि र परिपाटी विकास गरे पनि हामी सबैले आफूलाई अर्कोभन्दा माथि पुग्न, अर्कोलाई दबाउन, अर्कोलाई उछिन्न, अर्कोलाईभन्दा आफूले बढी सुख र सुविधा लिनमै सबै शक्ति लगायौँ । त्यसो गर्दा हामी धेरै सुखी त भयौँ तर स्वार्थी भयौँ, झगडालु र युद्धपिपासु भयौँ । के हामीले यत्रो मिहिनेत गरेर खोजेको कुरा यही थियो ? म यो नयाँ युगमा अबको मानिसका बारेमा लेख्नुपर्छ भन्छु । हिजोको मानिसको मस्तिष्क बदल्ने कुरा लेख्नुपर्छ र नयाँ ढंगबाट मानिसको मस्तिष्कमा बीऊ छर्नुपर्छ भन्ने अनुरोध गर्छु । त्यसैले अब हाम्रो लेखन मानिसबारे हुनुपर्छ, मानिसले गरेका काम बारे हामीले आजसम्म जे लेख्यौँ, त्यसले कुनै काम गरेन । यो कामै नगर्ने विषयमा लेखेर किन समय खेर फाल्ने ? यसमा सबैले सोचौँ र भोलिदेखि हाम्रो लेखनी मानिसतिर केन्द्रित गरौँ । उसले सोच्ने, उसले गर्ने, उसले जान्न सक्ने क्षमता बारे कुरा गरौँ । उसलाई आफैँभित्रको संसार चियाउन सक्ने कसरी बनाउने भन्ने बारेमा कलम चलाऔँ ।”
त्यसपछि त्यहाँ अलि भिन्न घटना भयो । एउटा अनौठो आकृति अप्रत्यासित रुपमा त्यस समूहको अगाडि देखाप-यो । ऊ न होचो थियो न अग्लो तर त्यो अरुजस्तो कुनै कपडा र अनेकथरी सुरक्षा कवचले ढाकिएको थिएन । अर्कै ग्रहको एलियनझैँ लाग्ने त्यो आकृति अनायास देखापरेपछि सबै आतंकितझैँ भए र जर्याकजुरुक उठे । सबैको अग्रभाग त्यस नयाँ आकृतितिर फर्केकाले त्यो नवआगन्तुक आकृतिले ठम्याइहाल्यो । उसले सबैलाई सम्बोधन गर्दै भन्यो, “लेखकवृन्द, नआत्तिनुस् म तपाईंजस्तो मानव जाति होइन । म यस ग्रहबाट तपाईंहरुले जन्माएको प्राणी पनि होइन । म तपाईंहरुलाई नयाँ युगमा लैजान आएको एक सन्देशवाहक हुँ । तर मेरो भाषा तपाईंहरुले आजसम्म बोलेको भाषासँग मिल्दैन । म तपाईंहरुलाई काम चलाउ सम्बोधन गर्न मात्र यो भाषा बोल्दैछु ।
म अब तपाईंहरुलाई एउटा नयाँ सन्देश सुनाउन चाहन्छु । त्यो सन्देश केही महिनाअगि नै तपाईंहरुसमक्ष पठाएको थिएँ । त्यो पठाइसकेपछि तपाईंहरु अहिलेको काम गर्ने तरिका, अहिलेका संरचना, अहिलेको भाषा र शैली फेर्नुहोला भन्ने मेरो अनुमान थियो तर तपाईंहरु किन मान्नुहुन्थ्यो र ! मान्नुभएन । खोई तपार्इंभित्रको मानिसमानिस एक हुन् भन्ने भावना ? खोई रोकेको तपाईंको जीवन बनाउने र बचाउने प्रकृतिलाई बचाउने प्रयास ? खोई संसारभरका मानिसलाई आपसमा सहयोग गर्ने सहयोगी भावना ? अब तपाईंले लेखेका हिजोका विषयले काम गर्ने छैनन् । हिजोका विषय अब पुराना भए । नयाँ विषयमा सोच्नुस् । मान्छेका बारेमा सोच्नुस् । तपाईं स्वयम्का बारेमा सोच्नुस् । तपाईंले गरेका काममा भएका गल्तीका बारेमा सोच्नुस् । तपाईंभित्र र बाहिर दुवै हेरेर सोच्नुस् ।
तपाईंनजिकै बगिरहेको यो खोलाको पानी खोई ? यो तपाईंको वरिपरिको हिजोको जंगल खोई ? हिजोका खोलानाला खोई ? हिजो तपाईंले धान फलाउने, कोदो लगाउने, मकै फलाउने खेतबारी खोई ? संसारमा सृष्टि भएका जंगली जनावरहरु खोई ? कीराफट्यांग्रा खोई ? हिजोको वर्षात्को पानी बढेर बग्ने कुलो, खोला, खोल्सा र खहरेहरु खोई ? तपाईंले देखेकै कुरा हैनन् ती ? अनि के नयाँ विषय खोज्दै हुनुहुन्छ तपाईंहरु ? त्यही विषयमा लेख्नुस् अब, त्यही फर्काउनुस् अब । त्यसै बारे कुरा गर्नुस् अब । अब पनि तपाईंहरुले यसबारे लेख्नुभएन भने म फेरि अर्को रुपमा आउनेछु, त्यतिबेला न तपाईं हुनुहुनेछ न तपाईं बसेको यो ठाउँ रहनेछ ।”
त्यो आकृति यति भनेर टक्क अडियो र सबैतिर नीला डल्लाजस्ता लाग्ने स्वयंप्रकाशित प्रकाशपुञ्ज घुमायो । केहीबेरमा ती दुवै प्रकाशपुञ्ज बन्द भए । आकृति झन्झन् सूक्ष्म हुँदै गयो । अत्यन्त सानो हुँदै, खिइँदै गएको त्यो आकृतिनजिकै उभिएको मानव आकृतिले हतारिँदै उसको परिचय माग्यो ।
“तपाईंले आफ्नो परिचय नै नदिई यति लामो कुरा गर्नुभयो कृपया परिचय दिएर मात्र यहाँबाट बिदा हुनुहोस् ।” उसको अनुरोधपछि फेरि त्यो आकृति पहिलेको स्वरुपमा आयो र भन्यो, “म यस पृथ्वीका मानव जातिलाई नयाँ जीवन दिन आएको कोरोना भाइरस हुँ । अब मेरो सन्देश तपाईंहरुको कलममा मसी बनेर लेखिनुपर्छ लेखक महोदय ! म अब तपाईंहरुलाई हिजोको युगमा फर्केर लेख्न दिनेछैन । अब यो युग भोलिको सँघारमा खडा भएको छ । त्यसमा तपाईं बदलिएर जानुहोला नत्र म तपाईंहरुलाई बदल्न अर्को रुपमा आउनेछु ।”
त्यो आकृति यति भन्दै विलीन भयो । सबैका घाँटी खसखसाउन थाले । सबै आकृति अतालिएझैँ देखिए । कोही खोक्न थाले, कोही छाति थिच्न थाले । सबैले नबुझिने भाषामा केके भनेझैँ सुनियो । फोटो पत्रकार, रिपोर्टर, दर्शक सबै हडबडाए । अलि निकै सारो भएको अग्लो आकृति एकाछेउमा ढल्यो । अर्को भाग्दै अलि पर पुगेर लड्यो । एम्बुलेन्सको साइरन बज्यो अलि पर । मानव चित्कारको ध्वनि मधुरो सुनियो पर क्षितिजतिर । मैले आँखा लगाएँ, घाम अस्ताउनै लागेको थियो । म ती लाशमय हुन लागेका एकएक आकृति हेर्दै ठिड्ग उभिएर त्यो लुप्त भइसकेको आकृतिले भनेको कुरा सम्झिँदै थिएँ, मेरो पनि घाँटी खसखसाउन थाल्यो, छाति पोल्न थाल्यो, ज्वरो बढ्यो, मुख सुक्न थाल्यो, छातिभित्र हजारौँ डिग्रीको तापमानको आगो बलेझैँ भयो । उफ् अब म पनि ढ…..ल्… न…. लागेँ ………..।
…….
म झल्याँस्स हुन्छु एक्कासि । म होस र बेहोसको दोसाँधमा बेडमा पल्टिएर पाइपबाट श्वास तान्दै थिएँ । छाति अलिअलि भारी थियो । मेरा अगाडि तिनै एलियनहरु हाजिर थिए उपचारमा । मैले हिजो देखेका ती अनौठा मानव आकृति मलाई घेरेर उभिएका थिए कागज र कलम लिएर । एउटा महान् विषय मिलेको थियो ती कलमजीविहरुलाई । एउटा महाभ्यासको सँघारमा उभिएका थिए उनीहरु । उनीहरु धमाधम मानिसबारे लेख्न थालेका थिए । उनीहरु अब वाग्मतीमा बग्ने फोहोर पानीको कुरा लेख्न छाडेर पौडी खेल्ने बालबालिकाहरुका बारेमा लेख्न थालेका थिए । वन विनाशको कुरा नभएर हरियालीको कुरा लेख्न थालेका थिए । बाँझिएका जग्गाको कुरा लेख्न छाडेर उत्पादन र बालीनालीका कुरा लेखिरहेका थिए । मानिसमानिसबीचको द्वन्द्वको होइन, प्रेमको कुरा लेखिरहेका थिए । प्रदूषणका कुरा होइन स्वच्छताका कुरा लेखिरहेका थिए । मानिसभित्र भएका असीमित क्षमताको बारेमा लेखिरहेका थिए । हात काँपिरहेको थियो, कलम थाम्न नसकेर भुइँमा खस्ला कि झैँ भएको थियो तर पनि सुरु गरेँ लेख्न ।
म आफ्नो लेखनी अब सँघारमा उभिएर होइन ढोकाभित्रको कोठामा बसेर सुरु गर्न चाहन्थेँ । जुन कोठाभित्र नयाँ युग होस् । पुरानो प्रकाश त्यसभित्र नपरोस् । हो म नयाँ युगमा रमाएको स्रष्टा बन्न चाहन्थेँ । तर, त्यसको लागि ढोका उघ्रेको मात्र थियो, पूरै खुलिसकेको थिएन । क्षितिजबाट उज्यालो झर्दैथियो पृथ्वीमा । सूर्यरश्मिले पृथ्वीलाई अँगालो मारिसकेको थिएन । म मनमनै सोच्तै थिएँ, आजको सूर्य नयाँ युगमा उदाउनेछ, पुरानो युग बिदा भइसकेको छ । म सूर्य किरणको मसीले सिर्जनाको नयाँ गीत लेख्न चाहन्थेँ । म केहीबेर प्रतीक्षा गरौँ अनि सुरु गरौँला भन्दै थिएँ, झल्याँस्स निद्रा खुल्यो ।
मलाई लाग्यो, म त्यही सँघारमा छु नयाँ युगको जहाँ उभिएर म त्यो युगको भुकभुके बिहानी नियालिरहेको छु । कोभिड–१९ बाट आक्रान्त युग र यसको विजयपछिको युगको दोसाँधमा उभिएर । मलाई लाग्दै थियो, अब मेरो यो सपना विपना हुनेछ । मानिस बदलिनेछ । लेखन बदलिनेछ । स्रष्टा उही हुनेछन् तर तिनले गर्ने सृष्टि र सिर्जना फेरिनेछ । अब नयाँ युगमा नयाँ मानिस उत्पन्न हुनेछन् । युगको नाम हुनेछ, कोभिड– १९ पछिको युग । तर, म अझैँ दोसाँधमै छु । पर क्षितिजबाट सूर्य अझै निस्किसकेको छैन । सूर्यका ती युगीन किरण धरतीमा परिसकेका छैनन् । मैले लेख्न सुरु गरेँ, नयाँ युगको स्वागतद्वारमै उभिएर र जन्म्यो मेरो यो सिर्जना ।

प्रतिक्रिया
Loading...