भाइरस झन् दिन-दिनै
हुँदै छ है खतरा
निरुपाय भो मानिस
नहुँदा केही सहारा ।

के हो ? यो, के हो ?
डस्छ नाग फँणा झैँ
भित्रभित्रै जल्ने
पुतपुताउँदो ज्वाला झैँ ।

रोक्न सकेन कसैले
कुनै दिव्य अभिशाप झैँ
मूकदर्शक भो विज्ञान
मान्छे जल्यो परिताप मै ।

सर्वत्र भो भाइरस
फैल्यो जता तता
उपाय खोज्न विश्व
वन्धुत्व भयो एकता ।

आपत विपतमा मात्रै
देखिन्छ सहृदयता
सधैँ नै मिलाप भए
आउन्न यस्तो अवस्था ।

सधैँ नै मान्छे मार्न
मान्छे नै थियो उदिग्न
प्रकृति ले डस्यो आज
मान्छे भो छिन्नभिन्न ।

मान्छे मान्छेमा छैन
दया करुणा किन ?
चेतना आकासमा सधैँ
लाग्दछ ग्रहण किन ?

देखिन्न मान्छेमा मान्छे
हुनुमा कहिलै परितोष
दुर्भावनाले निम्ताउँछ विपत्ति
किन आपसमा असन्तोष ।

पृथिवीको गरिमा हो मान्छे
सचेतन दिव्य फूल
जरुरी छ यस्लाई जान्न
के हो यस्को मूल ?

जीव जीवमा एकत्व
प्रेमले नै हो बाँध्छ
जो जान्दछ प्रेम
उसैले यमलोक नाघ्छ ।

सुभावना फैलाऊ सके
पृथिवीमा हुनेथ्यो शान्ति
जीवन रहोस् पृथ्वीमा
अरु केही चहिन्न क्रान्ति ।

विनाशको आगोमा जल्न
अग्रसर मानस चेतना
सिकौँ है पाठ, चेतौँ
ज्ञान बनोस् वेदना ।