साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

कोरोनासँग बालकको क्रन्दन

Chovar Blues Mobile Size
डा. अम्बिका अर्याल

“मामू, हामी रिजल्ट लिन कहिले जाने ?” छोराको यो प्रश्न बारम्बार दोहोरिरहेको थियो । उसको विद्यालयले यो शैक्षिक सत्रको परीक्षा सकेपछि बिदा थियो । लगभग हप्ता दिनपछि रिजल्ट लिन जानुपर्ने दिन गनेर बसिरहेको छोराको कुराइको वेग लकडाउनले बढाइदिएको थियो । आफू उत्तीर्ण भएको औपचारिक जानकारी नपाएसम्म अर्को कक्षामा चढेँ भन्ने सोच कसरी आउँदो रहेछ र ? झन् बच्चालाई कसरी बुझाउनु ?
रिजल्ट लिन जान नपाउनुको कारण नै केवल कोरोनाको बिगबिगी थियो । त्यही कारण बारम्बार दोहोर्‍याउँदा पनि दिक्क भइसकेकी थिएँ । तर ऊ सोधेर कहिल्यै थाक्दैनथ्यो । त्यसपछि “यो कोरोनालाई लखेट्न पनि नसक्ने हजुर त ?” भन्दै मसँगै झोँकिन्थ्यो ।
मैले सबैथोक काम गर्न सक्थेँ उसका नजरमा । खाना पकाउन, घर सफा बनाउन, उसका बिग्रिएका खेलौनाहरु बनाइदिन, नजानेका सबै गृहकार्य सिकाइदिन, स्कुल पुर्‍याउन, ड्रेस धोएर आइरन गरिदिन, बिरामी भएको बेला औषधी खुवाएर निको पारिदिन, कुकुरलाई लखेट्न, लामखुट्टेलाई मारिदिन, बजारमा उसले चाहेको कुरा पसलमा मागिदिन आदि थुप्रै काममा मेरो मूल्याङ्न गर्‍थ्यो ऊ ।
मभन्दा पनि बाबालाई अझ शक्तिशाली मान्छेका रुपमा चिनेको थियो उसको ज्ञानले । तर बाबाले पनि कोरोनासँग हाकाहाकी लड्न नसक्ने बरु सुरक्षित रुपमा घरभित्रै बस्नुपर्ने आशय बुझाउन खोज्दा उसमा नैराश्यता छाएको थियो । सबै काममा उसले हामीलाई सक्षम देखे पनि कोरोना लखेट्न नसक्ने देखेपछि हामीप्रतिको विश्वाससमेत धाँजा फाटेको थियो ।
झिनो आशा बोकेर उसले कारोना धपाइदिन पुनः आग्रह गरेपछि मैले भनेँ, “बाबु, यो कोरोना भन्ने भाइरस निकै शक्तिशाली रहेछ । आजसम्म कसैले यसलाई मार्ने औषधी पनि बनाउन सकिरहेका छैनन् । मैले कसरी सक्छु र ? फेरि हामीले देख्न पनि त सक्दैनौँ । कसरी मार्ने ? लामखुट्टेझैँ उड्दै आएको देखिने भए त मारिहाल्थेँ नि ! गोरुले झैँ हान्न आएको भए पनि लखेटिहाल्थेँ नि ! नदेखिने चीजलाई कसरी धपाउनु र ?”
ऊ मेरो कुरामा निश्चिन्त बन्दै सक्दैनथ्यो । उसलाई आफ्नो ज्ञानले भ्याएसम्मका उदाहरण दिएर प्रष्ट पार्न खोज्थेँ । एकछिन बुझेझैँ गरेर सुनेपनि क्षणमै त्यही प्रश्न दोहोर्‍याउन थाल्थ्यो ।
“नदेखिने कुरासँग नि डराउँछन् त ? त्यसले के गर्न सक्छ र हामीलाई ? हामी यति ठूला छौँ । त्यस्ता हावासँग नि किन डराउँछौँ मामू ? हावाले कसलाई के गर्न सक्छ र ?”
ऊ मरिमरि हत्केलामा फुक्थ्यो र हावाको निरीहतालाई देखाएर मसँग तर्कवितर्क गर्न थाल्थ्यो । त्यो नदेखिने वस्तु भनेको हावा हो भन्ने उसको अनुमान थियो । कोरोना भनेकै हावा हो भन्दै साथीहरुलाई पनि सिकाउने भइसकेको थियो ।
साथीहरुसँग खेल्ने मार्ग पनि बन्द भएपछि छिमेकी घरको साथीलाई कौसीमा गएर चिच्याएर बोलाउँथ्यो अनि “कोरोना भनेको त हावा हो, थाहा छ तिमीलाई ?” भन्दै कुनै वैज्ञानिकले तथ्य पत्ता लगाएझैँ प्रमाणित गर्न मसँग समेत समर्थन जुटाउँथ्यो ।
साथीसँग खेल्न नपाएको गुनासो त्यति गर्दैनथ्यो तर “मसँग को खेल्छ ?” भन्ने प्रश्नले भने आजित तुल्याएको थियो ।
कोरोनाको लकडाउन भनेको मेरा लागि फुर्सदको समय कहाँ थियो र ? यही समयमा कति धेरै योजना ताँती लागेर उभिएका थिए । तिनैलाई पूर्ण गर्ने प्रयत्नमा जुटिरहेकी थिएँ । पढ्ने लेख्ने कामको योजना कहिल्यै नसकिने हुँदा रहेछन् । कृषकका खेती योजनाजस्ता ।
जब म ध्यानकेन्द्रित भएर पढ्न बस्थेँ, ऊ मेरा पुस्तक र कलम खोसेर दौडन्थ्यो । कौसीमा गएर सकेसम्म पर फालिदिने उसको दाउ हुन्थ्यो । उसले यसो गर्नुका पछाडि दुईवटा रहस्य थिए । एक त ऊ मसँग दिनभर खेल्न चाहन्थ्यो । उसको साथी नै मै हो भन्ने ठानेको थियो भने अर्को पर फालिएको वस्तु टिप्ने निहुँमा केहीबेर बाहिर निस्किएर डुल्न पाइने उसको योजना हुन्थ्यो ।
घरबाहिर घुम्न जानु उसको रहरको विषय जहिल्यै पनि थियो । सडकमा पैदल हिँडेर परपरसम्म पुग्न र बाटोमा भेटिएका कुखुरा, कुकुर, चराहरुलाई ढुङ्गो हान्दै जिस्किन उसलाई असाध्यै रमाइलो लाग्थ्यो । यी रहरहरु सबै लकडाउनसँगै थुनिएका थिए ।
कोरोनाका कारण मृत्यु हुनेका सङख्या बढ्दै गइरहेको समाचार हामी हेरिरहेका हुन्थ्यौँ । हाम्रै छेउमा बसेर ऊ पनि हेरिरहन्थ्यो । अनि प्रश्न गर्‍थ्यो, “कोरोनाले कस्तो मान्छेलाई लैजान्छ ?”
म भनिदिन्थेँ, “जो बदमास छ उसैलाई ।”
“बदमास त चोर पो हुन्छ ! पुलिसले चोरलाई समातेर जेलमा लान्छ । कोरोनाले पनि जेलमा लगेर राख्छ हो ?”
“कोरोनाका कीराले त खान्छ नि बदमासलाई । जसले ठूला मान्छेले भनेको मान्दैन, साबुनले हात धुँदैन, लकडाउनमा बाहिर निस्केर हिँड्छ, उसैलाई खान्छ ।”
“अनि मास्क नलाउने पनि बदमास हो । हाम्रो बाबा तरकारी किन्न जाँदा मास्क नलाई जानुभएको थियो । मैले देखेर कराएपछि लगाएर जानुभयो । झण्डै बाबालाई पनि कोरोनाले लगेको है मामू ?”
“हो त ! अब बाबु पनि घरबाहिर खेल्न नजाने, घरमै बसेर पढ्ने है ?”
“हवस् मामू ।”
उसले यस्ता प्रश्न बारम्बार गरिरहन्थ्यो । बालमस्तिष्कमा उब्जेका प्रश्नको उत्तर दिएर कहिल्यै नसकिने । न उनीहरु प्रश्न गरेरै थाक्छन् ।
उसले आफू ज्ञानी बन्न र कोरोनाले नलैजाओस् भन्ने विषयमा खुब विचार गर्न थालेको थियो । एकदिन उसकै कोठामा ढोका थुनेर एक्लै बसिरह्यो । बोलाउँदा पनि आएन । तर उसको कोठाको झ्यालबाट उसले गरेका कामहरु नियाल्न सकिन्थ्यो ।
उसलाई थाहा नदिइकन म झ्यालबाट हेरेर बसिरहेँ । उसले कपी र कलम निकालेर लेखिरहेको थियो । आखिर नराम्रो काम गर्दैछैन भन्ने सोचेर बोलाउन चाहिनँ र हेरिरहेँ मात्र । एकछिनपछि ढोका खोलेर आफैँ बाहिर निस्कियो र मलाई त्यो कपी ल्याएर थमाउँदै रुन थाल्यो । यसमा लेखिएको थियोः
“म ज्ञानी छु, माम पनि छिटो खान्छु । होमवर्क पनि छिटो सकाउँछु । धेरै पढ्छु । एक्लै घर बनाउने खेल खेल्छु । लुडो खेल्छु । बिहान छिटै उठ्छु । आफू उठिसकेपछि बाबा र मामूलाई उठाउँछु । बाबामामूलाई माया पनि गर्छु । बाथरुममा ढोका थुनेर मात्र सुसु गर्छु र पानी हाल्छु । बेलुका बेलैमा सुत्छु । लकडाउनमा बाहिर जान्नँ । घरभित्रै बस्छु बरु झ्यालबाट परको दृश्य हेर्छु ।
टिभीले पनि कोरोना लाग्छ भनेर नियमित हात धोऔँ, आफू पनि बाँचौँ, अरुलाई पनि बचाऔँ भनिरहन्छ । समाचारले रेडियोमा पनि इन्डिया, चाइनामा जस्तै नेपालमा कोरोना फैलिँदैछ भन्छ । कोही बच्चा पनि अहिले विद्यालय जान हुँदैन भन्छ अनि गाडी, साइकल, बाइक, मान्छे कोही पनि बाटोमा हिँड्न दिएको छैन । म पनि घुम्न जान पाएको छैन । मामूबाबा पनि मसँग खेल्न मान्नुहुन्न । म एक्लै के गर्ने ? बदमासलाई कोरोनाले लान्छ रे! रुन पनि नहुने ।
म बदमास छैन । मलाई नलैजा है कोरोना ! मेरो बाबामामू पनि मसँग खेल्नुहुन्न । तर उहाँहरु पढ्न थालेर हो । छिटो सकेर खेल्न आउनुहुन्छ । बाबामामूलाई पनि नलैजा है ! मेरी बहिनी छ एउटा । अङ्कलकी छोरी । उसले हाम्रो घरमा आएका बेला मेरो खेलौना चोरेर लान्छे । मेरो बुकहरु पनि च्यातिदिन्छे । तर ऊ बदमास भए पनि उसलाई पनि नलैजा है ? बरु चोरहरु, लायनहरु, गनहरु, हस्पिटलका सुईहरु सबै लैजा ।”
छोराका नबुझिने अक्षरलाई जसोतसो बुझेँ । उसका नमिलेका वाक्य सङ्गठन र अस्पष्ट अक्षरबाटै निस्केका स्पष्ट ध्वनिहरुले आफैँ धरमराएँ । साँच्चै ती अक्षरका वह र त्रासले मेरो मन खलबलायो । आँखाभरि आँसु छचल्किए ।
पाँच वर्षको छोराले कनिकुथी लेखेका प्रत्येक शब्दमा उत्तिकै मर्माहत पार्न सक्ने शक्ति देखेँ । उसका रुचिलाई बुझेर पनि आफ्नो करियरको लोभमा भुलेकी म साँच्चै आमा बन्न नसकेको पीडा पनि मनमा उत्तिकै जागृत भए भने कोरोनाको सन्त्रासले छोराको व्यवहारमा आएको व्यवहारले नमिठो तुल्यायो । ऊ तर्सेर यसरी पुकार गर्न थाल्ने भइसकेको थियो भने आफ्ना संवेग र रहरलाई कसरी दबाउन सकिरहेको होला भन्ने सोचेपछि मन नै गह्रौँ भयो ।
बिस्तारै विद्यालयहरुले अनलाइन कक्षा सुरु गर्न थाले । मेरो छोराको विद्यालयले पनि अनलाइनबाटै पठनपाठन सुरु गर्‍यो तर त्यो भिडियोमार्फत नभएर गृहकार्य पठाउने र अभिभावकले गृहकार्य गराएर शिक्षकलाई पठाइदिनुपर्ने किसिमको थियो । यु.के.जीको परीक्षा दिएर घर बसेको छोरालाई कक्षा एक भन्दै गृहकार्यहरु पठाइएको थियो ।
उसले ती गृहकार्य आफ्नो लागि हो भन्ने पत्याउनै सकेन। न कुनै साथीहरुले उसलाई हामी एक कक्षामा पुग्यौँ भनिदिएको थियो । न त उसलाई हामीले पास भएपछि नयाँ पुस्तक, ड्रेस, व्याग आदि किनिदिने भन्ने आश्वासन नै पूरा गरिदिएका थियौँ । उसले “रिजल्ट लिएर गएपछि मात्र कक्षा एकमा पुग्ने भनी हाम्रो म्यामले भन्नुभएको छ” भन्ने कुरा पनि बारम्बार दोहोर्‍याइरहन्थ्यो । त्यसकारण आफू पास भएको र एक कक्षाको विद्यार्थी भएको मान्ने कुनै आधार नपाएपछि अनलाइनमा समेत युकेजीका लागि दिइएको गृहकार्य गर्न जोड गरिरह्यो ।
उसलाई केही गरेर पनि बुझाउन नसकेपछि आफैँले एक कक्षाको गृहकार्यलाई नै कक्षा युकेजी लेखिदिएर गृहकार्य गराइदिन थालेँ । शिक्षकलाई भने सो कुराको जानकारी गराएँ । यसपछि पनि उसले बारम्बार “रिजल्ट लिन जाऔँ न, म कक्षा एकमा जानै पाइनँ” भन्ने जिद्दी छाडेको छैन । कोरोनाले गर्दा नयाँ किताब र ड्रेस लगाएर विद्यालय जान नपाएको अनि साथीहरुलाई देखाउन नपाएको गुनासो उस्तै छ ।
कोरोनालाई आफू ठूलो भएपछि जसरी पनि नमारी नछाड्ने भन्दै बन्दुक तेर्साएर गरेको अभिनयमा उसको बदलाको भावना सशक्त बनेको बुझ्दछु । साना बालबालिकामा परेको कोरोनाको त्रास र शिक्षाप्रतिको गहिरो बुझाइले मलाई ऊ बालक नभएर जवान युवक लाग्दछ । अनेक कहरका टकरावमा उसका जीवनचक्र कसरी पूरा हुने हो भन्ने सोचले घरीघरी आक्रान्त बनाइरहेको छ । बालकका भविष्य र त्रासका त के कुरा ? उसैका शब्दमा उनिएका त्रासका माला पहिरिएपछि म समेत सन्त्रासका डोलीमा चढेर गन्तव्यको अनिश्चिततामा रुमलिएकी बेहुली बनेकी छु ।

प्रतिक्रिया
Loading...