बसुन्धरा शर्मा

तिम्रो आगमनको खबरले
सारा संसार स्तब्ध बनायौ
त्यसैले त यी गतिशील पाइलाहरु
यतिका दिन टक्क अडायौ !!

तिमी दिनमा दुई गुणा
रातमा चौ गुणा बढ्दै गयौ
सम्पूर्ण डाँडा पाखा
घर आँगन नै ढाक्यौ !!

तिम्रो असंख्य वृद्धिसँगै
अब हाम्रो डर पनि भाग्दै छ
ठप्प यो गतिलाई
चलायमान गराउने रहर छ !!

अब यो गतिसँगै
कर्मठ हातहरु चलाई
वर्षौंदेखिका बाँझा बारी खोस्री
सुन फलाउने धोको छ !!

भोकमारी हुने डरले
आधा भरिएको
मेरा लाला बालाको पेट
भराउने मन छ !!

खिया लाग्न लागेको यो श्रम
शक्तिमा बदल्ने मन छ
गरी खान आतुर यी हातहरुद्वारा
संसार बदल्ने मन छ !!

पलाउँदै गरेका पालुवालाई
हराभरा गराउनु छ
मलिन मेरी आमाको अनुहार
हँसाउने मन छ !!

हाम्रा पुर्खाले सिकाएको
मानवीयताको थोरै अंश मात्रै
भए पनि मनन गर्दै
तिम्रो शक्तिलाई परास्त गर्नु छ !!

संचित यो शक्तिले
सगरमाथा चढ्ने रहर छ
मेरो यो मातृभूमिलाई
हिमाल जस्तै हँसाई
विश्वमा चिनाउनु छ
विश्वमा चिनाउनु छ !!

भक्तपुर