राजन अधिकारी

बादल आफू बिलाएर

बरसी रहेको छ यहाँ

वृक्ष आफू निहुरिएर

फलिरहेको छ यहाँ !

 

दियो आफू जलेर

ज्योति छरिरहेछ यहाँ

हिमाल आफू पग्लेर

प्यास मेटाइरहेछ यहाँ!

 

पत्थर आफू फाटिएर

फूल फुलाइरहेछ यहाँ

मरुभूमि आफू रापिएर

खरबुजा फलाइरहेछ यहाँ!

 

तर,

म मान्छे,

कति स्वार्थी?

कालो गोरो भनेको छु

विभेदको अनगिन्ती रेखा कोरेको छु

म मान्छे बिनाको मान्छे भएको छु।

 

हाँसो, भाषा

सब उही छ

आँसुको रंग

सब उही छ

नसामा बग्ने

रगत सबैको रातो छ

फेरि कोही अजम्बरी छैन यहाँ।

 

तर,

मैले आफू कहिल्यै नमर्ने ठानेको छु,

त्यसैले मानवता चटक्कै बिर्सेर

मान्छे मान्छेबीच पर्खाल ठड्‌याउँदै

मान्छे बिनाको मान्छे भएको छु।

 

 

कौशलटार, भक्तपुर