साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

निष्ठुरी कोरोना

कविता

प्रकृतिको ताप बढ्दै जाँदा तिम्रो ताप पनि बढायौ
सुटुक्क आएर विश्वलाई नै आफ्नो शक्ति देखायौ
आफ्नो आगमनले संसारको सातो उडायौ
अनि विश्वलाई नै आतङ्कित बनायौ
आजसम्मको प्रविधिलाई असफल तुल्यायौ
वैज्ञानिकहरुलाई अझ खोजमा डुब्ने बनायौ
कुनै कुनो पनि बाँकी राखेनौ
शहरको त के कुरा गाउँगाउँ
अनि घर आँगनसम्मै पनि पुगी गयौ
निर्दयी बनी वात्सल्यता पनि चुडी लग्यौ
गरी खाने बाटाहरुमा काँडा उमारिदियौ
परिश्रमी हातहरुमा खियाको बास गराइदियौ
गरिबको चुल्हो निभाई
भोकमरीको भुमरीमा लखेटी दियौ
सर्वश्रेष्ठ मानव जातिलाई पनि
जीवन र मरणको संघारमा पुर्याइदियौ
भर्खर पालुवा लागेको मेरो देशमा पनि तुषारापात गराइदियौ
बुद्धभूमि मेरो देशमा आतंकको बिज रोपिदियौ
किन किन हामीलाई डरैडरमा बाँच्न बाध्य गरायौ
कोरोना तिमी भयौ किन यति निष्ठुरी
भक्तपुर

प्रतिक्रिया
Loading...