राजन अधिकारी

माथि माथि उडिरहेको धुवाँलाई टोलाएर नारायण काका भाव विह्वल हुँदै एकतमासले हेरिरहेका थिए। बिस्तारै-बिस्तारै धुवाँ बादलको घुम्टोभित्र पसी अदृश्य हुँदै थियो तर उनका आँखाले त्यसलाई पछ्‌याउन छाडेका थिएनन्‌। धुवाँसँगै उड्‌न चाहन्थ्यो उसको मन। काकाको लागि खास थियो त्यो धुँवारुपी विम्ब, नकि कुनै चिम्नीको भट्टीबाट निस्किएर पर्यावरणलाई प्रदूषित बनाउँदै आकाशमा उडिरहेको फगत सेतो सर्को । यात्रारुपि अनमोल जीवनको उकाली ओरालीमा नारायण काकासँग पाइलामा पाइला मिलाउँदै सहयात्री बनेर हिँडेकी उनको अर्धाङ्गिनी लक्ष्मीको पशुपति आर्यघाटमा अन्तिम दाह संस्कार भैरहेको थियो। लक्ष्मी काकी चितामा जल्दै धुवाँ बनी बिदा लिइरहेकी थिइन्, यस धर्तीबाट । केही बेरमै लक्ष्मी काकीको देह जलेर खरानी भैसकेको थियो तर चिताको केही पर बसेर आकासमा धुँवा पछ्‍याइरहेका नारायण काकाको जलेको मन निभ्ने कुनै सम्भावना थिएन।
सधैँ स्वस्थ र हँसिलो मुद्रामा देखिने लक्ष्मी काकीलाई छ महिनाअघि मात्र क्यान्सर भएको पत्ता लागेको थियो । नारायण काकाले लक्ष्मीलाई बचाउन हरसम्भव प्रयास गरेका थिए; जडिबुटी, औषधोपचार, धामीझाँक्री, भाकल, पूजापाठ आदि इत्यादि। तर अफसोस! लक्ष्मी काकीको आयुलाई उनको कुनै प्रयत्नले पनि लम्ब्याउन सकेन। जुन दिन लक्ष्मी काकीलाई दुलही बनाएर नारायण काकाले भित्र्याएका थिए, ५० वर्षपछि त्यही दिन उनले देहत्याग गरिन् ।
कत्रो अनर्थ!
आधा शताब्दीसम्म विशेष रहँदै आएको वैवाहिक वर्षगाँठको दिन उसका लागि एकाएक कालो दिनमा परिवर्तन भएको थियो। यसपालि वैवाहिक वर्षगाँठको दिन उल्लास होइन, आँधीबेरी बनेर आयो नारायण काकाको जीवनमा। लक्ष्मी काकी पत्नी बनेर घर भित्रिए यता विवाहको दिनमा नारायण काका र लक्ष्मी काकी पशुपतिनाथ मन्दिर जान्थे, चारै ढोका खुल्ने समयसम्म पर्खेर बस्थे, सबै ढोकाहरुबाट एकसाथ भगवानको दर्शन गर्थे। हुन त, अरु बेला पनि समय समयमा पशुपतिनाथको मन्दिर गइरहन्थ्यो यो त्यो जोडी तर विवाह गरेको दिन अनिवार्य नै गरेका थिए पशुपतिनाथको दर्शन। भक्ति संगीतसहित सन्ध्या आरतिको चलन शुरु गरेपछि पति-पत्नीको नामबाट पशुपतिमा आरति गराउन थालेका थिए दुवैजनाले। वृद्धाआश्रममा गएर गच्छे अनुसारको दान पनि गर्थे त्यस दिन। तर नियतिले यस वर्ष त्यो सुखद् अध्यायको दुखःद् अन्त्य गरिदिएको थियो। नारायण काका र लक्ष्मी काकीको प्रेमिल परम्पराको क्रमभंग भयो काकीको देहवसानसँगै।
यति चाँडै उनले परलोक रोज्छिन् भन्ने काकाले कल्पनासम्म गरेका थिएनन्‌। मृत्यु अवश्यंभावी हुन्छ, यो परम सत्य हो भन्ने जान्दाजान्दै पनि नारायण काकालाई आफ्नो पत्नीको मृत्यु सहन गर्न साह्रै कठिन भइरहेको थियो। दाह संस्कार सकिएसँगै घाटबाट फर्किनुअघि नारायण काकाले मन्दिरतिर फर्किएर भगवान पशुपतिनाथलाई प्रश्न गरेका थिए, ‘हे भगवान! मभन्दा झण्डै १० वर्ष कम उमेरकी लक्ष्मीको मृत्यु म भन्दा किन अघि? मैले के त्यस्तो अपराध गरेको थिएँ र मलाई यो सजाय?’
त्यसपछि काकाले आँसु पुछ्‌दै मनमनै अनेकथरि फतफताए ।
नारायण काका र लक्ष्मी काकीको प्रेम सबैको मनमा बस्ने खालकै थियो। लक्ष्मी काकी माइत जाँदा पनि धेरै दिन बस्नै सक्दिन थिइन् । उनलाई काकाको अत्यास लागि रहन्थ्यो। यता नारायण काकालाई पनि दिनभरि बाडुली लागिरहन्थ्यो, काकीले सम्झिएर होला, शायद। लक्ष्मी काकी माइतबाट फर्किने दिन नारायण काकाको फुर्तीफार्ती नै बढेको छलङ्गै देखिन्थ्यो। बिहानै सैलुनमा गएर दाह्री काट्‌ने र सेतै फुलेका केशहरुमा कालो रङ चढाउँथे उनी। अनि १/२ घण्टाअघि नै बस बिसौनी पुगेका हुन्थे । बस बिसौनीमा कोही चिनेको देखे भने नसोधे पनि पत्नीलाई लिन बसेको भनेर हँसिलो मुद्रामा सुनाउने गर्थे उनी।
ढुकुरको जोडीजस्तै थियो, नारायण काका र लक्ष्मीकाकीको जोडी। उनीहरुको झगडा कहिल्यै गाउँलेले देखेनन्। दोस्रो विवाहको प्रसंग कोट्‌याउँदा लक्ष्मी काकीसँग झर्किएका थिए, नारायण काका, जिन्दगीभरमा जम्माजम्मी एक पल्ट।
करिब ८/१० वर्षअघि वैशाखको घाममा घरबारीमा मकै गोड्‌ने क्रममा उनीहरुबीच आपसमा कुराकानी हुँदा को अघि मरिन्छ होला भन्ने विषय प्रसंगवश चलेको थियो।
‘मै पहिला मर्छु,’ काकीले हत्त न पत्त भनेकी थिइन्।
‘केको आधारमा तिमी मभन्दा पहिला मर्छ्यो र? म त तिमी भन्दा एक दशक नै जेठो छु। उमेरका हिसाबले म अघि मर्ने निश्चित छ,’ काकाले पत्नीको कुरा खारेज गर्दै जेष्ठताको प्रमाण पेश गरेका थिए।
काकीले त्यसलाई हाँस्दै अस्वीकार गर्दै भनेकी थिइन्, ‘भाग्य र उमेरमा भाग्य नै बलियो हुन्छ बूढा, म उमेरले हजुरभन्दा सानो भए पनि भाग्यमानी छु। भाग्यमानी पत्नी सौभाग्यवती हुन्छिन्‌, उनको सिउँदोको सिन्दुर कहिल्यै पुछिदैन भन्छन्।’
‘यस हिसाबले त तिम्रो कुरो ठीकै हो तर त्यस्तो अवस्था केही गरी आइलागे म चैँ कसरी एकाङ्की जिन्दगी बाँच्न सकूँला र बुढेसकालमा ?’ काकाले अनुहार मलिनो बनाउँदै लक्ष्मी काकीलाई प्रश्न गरेका थिए।
‘अर्को विवाह…!’ मात्र भन्न के भ्याएकी थिइन् लक्ष्मी काकीले ठट्टाको शैलीमा, काका त उधुम रिसाए । उनले भने, ‘भो, अब एक शब्द पनि नबोल ! चुप् लाग तिमी!’
लक्ष्मीलाई काकाले बोल्नै दिएनन्, भने, ‘हँसीमजाकमा पनि यस्तो कुरा मसँग नगर, म कदापि यो सुन्न चाहन्नँ । सात जुनीसँगै बिताउँला भनेर वाचा गर्दै अग्नि देवतालाई तिमीसँग सातै फेरो लगाएको कुरालाई मैले जीवनको आदर्श बनाएको छु। जीवनपर्यन्त यसलाई शिरोपर गर्नेछु।’
केही क्षणपछि अलि नरम स्वरमा नारायण काकाले पशुपतिनाथलाई पुकार्दै याचना गरेका थिए, ‘हे देवादिदेव! बरुसँगै मर्न पाइयोस् । त्यस्तो दिन चैँ आउँदै नआओस्‌!’
तर काकाले जे नहोस्‌ भन्ने चाहेका थिए, त्यही बज्रपात पर्‍यो यतिबेला । प्रारब्धमा उनले पत्नी वियोग भोग्नु पर्ने नै रहेछ!
स्वर्गीय पत्नीकै यादमा दिनहरु काट्‌ने गर्दथे, काका। काकी बितेयता उनलाई एक दिन पनि एक वर्षझैँ लामो लाग्थ्यो। त्यस्तैमा एक दिन मध्याह्नतिर नारायण काका गाउँको चौतारीमा टोलाएर बसिरहेको बेला स्पन्दन आइपुग्यो । गाउँले भतिज स्पन्दनले काकालाई निकै आदर गर्थ्यो अनि काका पनि उसलाई औधि माया गर्थे। दुईबीच भलाकुसारी हुँदै गर्दा काकाले पत्नी वियोगको प्रसंग कोट्‌याउन थालिहाले। हुन पनि लक्ष्मी काकीको मृत्युपछि नारायण काकाको मुखमा पत्नीको कुरा मात्र झुण्डिएको थियो। कुराकानीअघि बढ्‌दै जाँदा काकाको आँखाबाट आँशुका बलिन्द्र धारा बग्न थाले ।
‘पति-पत्नी एकअर्काका लागि नै जन्मेका हुँदा रहेछन्‌, झन पतिका लागि पत्नीभन्दा असल साथी यस धरामा कोही हुनै सक्दैन बाबु,’ काकाले आफ्नौ बिलौना कहन थाले, ‘लक्ष्मी बितेर गएपछि मेरो मन स्थिर नै छैन बाबु। जतिखेर पनि उसलाई नै झलझल्ती सम्झिरहेको हुन्छु। यस्तो चाहना हुन्छ कि छिट्टै आफू पनि परलोक पुगूँ।’
यति भनेपछि उनले आँसु पुछे। स्पन्दनले टोलाएर नारायण काकालाई हेरिमात्र रह्यो। नारायण काकाको आँशु मिश्रित शब्दहरुबाट स्पन्दनले यस्तो महसुस गरिरहेको थियो कि छोराबुहारी, छोरीज्वाईं, नातीनातिना सबैले विशेष हेरचाह, आदर र प्रेम दर्शाए पनि ती सबै कुराहरुले नारायण काकाको लागि पत्नीको रिक्ततालाई पूरा गर्न सकेको थिएन।
स्पन्दनको मुखबाट कुनै शब्द निस्किन सकिरहेका थिएनन् तर अनुहारको भावभंगीले ‘जिन्दगानी, कर्कलाको पानी’ भन्दै काकाका दुवै हत्केला प्रेमपूर्वक मुसारिरह्यो । अलिबेरसम्मै नारायण काकाले लक्ष्मी काकीका कयौँ प्रसंग कहिरहे। कुराकानी गर्दै जाँदा अबेला भइसकेको थियो तर समयले नेटो काटेको दुवैले पत्तो पाएनन्। साँझ पर्न लाग्दा रुखहरुमा बास बस्ने चराको चिरबिर आवाजले उनीहरुलाई झस्कायो। अबेला भैसकेकोले फेरि भेट्ने भन्दै छुट्टिएर आ-आफ्नो घरतर्फ लागे।
स्पन्दन चौतारीबाट भौतिक रुपमा नारायण काकासंग छुट्टिएको त थियो तर भावनात्मक रुपमा ऊ नारायण काकासँग छुट्टिन सकिरहेको थिएन। नारायण काकाको प्रेम र विछोडको पीडाले भरिएको जीवनगाथाले उसलाई रातभर नै बेचैन बनाइरह्यो। काकाको व्यथाभित्र उसले प्रेमको गहिरो महासागर देख्यो, अनि त्यो महासागरलाई नै रित्याउने गरी आएको भयङ्कर तुफानरुपी पीडा पनि महसुस गर्यो। कुनै प्रख्यात साहित्यकारले भनेझैं प्रेम शरीर होइन आत्माको अभिव्यक्ति हो, दुई आत्माको मिलन हो भन्ने चरितार्थ वयोवृद्ध नारायण काकाको जीवनकथामा हुबहु पाएको थियो उसले। उसलाई त्यति नै बेला एउटा प्रश्नले मनमा डेरा जमाउन थाल्यो, ‘नारायण काकाको उमेरका जोडीको शिक्षाप्रद प्रेमकथा हाम्रो समाजमा गुमनाम किन छ होला?’
हुन पनि उसले आजसम्म जति पनि दुनियाँभरका चर्चित प्रेम र विछोडका कथा व्यथा पढेको थियो, सुनेको थियो, त्यो यौवनावस्था र वयस्क उमेरको सेरोफेरोमा घुमेको पाएको थियो, चाहे त्यो मुना मदनको होस्‌ या लैला मजनुको, सलिम अनारकलीको होस्‌ या रोमियो जुलिएटको अमर कथा। प्रेममा आधारित संयोगान्त, वियोगान्त सबै प्रकृतिका प्रायजसो उपन्यास, नाटक, चलचित्रहरु पनि त्यही उमेरको सेरोफेरोमा लेखिएको, बनाइएको उसले पाएको थियो। उसलाई पनि प्रेम वयस्क उमेर सापेक्षित भावनात्मक अभिव्यक्ति हो जस्तो भान भएको थियो। तर नारायण काका र लक्ष्मी काकी बीचको प्रेमकथाले उसलाई प्रेमको फराकिलो क्षितिजबारे उजागर गरायो।
तत्कालै स्पन्दनले निर्क्योल गर्‍यो; विवाहमा लगाएको मेहन्दीको रङ नसुक्दै सम्बन्ध विच्छेद गर्ने प्रवृत्ति बढ्दै गएको हाम्रो समाजमा एउटा गहकिलो सन्देश दिने वयोवृद्ध नारायण काकाको अनमोल प्रेम कथा लेख्ने। जसैजसै उसले अक्षर कोर्दै जान्थ्यो, अक्षरहरु प्रेमपूर्वक एकआपस आफैँ गाँसिदै बुनिदै शब्द शब्द बनेर नारायण काका र लक्ष्मी काकीको प्रेमकथा पस्किरहेका थिए। एउटै बसाइमा उसले कथा लेखी टुङ्ग्यायो । अन्त्यमा आदर्श प्रेमका प्रतीक नारायण काका र उनकी स्वर्गीय जीवन संगिनी लक्ष्मीप्रति समर्पित गर्दै कथाको बिट मार्‌यो ।

कौशलटार, भक्तपुर