साहित्यिक रचनाहरू पढ्न पाउँदा भोक र निद्रा नै गायब होला झैँ हुन्थ्यो । रचना आद्योपान्त पढिसकेपछि गहिरिएर हेरिरहन्थे लेखकको नाम । जसरी ती लेखकको नाम प्रियकर लाग्थ्यो, उसै गरी ती नामले गम्भीर पनि बनाउँथ्यो । घण्टौँ सोचमग्न हुन्थेँ; आहा ! जिन्दगीमा यस्तै लेखक बन्न पाए कति मज्जा आउँथ्यो होला !
त्यस बेला हाजिरी जवाफ प्रतियोगिता पनि मेरो प्रिय खेलमध्येको एक थियो । हाजिरी जवाफ प्रतियोगिताको तयारीका लागि सामान्य ज्ञानका पुस्तकहरू खर्लप्पै निलुँला झैँ गर्थेँ ।
हाजिरी जवाफ प्रतियोगितामा मेरो दख्खलको प्रमाण हो, २०४५ सालमा आयोजित धनकुटा जिल्लाव्यापी अन्तर माध्यमिक विद्यालय हाजिरी जवाफ प्रतियोगितामा गोकुण्डेश्वर माध्यमिक विद्यालयको हाम्रो समूहले पाएको पहिलो स्थान । हामीले प्रतिस्पर्धीलाई कतिसम्म पछाडि पारेका थियौँ भने प्रतियोगिताभर प्रश्न सोधिसक्दा हामीले ८ अङ्क पाएका थियौँ भने दुई वटा समूहले ३-३ अङ्क पाएका थिए । अतिरिक्त प्रश्न सोध्दा एउटा समूहले १ अङ्क थपेर दोस्रो स्थान सुरक्षित बनाएको थियो ।
तीन जनाको समूह रहेकोमा समूहका साथीमध्ये रामप्रसाद वाग्ले हाल: नेपाल सरकारका उपसचिव छन् भने अर्का मित्र अरुण पौडेल सञ्चारविज्ञ । यी दुवै साथी अब्बल दर्जाका व्यक्तित्वका रूपमा स्थापित भए । म चाहिँ लेखक भई टोपलेको छु, यस्तै फाट्टफुट्ट के के लेखिबस्छु ।
त्यस बेलाको सामान्य ज्ञानमा सोधिने वस्तुगत प्रश्नहरूमध्ये सन्दर्भवश मैले कण्ठस्थ पारेको दुई प्रश्नको चर्चा गरिरहेछु । तीमध्ये एउटा प्रश्न थियो, नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा सबैभन्दा कम उमेरमा प्राज्ञ बन्ने साहित्यकार को हुन् ? र अर्को प्रश्न थियो, साहित्यकार तुलसी दिवसको वास्तविक नाम के हो ?
यी दुवै प्रश्न धनकुटा बजारका बासिन्दा महाप्रसाद जोशीका छोरा तुलसीप्रसाद जोशीसँग सम्बन्धित छ, जो ३० वर्षको उमेरमै तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानका सदस्य भए ।
० ० ०
तुलसी दिवससँग साहित्यिक मात्रै होइन, स्थानीय गाउँले दाजु-भाइको सम्बन्ध पनि छ मेरो । उनको घर धनकुटा नगरको वडा नम्बर ६ मा रहेको छ भने मेरो चाहिँ वडा नम्बर ४ मा । यस प्रोक्सिमिटी फ्याक्टरले पनि साहित्यकार तुलसी दिवसलाई प्रत्यक्ष रूपमा देखूँ देखूँ लाग्ने भइहाल्यो ।
तर उनी म जन्मनुभन्दा अघि नै राजधानी सहर काठमाडौँमा छाएर साहित्याकासमा चम्किसकेका थिए । उनी र उनीजस्तै लेखकहरूको रचना पढिसकेपछि उनीहरूको नाम हेरेर घण्टौँ सोचमग्न हुने गर्थेँ; आहा, जिन्दगीमा उनीहरूजस्तै लेखकका रूपमा आफ्नो नाम छाप्न पाए कति मज्जा हुने थियो होला !
० ० ०
२०४४ सालमा मैले जिन्दगीमा पहिलो पटक सबैभन्दा ठुलो साहित्यिक जमघटमा देख्ने अवसर पाएँ । कवि केदारमान व्यथितसहित राष्ट्रिय स्तरमा नाम कमाएका साहित्यकारहरूको एउटा ठुलो जमघट भएको थियो, धनकुटाको तत्कालीन सीएमए क्याम्पसको प्रेक्षालयमा । कक्षा ९ मा पढिरहेको म पनि सुटुक्क कक्षाबाट भागेर कविता सुन्न पुगेको थिएँ ।
कवि बम देवान भर्खरै धरान नगर पञ्चायतमा जनपक्षीय उम्मेदवारको रूपमा विजयी भएर ठुलो चर्चामा थिए । उनको कविता “समय” ले मेरो कलिलो मस्तिष्कलाई नराम्ररी झट्का दिएको थियो । कृष्णभुषण बलले आफ्ना साथीहरूसँग रक्सी पिएको क्षणहरूलाई कवितामा उन्दै वाचन गरेको कविताको एउटा हरफ चाहिँ अहिले पनि बिर्सिएको छैन,
“…रात पनि धेरै ढल्किसक्यो
अब त बिसाऊँ कि थापाजी !”
मैले कवि कृष्णभुषण बलसँगको १३ वर्षअघिको असम साहित्य सभाको कार्यक्रममा जाँदै सोधेको थिएँ, “दाजु, तपाईँले रक्सी पिउने सन्दर्भमा लेखेको कवितामा उल्लेखित ग्लासफ्रेण्ड थापाजी चाहिँ को हुन् नि ?”
उनले बताएअनुसार ती कवितामा उल्लेखित थापाजी त वरिष्ठ पत्रकार खिलध्वज थापा पो रहेछन् । जोसँग मेरो राम्रै सङ्गत छ, बेला बेलामा भरिएको ग्लाससहितको फोटोमार्फत् थापा दाइलाई फेसबुकमा देख्दा म पनि कृष्णभुषण बलको ३६ वर्षअघि सुनेको कविताको हरफबाट कमेन्ट ठोकिहाल्छु,
“…रात पनि धेरै ढल्किसक्यो
अब त बिसाऊँ कि थापाजी !”
यहीँ साहित्यिक कार्यक्रममा एक जना सिंहजस्तो मानिस पाहुनाहरूको सत्कारमा ठुलो खातिरदारी गरिरहेको देख्न पाइन्थ्यो । झ्याप्प दाह्री जुँगा पालेका र ज्याङ्गो शरीरका ती व्यक्तिको सक्रिय गतिविधिलाई दर्शकदीर्घा एक टक लगाएर नियालिरहेको थियो । दर्शकदीर्घामा चलेको खासखुसबाटै मैले थाहा पाएँ, ती सिंहरूपी मानिस त सिंहनाद छाडेर गर्जना दिने कवि तुलसी दिवस पो रहेछन् ।
यो उमेरमा पनि उनको कविता वाचनमा सिंहनाद झैँ लाग्छ, माहौलमा उत्पातै भाइब्रेसन उत्पन्न गरिदिने ।
कवि गोष्ठीमा उनी आफ्नो गृहनगरमा जसरी पाहुनालाई सत्कारिरहेका थिए, उसै गरी आयोजकहरूलाई अह्राऊखटाऊ ।
उमेर ढल्कँदै जाँदा उनी सफाचट हुँदै गए, दाह्री-जुँगा फालेर । तर आफ्नो वैँशालु उमेरभरि उनले झ्याप्प दाह्री-जुँगा पालिरहे ।
सुनिएअनुसार युवा अवस्थामा दाह्री-जुँगाप्रेम उनको बाध्यकारी आवश्यकता थियो । हामी एक दिन उनकै विषयमा चर्चा गरिरहेका थियौँ । यसबारे सङ्गीतकार बुलु मुकारुङले एउटा रोचक कारण खुलाए । उनले बताएअनुसार ३० वर्षकै उमेरमा प्राज्ञ भएपछि झट्ट हेरिदिनेले प्राज्ञ भनेर नपत्याइदेलान् भन्ने डर भएछ उनलाई । त्यसैले परिपक्व देखिनका लागि उनले त्यस बेला दाह्री जुँगा पालेका रे !
० ० ०
२०४४ सालको हिउँदमा राजा वीरेन्द्रको धनकुटा भ्रमण भएको थियो । नेपाल टेलिभिजनले धनकुटामा राजाको भ्रमण अवधिभर कार्यक्रम प्रसारण गरेको थियो । टेलिभिजनको पर्दामा उनले “लालपातीको घोडा” कविता वाचन गरेको अहिल्यै जस्तो लाग्छ । झ्याप्प दाह्री-जुँगा पालेका र खास्टो ओढेका उनी सामान्य पाठकले कल्पना गर्ने जस्तै परिपक्व कविका रूपमा देखा परेका थिए, टेलिभिजनको पर्दामा । हाम्रो टोलमा खरिदार सिंहवीर पाख्रिनको घरमा मात्रै थियो, त्यस बेला श्यामस्वेत टेलिभिजन सेट । हामी पुरै टोलवासी उनको घरमा टेलिभिजन हेर्न धुरिन्थ्यौँ । टेलिभिजनमा तुलसी दिवसलाई कविता वाचन गर्दै गरेको देखेको त्यो दुर्लभ अवसरलाई सम्झना मात्र गर्न पाउनुले पनि मन आनन्दित भइदिन्छ ।
कविताको सारअनुसार आफूलाई नायक सम्झने बालक लालपातीको घोडा चढेर आफ्नी नायिकालाई भेट्न फुर्तीका साथ वेग मारिरहेको हुन्छ ।
लालपाती अर्थात् लालुपातेको बोट लामो र कमलो हुन्छ । अरूतिर त थाहा छैन, तर धनकुटाका हामी बालकहरू त्यस बेला लालपातीको लामो हाँगा लाछेर त्यो हाँगा टाङमुनि च्यापेर “हट घोडा हट” भन्दै दौडेर घोडाबाजी खेल्थ्यौँ । यस्तो अनुभूतिको सँगालो बोकेको मलाई तुलसी दिवसकै वाचनबाट सुनेको कविता “लालपातीको घोडा”ले छुनसम्म छोएको थियो ।
० ० ०
मेरा यी गाउँले दाइसँग पढ्न र खाइजीविका गर्न धनकुटाबाट राजधानी सहरमा झरिसकेपछि मात्रै सानिध्यताको अवसर पाएँ ।
“लालपातीको घोडा” र अरू यस्तै कालजयी कवितामार्फत कल्पनाको वायुपङ्खी घोडामा वेग मार्ने अविवाहित कवि तथा संस्कृतिविद तुलसी दिवसले जवान अवस्थामा चारखुट्टे घोडा चढेर आफ्नी नायिकालाई भेट्न कतिसम्मका वेग मारे होलान् ? धेरैको मनमा कौतुहलता जगाउने प्रश्न हो यो । केही वर्षअघि उनको पाटन चाकुपाटस्थित भव्य बङ्गलामा पुगेर मैले पनि उनीसमक्ष यहीँ कौतुहलताको बिस्कुन फिँजाएको थिएँ ।
उनले आफ्नो जवानीको प्रेम र बिछोडका घटनाहरू कहिले उत्साहित हुँदै, कहिले भावुकिँदै सुनाए । तर उनले मसँग प्रेम र बिछोडका कथा भरिएको पुन्तरो जति फुकाए, ती सबै उनले प्राध्यापन गरेको पद्मकन्या कलेज परिसरमै सीमित थियो । उनी बडो जोसका साथ भनिरहेका थिए:
“जिन्दगी एउटा घटना हो, जो सोचेजस्तो र कल्पना गरेजस्तो नहुन सक्छ । मेरो विवाह नहुनु र मेरो जिन्दगीप्रतिको दर्शनको तादम्यता कसरी मिलेको छ ? अचम्म छ । म त भन्छु, जिन्दगी सोचेजस्तो सरल रेखामा होइन, नसोचेको बाङ्गो टिङ्गो वक्र रेखामा हिँडिदिन सक्छ ।
(उनले यति भनिरहँदा उनको “बाटो” शीर्षकको कविता याद आयो । उनले लेखेका छन्:
हिँड्दा हिँड्दै मोडमा
हिँडेको बाटो नै मोडिएपछि
हिँड्नेको पनि केही लाग्दो रहेनछ
तेर्सिंदा तेर्सिंदै तेर्सोमा
तेर्सिएको बाटो नै उक्लिएपछि
तेर्सिनेको पनि केही लाग्दो रहेनछ
उक्लँदा उक्लँदै उकालोमा
उक्लिएको बाटो नै ओर्लिएपछि
उक्लनेको पनि केही लाग्दो रहेनछ
ओर्लंदा ओर्लंदै ओह्रालोमा
ओर्लेको बाटो नै उक्लिएपछि
ओर्लनेको पनि केही लाग्दो रहेनछ ।)
मलाई सोधिने प्रश्नमध्ये मेरो विवाह र प्रेम प्रसङ्ग पनि पर्छ । थाहा छैन किन हो, मलाई प्रश्न सोध्नेहरूले यस विषयलाई अनिवार्यजस्तो पनि बनाउने गरेका छन् ।
मतिर जब मेरो प्रेमको बारेमा प्रश्नहरू सोझिन्छन्, तब म पनि उत्साहित भइहाल्छु । म त एउटा खुल्ला किताब हुँ, मलाई धीत नमरुन्जेल पढुन् भन्ठान्छु । आखिर लुकाउनु पर्ने नै के छ र ? मसँग त नेपाली मात्रै होइन, विदेशी महिलासँग पनि प्रेम गरेको प्रशस्तै अनुभवको सँगालो छ ।
पहिले कलेज जीवनबाट कुरा सुरु गरौँ है !
धनकुटाबाट एसएलसी गरेर आईएस्सी पढ्न म काठमाडौँ आएँ । हालको अस्कलको नाम त्यस बेला पब्लिक साइन्स क्याम्पस थियो । त्यहीँ भर्ना भएँ । त्यस बेला म साहित्य लेखन, नाटक मञ्चन र खेलकुदमा पनि सक्रिय थिएँ । त्यसो हुँदा म धेरैको नोटिसमा रहन्थेँ ।
हामी सिर्जनशीलहरूको सङ्गातीमा सात जना महिला साथीहरू पनि थिए । किताब साटासाट गरेर पढ्ने चलन थियो । किताब साटासाट गर्दा कहिलेकाहीँ किताब मात्रै आउँदैनथ्यो, किताबभित्र चिठी पनि आउँथ्यो । चिठीमा अप्रत्यक्ष रूपमा प्रेम पनि व्यक्त गरिएको हुन्थ्यो । किताब साटासाट गर्दा चिठी लेख्ने एक जना मात्रै भएको भए अर्कै कुरा हुन्थ्यो होला । तर धेरै जना भएकोले हार्दिकता भयो, घनिष्ठता व्यवस्थापन गर्न भने सकिएन ।
मेरो त पहिलो उद्देश्य डाक्टर बनेर सामाजिक क्षेत्रमा काम गर्ने रहेको थियो । त्यसैले मैले विज्ञान विषयलाई रोज्न पुगेको हुँ । तर पछि मात्र मलाई आत्मबोध भयो, विज्ञान मेरो क्षेत्र होइन ।
साहित्य लेखन र नाटक मञ्चन भनेपछि मरिहत्ते गर्ने परेँ म । त्यसपछि मैले सधैँका लागि विज्ञान विषयलाई परित्याग गरेँ, अनि रोजेँ मानविकी र सामाजिक शास्त्र । यहीँ विषयमा पढाइ सकेर प्राध्यापनका लागि पद्मकन्यामा पुग्दा मेरो ओठमाथि भर्खरै जुँगाको रेखी बस्दै थियो । कलेज पढाउन सुरु गरेको तीनचार वर्षमा पद्मकन्यामा मात्रै पाँच हजार जति अटोग्राफ भर्न भ्याएँ मैले ।
खोइ किन हो, विद्यार्थीहरू मलाई अटो भराउन मरिहत्ते गर्थे ।
त्यस बेला पद्मकन्यामै पढाउने एक सुसंस्कृत सहकर्मी थिइन्, सुन्दर आवरणदेखि भित्री बौद्धिकताले भरिपूर्ण । मैले धेरै जनासँग प्रेम गरेँ । तर ती सुन्दर बौद्धिक प्राध्यापक सहकर्मीलाई म आफ्नो पहिलो प्रेमको “मूल मान्छे” ठान्छु । तिनै मूल मान्छेसँग मभित्र प्रेमको पहिलो अङ्कुरण पलाएको अनुभूति भयो ।
ती मूल मान्छे र मबिचमा सेतुको काम गरेकी थिइन्, पद्मकन्यामै पढाउने उनकी दिदी (सानीआमाकी छोरी)ले । अचम्म पनि के भने मलाई मन पराउने जतिले उनकै दिदीमार्फत् मसम्म कुरा पुर्याउने !
मलाई थाहा थियो, मैले लेखेको प्रेमपत्रहरू ती मूल मान्छेले सधैँ आफ्नो साथमा राखेर हिँड्ने गरेकी छन् ।
त्यसै बेला अर्की एक सहकर्मी पनि तिनै मूल मान्छेकी दिदीसँग नजिकिइन्, त्यो पनि मेरै लागि । ती मूल मान्छे र अर्की मसँग नजिकिन लागेकी सहकर्मीबिच एकापसमा ईर्ष्याभाव प्रकट भइरहेको महसुस मलाई भइरहेको थियो ।
म परेँ, सिर्जनात्मक गतिविधिमा सक्रिय मान्छे । टेबलटेनिस खेलमा पनि उत्तिकै चल्तापुर्जा थिएँ । मैले माथि पनि भनिसकेँ, मौलिक शैलीका कारण म धेरैको नोटिसमा परेको थिएँ ।
त्यस बेला अटोग्राफ भर्ने चलन भएको मैले माथि पनि उल्लेख गरिसकेको छु । अटोग्राफ भर्दा आफूलाई सबैभन्दा मन पर्ने राम्रो मान्छेको नाम पनि लेख्ने चलन रहेछ । राम्रो मान्छेका रूपमा अधिकांश विद्यार्थीले एक जना चल्तापुर्जा छात्राको नाम लेखेका थिए । ती छात्रा परिन्, सांस्कृतिक कार्यक्रमहरूमा सहभागी भइरहने अनि मसँग निकट र मसँगै टेबलटेनिस खेलिरहने ।
एक दिन एक जना प्राध्यापक मित्रले मलाई अचम्मको कुरा सुनाए । अचम्म पनि कस्तो भने मेरो विवाह भइसकेको कुरा ! उनले सुनाएअनुसार मसँग टेबलटेनिस खेलिरहने ती छात्रासँग मेरो विवाह भइसकेको कुरा सुनाएर मलाई आफैलाई ठूलो आश्चर्यमा पारे । उनले भने, “सरले विवाहको भोज त खुवाउनु भएन । तर पनि सरलाई बधाई र शुभकामना छ ।” हुँदै नभएको विवाहको बधाई र शुभकामना पनि पाएँ मैले । मैले तीन छक्क परेर बधाई र शुभकामना अस्वीकार गरेँ ।
यसरी विस्तारै पद्मकन्यामा ती छात्रासँग पनि मेरो नाम जोडियो ।
पद्मकन्या परिसरमा मूल मान्छेसँग मेरो दोहोरो प्रेम, अर्की एक जना सहकर्मीको मप्रतिको एकतर्फी आकर्षण अनि ती छात्रा र मबिचको प्रेमको निराधार हल्ला ! यसरी मेरो सम्मुख त्रिकोणात्मक होइन, चौकोणात्मक प्रेमको चर्चा चुलिएको थियो ।
एक दिन मूल मान्छे पारिवारिक प्रचलनअनुसार नारायणी नदीमा पूजा गर्न गइन् । त्यहाँबाट उनले मेरो लागि नदीको पानीले काटेको गोलो र चिल्लो ढुङ्गा उपहार ल्याइदिएकी थिइन् । कसो कसो मूल मान्छेबाट उपहार प्राप्त त्यहीँ ढुङ्गामा एउटा चराको चित्र बनाएर अर्की मप्रति एकतर्फी रूपमा आकर्षित सहकर्मीलाई उपहार दिन पुगेछु । यो कुरा मूल मान्छेले थाहा पाइहालिछन् । मैले मूल मान्छेको मुहार चित्र पानी रङले बनाएर उनैलाई उपहार दिन ठिक्क पारेको थिएँ, तर दिन भने भ्याएको थिइनँ । उनी त मैले ढुङ्गामा बनाएको चित्रलाई लिएर मलाई बारम्बार व्यङ्ग्यवाणले प्रहार गर्न थालिन् । यसबाट मलाई अलि दिक्क लाग्न थालेको थियो ।
अब मूल मान्छेसँग मेरो असमझदारी मात्र होइन, दूरी पनि बढ्दै जान थाल्यो । मूल मान्छेसँग मेरो प्रेम सकियो भन्दा पनि भयो । अर्कोतर्फ मसँग टेबलटेनिस खेलिरहने छात्रासँग नभएको सम्बन्धबारे हल्ला चल्दै जानुले पनि मेरो मन एकतमास भइरहेको थियो । मूल मान्छेसँग मेरो दोहोरो प्रेम सकिएपछि म कसो कसो ती छात्रातिर आकर्षित पो भइरहेको छैन भन्ने पनि लाग्न थालिसकेको थियो ।
एक दिन ती छात्रालाई पुस्तकालयमा बोलाएर यसबारेमा सोधेँ । उनले भनिन्,“मलाई थाहा छ, सरसँग मेरो नाम जोडेर कुरा गर्छन् ।” ती छात्राले पनि मबाट प्रेमको अपेक्षा गरेकी थिइन् भन्ने मैले पनि महसुस गरेको थिएँ । मैले ती छात्रालाई म आफू उनको गुरु हुनुको नाताले भनेँ, “यो हल्लालाई अन्यथा नलिनू है !”
त्यसको दुई महिनापछि मैले एउटा विवाहका निम्तो पाएँ । विवाह त त्यहीँ छात्राको रहेछ, जसलाई मैले कता कता मन पराउन थालेको थिएँ । उनकै विवाह समारोहमा सरिक भएँ, बधाई दिएर भोज खाईवरी फर्केँ । यतातिरको आशाको त्यान्द्रो पनि चुँडियो अब ।
विवाहमा निम्तो आयो, बधाई दिइयो, भोज खाइयो, सकियो । यतिसम्म त ठिकै थियो ।
त्यसको दुई महिनापछि पढाउन जाँदा मैले एक जना राम्री केटी सिउँदोमा टलक्क सिन्दूर सजाएर पढ्न आउँदै गरेको अलि टाढाबाट देखेँ । “को आएछ विवाह गरेर” यस्तो सोच्दै ती केटी नजिक जाँदा त सिउँदोमा टलक्क सिन्दूर भरेर आउने उनै चिरपरिचित छात्रा पो रहिछन्, जसको विवाह भोजमा म सरिक भएको थिएँ । त्यतिखेर पो मलाई उनको सिउँदोमा टल्केको रातो सिन्दूरले झस्काउनुसम्म झस्कायो ! पहिले एउटा गुरु भएर आदर्शको कुरा गरेँ । त्यस बेला म तिमीलाई मन पराउँछु नभनेको वा भन्न नसकेकोमा भने मलाई ठूलो पछुतो भयो ।
म यस्ता घटनालाई जिन्दगीको एउटा “पर्दा” ठान्छु । हो, जिन्दगी एउटा पर्दा हो, पर्दाबाहिर एउटा हुन्छ, पर्दाभित्र अर्को !
यहीँ विषयलाई लिएर मैले “पर्दा” शीर्षकको एउटा कथा पनि लेखेको थिएँ, तर कतै छपाइनँ ।
उता मूल मान्छेको पनि एक वर्षपछि विवाह भयो । अर्की मसँग एकतर्फी रूपमा आकर्षित सहकर्मी पनि मूल मान्छेसँग मेरो दोहोरो प्रेम थाहा पाएर मबाट परपर भइसकेकी थिइन् ।
२८/२९ वर्षको उमेरमा म प्राज्ञ भएर प्रज्ञा प्रतिष्ठानमा पसिसकेको थिएँ । विवाह गर्ने उमेरमा सम्पूर्ण प्रेममा पर्दा लागिसकेको थियो ।
एक दिन मलाई खोज्दै प्रज्ञा प्रतिष्ठानमा एक महिला आइपुगिन् । ती महिला तिनै थिइन्, जसलाई मैले ढुङ्गामा चराको चित्र बनाएर उपहार दिएको थिएँ । त्यहीँ उपहारका कारण मेरो प्रेममा दरार उत्पन्न हुन पुगेको थियो । ती महिला, जो कुनै समय मप्रति एकतर्फी रूपमा आकर्षित पनि थिइन् ।
उनी विदेशमा पुगी थप शिक्षा लिएर आएकी थिइन् र अनुसन्धानमा सक्रिय थिइन् । उनी बारम्बार मलाई भेट्न प्रज्ञा प्रतिष्ठानमा आइरहन्थिन् । कुराकानी हुन्थ्यो । उनलाई बृहत् नेपाली शब्दकोश चाहिएको थियो, जो बिक्री भइसकेकोले प्रज्ञा प्रतिष्ठानमा उपलब्ध थिएन ।
मेरो मन कसो कसो उनैमाथि पर्न थाल्यो । उनैले कुनै बेला मलाई एकतर्फी माया गर्थिन् । उनीसँग कुरा राख्नै पर्यो भन्ने लाग्यो । कुरा राख्ने आँट कस्दै थिएँ । उनी आफूलाई भेट्न आएको बेला कुरा राख्छु भन्ने सोच बनाउँदै थिएँ । एक दिन फेरि उनी मलाई भेट्न प्रज्ञा प्रतिष्ठानमा आइन् । जुन दिन कुरा राख्ने योजना बनाएको थिएँ, त्यहीँ दिन दुईतीन जना कविहरू आएर मेरो कार्यकक्षमा बसिरहे । उनीहरूलाई जाऊ भन्न पनि मिलेन । क्या, पर्यो फसाद !
ती महिलासँग कुरा राख्ने तयारीमै थिएँ, म । उनलाई बृहत् नेपाली शब्दकोश चाहिएको । संयोगवश मसँग घरमा यसका दुई प्रति थिए । तीमध्ये एउटा प्रति मैले ती महिलालाई दिएको थिएँ । शब्दकोश ती महिलाको हात परिसकेको थियो । फेरि एक पटक म झसङ्गै भएँ ।
कारण थियो, मेरो पूर्व प्रेमिका अर्थात् माथि उल्लेख गरिएकी मूल मान्छेको पानी रङले बनाएको मुहार चित्र । त्यो सुन्दर मुहार चित्र मैले उनलाई उपहार दिन नभ्याउँदै हामीबिचको प्रेमको धागो चुँडिन पुगेको थियो । त्यहीँ मुहारचित्र मैले त्यो शब्दकोशभित्र सुरक्षित राखेको थिएँ । पहिले ती महिला र मूल मान्छे एकर्काका कुरा काट्थे, मप्रतिको आकर्षणको कारण कुनै बेला बाटो उनीहरू एकापसमा बाटो छेकाछेक गर्थे । त्यहीँ मुहारचित्र सुरक्षित राखेको शब्दकोश चाहिँ ती महिलालाई दिएर पठाएछु ।
मैले त्यो मुहारचित्र फिर्ता मागेँ, फिर्ता पाएँ पनि । यसअघिको मेरो प्रेम प्रकरणका विषयमा जानकार थिइन्, ती महिला । त्यसमाथि शब्दकोशभित्र सुरक्षित राखिएको पूर्व प्रेमिकाको मुहार चित्रका साथ मलाई उनले “रंगेहात” समातेकी थिइन् । यसले गर्दा मप्रति उनमा नकारात्मक प्रभाव पर्न गयो । त्यसपछि मैले पनि उनीसँग जे सोचेको थिएँ, त्यो कुरा गर्ने आँट गरिनँ । यसको एक डेढ वर्षपछि त उनको पनि विवाह भयो ।
पद्मकन्या परिसरमा मसँग एकतर्फी, दुईतर्फी रूपमा जोडिएका तिनै जना नातानातिनीको धनी पनि भइसके । जिन्दगी कल्पना गरेजस्तो हुँदैन, यो त मेरो प्रेमप्रकरणले पनि प्रमाणित गरिदिएको छ । मेरो जोसँग पहिलो प्रेम भयो, उनीसँग नयाँ वर्ष, दशैँजस्ता अवसरमा शुभकामना आदान प्रदान हुन्छ । म कसैको परिवार भाँड्न चाहन्नँ । अहिले पनि स्वस्थ सम्बन्ध छँदै छ ।
सन् १९८६ मा दिल्लीस्थित नेपाली दूतावासमा कल्चरल कन्सल्ट्यान्ट भएर पुगेको थिएँ । त्यहाँ नेपाल दिवस मनाउने क्रममा उनलाई भेट्न एक महिला आइपुगिन् । ती महिला उनै पद्मकनयाकी छात्रा थिइन्, जोसँग मेरो नाम जोडिएको थियो । उनको श्रीमान् मुम्बईमा एउटा राम्रो जागिरमा रहेछन् । उनी मुम्बईबाट मलाई भेट्न एक्लै दिल्ली आएकी रहिछन् । कुनै बेला मन परेको मान्छे, आफूलाई भेट्न आउँदा खुसी नहुने कुरै भएन । मैले उनको सौहार्द स्वागत गरेको थिएँ ।
नेपाल दिवसमा पाहुनाहरूको जमघट थियो । हामी दुई सँगै हिँडिरहेका हुन्थ्यौँ । कहिलेकाहीँ हामी दुईको दूरी अलि टाढा भइदिँदा भारतीय विशिष्ट पाहुनाहरू मलाई भन्थे, “तपाईँकी श्रीमती कति राम्री, कति सुसंस्कृत !”
कुनै बेला ती महिलासँग पद्मकन्या परिसरमा मेरो नाम मात्रै जोडिएन नभएको विवाहको बधाई पनि खान भ्याएको थिएँ । फेरि दिल्लीमा भारतीय पाहुनाहरूको यस्तो प्रतिक्रिया !
यस्तै हो, सोचेको जस्तो हुँदैन जिन्दगी । जिन्दगी एउटा घटना हो, जस्तो घटना हुन्छ, त्यस्तै हुन्छ जिन्दगी । जिन्दगी सरल रेखाभन्दा बढी वक्र रेखा भइदिन्छ । मेरो प्रेम कथाको यात्रा पनि यस्तै वक्र रेखा जस्तो छैन त ?
० ० ०
कवि तुलसी दिवस जात थरले जोशी नेवार हुन् । जोशी अर्थात् नेवारभित्रको जैशी बाहुन । जैशीको काम हो, ज्योतिषी हेर्ने । ज्योतिषले जुराउँछन्, बिहेको लगन र साइत । तर यी ज्योतिषको सन्तानले भने आफ्नै बिहेको लगन र साइत भने कहिल्यै जुराउन सकेन ।
यी कविको प्रेम र बिछोडका यस्तो भावपूर्ण घटनाहरू सुनिसकेपछि मलाई पनि भावुक बनायो ।
चाकुपाटबाट भावुक भएर फर्कंदा उनको चर्चित प्रेम कविता “रातो फूल”का हरफ मनमनै वाचन गर्दै थिएँ,
…मरिसकेको छु म बाँचेर पनि
चिसा एक लाश उसको लागि
तर बाँचेकी छ ऊ मरेर पनि
मेरो-खाली मेरो जीवनको लागि ।
प्रत्येक झोँका आउँछ वसन्तको
सुवास बोकेर केही चिमोट्ने याद उसैको
कोट्याउँदै बिउँझाएर सुषुप्त बीउलाई
बिउँझाइदिन्छ घाम-पानी-हावाले सुतेको बीउलाई
र खाटा बसिसकेको मुटुको रगतमा
फूल फुल्छ फूल अनि रातो रातो
हरेक बिहान मेरो कोटको कलरमा उदाउने सूर्यफूल
हरेक साँझ उसको कपालमा उदाउने चन्द्रफूल ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।