आज फेरि एउटा सिङ्गो अनिँदो रात कट्यो । कति मात्र ओल्टे, कोल्टे फेर्नु, कति मात्र उठेर झोक्राएर बस्नु, ट्वाइलेट जानु, आउनु । भित्र बस्दाबस्दा मन त्यसै उकुसमुकुस भयो । अरुलाई डिस्टर्ब होला भनेर बरण्डामा निस्किइन् प्रेक्षा।
अँध्यारो औंसीको रात चुक अमिलो जसरी घोप्टियो उनको आँखाभरि र मनभरि ।
ढोका खोलेर विस्तारै छतमा पुगिन् । वरिपरि सुनसान छ । यो शहरका गल्लीहरुमा पनि टाढाटाढा बत्ती बलेका देखिन्छन् । कुकुरहरु एकतमासले भुकिरहेका छन् । विश्वभर फैलिएको कोरोनाको महामारीले नेपालका मानिसहरु पनि घरभित्र थन्किएको दुइ महिना भन्दा बढी भै सक्यो । साथी, सहपाठी, इष्टमित्रहरुलाई भेट्न नपाउँदा र आफ्ना कामहरु सुचारु गर्न नपाउँदा मानिसहरु आत्तिएर मनोरोगी जस्ता भैसके । मानिसहरुको जीवन र अस्तित्व नै संकटमा परेकाले मनस्थितिमा नै परिवर्तन ल्याइदियो । चलायमान समयका चलायमान मानिसहरुलाई कोरोना भाइरसले टक्क रोकिदियो जहाँको तहीँ । आखिर यो जिन्दगी अनित्य न छ ।
“जिन्दगी यो फूलैफूलको थुँगो हुँदैन
फक्रिने र ओइलाउने टुङ्गो हुँदैन”
यो गीत जस्तै भएको छ मानिसको जीवन आज । यति ठूलो शहरमा पनि मान्छेका अनुहार पढ्दा, उनीहरुको मनभित्र मुर्दाशान्ति छाएको जस्तो अनुभूति हुँदै छ उनलाई । अहो ! कोरोनाले लाखौं मानिसहरु मरिरहेको यस्तो अवस्थामा पनि प्रेम, मात्र प्रेम गरेको निहुँमा ज्यान गुमाउनु परेको छ । जात धर्म, रङ, वर्ग, उँचनीचभन्दा माथि किन उठ्न सकेनन् यो देशका मान्छेहरु ? आजको एक्काइसौं शताब्दीमा पनि किन घडी उल्टो घुमेर ११औं शताब्दीमा पुग्यो ? लैला मजनु र रोमियो जुलियटको जस्तै गरेर अन्ततः वियोगगान्त भयो, यो जमानाको प्रेम पनि । कहिले प्रेमी मारिए र भेरीमा फालिए सामाजिक आक्रमणमा परेर त कहिले प्रेमिका मारिए र जलाइए आफ्नैें प्रेमीको एसिड आक्रमणमा परेर । कहिले अपहरण त कहिले सामूहिक बलात्कारमा परेर हत्या गरिए कंयौँ निर्मलाहरु । आखिर हत्या त साँचो प्रेमको न भयो । किन प्रेमको नाममा यस्ता अपराध हुन थालेका होलान् आजको समाजमा ? कस्लाई ठान्ने यस्ता घटनाको दोषी ? विगत केही वर्षदेखि भएका कंयौं घटनाहरु सम्झँदै आज उनको मनमा केके कुराहरु खेलिरहेछन् ।
विभिन्न नियम कानुनहरु बने, शासक फेरिए तर शासकको मनोभाव र शासन फेरिएन । न त मानिसको चेतानमा परिवर्तन आयो, न त विभिन्न क्रान्तिले आमूल परिवर्तन ल्यायो । उफ्, खुइय सास तान्दै माथि हेर्छिन् । यो अँध्यारो आकासले उनको मानव हुनुको चेतनालाई गिज्याइरहेको जस्तो लागिरहेको छ उनलाई । हिजो कयौँ युवाहरुले आजको उज्यालोको निम्ति ज्यान गुमाए । खोई के पाए त आजका मान्छेले ? बस् कसैलाई मात्र प्रेम गरेकै नाममा घृणा, तिरस्कार, अपमान, बदनाम र बदलामा ज्यानै लिनु ? आज यो पवित्र प्रेम शब्दमाथि नै यति मजाक भयो कि यो घटना देखेर जीउ सिरिङ्ग भएर आयो उनको । प्रेम ईश्वर हो, प्रेम पूजा हो, पाप होइन पुण्य हो प्रेम, उनले आँखा चिम्म गरेर हृदयको गहिराइमा हेरिन् र मनैमन सम्झिइन्– सत्यम् शिवम् सुन्दरम् ।
चाँदनी पनि लुकेको रात, गमलामा रोपेका फलफूल, तरकारी सबै कालो छायाजस्तो लाग्छ उनलाई । छतको रेलिङमा अडेस लाग्दै लामो स्वास फेर्छिन् । चक्कर आएजस्तो भएर भाउन्न हुन्छ, रेलिङ समाउँदै भित्तामा आड लाएर थचक्क भूइँमा बस्छिन् ।
किनकिन आज उनलाई एकान्तमा बस्न मन लागेको छ । यो देश सतिले सरापेको देश हो । सोझो मान्छे र सोझो रुखलाई जसरी गिडिन्छ यहाँ, चोखो प्रेम गर्नेलाई त्यसैगरी गिडिँदो रहेछ । साँचो प्रेमको कुनै कदर छैन यहाँ । आज आफ्नै शीर झुकेको छ, मन मुटु दुखेको छ । कोही कसैले यो जातमा जन्मन्छु भनेर जन्मिने त होइन । तर कुनै एकदुईको गल्तीले, अपराध र अमानवीय व्यवहारले गर्दा कुनै निश्चित जातमा, समुदायमा जन्मिएको कारणले लज्जाबोध र अपराधबोध गरिरहनु परेको छ । किन यस्तो समाजलाई मानव समाज भनेर सभ्य देखिनु परेको छ हँ? मनभरि प्रश्नैप्रश्नका खात जमेका छन् । तर ती प्रश्नको उत्तर दिने कस्ले ? कस्ले फुस्काइदिनें उनको मनको उफानलाई ?
छतमा बस्दाबस्तै बौरिएजस्तो हुन्छिन् अनि एक्कासि पैंतीस वर्ष अघिको आफ्नो बाल्यकालको, अतितमा गाउँमा डोहोरिएर पुग्छिन् उनी । “ओइ सानी, सानी, सानी हो, आऊ हाम्रा घराँ”– उनकी साथी धनीले उनको बारीबाट पर बाटोमुनि भएको उनको घरबाट लगातार चिच्याई चिच्याई बोलाउँदैछिन् सानीलाई, दुई गाउँका मान्छेले सुन्ने गरेर । सानीले भन्छिन्, “कसरी आउनी तनि, म त एक्लै आउन सक्दिनँ, बाटामा कुकुरले टोक्चन्, तैं लिन आइज न मलाई ।” आऊ न सानी आऊ, गरैगरा हाम्फालेर आऊ न तनि, ह्याँ भाइलाई थाङ्ने जोरो आएको छ, छोडेर आउन मिल्दैन के । दुइटैको आवाज बारीको वारपार भएर एकअर्काको कानमा गुन्जियो ।
आमाले घर छोडेर कतै नजाऊ है सानु, गाईबस्तुलाई घाँस हालिदेऊ, जोगी आयो भने घरभित्र लुक भनेर सिकाएर, अह्राएर पात्ल जानु भएको थियो ।
बच्चा मन न हो के मान्थ्यो र ? अग्ला गराबाट ओर्लंदा लड्छु कि भनेर बाटबाटै धनीको घरमा जानलाई पायल चप्पल छिटोछिटो पड्काउँदै हिँडिन् । घमाइलो दिन थियो, सानी तगारोबाट बाहिर निस्केर तगारो लगाएर कुकुरले देखेर लखेट्छ कि भनेर बाटोमा यताउता हेर्दै डराई डराई हिँड्दै धनीको घरको तगारोमा पुगेर – धनी, ए धनी म आएँ भन्दै धनीको आँगनभित्र छिरिन् सानी । घर छेउको गाह्राभित्र भएका सुँगुर सानीलाई देखेर च्वाँ,च्वाँ गर्दै कराएका थिए । यस्तो देखेर डराउँदै छिटो छिटो नाक थुनेर धनी, धनी भन्दै धनीको घर भित्र स्वाट्टै छिरिन् सानी ।
अहो ! किन भित्र आकी सानी, अब तिम्रो जात जान्छ । तिमीले नि हामीलाई तिम्रो घराँ छिर्न दिन्नौं, हामी पनि हाम्रो घराँ छिर्न दिदैनौं तिमीलाई, देउता रिसाउँचन् अनि पाप लाग्छ बाबै बाहिर हिँड भनेर धनीले एउटा थोत्रो, बिट च्यातिएको गुन्द्री पिँढीमा ओछ्याएर सानीलाई बस्न लगाइन् ।
बस है, म भाइलाई खोले बनाउन लाछु, हामी चैं गोरुको मासु पोलेर नून र जाँडसँग खाम्ला है सानी । हाम्रो घरभित्र छिरेको कुरा अरुलाई नभन है, सानीले टाउकोको इसाराले हुन्छ भनिन् र पिढीमा बसिन् ।
धनीको भाइ सुके पिढीको एउटा कुनामा बाक्लो थाङ्नो ओडेर इन्तु न चिन्तु भएर सुतिरहेको थियो, वरिपरि झिँगा भन्केका थिए । सानी सुके भएको ठाउँमा गएर टाउको र हात छामिन्, आफ्नै हात आगोले पोले जसरी पोल्यो ।” सानी झसंग भइन् र आमाले भनेको सम्झिइन् थाङ्ने जोरो आयो भने मान्छे बाँच्दैन रे, कति बिरामी हुन्छ, त्यो बच्चो । सुकेलाइ थाङ्ने जोरो आ छ अरे, धनीलाई लिन नबोलाऊ है सानु । सर्न पनि सक्च थाङ्ने जोरो त ।”
एकैछिनमा धनीले सिलोटको एउटा बटुकामा खोले ल्याएर भाइलाई बिस्तारै सानीको आड लगाएर पियाई दिइन् । “दिदी पानी ले न, कस्तो तिर्खा लागेको छ,” सुकेले पहेँला आँखा पर्लक्क पल्टाउँदै दिदीतिर हेरेर भन्यो । धनीले गाग्रीबाट चिसै पानी बोट्कामा सारेर ल्याएर पियाई दिई । सानीको काखमा अडेसा लागेको सुकेलाई बिस्तारै दुवै मिलेर ओच्छ्यानमा पल्टाए ।
धनी खुसुक्क भित्र गएर एउटा बटुकामा मासु र अर्कोमा जाँड लिएर आई । सानी खान्च्यौ र ? नखाऊ भो, कसैले देखे भने । सानीले जिद्दी गरी– दे न धनी म नी चाख्चु नी अलीकती ।

दुवै जनाले पालैपालो रक्सी र पोलेको मासु मुख मिठ्याउँदै छिटोछिटो खाए । यताउता पल्यापुलु हेरे, धन्न कोही आएनन् ।
धनी भाँडा माझ्न जुठेल्नामा गई । सानी सुकेको नजिकै गई । सुकेले रुन्चे आँखा लगाएर सानीलाई टोलाएर हेर्दै भन्यो –उठेर हिँड्न, खेल्न पनि सक्दिनँ, मर्चु कि क्या हो सानी म त ।”

सानीले आँखा टिलपिल गर्दै सुकेलाई हेर्दै त्यो दिन सम्झिदै भनिन्– अघिल्लो शनिबार त हो नि धनीले सानी र सुकेको ख्यालख्यालको बिहे गराइ दिएकी । सुकेले रातो माटोको सिन्दुरले सानीको सिउँदो भरी दिएको, अनि बेलुका आमासँगै सुत्दा टाउको भरी माटो देखेर आमाले सानीलाइ बेस्सरी गाली गर्नु भएको । कस्ले यसरी माटो हाल्दियो, भोलि स्कूल जान पर्नी मान्छे भनेर । यो कुरा सम्झेर सुके पनि सकिनसकी हाँस्यो ।
सानी र सुके एक कक्षामा पढ्थे, सँगै स्कूल जान्थे, आउँथे, दुवै जना एउटै उमेरका थिए । धनी उनीहरु भन्दा चार वर्षले जेठी थिइन् तर सुके र सानीलाई सँगै खेलाउँथिन् । तर सानीको मिल्ने साथी भएकी थिइन् अलि ठूलो हुँदासम्म, नङमासुजस्ता, दुवै जनालाई दुवै जना नभई हुन्थेन, कहिलेकाहीँ धनी पनि स्कूल जान्थिन् सुके र सानीसँगै । नबुझेको सिक्थन् सानी र सुकेसँग । पढ्न पाको भए कति माथि पुग्थिन् होला है, धनी ? आज सानीले सम्झदै छिन् ।
धनी र धनीकी आमाले पनि फूर्सदमा सानीको घरमा काम सघाउँथे । त्यसको सट्टा उनीहरुलाई चामल, धान, मकै, कोदो र ज्याला दिनुहुन्थ्यो सानीकी आमाले । धनीलाई त बेलाबेलाका घिउभात खान दिनुहुन्थ्यो । सानीकी आमाले, सानीलाई जस्तै माया गर्नुहुन्थ्यो धनीलाई पनि ।
आजकल फोन गर्दा ती दिन सम्झन्छन् धनी र सानी, आमालाई पनि सुनाउँछन् यी पुराना कुराहरु र विगतका दिन सम्झेर कैले खुसी त कैले दु:खी हुन्छन् । अब त दुवैको बिहे भै सक्यो, छोराछोरी पनि जन्मिए । धनी विकट गाउँमा बस्छिन्, सानी शहरमा बस्छिन् ।
धनीका बाबु सानीको घरमा हली लागेको धेरै वर्ष भएको थियो । आज पनि नौ वर्षकी बालख छोरी धनीको भरमा पाँच वर्षे बालख बिरामी छोरो छोडेर मेलामा गएका थिए, उनीहरुका बाबुआमा । नगरी काम पुग्दैन खान साँझ र बिहान भनेझैं थियो उनीहरुको दैनिकी । आफ्नो खेतबारी थोरै थियो, अर्काकोमा पाखुरा नखियाई र निमेक नगरी खान नपुग्ने अति दुःखी जीवन थियो साँहिला साँहिलीको ।
त्यो दिन सानीलाई गरैगरा उक्लँदै छोटो बाटोबाट घर पुर्याएर धनी आफ्नो घर फर्किइन् । सानीले लामो सास फेरेर ढोकामा हेरिन्– धन्न ढोका ढप्क्याइराको रैछ, आमा पात्लबाट आउनु भएको रैनछ ।
भोलिपल्ट बिहानै बाटामुनि एकोहोरो शंख बज्यो । आमा आत्तिदै आँगनबाट निवारोको बोट भएको गराको डिलमा पुग्नु भो, उनी पनि आमाको पछिपछि गइन् ।

“लौन नि रामराम, सुके पनि भगवानको पियारो भएछ नि ।”
“तिमीले नहेर छोरी, बच्चाले हेर्न हुँदैन,” आमाले सारीको सप्कोले सानीलाई लुकाउने असफल प्रयास गर्दै हुनुहुन्थ्यो । ठूलो गरा मुनिबाट कोलमा पँहेलो कपडाले बरिएको मान्छेको आकृति मानिसहरुले काँधमाथि बोकेर छिटोछिटो हिडेको देखेँ ,कोलबाट तल झारेको पनि देखिन् सानीले।
आमा रुन लाग्नु भो हे ! भगवान्, के देख्नु पर्यो नि यस्तो, यति कलिलो बालखलाई किन चुँडिस् नि ! गाउँलेहरुले माथि गराबाट हेरिरहेका थिए । माथेड सानिमा र भाउजूले पनि गराको डिलबाट हेर्नु भएको थियो ।
अहो !
सोच्दा सोच्दै ,सम्झँदा सम्झँदै झल्याँस चराको चिरबिरले ब्यूँझाइदियो र ल्याइदियो वर्तमानमा । उनको शरीरभरि पसिना छुटेको थियो, आँखाभरि आँशु भरिएर पोखिँदै थिए ।
तर त्यो मीठो आवाज, जुन आवाजको उनलाई बचपनमा बानी परेको थियो-गुन्जिइरह्यो उनका दुवै कानमा ।
सुकेले कोलको छेउमा उभिएर उनैलाई पर्खंदै बोलाएको एउटा मीठो आवाज उनको कानमा आएर सुस्तरी ठोक्किइरह्यो–
“ओई बाहुनी केटी – आऊ स्कूल जाम् ।”