सुष्मा तिमल्सिना

सुष्मा तिमल्सिना

प्रिय, साहित्यकार !
तिमीले मलाई आफ्नो कविताको पुस्तक
उपहार दिए पछि हो
मैले तिमीलाई प्रेम गर्न छोडेको

तिमी पनि कविता (?) लेख्छौ अथवा
तिमी पहुँच भएका साहित्यकार हौ भन्ठाने पछि हो
मैले तिमीलाई प्रेम गर्न छोडेको

म एक्लै एक्लै हिँड्न रूचाउँथे
तिमी आफ्नो भजन मण्डलीको ठूलो समूह बनाएर
त्यसैमा घेरिएर हिड्थ्यौ

म आफूलाई आफैँ गाउँथेँ र
आफैँसँग पोखिन्थेँ
तर तिमी आफ्नै भजन मण्डलीका लागि गाउँथ्यौ र
उनीहरूबाटै गुणगान पाएर मख्ख थियौ

तिमीसँग आक्कलझुक्कल भेट हुँदा पनि
तिमी सुन्दैन थियौ मेरो कथा
बस् सुनाइरहन्थ्यौ आफ्ना कविता (?)

मैले भनेकी नै हुँ
हाम्रो तालमेल मिल्दैन
तिमी मजस्तो छैनौ
म तिमीजस्तो हुन सक्दिनँ

मैले तिम्रा आँखा पनि नहेरेकी कहाँ हुँ र
जहाँ देखिएको थिएन म प्रतिको प्रेम
तिम्रो मन पढ्न खोज्दा पनि
भेटिएको थिएन म प्रतिको सम्मान

केही त थिएन
ती सतही आँखाहरूमा
त्यो उत्तानो मनमा

भैगो तिमी मसँग प्रेमको नाटक नगर
जबर्जस्ती शब्दहरू थुपारेर कविता लेखेजस्तो
प्रेम गर्न सजिलो छैन ।