मुसुक्क हाँसी मसिनो आवाजमा बोल्यौ तिमी जब,
मनमा बस्यो शालिन अनि लजालु स्वभाव ।
मन मिल्यो विचार मिल्यो, चाहेँ जीवन साथै जिउन,
माया दिई माया लिई लागेँ प्रेम निभाउन ।।
थिएँ एक, भयौँ दुई, एक अर्काको जिउने आधार,
माया प्रेम र विश्वासले ल्यायो खुशीको बहार ।
रोजेँ मैले खुशी जीवन, साथ तिमीले दिँदै गयौ,
हाम्रो प्रेमको फूलबारीमा ढकमक्क फूल फुल्यो ।।
तिम्रो साथ पाएदेखि मेरो जीवन अर्कै भयो,
अल्मलिएको जिन्दगीले गन्तव्यको दिशा लियो ।
मैले तिम्रो साथ लिई जिन्दगीमा अघि बढ्दा,
गति लियो जीवनले हामी दुईको मन मिल्दा ।।
जिन्दगीको रथ तान्दा हाँसो रोदन दुवै पाएँ,
सुखदुःख, खुशी, पीडा तिमीसँगै भोग्दै गएँ ।
भविष्यको सुख खोज्दै छोटो विदेश बसाई रोजेँ,
तिमीबाट टाढा हुँदा निकै धेरै पीडा भोगेँ ।।
साँचै प्रिय ! आज तिम्रो निकै अभाव महसुस गरेँ,
भेटेदेखि हालसम्मका हरेक पलको याद गरेँ ।
मेसेन्जर र ह्वाट्सएपमा तिम्रा सबै टेक्स्ट पढेँ,
तिम्रा हरेक शब्दबाट मेरो मनमा प्रेम भरेँ ।।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

