यतिबेला रिमा सउल टावरको अब्जरभेसन डेकमा राखिएको साढे चार फिट अग्लो दुरबिनबाट हान नदीको पुलमा ओहोरदोहोर गरिरहेका सवारीहरूका गति नियालिरहेकी छन् । पाँच सय वनको सिक्का छिराएर आँखा टाँसेकी उनले पुरै समयभर आँखा झिमिक्कै नगरी सउल शहर वरिपरि केही चिज हराएजस्तै गरी खोजिरहिन् । उनको सिक्काको अवधि सकिएपछि दुरबिनको दृष्य बन्द भयो । बिस्तारै अगाडि बढिन् र थुचुक्कै बसिन्; बस्नका लागि छुट्याइएको सिंडीमा।

लगभग तीन वर्षपछि पुगेकी हुन् उनी । तर उनको दोस्रोपटकको यो पुगाई धेरै अर्थमा फरक छ । कति धेरै हर्ष र उमंग थियो त्यो बेला, जो आज टावरमुनिको जंगलमा पातविहीन भएर खङ्ग्रङ्ग देखिने रेड लिफको रूखहरूजस्तै छ मन । आँखामा धेरै टाढासम्मका सपनाहरू थिए, तर आज भर्खरै दृष्य बन्द भएको दुर्बिनको दुइटा प्वालजस्तै अन्धकार छ । तर पनि रिसिभरको खोजीमा टावरबाट निरन्तर फ्याँकिने रेडियो तरंगहरूजस्तै जिन्दगीका सुदूर सम्भावनाहरूको खोजी त गर्नै छ । तिनै सम्भावनाहरूको सूत्रमा बाँधिएकी छन रिमा।

हिजो शनिबार । ड्युटी सकेर होस्टलमा आउनासाथ बाथरुम छिरिन् । नुहाएर निस्कनेबित्तिकै म्यासेन्जरमा म्यासेज आएको संकेत बज्यो । टावेलले जिऊ र कपाल पुछिसकेर म्यासेज हेरिन् । नेपालबाट साथीले सोधेकी रहिछन्, “फुर्सद भएपछि कल गर ल ! एउटा खबर छ।”

हतार हतार कपडा लगाइन र म्यासेन्जरमा कल लगाइन्। दुई रिङ्पछि उताबाट जयाको आवाज आयो, “छुट्टी भइसक्यो तिम्रो ?”

“भर्खर आएर फ्रेश भैसकेँ । सुनाऊ न त के खबर हो खै ?” रिमा विषय प्रवेश गरिहालिन्।

“अँ, सुन न ! पर्वत इज नो मोर यार !”

जयाको उत्तरले रिमाको दिमागमा हिउँदे चट्याङ्ग खसाल्यो । अलि सम्हालिदै सोधिन्, “हँ, कहिले हो नि ?”

“हस्पिटलाइज्ड भएको हप्ता दिन बढी भएको रै’छ । हिजो बिहान डेथ भयो रे ! म पनि गाउँमा छु यतिबेला त।”

जयाको आवाज स्पस्टै थियो, तर रिमालाई मधुरो र नबुझिएझैँ लाग्यो । तर पनि आफूलाई केही नभए जस्तै बनेर भनिन्, “हुन्देऊ यार ! आई डन्ट केयर !! अलि हतारमा छु, पछि कुरा गरौँला है !”

प्रतिक्रिया सुन्ने धैर्यता थिएन, रिमाले कल डिस्कनेक्ट गरिन् ।

जाडो समयको मध्यभाग, तापक्रम निरन्तर ओर्लंदो छ । माइनस पाँच, छ, सात हुँदै दैनिक चिसोको साम्राज्य बढ्दो छ तर रिमालाई भतभती गर्मी भयो । उम्लिरहेको पानीमा पुरै जिऊ डुबेजस्तै आफ्नै रगत तातिएर उम्लिएर आयो ।

=========================

मध्यम परिवारकी रिमा डिप्लोमा पढ्नका लागि काठमाडौं आएकी थिइन् । भूतपूर्व भारतीय सेना, पेन्सनरकी छोरी भए पनि सधैँभरि परिवारमै आश्रित भएर बस्न मन लागेन । केही समय घरबाटै खर्च चलाए पनि अलि पछिबाट काठमाडौंमा केही कामको खोजी गर्न थालिन्। त्रि-चन्द्र कलेजको पढाइ, दैनिक विद्यार्थी संगठनहरूको आन्दोलनले नियमित पढाइ नहुने । सबै तह र तप्कालाई तात्कालीन व्यवस्था मान्य थिएन । तर रिमालाई व्यवस्थासँग त्यति ठूलो लेनदेनको जरुरी थिएन । आफ्नै जिल्लाबासी एक जना विद्यार्थी नेताको चिनजानको आधारमा पुतलीसडकतिर एउटा पुस्तक पसलमा दिउँसो बाह्र बजेदेखि बेलुकी आठ बजेसम्मको काम पाइन् उनले । कोठा भाडा र सामान्य दुई छाकका लागि एक जनालाई पुर्‍याउन सकिने तलब पाउँथिन् । बार्‍ह बजेभन्दा अगाडि उनी कलेज जान्थिन्, दैनिक । उनको डेरा घन्टाघर र पुतलीसडकको ठीक बीचतिर पर्थ्यो, काम र कलेज जान गाडी चढ्नु परेन । तैपनि घरबाट पनि आठापाँचा खर्च पाउँथिन् तर पहिला जस्तो परिवारकै मुख ताकिरहन भने परेन ।

कलेजको पहिलो वर्षको पढाइ लगभग सकिन लागेको थियो । परीक्षा आउन तीन महिना जति बाँकी थियो । रिमा केही साथीहरूसँग क्यान्टिनमा खाजा खाएर गफिँदै थिइन् । एक जना केटा हातमा चिया कप बोकेर कपाल मिलाउँदै केटीहरूभन्दा माथिल्लो टेबलमा बस्यो । उसको पाइन्टको पछाडिपट्टि गोजीमा बेरिएको निक्कै मोटो फोटोकपी  पेपर देखिन्थ्यो । केटीहरूको गफगाफमा ऊ पनि मिसिन चाह्यो, “कलेज त सार्‍है रमाइलो रहेछ, यस्तो गज्जब हुने भए त म पहिल्यै आउने थिएँ,” केटीहरूको हुलतिर लक्ष्य गर्दै बोल्यो र फिस्स हाँस्यो।

“ए, तिमी अर्कै ग्रहबाट टुप्लुकिएको एलियन हौ कि कसो ?” केटीहरूबाट सामूहिक हाँसोसहित उत्तर आयो।

“त्यसो होइन, काठमाडौंले फाप्दै फाप्दैन मलाई । कलेज पुग्न नपाउँदै लखेटिहाल्छ । एनि वे, म पर्वत । घर झापा ।”

“एए, तीर त यसो पो ?”, केटीहरूले खेदो लगाए अझै ।

“अब अहिले आएर केटाहरूलाई साथी बनाउन थालौँ भने झुर मान्छन् । एक्जाम आउन लाग्यो । कमसेकम केटीहरूसँगको दोस्ती अलि चाँडै स्प्रेड होला नि त ! चुम्बकको विपरीत ध्रुव जस्तै,” पर्वतले आँखा झिम्क्याउँदै आफ्नो स्पष्टीकरण सिध्यायो । सबै उठ्न लागे ।

“साँच्ची, मेरो पहिलो दिन हो आज । केही नोट कलेक्ट गर्दैछु । किताब किन्नुभन्दा बरू केही सोल्युसन मेटेरियल भेट्न पाए सही हुन्छ होला है ! तर कहाँ कहाँ खोज्ने ? बडो फसाद छ हौ !” आफ्नो निरीहता सुनायो ।

“तिमी बूक लिने हो भने म हेल्प गर्छु,” रिमा बोलिन् ।

“ए अँ त, उसको पुस्तक पसल छ नि !” कसैले थप्यो।

“मेरो होइन, मेरो साहुको,” रिमाको कुराले एक चरन हाँसो गुञ्जियो, र क्यान्टिन सुनसान भयो ।

महिना जेठ । कलेज परिसरका रूखहरू बैँशालु थिए । हरियो र झ्याम्म परेका रूखहरूले रानीपोखरीलाई ओझेल पारिरहेका थिए । अघिसम्म गर्मीले उकुसमुकुस भएको काठमाडौं, अस्ताउँदो घामसँगै फुसफुस पानीको छिटाले अलि शीतल बनेको थियो । कलेजबाहिर निस्किएपछि सबै रत्नपार्कतिर लागे। रिमा र पर्वत भने कलेजभन्दा अलिकति अगाडि आएर ओरालो लागे, पुतलीसडकतिर ।

“थ्याङ्क्यू ! तर तिम्रो त नाम नै थाहा छैन मलाई,” जेब्राक्रस कटेर सडकपेटीमा हिँड्दै गर्दा पर्वत बोल्यो।

“नाम नै चाहिहालेको र ?” रिमाले भाउ खोजिन् ।

“अब यत्रो बिरानो ठाउँमा यस्तो सहयोग गर्ने मान्छेको नाम जान्न पाउने अधिकार नि हुन्न र ?” पर्वतले आफ्नो अडान राख्यो ।

“रिमा। घर मोरङ्ग ।”

“ए, घर जाने बाटो त एउटै रहेछ । छिमेकी पनि । खुसी लाग्यो ।”

“यतिमै खुसी हुन जरुरत छैन । कति धेरै छन् त उताको मान्छे, सबैसँग खुसी हुँदै हिँड्ने ?” हातमा समाइराखेको रुमालले मुख आधा छोप्दै बोलेको देखेर पर्वतले बुझ्यो, रिमा कुरा गरिरहन चाहन्छिन् । तर उनीहरू पुस्तक पसल पुगिसकेका थिए । रिमालाई थाहा भएसम्मका सोल्युसन बूकहरू पर्वतलाई देखाइन् । केही थान किन्यो पनि र अन्तिममा आफ्नो नोटबूक पनि फोटोकपी गरेर दिइन् ।

=====================

“साँच्ची हिजो त हतारमा तिमी हिँडिहाल्यौ । कता छ बसाइ ?” भोलिपल्ट बिहान क्लास जाँदै गर्दा करिडोरमा भेटिएकी रिमाले पर्वतलाई सोधिन् ।

“कलंकीमाथि ढुंगाअड्डामा बस्छु, एउटा साथीसँगफ” पर्वतले छोटो उत्तर दिइनसक्दै क्लास पुगिसकेका थिए ।

पर्वत तीन वर्षअघि झापाबाट काठमाडौं आएको थियो । पढ्दै संगीत सिक्ने धोको लिएर आएको ऊ यही भीडहरूभित्र आफ्नो सपना उधिन्दाउधिन्दै लखतरान भइसकेको थियो । न त पढ्न सकेको थियो,  संगीत सिक्ने त टाढाकै कुरा।

सामान्य किसानको छोरा ऊ, घरबाट पैसा लिएर काठमाडौंमा नियमित पढ्ने सामर्थ्य थिएन । पढ्नुभन्दा पहिले हातमुख जोड्ने आधार बनाउनुपर्‍यो उसले । कलंकीनिरको एउटा ग्यारेजमा काम गर्न थाल्यो । केही महिना काम गरेपछि तलब माग्दा साहुसँग झगडा पर्‍यो । महिनौँ काम गरेको तलबसमेत माया मारेर काम छोड्नुपर्‍यो । केही समयपछि फेरि त्यही नजिकैको ग्रिल फ्याक्ट्रीमा काम पायो, र अहिलेसम्म अल्झिएको छ । काम राम्रै सिकेपछि तलब पनि चित्त बुझ्दो पाउन थाल्यो, सँगै उसको एउटा सुषुप्त सपना फेरि बौरियो र कलेज भर्ना भएको थियो ।

आन्दोलन र हड्ताल बाहेकको दिनमा रिमा प्रायः बार्‍ह बजेसम्म कलेजमा हुन्थिन् । उनका निश्चित साथीहरूको समूह थियो । त्यो समूहमा पर्वत पनि थपियो ।

प्रायः सबै जना छुटेको क्लासको नोट साथीहरूबाट सारेर काम चलाउने गर्थे ।  क्लास नभएको समय, रानीपोखरी पट्टिको झ्यालछेउको सिटमा सबै जना भेला भएर बाहिर हेर्दै गफ गर्ने, कहिले बाहिर चउरमा झुम्मिएर बस्ने त कहिले क्यान्टिनमा चिया गफ गर्दै बस्ने यो समूहले यसैगरी उस्तै समय बिताइरहन्थ्यो सायद, यदि एकदिन क्यान्टिनमा अचानक पर्वत बेहोस भएर नढलेको भए ।

पहिलो वर्षको परीक्षा सकिएर दोस्रो वर्षको पढाइ हुन थालेको निक्कै भइसकेको थियो । उम्कँदो माघ महिना, लाग्थ्यो काठमाडौं वरिपरि उभिएका डाँडाहरू होइनन्,  चिसो हावा  फ्याँकिरहने बडेमानका ढ्वाङ्गहरू हुन् । तर त्यहाँबाट ओर्लने हावा काठमाडौं छुन नपाउँदै बिस्तारै उकुसमुकुसिन्थ्यो  मान्छेहरूको चाप थेग्न नसकेर । तैपनि बिहानीपख मुटु काँप्ने चिसोले काठमाडौंलाई छाडिसकेको भने थिएन ।

रिमाहरूको समूह क्यान्टिनमा त्यो दिनको अन्तिम बसाईमा थिए । बार्‍ह बज्न लागेकोले रिमा पसल पुग्न हतारिँदै थिइन् । अचानक पर्वत आफू बसेको कुर्सीसँगै भुइँमा पछारियो । सबै भयभित देखिए । ‘के भयो, किन भयो ?’ भन्ने खुल्दुली शुरु भयो । केही साथीहरू उसलाई उठाउन गए । हातको पल्स र मुटुको धड्कन जाँच गरे, सुस्तरी चल्दैथियो । कसैले क्यान्टिन सञ्चालकलाई खाजामा केही मिसाएको थियो कि भन्दै र्‍याखर्‍याख पार्दैथिए ।

“अस्पताल लैजानुपर्छ,” भीडबाट कोहीले बोल्यो । अरूले “हो हो” को शैलीमा पर्वतलाई काँधमा चढाएर बाहिर ल्याउन्जेलमा एम्बुलेन्स बोलाउनुभन्दा ट्याक्सीमा लैजानु चाँडो हुन्छ भन्ने निष्कर्ष आइसकेको थियो ।

वीर अस्पतालको आकस्मिक कक्षमा पर्वतलाई भर्ना गराइयो । बेडमा सुताइएको केहीबेरपछि चेकजाँच गर्ने मान्छे आए । हात-खुट्टा छामे, जिउ छामे, छाती छामे, स्टेथेस्कोप डुलाए अनि कागजमा ख्यार्रख्यार्र केही लेखे, नर्सलाई काम अह्राए । केही समयपछि मुटु जाँच्ने मेसिन लिएर एक महिला आइन् । रिमाले पर्वतको सर्टको टाँक खोलिन् र भित्रको स्यान्डो घाँटीसम्म सोहोरेर पुर्‍याइदिइन् ।

दिउँसोको दुई बज्नै लागेको थियो, पर्वतलाई होस आयो । उसको होस आएसँगै अनेकौं प्रश्न जन्मिए। ‘एक्कासि चक्कर चलेको मात्रै थाहा छ, त्यसपछि केही थाहै पाइनँ,’ पर्वतको उत्तर यही थियो।

सबै अस्पतालमै बसेर पनि काम थिएन, आफ्नो बाटो लाग्ने सुर कस्दै थिए। “रिमा, मिल्छ भन तिमी बस न है,” पर्वतले अनुरोध गर्‍यो ।

“तिम्रो त यहाँ नजिकै छ रिमा, तिमी बस ल ! हामी जान्छौँ,” नयाँ बानेश्वर बस्ने जयाले कुरा थपिन्, “बरू म तिम्रो पसलमा खबर पुर्‍याईदिउँला नि !”

रिमा रनभुल्लमा परिन् । के गर्ने, के नगर्ने ?

साथीहरूले आफूसँग भएको पैसा रिमाको हातमा राखिदिंदै बाहिरिए ।

रिमा पर्वतको बेडनिर एउटा टूल लिएर बसिन्, र सोधिन्,  “तिमीलाई यो पहिलोचोटि हो पर्वत ? कि पहिला पनि यस्तै हुन्थ्यो ?”

पर्वतले सिलिङ्गतिर हेरिरह्यो । केही बोलेन । बरू आँखा चिम्म गर्‍यो । रिमालाई लाग्यो, सायद निद्रा लागेको होला !  तर एकैछिनमा उसका आँखाका चेपबाट बिस्तारै आँसु बग्न थाले । निधार, घाँटी, कन्चट सबैतिर मूल फुटेजस्तै पसिना चुहिन थाल्यो । रिमालाई डर लागेर आयो, एक्कासि के भएको होला यस्तो ? सम्हालिदै पर्वतलाई बोलाइन्, “पर्वत, तिमी सुन्दैछौ ? के भएर हो तिम्रो त आँसु र पसिना पुरै आयो त ?”

पर्वतले हत्केलाले आँसु पुछ्यो र बोल्यो, “म विगत दुई वर्षदेखि निरन्तर आफैँसँग लडिरहेको छु रिमा । तीन दिनदेखि लगभग अनिंदो थिएँ, कामले गर्दा । खाने-सुत्ने टुंगो पनि भएन । एउटा इन्जेक्सनले बाँचिरहेको छु । तर त्यो पनि एक हप्ताअगाडि नै लिनुपर्थ्यो । सायद त्यसैको परिणाम आज म यहाँ आइपुगेँ।”

“भएको चाहिँ के हो त ? भन न !” रिमाले कर गरिन् ।

“मेरो मुटुको समस्या छ । एउटा भल्ब ड्यामेज । जसको स्थायी उपचार गर्ने औकात छैन मसँग, त्यसैले पेनिसिलिनको सहायताले अस्थायी आयू बाँचिरहेको छु ।”

“मुटुको भल्ब ?” रिमा चकित भइन्, “अनि कहिले थाहा पाएको तिमीले ? घरमा भन्यौ कि भनेको छैनौ त ?” एकै श्वासमा सोधिन् |

“म काठमाडौं आएको एक वर्षपछि काम गर्दागर्दै एक्कासि प्रेसर डाउन भएजस्तो भयो । पसिनैपसिना मात्रै आइरहन्थ्यो । पुरै शरीर त्यसै कमजोर भएर आयो । त्यही भएर चेक अप गराएँ । त्यस्तो रिपोर्ट आयो । घरमा त कसलाई भन्नू र मैले ! म सानै हुँदा आमा गुमाएँ । बाबाले कान्छी आमा बिहा गरे । बाबाले त केही हदसम्म माया गर्नुहुन्छ तर बाबाको मात्रै कुरा नहुने,” पर्वतले लामो श्वास तान्यो,  रिमाले सुनिरहिन् ।

“छोडिदेऊ यस्तो कुरा, घरमा भन्नू र नभन्नूको कुनै अर्थ छैन ।”

रिमालाई पर्वतको पीडाले मर्माहत बनायो । उनलाई असहज महसुस भयो । `एकछिन है’ भनेर बाथरुमतिर लागिन् । दुर्गन्ध खपिसक्नु थिएन, तैपनि आँखालाई रोक्न सकिनन्, मनलाई बाँधिराख्न सकिनन् । निक्कैबेर मनलाग्दोगरी बगिरहे दुई आँखा । धित मरुञ्जेल निचोरियो मन । अनि अलि शान्त भएर धारानेर पुगिन् । तपतप चुहिने धाराहरू मात्रै । बल्ल एउटामा अलिकति पानी आयो, र अनुहार पखालिन्।

रिमा पर्वतको बेडनेर पुग्दा एक नर्सले मुटुको ईसीजी रिपोर्ट देखाउँदै थिइन्, “यो लिएर डाक्टर सा’बलाई भेट्नूस् ।”

“डिस्चार्ज आजै हुन्छ नि ?” पर्वतले सोध्यो ।

“डाक्टर सा’ब ले नै भन्नुहुन्छ,” हिँडिसकेकी नर्सले नहेरी उत्तर दिइन्।

“रिमा मसँग पैसा छ । यो तिमी राख ल ! के कस्तो खर्च भयो, यसबाट मिलाऊ,” पर्वतले आफूसँग भएको पैसा रिमालाई दियो ।

“मसँग पैसा छ अहिलेलाई । सबै साथीहरूले आफूसँग भएको पैसा छोडेर गएका छन् । पुगेन भने थपौँला बरू,” रिमाको कुरा मानेन पर्वतले । करै गर्‍यो । अन्तमा उसले जसरी दियो त्यसैगरि पैसालाई च्यापेर ब्यागमा राखिन् रिमाले ।

डाक्टरको क्याबिनभित्र पुगेर ईसीजी रिपोर्ट देखाए, “यसअगाडिको तपाईँको स्वास्थ्य अवस्थाको जानकारी छ तपाईँलाई ?” डाक्टरले सोधे ।

“थाहा छ डाक्टर,” पर्वतले छोटो जवाफ दियो ।

“आफ्नो ज्यानको माया नभएर हो कि किन यस्तो हेलचेक्र्याइँ गरेको त ? तुरुन्त गंगालाल हृदयरोग केन्द्र जानूस् । यहाँबाट केही गर्न सकिन्न।”

डाक्टरको कुरा सुनेपछि रिमाले सोधिन्, “डाक्टर सा’ब ! अहिलेको अवस्थामा छ ? के गर्दा ठीक हुन्छ ?”

अवस्था त बिरामी आफैँलाई थाहा हुनुपर्ने हो । बाँकी कुरा हामीलाई भन्दा पनि यस सम्बन्धित विशेषज्ञहरूबाटै बुझ्नुभएको राम्रो । मेरो विचारमा ढिला नगर्नू नै उत्तम हुन्छ,” डाक्टरको सल्लाहपछि उनीहरू बाहिरिए ।

“भोलि एकपटक गंगालाल जाऊँ,” रत्नपार्क, जमल, घण्टाघरतिरबाट पुरानो बसपार्क भित्रिने गाडीहरूको रफ्तारमा आँखा दौडाइरहेको पर्वत झस्कियो, रमाको आवाजले ।

“गएर के गर्नु रिमा ? म निर्विकल्पको बाटोमा छु,”  आँखा नहटाई उत्तर दियो पर्वतले ।

“पहिला जाने कुरा त गर ! त्यसपछि अरू विकल्प सोच्न सकिन्छ,” रिमाले अड्डी कसिन्, ” साथीहरूले छाडेको पैसा छ । त्यसमा तिम्रो पनि छ । त्यति गर्दा त भोलिलाई पुग्छ होला नि ! खासै के खर्च होला र चेक अपकै लागि त ?”

रिमाको आँट देखेर पर्वतमा अलिकति आशाको किरण जाग्यो । दुई वर्षअगाडि नै उसलाई पुरै निको हुन निक्कै महंँगो खर्च गर्नुपर्ने भनिएको थियो । त्यतिबेला ऊ आफ्नै गाउँको साथीसँग बस्थ्यो । पर्वत रोगी भएको थाहा पाएपछि एकदिन पर्वत काममै भएको बेला डेराबाट गायब भएको थियो साथी ।

पर्वत कन्भिन्स भयो, भोलिपल्टको लागि। भोलि कलेज नजाने भए दुवै । तर बार्‍ह बजेभन्दा अगाडि फर्केर आइपुग्नुपर्छ भन्ने कुरामा सहमत भएर जना आआफ्नो डेरा फर्किए ।

======================

भोलिपल्ट बिहान सबेरै दुवै जना भेट भएर गंगालाल हृदयरोग केन्द्र बाँसबारी पुगे । काउन्टर खुल्नै बाँकी थियो । क्यान्टिनमा चिया खाए । अस्पताल खुलेपछि डाक्टरकोमा पुगे । पुरानो रिपोर्टहरूसँगै सामान्य चेकजाँच भयो । ल्याब टेस्ट गर्नुपर्ने बताइयो । वीर अस्पतालकै कुरा दोहोर्‍याए डाक्टरले । ल्याब टेस्ट्को नतिजाका लागि तीन दिनपछि बोलाइयो ।

तीन दिनपछिको बिहान फेरि दुवै जना पुगे । ल्याब रिपोर्ट लिए, अनि डाक्टरलाई भेटे । सबै रिपोर्ट हेरेपछि उनले मुटुको भल्ब फेर्नैपर्ने अवस्था भएको बताए । तर यति ठूलो अप्रेसनको लागि पैसाको अभाव हुने अवस्था रिमाले बताइन् ।

“आर्थिक रूपले विपन्नहरूको मुटुको अप्रेसनका लागि सीमित संख्यामा सरकारले डोनेसनको व्यवस्था गरेको छ । तर त्यसका लागि वेटिङमा बस्नुपर्छ । निक्कै समय लाग्नसक्छ । र अर्को कुरा, विपन्न हो भन्ने कुरा गा.वि.स.ले सिफारिस गरिदिएको हुनुपर्छ । अवस्था जति जटिल हुनुपर्थ्यो, त्यति भइसकेको छ, अब समयले त्यति फरक पर्दैन । एक वर्षभित्रमा अप्रेसन गर्दा राम्रै नतिजा आउन सक्छ,” डाक्टरले निक्कै आशा जगाउने कुरा गरे ।

“कम्प्लिट्ली ठीक हुने चान्स कति छ डाक्टर सा’ब?” रिमाले नै सोधिन् ।

“नाइन्टी फाइभ पर्सेन्ट चान्स छ,” डाक्टरको उत्तरले दुवै जनालाई थप उत्साहित बनायो ।

====================

रिमा दशैँपछि घर गएकी थिइनन् | लामो समय घर नगएको कारण पसलमा पनि साहुले समय मिलाएर घर जाने छुट्टी दिए । एक महिनापछि दुवै जना घर आए । पर्वत गाडीले मात्ने रहेछ । रातभरिको यात्रामा लगभग रिमा जागै भएर पर्वतको स्याहार गरिरहिन् । बिहान उत्रने बेलासम्ममा पर्वत हात समाएर डोर्‍याउनैपर्ने भएको थियो ।

उनीहरू पहिला रिमाको घर गए । रिमाले सबै कुराको जानकारी घरमा गराइन् । परिवारमा उनको प्रयासको तारिफ भयो । बिहानको खाना खाएर पर्वतको घर झापा लागे ।

बाबाले पर्वतको कुरामा विश्वास गरे पनि आमाले शंका गरिन्, “अंश खोज्न आएको” भन्नसमेत भ्याइन्।

“अब गा.वि.स.मा गएर दुन्याँको मुखेञ्जी हाम्रो बिजेत गर्ने भइस् हैन ! ‘म गरिब छु, मसँग केई छैन’ भन्दै भिख मागिदिनुपर्ने हामीले ?”, उनको कुरा सुनेपछि रिमाले बेलिबिस्तार लगाएर सम्झाइन् ।

“ल ल नानी, ठिकै छ उसो भने । तर मचाहिँ एक पैसा खर्च गर्न सक्दिनँ । आफ्नै छोराछोरीको कुन हालत छ यहाँ । कहाँ कहाँ गएर के के रोग ल्याउँछ, घरमा आएर लाजको पसारो लाउँछ,” कान्छी आमाको भजन जारी नै थियो। बाबाले कुरा बुझे सायद, सिफारिस बनाइदिने वचन दिए । पर्वतलाई घरमा छोडेर रिमा फर्किइन् । हप्ता दिनपछि सँगै काठमाडौं फर्किने गरी ।

=====================

फागुनको अन्तिम साता बित्दै थियो । डाक्टरले भनेको सिफारिस बोकेर सोही डाक्टर खोज्दै एक बिहान फेरि पर्वत र रिमा गंगालाल हृदयरोग केन्द्र पुगे । आवश्यक प्रकृया बमोजिम ‘डोनेसन कोटा’को लागि आवेदन गरे । लगभग पाँच महिनापछि पर्वतको पालो आउने भयो ।

यी दुईको जोडी प्रायः छुट्न छाडेको निक्कै समय भएथ्यो । बेलाबेलामा परामर्श र थप सोधपुछको लागि दुवै जना अस्पताल पुगिरहन्थे । दुईमध्ये कसैले पनि भनेनन्, “तिमीलाई म मन पराउँछु, माया गर्छु।” तर दुवैमा माया र समर्पण अतुलनीय थियो, एकअर्काका लागि । आफसेआफ जिन्दगीको लामो यात्रासम्मका सपनाहरू बुन्थे दुवैले । दुवैलाई आशा र भरोसाको बलियो डोरीले बाँधेको थियो ।

मुटुको भल्ब डोनेसनमा पाउने भए पनि बाँकी एक लाख जति खर्चको जोहो गर्नुपर्ने थियो । जुन कुरा दुवैको लागि पहरा फोर्नु जत्तिकै ठूलो चुनौती बन्यो । रिमाले हिम्मत हारिनन् । आफूले गलामा लगाएको सुनको सिक्री बेचिन्, घरमा गएर बुवा आमासँग समस्या राखिन् । काठमाडौंमा भएका परोपकारको नाममा खुलेका प्रत्येक संघ संस्थाको ढोका चहारिन् । कोहीसँग व्यक्तिगत सहयोग नै मागिन् । पर्वतको घर जाने कुरै थिएन, तर पनि अपरेशन गर्दैछौँ भन्ने जानकारी चाहिँ दिए । पैसामा सबथोक बिक्ने रहेछ । समय बित्यो । पर्वतको अपरेशनको समय आयो । रिमाले कामबाट छुट्टी लिइन् ।

बर्खायामको समय, पर्वत अपरेशन थिएटरभित्र थियो । पर्वतभन्दा पछि शुरु गरिएकाहरू धमाधम होस्  आएर कुराकानी गर्न थालिसके । तर तीन दिन भइसक्दा पनि पर्वतको होस आएको थिएन । रिमा आत्तिन थालिन् । डाक्टरलाई सोध्दा, “नर्मल नै भएको हो, तर होस अलि ढिलो आउने भयो । कहिलेकाही यस्तो हुन्छ’ भन्ने सहानुभूति जनाउने जवाफ दिन्थे । बल्ल तेस्रो दिनको साँझ लगभग पर्वतको होस आयो । पुरै रगत निचोरिएझैँ देखिने, आँखाको टुटुल्को मात्रै भएझैँ । रिमालाई त्यहीँ डाँको छोडेर रुन मन लाग्यो ।

पर्वतलाई तङ्ग्रिन समय लाग्यो । रीमाले अस्पतालको चिसो भुइँमा फालिएका थोत्रा कार्टुनका टुक्राहरू ओच्छ्याएर रात दिन कटाइन् । कतिबेला बिरामीलाई दिशा पिसाब आउँछ, भोक लाग्छ सबै कुराको ख्याल गरिदिनुपर्ने । भर्खरै जन्मिएको बच्चालाई स्याहार गर्न सहज होला बरू, त्यति धेरै स्याहार गर्नुपर्‍यो । तर रिमा यति कुरामा ढुक्क थिइन् कि पर्वत अब ठीक हुनेछ ।

लगभग डेढ महिनाको अस्पताल बसाइमा साथीभाइ, रिमाको परिवारलगायत अरू मान्छेहरू भेट्न आए, तर पर्वतको परिवारबाट कोही आएनन्।

दोस्रो वर्षको परीक्षा सकेपछि दशैँ बिदा हुँदै थियो । रिमाले पर्वतलाई आफ्नै कोठामा राखेर स्याहारिन् केही समय । त्यहींबाट परीक्षा दिए । पर्वतको अलि  सुधार भएको थियो । दशैँमा घर गए, तर पर्वत आफ्नो घर गएन । रिमाकै घरमा दशैँ मनायो उसले पनि ।

रिमाले काठमाडौंमा आफैँ सामान्य व्यवसाय गर्ने मनसाय राखिन् । आमा बुवालाई मनाइन् । त्यसको मुख्य उद्देश्य पर्वतलाई गह्रुङ्गो काम गर्नबाट जोगाउनु थियो ।

केही पैसा लिएर काठमाडौं फर्किए । काठमाडौंमा एउटा कस्ट्मेटिक एन्ड गिफ्ट सेन्टर शुरु गरे । पर्वत त्यहीँ व्यस्त भयो । फुर्सदमा कलेजको किताब हेर्थ्यो । रिमा भने फेरि अर्को पुस्तक पसलमा काम गर्न थालिन् । दुवै जनाको कलेज छुट्यो । “परीक्षाचाहिँ दिनुपर्छ” दुवैको योजना थियो ।

केही समयपछि कोरियाको रोजगारिका लागि सरकारले सम्झौता गर्‍यो । काठमाडौंमा कोरियन भाषाको पढाइ धमाधम शुरु भयो । रिमालाई लाग्यो, दुई जनाको जीवनरथ अब उनकै बलले अघि बढ्नेछ । रिमाले पसलको कामबाहेकको समय कोरियन भाषा पढिन्। निक्कै मेहनत गरिन्। अन्ततः पास भइन् । तर दुई वर्षसम्म जाने अवसर मिलेन । भाषा परीक्षा पास गरेको दुई वर्षपछि बल्ल पहिलोचोटि नेपाली कामदारलाई वैधानिक माध्यमबाट कोरिया लैजान थालियो । रिमा शुरुमै कोरिया जाने लिस्टमा परिन् । कोरिया जानुअघि पर्वत एक्लैलाई गार्‍हो हुन्छ भनेर कस्ट्मेटिक पसल बिक्री गरे ।

काम कठिन भए पनि नेपालको तुलनामा निक्कै राम्रो आम्दानी हुने भएकोले रिमा र पर्वत दुवै खुसी थिए । हप्ताको एक दिन हुने छुट्टीमा फोनबाट कुराकानी हुन्थ्यो । आम्दानीको पैसा सबै पर्वतलाई पठाउन थालिन् । पर्वतको पुरानै रुचि, संगीत सिक्न लगाइन् । स्वास्थ्यको नियमित जाँच र त्यसको जानकारी लिन सम्झाइरहन्थिन् । पर्वतलाई हिँडडुल गर्न असहज भएको कुरा भयो, बाइक किन्न लगाइन् । गीत रेकर्ड गरेर एल्बम निकाल्ने कुरा भयो । त्यसमा पनि रिमाले नाइँनास्ती गरिनन् ।

रिमाले कोरियामा पनि फुर्सदको समयमा भाषा सिक्न छाडिनन् । लेबल टेस्ट परीक्षा दिइरइन् । चार वर्ष दस महिनापछि नेपाल पुगिन् । सबै राम्रै भइरहेको थियो । पर्वत तन्दुरुस्त थियो, उसले संगीत सिकेकै ठाउँमा उसले पनि प्रशिक्षकको काम पाएको थियो । रिमा एउटै कम्पनीमा निरन्तर काम गरेको कारण सोही कम्पनीले पुन: सम्झौता गरेर बोलाएकोले चार महिनापछि कोरिया फर्किइन् ।

केही पैसा बचत थियो, अब थपेर जग्गा किन्नुपर्छ भन्ने सल्लाह थियो दुवैको । कोरिया आएपछि लेबल टेस्ट पार गरेसँगै रिमाले भिसा परिवर्तनको आवेदन गरेकी थिईन् । E-9 लाई E-7 मा परिवर्तन गरे कोरिया बसाईको सिमा तोकिन्न र आफ्नो परिवारसमेत ल्याउन सकिने प्रावधान थियो । तर भिसा परिवर्तनभन्दा अघि नै एकपटक पर्वतलाई कोरिया ल्याएर घुमाउन मन लाग्यो रिमालाई । कम्पनीको साहुसँग अनुरोध गरिन् । आवश्यक प्रक्रिया पुरा गरी पर्वतलाई दुई हप्ताको लागि कोरिया बोलाइन् ।

निक्कै खुसी थिए दुवै जना। कोरियाका मुख्य पर्यटकीय स्थलहरू डुले । कोरियाको टापु छेजु, ६३ तले बिल्डिङ्ग, सउल टावर, विभिन्न समुद्री किनार आदि आदि । एउटा साइड ब्याग भिरेर आएको पर्वतलाई रिमाले  २५  केजी तौलको लगेज, इलेक्ट्रीक गिटार, एउटा ब्राण्डेड ल्यापटप किनमेल गरेर घर पठाइन् ।

==========

“अब त पैसा पुग्छ होला, यसो राम्रो ठाउँमा जग्गा हेरिराख न,” पर्वत फर्किएको चार पाँच महिनामा रिमाले भनिन् ।

“हुन्छ,” पर्वतले स्वीकार गरेथ्यो । तर निक्कै समय आल्टाल गर्‍यो उसले । कतै आकार नमिल्ने, कतै ठाउँ नै अप्ठ्यारो । केही न केही बहाना बनाइरह्यो ।

“जम्मा कति रहेछ त हामीसँग पैसा ? बैँकमा गएर स्टेट्मेन्ट मागेर ल्याऊ त भोलि,” रिमाले यति मात्र भनेकी थिइन्, “तिम्रो पैसा मैले खाइदिएको छैन । एक एक पैसाको हिसाब छ । सबै बैँकमा जम्मा गरिदिन्छु ।” एक्कासि आएको पर्वतको जवाफले रिमा अवाक् भइन् । यो जवाफ उनको कल्पनामा पनि थिएन । यही बिन्दुबाट दुई बीचको खट्पट अघि बढ्यो ।

दैनिक कुराकानीमा झगडा सुरु भई । यो सिलसिला लामो समय चल्यो । मनमा पीर भएर पनि आफ्नो ड्युटी भ्याउनैपर्छ । रिमा एक साँझ पर्वतसँग बोल्न खोज्दैथिइन् । पर्वतले नै फोन गर्‍यो, “तिम्रो दया र भिक्षा अब मलाई चाहिएन । जतिबेला मलाई तिम्रो आवश्यकता थियो, त्यतिबेला तिमी पैसाको पछि लाग्यौ । अब तिमीलाई सबै कुरा पैसाले दिइहाल्छ नि !”

आफूले गरेको केयरिङ्गलाई त्यो रूपमा अर्थ्याइदिएको कुराले चित्त त दुख्यो, तर मन दर्‍हिलो बनाइन्, “अरु कुरा बिर्सिए पनि हस्पिटलको चिसो भुइँमा डेढ महिना बसेर तिमीलाई स्याहारेँ, त्यो सम्झ !”

“त्यो त परेको बेला जसले पनि गर्छ नि ! म भएको भए पनि गर्थेँ ।” यति सहज उत्तर सुनेर रिमा फेरि भक्कानिइन्।

“त्यतिबेलैको कुरा गर्छ्यौ भने तिमीले लगाइदिएको यही मेटलको भल्ब हो, झिकेर लैजाऊ । तर के तिमीसँग वेस्ट भएको मेरो दस वर्ष समय फिर्ता गर्न सक्छौ ?”, अबचाहिँ रिमालाई असह्य भयो । मोबाईलको स्क्रिनमा म्यूट बटन दबाइन्, र हिक्का छोडिन् । आँशुले आँखा पुरियो । सम्हालिएर बोलिन्, “अनि अहिलेसम्मको मेरो पैसा नि ?”

“ए, त्यसको लागि त प्रमाण देखाऊ अनि तिरौँला,” कति सटिक जवाफ थियो ।

त्यही दिन अर्थात् आजभन्दा दुई वर्षअघि सम्बन्धलाई पूर्णविराम लगाएर छोडेका थिए । त्यसपछिको समयमा साथीहरू कसैले पर्वतलाई केटीसँग बाइकमा देखेँ भने कसैले केटीसँग होटलमा खाजा खाँदैगरेको देखेँ त कसैले केटीसँग बाइकमा पेट्रोलको लाइनमा । केटीबिना देखेको कसैले सुनाएनन् ।

पर्वत रिमाको मनबाट लगभग फर्म्याट भइसकेको नाम  थियो । तर हिजो एक्कासि आएको एउटा फोन कलले आज उनलाई पुनः सउल टावरमा हुत्याएर पुर्‍यायो । तीन वर्षअघि पर्वतसँगै ट्रेन चढेर यहाँ मुनिसम्म आएर कोरियन परम्परागत बस्ती हेर्दै घुमाउरो बाटो कटेर टावर पुगेथे । अब्जरभेसन डेकमा निक्कैबेर भुलिएथे । थुप्रै भावभंगिमा फोटो खिचेथे । तल ओर्लिएर “हार्ट लक” स्पटमा दुवै जनाले नाम लेखेर चाबी झुन्ड्याएथे । यतिबेला रिमाले सोही चाबी खोज्दैछिन् । तर ठ्याक्कै यहीँ ठाउँमा भन्ने सम्झिन सकिनन् । झल्याँस्स सम्झिइन्, गूगल ड्राइभ । त्यहाँ दुई जनाको युगल फोटोहरू सबै रिसाइकल बिनबाट समेत हटिसकेका थिए, तर उनको एउटा फोटो थियो । भेटिन, जो चाबी झुन्डाउँदै गर्दा पर्वतले खिचेथ्यो । फोटो हेरेपछि ठाउँ पता लगाइन् । तर निक्कै भित्र पुरिएको थियो ।

सामान्य खिया लागिसकेको भए पनि एक दुईपटकमा खुल्यो । सरक्क निकालेर ब्यागमा राखिन् । अघि आएको केबुलकार स्टेशनमा पुगिन् । उनीसँग एकतर्फी टिकट मात्र थियो । पर्वतसँग केवलकारबाट फिरेका थिए, जुन उनीहरूको भ्रमणको अन्तिम दिन थियो । दुवैले मन गर्‍हुङ्गो बनाउँदै शुरुदेखि अन्तिमसम्म अंगालोमा बाँधिएर पार गरेथे ।

आज उनी पैदल नै ढुङ्गा कुँदिएको सिँढीहरूले बनाइएको बाटो पैदलै झर्नेछिन् । तीन वर्षअघि जताततै राताम्मे देखिने रेड लिफका बोटहरू आज हिऊँले खाएर डाँठा मात्रै उराठलाग्दो भुइँकुहिरोसँग लुकामारी खेल्दैछन् । चिसो बतासको सर्सराहटमा पनि रिमा भने दुवै हातमा एक एक वटा चिसो क्यान बियर बोकेर ओरालो झर्दैछिन्, सुस्तरी सुस्तरी…।