रविना मैनाली

हो, म प्रेममा डुबेको मान्छे हुँ
यो हावाको प्रेममा
जो आएर घरीघरी
मेरो केश उडाएर
मेरो मुहारमा सल्बलाउँदै
मलाई जिस्काउँछन्
अनि,
मेरो मुस्कानको गतिलाई
सीमाहीन बनाइदिन्छन्

हो, म प्रेममा डुबेको मान्छे हुँ
म यो बगिरहेको नदीको प्रेममा छु
जसको तटमा बसेर
म जीवन र भोगाईका ऐनालाई हेर्न सक्छु
आफ्ना चोटहरू बगाएर
नदीजस्तै कसरी बगिरहुँ !
उसलाई सोध्न सक्छु
म त्यो अस्ताएर जाने घामको प्रेममा छु
जसलाई हेरेर म
अस्ताएर पनि फेरि उदाउन सकिन्छ भन्ने हिम्मत बटुल्न सक्दछु

हो, म प्रेममा डुबेको मान्छे हुँ
म ती पक्षीहरूको प्रेममा छु
जो आकाश छोएर पनि जमिनलाई अँगाल्दछ
जो प्रेम अद्भुत छ भनेर सिकाउँदछ

हो, म यिनै डाँडाकाँडा, रुख-बिरुवा
यो गगन र क्षितिज अनि
कहिले पर्दै गरेको हिउँसँग त
कहिले हिउँदको घामसँगको प्रेममा छु
कहिले उडिरहेको पुतलीसँग त
कहिले खेलिरहेको बच्चाको प्रेममा पर्छु
म हर दिशा हर दशामा प्रेम चाहन्छु
त्यसैले
म प्रेममा डुबेको मान्छे हुँ
हो, म प्रेममा डुबेको मान्छे हुँ ।