नेपाली साहित्यप्रति शतप्रतिशत समर्पित सम्भवतः एउटै मात्र पोर्टल छ – त्यो हो अश्विनी कोइरालाको संयोजन र सम्पादनमा प्रकाशित हुने साहित्यपोस्ट ।
अनलाइन पुस्तकहरू, अनलाइन समचार पत्रिकाहरू थालनी भएको हामीकहाँ धेरै भएको छैन । तर छोटो समयमै अनलाइन समाचार पोर्टलहरूको सङ्ख्या ह्वात्तै बढेर गएको छ नेपालमा । यस्तोमा अनलाइन साहित्यिक पोर्टलका लागि प्रयास नहुने कुरै भएन । विगतका वर्षहरूमा धेरैले अनलाइन साहित्यिक पत्रिका निकाल्ने रहर गरे पनि ती सीमित व्यक्तिका मनोविलासमा खुम्चिएर रहेका पाउँछौँ । अनि त्यस्ता अनलाइन साहित्यिक पोर्टलहरू अनिश्चितकालीन, अस्थायी प्रकृतिका नै बढी थिए भन्न सकिन्छ जो योजनाविहीन आवेगमा आधारित भएकाले टिकाउ हुन सकेनन् ।
नेपाली भाषा-साहित्यको एउटा दीगो पोर्टलको खाँचो र आवश्यकता सबैले महसुस गरिरहेका बेला पत्रकारिताको क्षेत्रमा लामो समय बिताएका अनुभवी व्यक्तित्व अश्विनी कोइरालाले कान्तिपुर मिडिया ग्रुपको आफ्नो हुँदाखाँदाको जागिरबाट राजीनामा गरेर साहित्यपोस्ट अनलाइन पोर्टलको थालनी गर्दा सुरू सुरूमा मलाई पनि अचम्म नलागेको होइन । तर अश्विनी कोइरालाले धेरै सोची-विचारी आफ्नो जीवनभरि कमाएको अनुभवको पूँजी ‘साहित्यपोस्ट’मा लगानी गर्न तरखरिएको देख्दा भने उहाँ पक्कै पनि योजनाबद्ध ढङ्गबाट दृढ निश्चयका साथ यसमा होमिन खोज्नु भएको छ भन्ने मलाई त्यतिबेलै लागेको थियो । र बितेका एक-डेढ वर्षको अवधिमा रचना प्रकाशनका दृष्टिले मात्र नभई, योजना प्रविधि र सम्पर्क-विस्तारका कोणबाट नियाल्दासमेत अश्विनी कोइराला र ‘साहित्यपोस्ट’ दुवै एक हदसम्म सफलताको दिशातिर अग्रसर रहेको अड्कल काट्न सकिन्छ ।
अनलाइन साहित्यिक पोर्टलको परियोजना हामीकहाँ नितान्त नयाँ विषय हो । हामीकहाँ यसको कुनै पनि पूर्वमोडलिटी उपलब्ध नभएकाले सञ्चालन गरिँदा उपयुक्त हुन्छ भन्ने पूर्वधारणाहरूको लाभ पनि अश्विनीजीलाई थिएन । फेरि पनि उहाँ कस्सिनु भयो, लागिपर्नु भयो र शून्यबाट एउटा संसारलाई आकार दिने, रूपसज्जा दिने परियोजनालाई साकार पार्दै आजको दिनमा यहाँसम्म ल्याइपुर्याउनु भयो उहाँले । एक जना नेपाली भाषा-साहित्यलाई माया गर्ने व्यत्तिका रूपमा आश्विनीजीको यस कार्यलाई मैले निकै महत्त्पूर्ण उपलब्धी ठहर गरेको छु । प्रिन्ट माध्यको नेपाली साहित्यिक पत्रकारिता आफ्नो अन्त्यको कहालीलाग्दो यात्रामा अग्रसर बनिरहेको यस विसङ्गत समयमा अनलाइन पोर्टलका रूपमा अगाडि आएको ‘साहित्यपोस्ट’को महत्त्व आगामी दिनहरूमा झनै बढेर जाने निश्चित नै छ ।
‘साहित्यपोस्ट’का लागि यो आरम्भिक समय हो । यात्रा लामो तय गर्नु छ यसले र गर्नुपर्ने धेरै छ । अहिले नै पनि ‘साहित्यपोस्ट’ विश्व-नेपाली साहित्यिक पोर्टल बन्ने दिशामा अग्रसर बनिरहेको देखिरहेको छु मैले । यसले एक दिन विश्वभरि छरिएर रहेका सचेत नेपाली स्रष्टा, द्रष्टा र नेपाली भाषा-साहित्यका भोक्ताहरूलाई जोड्ने महत् कार्य गर्न सकोस् भन्ने कामना गर्दछु, अपेक्षा सँगालेको छु । साहित्यपोस्ट दीगो होस्, दीर्घायु बनोस् । विश्व नेपाली साहित्य पोर्टलका रूपमा स्थापित बन्न सकोस् । मेरो आक्षरिक शुभेच्छाहरू ! शुभकामनाहरू !!
विप्लव ढकाल
कवि तथा स्तम्भकार
विप्लव ढकाल
मैले शुरूवातदेखि नै स्मार्ट पोयम्सलाई नियमित रूपमा पोस्ट गरेँ । राम्रो प्रतिक्रियाहरू मैले पाएको छु ।
कामको सिलसिलामा तपाईंहरूले रेकर्ड कायम गर्नुभएको छ । लोकप्रिय बनाउनु भएको छ । साहित्यिक पत्रपत्रिकाहरू ननिस्किरहेका बेला नयाँपुराना लेखकले भरपर्दो प्लेटफर्म नपाइरहेका बेला अत्यन्त सुन्दर काम गर्नुभएको छ । भरपर्दो प्लेटफर्म विकसित गर्नुभएको छ ।
साहित्यपोस्टलाई धेरैधेरै शुभकामना ।
=========
नयनराज पाण्डेः
नयनराज पाण्डे
साहित्यिक पत्रकारिता आफैँमा चुनौतीको विषय हो । त्यसमाथि राजनीतिमात्र समाचार हो भन्ने मानसिकताबाट राज्यमात्र हैन, हामी पनि ग्रसित छौँ । अझ डिजिटल पत्रकारिताको यो युगमा डिजिटल माध्यमबाट साहित्यिक पत्रकारिताको आँट गर्नु कहिलेकाहीँ दुस्साहस नै हो जस्तो पनि लाग्छ मलाई । तर हैन, यो दुस्साहस हैन, साहस रहेछ । र यो साहसको ज्वलन्त उदाहरण हो – साहित्यपोस्ट । साहित्य र पत्रकारिता दुवै माध्यममा लामो समयदेखि संलग्न अश्विनी कोइराला र उहाँसित आवद्ध ऊर्जावान साथीहरूको नथाक्ने प्रयासबाट आज यसले पहिलो वार्षिकोत्सवसमेत मनाउँदैछ । यो उत्सव हो, उपलब्धी हो । साहित्यपोस्टप्रतिको हाम्रो स्नेहलाई मनभरि राखेर आज हामीले यो उत्सवलाई सार्थक बनाउनु पर्छ । बधाई साहित्यपोस्ट र यससित आवद्ध सबैलाई । आगामी दिनहरू झनै उपलब्धीमूलक हुने छनक यसले दिइसकेको छ । यसका लागि अग्रिम शुभकामना पनि ।
सर्वज्ञ वाग्ले
सर्वज्ञ वाग्लेः
नेपाली साहित्यको इतिहासमा छोटो समयमा अति नै प्रशंसनीय कार्य गरिरहेको साहित्यपोस्ट अनलाइन पत्रिकालाई दोस्रो वर्ष प्रवेश गरेको सुखद अवसरमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु ।
बाबु साइँलाः
बाबु साहिँला
कलाको सौन्दर्यबोध हुनु नै जीवन बुझ्नु हो जस्तो लाग्छ ।
साहित्यपोस्टमा कलास्तम्भ लेखन सुरु गरेको पनि एक वर्ष भइसकेछ । उसो त मैले लेख्न सुरु गर्दा साहित्यपोस्ट पनि भर्खरै बामे सरिरहेको थियो । नेपाली साहित्य जगत्मा यसअघि यसरी साहित्यप्रति नै पूर्णरूपमा समर्पित अनलाइन पोर्टल खुलेको मैले देखेको पनि थिइनँ बरु साप्ताहिक पाक्षिक र मासिक केही साहित्यिक पत्रिकाहरू निस्किएका थिए तर मूलधारमा आफूलाई जमाउन सकेनन् । खुल्ने र बन्द हुने क्रम जारी रह्यो; निरन्तरता रहेन । सायद नेपाली साहित्य जगत्मा यही अभाव खड्केको देखेर होला लामो समयदेखि पत्रकारितामा आवद्ध लेखक एवं साहित्यकार अश्विनी कोइराला दाइले पहिलोपल्ट पूर्ण साहित्यिक अनलाइन पोर्टल खोल्ने तयारीमा रहेको सामाजिक सञ्जालहरूमार्फत् थाहा पाएँ ।
विस्तारै छोटो समयमै नेपाललगायत नेपाली साहित्यमा रुचि राख्ने विभिन्न मुलुकमा छरिएर रहेका नेपाली साहित्यिक पारखीहरूमाझ “साहित्यपोस्ट” एउटा ब्राण्ड बन्यो ।
कता कता साहित्यपोस्ट समूहलाई साहित्यमात्र भन्दा पनि कला पनि मिसाउन पाए सुनमा सुगन्ध हुने महसुस भएछ क्यारे हप्ताको एक दिन शनिबारीय कला विशेष पनि छुट्टाउन थाल्यो । जुन हामीजस्ता पछिल्लो पुस्ताका कलाकारहरूलाई खुसी र स्वागतयोग्य विषय बन्यो । उसो त कलाको महत्त्व नबुझेर हो या लेख्ने मान्छेको अभाव भएर या किन हो कुन्नि मुलधारका दैनिक पत्रपत्रिकाहरूमा कलालाई त्यति स्थान र महत्त्व नदिएको देख्दा पहिलेदेखि नै कता कता नरमाइलो लागेर आउँथ्यो ।
एक दिन साहित्यपोस्टले मेरा कलाहरू आफ्नो दर्शक/पाठकमाझ प्रस्तुत गर्ने अनुमति लियो साथसाथै कलाबारे केही शब्दहरू खर्चिएर शनिबारीय कलामा प्रकाशित गऱ्यो । त्यसपछिका कलास्तम्भमा साहित्यपोस्टलाई कलाकारहरूबारे लेख्न र सम्पर्क गर्न माध्यमको अभाव खड्किए जस्तो लागेर एक शनिबार मैले पनि साहित्यपोस्टमा कुनै कलाकारका बारे लेखेँ । कलालेखन स्तम्भमा लेख्न पनि सक्ने कलाकार सोचेर होला मलाई निरन्तरता दिन आग्रह आयो । यसो सोचेँ, म पनि साहित्यमा रुचि राख्ने बेला बेला कविता कथाहरू लेखिरहने भएर मलाई लेख्न खासै समस्या नहोला जस्तो लाग्यो अनि आफूले चिनेका कलाकारहरूको कला र उनीहरूबारे लेख्न थालेँ । आखिर ललितकला क्षेत्रमा आफ्नो तर्फबाट थोरै भए पनि योगदान दिन सकिन्छ कि भन्ने लागेको छ । लेख्ने क्रम निरन्तर जारी छ ।
साहित्यपोस्टमा नेपाली कलाकारहरूको मात्र नभई विश्वका महान् कलाकारहरूको जीवनी र कला इतिहासबारे पनि बेला बेला लेख्ने गरिरहेको छु । यसबाट आत्मसन्तुष्टि मिलेको छ । जति विश्व कला जगत्बारे घोत्लिएर अध्ययन गर्छु उति नै कलाको अथाह गहिराइ भएको भेट्टाउँछु । कलाको उच्च सौन्दर्यबोध हुनु पनि एक किसिमले जीवन जगत् बुझ्नुरहेछ । छोटो समयमै लोकप्रिय हुन सफल “साहित्यपोस्ट”सँग जोडिन पाउँदा खुसी लागेको छ । पहिलो वार्षिकोत्सव र दोस्रो वर्ष प्रवेश गरेकोमा साहित्यपोस्टलाई शुभकामना ।
रूपक अधिकारी
रूपक अधिकार
सबैभन्दा पहिले त साहित्यपोस्ट र सम्पूर्ण सञ्चालक टिमलाई भव्य शुभकामना । हेर्दाहेर्दै हाम्रो यो घर एक वर्षको भएछ । अग्रज र अनुज लेखकहरूलाई एउटै घेराभित्र राख्ने यस अनलाइन पोर्टललाई म घर नै भन्न रुचाउँछु । आखिर घर पनि त अभिभावक र सन्तान मिलेर नै बन्छ ।
जसरी एउटा शिशुले पहिलो पाठशालाका रूपमा घरमा सिक्ने अवसर पाउँछ त्यसरी नै अनुज लेखकहरूले यहाँबाट कलमले गर्ने शृङ्गारका बारेमा यहीँबाट धेरै जानकारी हासिल गर्न सफल भए भन्ने मेरो बुझाइ छ । मलाई आज पनि याद छ अश्निनी दाजुले मेरो सानो प्रतिक्रियालाई आर्टिकलको रूपमा ल्याउनुपर्छ भन्नुभएको । दाजुलाई नमन गर्न चाहन्छु । यसरी साथ नदिनुभएको भए म आज पनि सीमित घेराभित्र हुन्थेँ । लकडाउनको समयमा मैले लेखनसम्बन्धी पहिलो आर्टिकल लेखेँ । आर्टिकलको हिसाबले पहिलो र अहिलेसम्मकै दरिलो लेख त्यही नै थियो । लेखन सपना हैन , लेखन अनुभूति हो ।
मलाई त अहिले पनि फुटकर कथा लेख्न डर लाग्छ । न्याय गर्दिनँझैँ लाग्छ । फुटकर लेख्न डर लाग्छ भने ठुला लेख्न सक्छु त ? हैन म त आफ्नो अन्दाजमा भावनाहरू सुनाउन जमर्को गर्छु थाहा छैन त्यो कतिबेला कसरी कथा बनिदिन्छ ।
कविताका भाव नजान्दा नजान्दै पनि लेख्छु र सायद साहित्यपोस्ट नहुँदो हो त यसको मूल्याङ्कन पनि नहुँदो हो । साहित्यपोस्टले विमल फोटो डटकमसँग मिलेर हौसला बढाउने साताव्यापी कार्यक्रम गऱ्यो । हरेक साता आउने कार्यक्रम अन्तर्गत मेरो राजनीतिमा खेल शिर्षकको कविता पनि उत्कृष्ट हुँदा मन प्रफुल्ल भयो र यो एक वर्षमा मलाई यहाँ सयौँ कविता पढ्ने मौका मिल्यो र आफ्ना पनि दर्जनौँ कविता पस्कने सौभाग्य पाएँ । आदरणीय दाजु रवि रोदनको कुचिकार हातले प्याड कवितालाई पोस्टरका रूपमा शृङ्गार गरिदिएर मलाई थप हौसला दियो । ती हातलाई पनि नमन ।
साहित्यपोस्ट अनलाइन पोर्टलमात्र नभएर एउटा साहित्यिक विश्वविद्यालय हो भन्दा फरक पर्दैन । यहाँ साहित्यका हरेक विधा पढाइ हुन्छ र सबैभन्दा खुसीको कुरो कसैसँग शुल्क उठाइँदैन । निःशुल्क पढ्न पाइने यस्तो गजबको पाठशालामा भर्ना भएको एक वर्ष बितेछ पत्तै पाइनँ । समय छान्नेमा राखेको आइस रहेछ । तप्प तप्प चुहेर सिकिने ।
विश्वविख्यात कविता तथा कथाहरूको नेपाली अनुवाद पढ्दा लाग्छ त्यो पल बाँचिरहेको छु । साहित्यपोस्ट नभएको भए हराइसकेको मेरो पठन स्वभाव फेरि सक्रिय हुने थिएन । मेरा लागि लेख्नु ठुलो कुरा हैन । लेखन भनेको मेरो जिन्दगी हो । जिन्दगी एक्लै चल्दैन र एउटा सत्य के हो भने जिन्दगी बाँच्न सहयात्री आवश्यक हुन्छ । मेरा लागि त्यो सहयात्रीको नाम हो साहित्यपोस्ट । मलाई कवितामा , मुक्तकमा पुरस्कृत गरेको भएर मात्र यसो भनेको हैन । मलाई बुबाले जस्तै ताते ताते गर्दै डोहोऱ्याएको भएर भन्दैछु । हरेक अनुजहरूका लागि यो भन्दा ठुलो कुरा अरू केही हुनै सक्तैन।
साहित्यपोस्टसँगको मेरो एक वर्ष समग्रमा फलदायी रह्यो । कोरोना कहरमा जथाभावी समाचार हेरेर मन विचलित बनाउने समय मसँग थिएन । केही पढिरहेको र केही लेखिरहेको हुँदा एक वर्षको समय अनप्रोडक्टिभ काम गरेर बित्यो भन्ने कहिल्यै भएन । साहित्यमा लागेर केही गर्न सकिँदैन भन्छन् तर साहित्यमा लाग्नु अनप्रोडक्टिभ हुन्छ जस्तो मलाई लाग्दैन । साहित्यले समाजलाई अँध्यारोबाट उज्यालोतिर लैजाने अहम् भुमिका खेलेको हुन्छ । तमसो मा ज्योतिर्गमय ।
अन्त्यमा , धेरै कुरा सिकाउने यस पाठशालाले आगामी दिनमा थप पाठहरू सिकाओस् । जसरी यो एक वर्ष बित्यो त्यसैगरी सयौँ वर्ष बितोस् । वर्षको अन्त्यमा आएर जसरी अनुज लेखकहरूलाई हौसला दिन एक लेखकलाई पुरस्कार घोषणा गरिएको छ यस्तै हौसलाका अनगिन्ती सिलसिलाहरू कायम गर्दै अघि बढ्न सकोस् । कसैलाई काखा कसैलाई पाखा नगर्ने यसको स्वभावमा कहिल्यै परिवर्तन नआओस् । सम्पूर्ण प्रेमिल मनहरूमा साहित्यिक नमन ।
सुष्मा तिमल्सिनाः
सुष्मा तिमल्सिना
“तपाईँ किन लेख्नुहुन्छ ?” मलाई यो प्रश्न धेरै लेखकहरुलाई सोध्न मन छ ।
एउटा लेखनीय प्रतिभा भएको व्यक्तिलाई नलेखी बस्दा के समस्या हुन्छ ? यो पनि सोध्न मन छ ।
यसबारे प्रत्येक लेखकका आआफ्नै भोगाइ, बुझाइ र अनुभव जान्न मन छ । यसको लागि पत्ता लगाउन खोजेँ भने मैले भरपर्दो माध्यम त्यो अहिलेको अवस्थामा सामाजिक सञ्जाल नै हुनेछ सायद । मैले केही लेखकहरुलाई नसोधेकी पनि होइन । अधिकांशको जवाफ हुन्थ्यो, “आत्मसन्तुष्टिको लागि लेख्छु ।”
के लेखक आत्मसन्तुष्टिको लागि मात्र लेख्छन् ? के लेखकलाई आफ्नो रचना कसैले सुनिदियोस् भन्ने लाग्दैन ? पढिदियाेस् भन्ने लाग्दैन ? अनि, अर्को प्रश्नको जवाफ लेखकलाई नलेखी बस्दा छटपटी हुन्छ रे । के नलेखी बस्दाको समस्या यति मात्र होला त ? के लेखक आफ्नो रचनामा कमिकमजोरी खोज्दैन ? तर्क-वितर्क खोज्दैन ? अनि के लेखकलाई प्रशंसित हुन्न मन हुँदैन ? पक्कै हुन्छ ।
अब आफ्नै कुरा गर्नुपर्दा, जब म केही लेख्छु, माथिका प्रश्नहरुको जवाफ खोज्छु । खोज्छु एउटा विश्वासिलो स्थान जसले मेरो रचनालाई राम्रो महत्त्व दिन सकोस् । छाेटाे समयमा नै धेरै लेखकको ध्यान आफूतर्फ तान्न सफल साहित्यपोस्ट मेरा निम्ति पनि लेखकको दर्जा दिने ठाउँ बनेको छ । अब, जब म केही लेख्न बस्छु, केही लेखिसक्छु, त्योभन्दा अघि नै म ढुक्क भइसक्छु कि साहित्यपोस्ट त छ नि ! जसले मेरो रचनालाई प्रकाशन गर्नेछ । धेरै माझ पुर्याउने छ र म आफ्नो रचनाको प्रतिक्रिया सुन्न पाउनेछु । साहित्यपाेस्ट मेरा लागि आफ्नो लेख-छाप्ने ठाउँ मात्र नभएर अधिकांश लेखकका रचनाहरु पढ्न पाउने थलो पनि हो । जहाँ म साहित्यका हरेक विधा निर्धक्क पढ्न सक्छु । साहित्यपाेस्टको अर्को मलाई मन पर्ने पक्ष भनेको नवपुस्तालाई दिइने प्राथमिकता पनि हो ।
मलाई लाग्छ, कुनै कार्यालय होस् वा संस्था अवथा जुनसुकै काम गर्ने क्षेत्र त्यतिबेला सफल हुन्छ जतिबेला त्यहाँ काम गर्ने कर्मचारीले उक्त कार्यथलोलाई आफ्नै ठान्छन् र मिहिनेतपूर्वक काम गर्छन् । साहित्यपोस्टमा कार्यरत सबै व्यक्तित्व मलाई त्यस्तै लाग्छ । म उहाँहरुले गर्ने नम्र व्यवहार, आदरपूर्वक बोल्ने शैली आदिले लोभिन्छु पनि ।
सोचेँ । निकैबेर सोचेँ । साहित्यपोस्टका कमिकमजोरी के के छन् त ? अबका दिनमा साहित्यपोस्टले के कस्ता सुधारात्मक कदम चाल्दै जानुपर्ला ? धेरैबेर सोच्दा पनि मेरो दिमागमा केही नआएपछि मैले यो विषयमा केही लेखिनँ । जुन रफ्तारमा अहिले साहित्यपोस्ट अघि बढिरहेकाे छ, सायद त्यो मेरो नजरमा ठीक छ । अन्तिममा, साहित्यपाेस्टलाई अझ प्रगतिको शुभकामना ! प्रथम वार्षिकोत्सवको झन् धेरै शुभकामना !!