
हिमलाल श्रेष्ठ
समय रोकिएको हो किजस्तो लाग्छ। जति बेला मेरा कलिला हातहरुले कनिकुथी ‘क’ लेख्थ्यो, जति बेला मेरो कलिलो मस्तिष्कमा एक युग परिवर्तनको अमीट छाप बस्नु पर्थ्यो, जति बेला मेरा भावनाले संसार विचरण गर्ने भन्थ्यो, जति बेला मेरा पाइलाहरुले संसार नाघौँ भन्थ्यो, मलाई मेरो कपुरी ‘क’ लेख्ने धुलौटो संसार चियाउने ऐनाजस्तो लाग्थ्यो। मलाई मेरो पाठशाला देवभूमिझैँ लाग्थ्यो र मलाई ‘क’ घुमाउन सिकाउने हसिना बेगम मलाई संसारकै उत्तम आमा जस्ती लाग्थ्यो। समयले राम्रोसँग पाइला चाल्न नपाउँदै एक दिन मैले त्यो दिनसम्म कहिलै नभोगेको अनि नसोचेको अनौठो घटना घट्यो।
अनकन्टार पहाडी खोंचहरुको एक खोंचमा मेरो सानो पाठशाला थियो। होनहार समाजसेवीहरुले अन्धकारलाई चिरेर उज्यालो छर्ने भन्दै खोलिदिएको पाठशालामा वर्षौंदेखि पढाउने गर्थिन्- हसिना बेगम। न राम्रो तलब, न पेन्सनको व्यवस्था। न कुनै आकर्षक सुविधा! एउटी नारी हुनुको परिचय– धैर्यताको अब्बल नमुना। रातोदिन खटेर पाठशालाको अनि भविष्यका उज्ज्वल ताराहरुको पथ प्रदर्शक बनिरहिन्।
त्यो दिन एउटा कालो दिन, न्याय मरेको दिन, सत्यले असत्यसँग हारेको दिन। म शिशु छँदा घटेको त्यो घटना सम्झदा अझै पनि मलाई भाउन्न भएर आउँछ, कहाली लागेर आउँछ। भिडहरुले कसरी संवेग गुमाउँछ, लहैलहैमा कसरी मानिसहरु विवेक गुमाउँछन् भनेर अझै पनि मलाई उदेक लागेर आउँछ।
त्यो दिन ‘पाले सर’ जसले दैनिक फलाम पिटेर आरनमा बनेको घन्टी टिङटिङ बजाउने गर्थे, आइपुगेकै थिएनन् र घन्टी बजेकै थिएन। एक हुल मानिसहरु आए र हसिना बेगमको चुल्ठो समातेर गलहत्याउँदै लखेटे। हामी बालकहरु डरले अनि आसुरी समयको छनक सम्झेर कक्षाभित्र भएका सबै साथीभाइ गुजुल्टो परेर बस्यौँ। पछि गाउँका भद्र भलाद्मी बसेर छिनोफानो भयो रे भन्ने सुनियो– हसिना बेगमलाई पाठशालामा भएको माटोको घैंटोमा भरिएको पानी छोएको आरोपमा पाठशालाबाट निकालिएको हल्ला फैलियो।
नभन्दै त्यो दिनदेखि मैले मेरो पाठशालामा अनि देखे-घुमेको ठाउँमा कतै पनि हसिना बेगमलाई देखिनँ अझै पनि समय त्यहीँ रोकिएको जस्तो लाग्छ– हसिना बेगमले हारेको समय। बाल मनोविनोदमा सामाजिक न्यायले हारेको समय। शिक्षाको उज्यालोभित्र गुम्सिएका छुत अछुतका अँध्यारा अध्यायहरु- अझै टाउको उठाउँछन्।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
३० जेष्ठ २०८३, शनिबार 








