अनगिन्ती फुलोस् फूलहरू
अनेक रङका फुलोस् फूलहरू
चाहे फुलोस्
सुवास बिनाको फूल
चाहे फुलोस् सुवासित फूल
नैसर्गिकता उसकै हो

चाहे दौडोस् उपवनमा
चपला चम्पक मृगहरू
डुलोस् आफ्नै गतिमा
या नाचोस्
मोहक भङ्गिमामा
कुदोस् जोगिएर
सिकारी थकाओस्
आफैँ थाकेर
नैसर्गिकता उसको आफ्नै हो

लम्कोस्
सुरज ताकेर ऊ
लम्कोस् गहिरिएर जमिनभित्र
सोसोस् कार्बन
या पौष्टिक तत्त्व
निकालोस् अक्सिजन
त्यो उसको आफ्नै नैसर्गिकता हो

ढाकोस् धर्ती
ढाकोस् आकाश
छेकोस् सूर्यको ताप अनि प्रकाश
फैलियोस् तिनका जरा
समेटोस् आफैँमा
कयौँ चराचर
कयौँ कीटपतङ्ग
कयौँ जीव
त्यो उसको नैसर्गिकता हो

नाचोस् मयूर
खोपोस् काठ-फरुवाले
प्वाल पारोस् रुखमा
भाँचोस् रुखका हाँगाबिँगा
वनकरले
टिपोस् वनका खाद्य
चहारोस् वन बुट्यान
लेकाली डाँफे
त्यो उसको नैसर्गिकता हो

कलकल बगोस् खोला
सिञ्चन गरोस् यो धर्ती
बगाओस् कुडाकर्कट
ओसिलो पारोस् आवोहवा
वाष्पले सिर्जना गरोस्
भुइँकुहिरो र उड्दै उड्दै भेटोस्
बादलका बुट्‍टाहरू
त्यो उसको नैसर्गिकता हो
एक रौनक वन !
सार्वभौम वन !!

अश्रांग गोरखा
हाल: कटुन्जे, भक्तपुर