डा. चन्द्र गिरी

उसको नाम पस्पते बि. क. हो।

पस्पते बुझ्ने उमेर भएपछि, मनमनै प्रश्न गर्न थाल्यो। यो जातपात त साह्रै नराम्रो प्रथा पो रहेछ ! म जन्मिदै कसरी अछुत भएँ, म सँगैका साथीहरु मजस्तै छन् तर किन उनीहरु ठूला जातका भए? ऊसँग जवाफ थिएन। एकाबिहानै आफ्नो बाउलाई सोध्यो, “म किन र कसरी सानो जातको भए, बुबा ?”

पस्पतेको बाउ अक्क न बक्क भयो, छोरा ठूलो भएछ, मनमनै सोच्यो। उसले पनि सानामा यही प्रश्न गरेको थियो आफ्नो बुवालाई। अक्मक्किदै, अलि भावुक हुँदै बोल्न थाल्यो।

कुनै पनि धार्मिक ग्रन्थमा जातपातको वर्णन छैन यद्यपि यो प्रथा हिन्दु धर्ममा जोडिएको छ। यो प्रथा सदियौँ पुरानो हो, २००० वर्ष पहिलेदेखि चलिआएको। पूर्वजन्मको कर्मले जात छुट्टिन्छ। अरु कुनै कुराको माने रहँदैन। मुलुकी ऐन र नेपालको संविधानमा छुवाछुत गर्नु गैरकानुनी भए पनि यो प्रथा हट्न सकेको छैन।

अब तँ पनि मजस्तै सानो जातमा जन्मिस्, सानै जात भएर मर्छस्।

पस्पते ठूलो हुँदै गयो।स्कुलमा कहिलै दोस्रो भएन, जहिले पनि पहिलो। खेलकुद र नाचगानमा पनि अब्बल थियो ऊ। साथीहरुको घरमा जाँदा आँगनमा छुट्टै खाना दिन्थे भोक लागेको बेला मज्जाले दन्काउँथ्यो। भान्सा घरमा जान नदिएको कुरा उसको जातले हो भन्ने कुरा राम्रोसँग बुझेको थियो।

साथीहरुले रिस उठेको बेला तँ कामी भन्थे। उसले सोच्थ्यो यो जात त हामीलाई हेप्ने र दबाएर राख्ने समाजको औजार पो रहेछ ! अरु कुराले जित्न नसकेपछि तँ कामी भनिदिए पुग्यो। म पनि त त्यसो भन्दा चुप लाग्दोरहेछु नि त !

मेरो आत्मबल म जन्मिदै खस्किसकेको रहेछ।

पस्पते कलेजमा पढ्दै थियो, उसको कान्छो बुवा अकस्मात खस्नु भयो। हाम्रो परम्पराअनुसार १३ दिने काजक्रिया गर्नुपर्ने भयो। गाउँको बाहुन बाजे (पुरेत) लाई गुहार्यो। उहाँले आफूले चाहिं गर्न मिल्दैन भन्नुभयो। बि.क.को आफ्नै बाहुन हुन्छ, उसले गर्नुपर्छ भन्नुभयो।

गाउँमा आफ्नो जातको बाहुन कोही छैन, कृपया सहयोग गरिदिनुस् न भनेर बिन्ती गर्यो पस्पते ले।

बाजे बहुत असल र आधुनिक हुनुहुँदोरहेछ। म त गर्न चाहन्छु बाबु तर हाम्रो बाहुनको समाजले मलाई बहिस्कार गर्छ, माफ गर है, बरु अर्को शहरमा वा गाउँमा कोही छ कि तिम्रो जातको खोज। पस्पते निराश भएर घर फर्क्यो। एक दिन पर्खेर अर्को जिल्लाबाट आफ्नै जातको बाहुन बोलाएर काम चलाए उनीहरुले।

पढेलेखेको पनि म नै हो गाउँमा, समाज सेवा पनि हुने भनेर आफैँले किताब किनेर पूजाआजा गर्ने विधि सिक्न थाल्यो। सबैले गुणगान गाए, वल्लो गाउँ पल्लो गाउँ। चाहेर गरेको होइन बाध्यता थियो। सिक्दासिक्दै न्वारान, बिहे, क्रियाकाजदेखि सबै किसिमका पूजापाठ गर्न माहिर भयो।

सुन्तलीसँग पन्चै बाजा बजाएर बिहे गर्यो।

राम्रैसँग पण्डित्याईं गर्न थप ज्ञानको जरुरत परेको कुरा महसुस भयो उसलाई । घरबाट एकाबिहानै भागेर बनारसतिर लाग्यो, आमाको थैलीबाट पैसा चोरेर। बनारस पुगेर पाण्डाले नाम सोधे, के भनुँ-के भनुँ भयो, “पस्पते पण्डित” भनेर जवाफ दियो।

रात दिन लागिपरेर निक्कै अध्ययन गर्यो। दुई वर्ष बनारसमा बसेर गाउँ फर्क्यो।

गाउँमा उसको उमेरका कोही छैनन्, बूढापाका र केटाकेटी मात्र। फेरि आफन्तहरुले पस्पते त बेकामे भयो, पूजापाठ त गर्छ तर अरु बेलामा डुकु लन्ठ्याङ्ग भएर हिँड्छ भनेर कुरा काटेको सुन्तलीले सुनिछ।

अब ऊ काठमाडौँ जाने भयो। त्यहाँ पस्पते बि. क. हैन, पस्पते पण्डित बन्ने निर्णय गर्यो। नयाँ साथी बनायो। अब सबैको भान्सामा गएर मज्जाले भोजन गर्ने भयो। होटेलमा खाँदा कुममा कुम जोडाएर खायो साथीहरुसँग। पण्डित्याईं पनि गर्न आउँछ भनेपछि कर्मकाण्ड गर्न पनि बोलाउन थाले, आफ्नो टोलमा।

बिस्तारै वरिपरि सबैतिरको पण्डित भयो ऊ। बाहुन, छेत्री, नेवार सबै जातले खुट्टामा ढोग्न थाले। पण्डित थरको कमाल देखेर ऊ छक्क पर्यो। सुरुमा निकै अप्ठ्यारो भयो तर पछि ऊ बानी पर्यो।

आखिर आफ्नो सोच र विश्वासको रोग रहेछ यो जातपात भनेर बुझ्यो।

संस्कृतका श्लोकहरु दिनहुँ कण्ठ पार्थ्यो। संस्कृत कसैले नबुझे पनि पस्पतेले जानेसम्म सबै विधि पुर्याएर काजक्रिया पूजापाठ गर्यो।

आम्दानी राम्रै हुन थाल्यो। शहरमा आएपछि, छुट्टै दर राख्यो। गाउँमा १०० रुपैयाँ लिने ठाउँमा यहाँ १००० लाग्ने भयो। कुनै कार्य गर्नु अगाडि ३३ कोटी भगवानलाई बोलाउनु पर्छ, फेरि कार्यको अन्त्यमा बिदाई पनि गर्नै पर्यो। बोलाउँदा पनि पैसा चढाउनु पर्छ बिदाई गर्दा पनि, सबै भगवानहरुलाई। कसैले काखा कसैलाई पाखा गर्नु पनि त भएन। जजमानको आर्थिक स्थिति हेरेर दर फरक-फरक पार्न थाल्यो, समस्या भएन ।

पस्पतेले सुन्तलीलाई बोलायो काठमाडौँमा। बाहुनी हुन पाएकोमा ऊ पनि दङ्ग परी। पूजापाठमा जाँदा गुन्युचोलो पाउन थाली। खुशीको सीमा रहेन ।

पस्पतेका साथीहरु विदेश जान थाले। उसलाई पनि रहर जाग्यो, सुन्तलीले सुन्नासाथ समर्थन गरी। अमेरिका नै हो सबैभन्दा राम्रो जाने ठाउँ भन्ने ठहर भयो । अंग्रेजी भाषा सिक्यो ।

न्युयोर्क पुगेपछि बाहुन बाजेकै काम जारी राख्यो । न्युयोर्कमा बसे पनि अमेरिकाभरि पूजापाठ गर्न थल्यो। अंग्रेजी जानेकाले विदेशीहरुलाई फरर पूजामा वा बिहेमा के हुँदैछ व्याख्या गर्थ्यो। यही कारणले होला उसको माग झन् झन् बढ्न थाल्यो।

अब एकाएक भगवानलाई डलरमा चढाउने देशमा गयो पस्पते। कुन भगवानलाई बोलाउँदा कति डलर र बिदाई गर्दा कति दिने भनेर तय गर्यो। अलि गाह्रो अथवा कचकचे मेजमान परे सहायक बाहुन लिएर जान थाल्यो, सहायकले भने जति पैसा भगवानलाई चढाउनु पर्ने भयो।

आखिर भगवानलाई खुशी पारेर नै बोलाउनु पर्यो, बिदाई गर्नु पर्यो । सहायक बाहुनले त्यो कुरा राम्रोसँग बुझेको थियो।

फेरि बाजेलाई बोलाउने भनेको खुशी वा दुःखी समयमा बोलाउने हो, त्यति किचकिच हुँदैन थियो। कोही-कोही बेला टपरीमा १०० डलर राख्नु पर्छ भन्दा कसै कसैले रिसले हेरेको भने प्रस्ट हुन्थ्यो । उहाँहरुसँग कुरा गर्ने सहायक बाहुन तम्तयार हुनुहुन्थ्यो। कतिले आफूले विश्वास नगरे पनि आफ्नो बाउआमाको विश्वासमा धक्का पुर्याउन चाहँदैन थिए, जिउँदोमा होस् वा मरेर गएपछि होस।

माग बढ्दै गएपछि, जहाजको टिकट, एयरपोर्ट जान-आउन लिमोजिन र दिनको १,००० डलर लिन थाल्यो भगवानलाई टपरीमा चढाएको १,००० डलर जति हुन्थ्यो। बिहेको बेलामा फुर्सद हुँदैन थियो।

गाउँको ‘गम्भिरे’ले अमेरिका गएको थाहा पाएछ। के गर्छस् हौ, अम्रिकामा भन्यो। व्यापारिक क्षेत्रमा छु भन्यो । धेरै बोल्न चाहेन।

छोरा को नाम ‘पिटर आचार्य’ राखी दियो।

उमेर ढल्किदै गयो। पैसा पनि कमायो। अब छोराले अमेरिकामा गरेर खाइहाल्छ। जिन्दगीमा थोरै दिन बाँकी हुँदा के गर्ने के नगर्ने भन्ने अन्योल मा परिरह्यो। सुन्यो गाउँमा जातपातको भेदभाव अलि कम भएर गएको छ। सुन्तली र पस्पतेले गाउँ फर्कने निर्णय लिए।

गीत गुन्गुनाउँदै दुवै जना जेएफके एरपोर्टतिर लागे।

सानो र ठूलो हुँदैन मान्छे हौँ हामी बराबर
भेद र भाव नगर मान्छे छौं हामी बराबर

त्रिभुवन विमानस्थलमा अवतरण गरेपछि इम्मिग्रेसन अफिसरले नाम सोधे, उसले भन्यो, “पस्पते बि. क. उर्फ पस्पते पन्डित!”

विमानस्थलको ढोकाबाट निस्कदै गर्दा मनमनै भन्यो, “म बि. क. भएर मरे पनि मेरो छोराले अब जातपातको कहिलै चिन्ता गर्नु पर्दैन, बिडम्बना मेरो देश ले एकजना सपुत गुमायो ।”

अमेरिका, नर्थ क्यारोलिना