बाबुलाल बूढा

दुई ढुंगाबीच चेपिएको तरुल
विशाल साम्राज्य शक्तिको बीचमा
अडिग देश
स्वाभिमान र ठाडो शीरले बाँचेको
मेरो देश नेपाल हो ।

साम्राज्य शक्तिको लागि सानो करेसाबारी जत्रै
त्यसैले त बेलाबेलामा चिथोर्न खोजिरहन्छन्
कहिले डलरको आश्वासनले त कहिले डर त्रासको धम्कीले
कहिले शीरमा सुम्सुम्याएर त
कहिले हात खुट्टाको औँला काटेर तर्साइरहन्छन् बेला बेलामा

खबरदार !
तिमी काट यी हात खुट्टाका औँलाहरु
र घोच तिम्रा तिखा संगीनले
यातना देऊ, बेस्सरी दुखाऊ
तर
मेरी आमाको छातीमा कुल्चिन दिने छैनौँ
रत्तिभर झुक्ने छैन निडर शीर
बेचिने छैन स्वाभिमान
किन कि
हामीसँग अंग्रेजलाई धुलो चटाएर
पुर्खाले जितेको इतिहास जीवित छ ।
रगतको थोपाले बनेको सर्वोच्च सगरमाथाको
विशाल स्वाभिमान छ ।
तिम्रो विशाल साम्राज्य भन्दा
हाम्रो सानो सार्वभौम र अखण्डता कयौं गुना बलियो छ ।

त्यसैले
ए विस्तारवादी हो
ए साम्राज्यवादी हो
नलागाऊ तिम्रा गिद्दे नजर
न कुल्च आमाको छातीमा
छोड नांगो हस्तक्षेप
फर्काऊ तिम्रा बर्दिधारी बुटहरु

जब तिम्रा
विशाल छाती नाङ्गिएका बेला
नीलो वस्त्रले छोपिदिने गोर्खाली हुन्
भोको पेटमा आहारा जुटाइदिने गोर्खाली हुन्

त्यसैले
याद राख कि
मेरो देश
तिम्रा परेड खेल्ने आँगन होइन
तिमीले बम बर्साउने रणभूमि होइन
दुई ठूला ढुंगाको बीचमा चेपिएको तरुल
बिस्फोट हुने ग्रिनेड बन्न सक्छ
यो हाम्रो अखण्डताको लडाईं हो
हाम्रो स्वाधीनताको लडाईं हो
हाम्रो सार्वभौमता र स्वाधीनताको लडाईं हो ।

ए विस्तारवादी ?
न तेर्साऊ तिम्रा आधुनिक तोपहरु
फर्काऊ तिम्रा बर्दिधारी बुटहरु
छोड कालापानी, छोड लिम्पियाधुरा
झुक्दैन हाम्रो स्वाभिमानी शीर

खबरदार शासक हो ?
हरियो डलरसँग पटक्कै राष्ट्रियता नबेच्नू
आत्मीयतामा फेरि कालो राष्ट्रघात नगर्नू
पुर्खाको विशाल छाती ठाडो शीर
विस्तारवादीको पाउमा लम्पसार परी फेरि भेटी नचढाउनू ।
राष्ट्रवादीको नाममा भित्रभित्रै
देशको अस्मिता नसाट्नू

ए शासक हो
छोड अब
विस्तारवाद र साम्राज्यवादको जुठो खान
कुर्सी होइन
जोगाउनु छ, आमाको छाती
बचाउनु छ, देश सिरिया र अफगान हुनबाट
नेपाली जनताले तिम्रा असली राष्ट्रवादीको
परीक्षा लिइरहेका छन् ।

त्यसैले
नझुकाऊ स्वाभिमानी शीर
विस्तारवादी र साम्राज्यवादी गिद्दहरुको झम्टाइमा
राष्ट्रियता सार्वभौमता स्वाधीनता र अखण्डताको लडाइमा नझुक ।