साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

कालापानीको व्यथा

कविता

ए कालापानी तिमी साह्रै सस्तो भयौ
किनकि मैले हिजो साँझ बालेको
आगो अझै निभेको छैन
तर तिम्रो वेदनाको कथा निभिसक्यो
किनकि यहाँ तिम्रो व्यथा बुझ्ने अनि
त्यो गहिरो कथा पढ्ने समय छैन

तिम्रो त्यो अतिक्रमण कथा भुलाउन,
अनेकन खेलहरु रचिँदैछ्न्
तिम्रो कोख अतिक्रमण भन्दा ठूलो,
कलाकारको गाली भयो
अनि हरेक क्षेत्रमा राजनीति,
हालिमुहाली भयो
।।
ए कालापानी तिमी कसैको,
भोट बैंक भयौ म लगाएत सबैसबैको,
संजालमा कहलिने माध्यम भयौ
पत्रकारहरुको हेड्लाइन बन्यौ
कमेडियनहरुको कमेडीको पात्र बन्यौ
राजनीतिज्ञहरुको प्रख्यात एजेन्डा बन्यौ
जान्ने बुझ्ने नागरिकको अभियान बन्यौ
लेख्न सक्ने मान्छेको साहित्य बन्यौ
बोल्न सक्नेको चियागफ बन्यौ
।।।
तर केवल क्षणिक बन्यौ
मैले हिजो साँझ बालेको
आगो अझै निभेको छैन
तिम्रो वेदनाको कथा निभिसक्यो
तर तिमी धन्दा नमान
तिम्रा केही सन्तान मौन छन्
कोही सन्तान गौण छ्न्
।।।।
त्यो मौनता टुटेको दिन
आगोको झिल्का दन्केर मुस्लो बनेको दिन
खुकुरी र तरबारहरु जुर्मुराउँदै
वीर गोर्खालीको त्यो इतिहास दोहोरिने छ।
ती शत्रुका घातहरु झेल्न हामीलाई,
कुनै ढाल आवश्यक पर्ने छैन
।।।।।
किनकि तिम्रा व्यथाका,
आँसुहरु पर्याप्त हुनेछ्न्
ती आघातबाट लागेका घाउहरु
निको पार्न पनि हामीलाई
कुनै औषधि चाहिने छैन
किनकि विजयी पछिको
त्यो तिम्रो मुस्कान नै काफी हुनेछ।

सम्बन्धित पोस्टहरु

त्रि विक्रम सिंह

bahulako diary small and inside post
प्रतिक्रिया
Loading...