उमा शर्मा

जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसि भनेर
सिमाना आफ्नै हो भनेर
धरोहर आफ्नै हुन् भनेर
एउटा तथ्य जुटाउनु परेको छ
रगत बोकी हिँड्ने नसालाई सोधेर
पानी बोकी हिँड्ने नदीलाई खोजेर
आऊ एउटा प्रमाण जुटाउन हिँडौँ
यो सिमाना,
आमाको पेटमा नौ महिना बसेर
प्रशव पीडापछि जन्मिएको सन्तान
उसले आमाको माया पाउनुपर्ने
उसले बाबुको संरक्षण पाउनुपर्ने
उसको आफ्नै घर र थर हुनुपर्ने
त्यसैले,आऊ एउटा प्रमाण जुटाउन हिँडौँ
उध्रिएको भोटोजस्तो सिमाना
लाजै बचाउन साह्रो भो भन्छ
अनाथ बालक जस्ता यी धरोहरहरु
आफन्ती भेट्टाउन गाह्रो भो भन्छन्
“नास्ति सत्यसमो धर्मो”
सत्य जस्तो अर्को कुनै धर्म नै छैन
त्यसैले, आऊ एउटा प्रमाण जुटाउन हिँडौँ
कहिले काटिन्छ सिमाना
कहिले छाँटिन्छ सिमाना
यतै दुख्यो भन्छ सिमाना
उतै चस्क्यो भन्छ सिमाना
“सत्येन रक्ष्यते धर्मो”
धर्मको रक्षा सत्यले गर्छ
त्यसैले, आऊ एउटा प्रमाण जुटाउन हिँडौँ
साँधको कालापानी आफ्नै हो भनेर
लालपूर्जा जुटाउन हिँडौँ
छोरो गौतम आफ्नै हो भनेर
नागरिकता भेट्टाउन हिँडौँ
टोपी सगरमाथा आफ्नै हो भनेर
शीर उठाएर हिँडौँ
त्यसैले, आऊ एउटा प्रमाण जुटाउन हिँडौँ
घर भित्रकाहरु डराएर बोल्दैनन्
घर बाहिरकाहरु हराएर बोल्दैनन्
जिब्रो काटिएकाहरु आवाज नभएर बोल्दैनन्
आवाज हुनेहरु रिवाज नभएर बोल्दैनन्
कोही किचिएर बोल्दैनन्, कोही बेचिएर बोल्दैनन्
नक्शामा मात्र होइन, भावनामा पनि गाभ्नु पर्छ सिमाना
त्यसैले, आऊ एउटा प्रमाण जुटाउन हिँडौँ।

 

विन्टरभिल, नर्थ क्यारोलिना