डाइनिङ टेबलको थालीमा
दुइटा “जी” हुनुहुन्छ
एउटा चुच्चे काँटाजी हुनुहुन्छ
अर्को भुत्ते चम्चाजी हुनुहुन्छ !

हेर्दा दुवैजी उस्तै देखिनु हुन्छ

नवराज कार्की

शायद तपाईं झुक्किनु हुन्छ
युगल जोडीझैं उहाँहरू
सॅंगै बस्नुहुन्छ
सॅंगै खानुहुन्छ
सॅंगै आउनुहुन्छ
सॅंगै जानुहुन्छ
सॅंगै धोइनुहुन्छ
सॅंगै चोखिनुहुन्छ !

एउटाले अँठ्याउनुहुन्छ
अर्काले तान्नुहुन्छ
एउटाले काट्नुहुन्छ
अर्काले खानुहुन्छ
एउटाले मिलाउनुहुन्छ
अर्काले लैजानुहुन्छ
खान थालेपछि दुवैले
दुवै हात चलाउनुहुन्छ !

“चौचा” खानमा काँटाजी
“अब्बल” मानिनुहुन्छ
उहाँ “मांसाहारी” हुनुहुन्छ
झोल खाँदैमा के चम्चाजी
“साकाहारी” हुनुहुन्छ ?
उहाँ त झन् नामूद शिकारी हुनुहुन्छ
खाने मामलामा दुवै जीहरू

निकै “अनुभवी” हुनुहुन्छ !
खाने बेलामा टक्राक…टुक्रुक….
आवाज आयो भन्दैमा
अन्यथा नसोच्नुहोला
उहाँहरू यथावत् “आजीवन”
खाने जागिरमा हुनुहुन्छ
खाने कलामा त उहाँहरू
साह्रै “माहिर” नै हुनुहुन्छ !
गाउॅं-घरमा, घर-घरमा
काँटा, चम्चाजी हुनुहुन्छ
खानै बनाएको हैन र ?
सधैं खाइरहनुहुन्छ !

खानेकुराको नापजाँच पनि
चम्चाबाटै गरिन्छ
डाक्टर लेख्छन् दुईदुई चम्चा
साँझ बिहानै खाए हुन्छ !
भाषै दोषी छ हाम्रो त !
हेप्नुको पनि हद हुन्छ
यस्तो “कार्यकारी” चम्चालाई
किन “चम्चा” भनिन्छ !

 

अमेरिका