तिमीसँग हात पसारेर मागेको भात
न त मेरा पुर्खाले खाए न त म खान्छु
तिम्रो जस्तो गुलाम भएर पाउने जात
न मेरो राज्यले पायो न म स्वीकार्छु !
मैले मेरै श्रमका पसिना पोख्दै
पसिनासँग भात साटेकी हुँ
मेरो नागरिकता र स्वाभिमान साटेकी हैन
म न चिनियाँ हुँ , न भारतीय
म स्वतन्त्र देश नेपाल कि छोरी
आफ्नो अस्मिताको प्रश्न उठिरहँदा
अग्निमा हामफालेर परिचय दिलाउन सक्ने
माता सीताकी भदैनी हुँ !

केवल तिम्रा बजारमा खड्किएको अभावमा
नेपाली सीप, क्षमता, निडर र निस्फिक्री पस्किएकी हुँ
छातीमा चन्द्र सूर्यको सान
अनि शिरमा सगरमाथा र गौतम बुद्द बोकेर
भारतीय श्रम बजारमा उदाए
आफ्नो कलाकारिताद्दारा
तिम्रा मन जितेँ !

यो नठान मैले राष्ट्रभक्ति बेचेकी हुँ
मेरो करियर रहोस् या नरहोस्
मलाई भारतीयले पत्याउन् नपत्याउन्
मेरो नेपाललाई
मेरो खाँचो पर्यो भने सम्झ
पहिलो पंक्तिमा म र मजस्तै राष्ट्र प्रेम उभिनेछौँ

तिम्रा गोलीका खोका मेरै मुटुनेर छरिने छन्
अनि
मेरो मुहार हेर किन्तु विचलित हैन
हाँसेर सुनकोशीको पानी पिउँदै हराउनेछु
तिम्रा सिनेमाको पर्दामा मैले आफ्नो अस्तित्व
बेचेकी छैन
धन सम्पती लोभ लालचमा
निर्लज्ज स्वार्थहरू बिक्लान्
गर्भमै नेपालको पानी पिउनेहरू बिक्दैनन्
बरू मर्न अघिल्लो मोर्चामा गोलबन्द हुन्छन् ।

मलाई राम्ररी थाहा छ
मेरा हजुरबुवाले
तिम्रा कुरा मानेका भए आठ वर्ष जेल जाने थिएनन्
न त सत्ताबाट अपदस्थ नै हुने थिए
तिम्रो नेपाली क्याबिनेटको बैठकमा
उपस्तिथिती पाउने माग
मेरा बाजेले ठाडै अस्वीकार गरेका थिए
म त्यही बाजेको नातिनी हुँ
जसलाई तिमीले काखमा लिएर
गलामा सेथ्र्याै !

त्यसैले मेरो इतिहास खोज
खुलेआम बोलिरहेको छ मेरो पृष्ठभूमि
कदापि हिम्मत नगर
म सजिलै किनिने र बेचिने
बजारको तरकारी हैन
स्वाभिमानी नेपाली हुँं
नेपाल आमाकी छोरी हुँ
म मेरो देशको निम्ती बिना वर्दीको सिपाही हुँ
आवश्यक परे मेरो रगत त्यहीँ बग्नेछ
जहाँ मेरा अग्रजले बगाए ।