ठूला-ठूला विज्ञहरू आए
एउटा सुन्दर नक्सा बनाए
चारैतिर सजाएर बनाए
कहिले श्याम श्वेत बनाए
कहिले रङ्गीविरङ्गी बनाए
कहिले थ्रिडी पनि बनाए
तर एउटा सिङ्गो नक्सा बनाए

कहिले माटोमै कोरेर बनाए
कहिले रगतले लेखेर बनाए
कहिले रातभर सोचेर बनाए
कहिले पीडाले घोचेर बनाए
कहिले फगत निर्देशनले बनाए
कहिले आफैँ डिप्रेसनले बनाए
तर एउटा सिङ्गो नक्सा बनाए

कहिले हावा भरेर बनाए
कहिले धावा गरेर बनाए
कहिले बाजा बजाएर बनाए
कहिले दुःख भजाएर बनाए
कहिले भाषण खुवाएर बनाए
कहिले जनता रुवाएर बनाए
तर एउटा सिङ्गो नक्सा बनाए

आखिर बनाए
सपनै सपनाहरू छरिएको
सुख र समृद्धिले भरिएको
नक्कली जुहारतहरू जडिएको
अनेकौँ वासनाहरू फैलिएको
बिना चस्मा केही देख्नै नसकिने
सबै नेपाली जनता अट्नै नसकिने
सक्कली देशको नक्कली नक्सा बनाए ।

दाङ, नेपाल
हालः टेक्सस, अमेरिका