मीनकुमार नवोदित

आकाशमा जून टल्कँदा
म मेरी आमालाई सम्झन्छु
आमाको निधारको टीका
आमाको चौबन्दी चोली
र सम्झन्छु फाट्नै लागेको पटुकी ।

आँगनको डिलमा उभिएर आमा
आकाशमा टहटह टल्किएको
जून देखाउनुहुन्थ्यो
पारि मूलडाँडामा–
राँको बालेर उकालो उक्लँदै गरेका
भरियाका धमिलो आकृति देखाउनुहुन्थ्यो
र, भन्नुहुन्थ्यो–
बाबु, साह्रै अप्ठ्यारा छन् जीवनका बाटाहरू ।

हरेक पूर्णिमामा जून टल्कँदा
आमाको अदृश्य आकृति
प्रतिबिम्बित हुन्छन् आँखाभरि
स्मृतिको क्षितिजबाट
एकाएक हराएकी मेरी आमा
ममताकी खानी थिइन्
चिसिएको मनलाई न्यानो दिने
एउटा सुन्दर बिहानी थिइन्
कहिले घाम थिइन्/कहिले पानी थिइन् ।

म भोकाएर रुँदा
जूनकै उज्यालोमा
लिटो बनाएर खुवाउँथिइन्
झ्याल छिचोलेर भित्र पसेको
जूनको मधुरो प्रकाश देखाउँदै
सुताउँथिइन् अँगेना छेउको खटियामा ।

जुनसँगै गाँसिएको छ
मेरी आमाको सम्बन्ध
जब जून उदाउँछ
मेरी आमा जूनसँगै
हाँसिरहे जस्तो लाग्छ
जब जून अस्ताउँछ
स्तब्ध हुन्छु
र, एकोहोरिन्छु रित्तो आकाश हेर्दै
मेरी आमा त्यही आकाशमा
जून भएर बाँचिरहे जस्तो लाग्छ ।