हिंड्न त हामी सँगै हिंडेका थियौं
एउटै बाटो भएर
जिन्दगीको यात्रामा
तर, गन्तव्यमा नपुग्दै छुटी गए सबै ।

वर्तमानको आँगनमा उभिएर
आफैंलाई बिर्सिएर खुब सम्झन्छु
छुटेर गएकाहरूलाई
जसरी सम्झिन्छ–
गुँड छाडेर गएका माउलाई बचेराले ।

आखिर यात्रा गर्नु भनेको छुट्नु त रहेछ
जसरी छुटी जान्छ चराको जिउबाट
थाहै नपाई प्वाँख
जसरी छुटी जान्छ रुखबाट पात
आकाशमा भौतारिरहेको बादलबाट पानी
त्यसरी नै छुटी गए
जिन्दगीका अनेकन रहरहरू ।

अँगेनाबाट छुटेर गएको आगोको झिल्कोझैं
आफैंबाट छुट्दै गए क्रमशः
जीवनका रंगहरू ।

युवा नहुँदै छुटी गए
बाल्यकालका दौंतरी
वयस्क नहुँदै छुटी गए
भविष्यका अनेकन सपना
वृद्ध नहुँदै छुटी गए
आफन्त र सन्तान ।

आखिर जिन्दगी भनेकै छुट्नु त रहेछ
जसरी छुटिरहेछ–
बन्दुकबाट गोली छुटेझैं आफ्नै उमेर
बगैंचामा मगमगाइरहेको फूलको जिब्रोबाट वास्ना
बिना कारण मुस्कुराइरहेको हिमालको निधारबाट हिउँ
भीरको टुप्पोमा बतासले हल्लाइरहेको दुबोको हत्केलाबाट शीत ।

आखिर हिंड्नु भनेको छुट्नु त रहेछ
जस्तो कि–
हिंड्दाहिंड्दै छुटी जान्छ
पाइतालाको डोब
अस्ताउँदा–अस्ताउँदै छुटी जान्छ घामबाट दिन
बग्दाबग्दै छुटी जान्छ नदीबाट किनारा ।

आखिर कहिल्यै नछुट्ने भनेको
आफ्नै छाँया त रहेछ
जो चितासम्मै जान्छ लाससँग
र, खरानीसँगै धुँवा बनेर उडी जान्छ हावामा ।