डा. सूरज निराैला

कागजको चङ्गाजस्तै जीवन,
उड्दा उड्दै टाढिन खोज्छ
लट्टाईमा बेरी नजिक्याउँछु,
हावाको झोँकाले फेरि पर हुर्याइदिन्छ
झिनो धागोले तान्न खोज्छु,
झन् झन् साह्रो भइदिन्छ
म र जीवनको खिचातानी
केटाकेटीको चाकाचुली
धागो चुट्टिने संन्त्रास अनि बेचैनी
आइज जीवन !
सँगै हाँसौँ, उत्सव मनाऔँ,
असीम समागममा लिप्त रहौँ
एकबारको जुनी, आउँदैन फेरि
डुबेर होइन, पौडेर जिऔँ
सजगतामा अलौकिक आनन्द लिऔँ

कहिले अभावका ताता बालुवामा हिँडदा,
कहिले असफलताका तीता करेला चपाउँदा,
कहिले इच्छाहरूले आत्महत्या गर्दा,
अनि, कहिले दुःखका उचाइ चढ्दा,
थाकेका मेरा पदचाप घिसारेरै
टाकुरा टेकाउने नि तैँ होस्
टाकुरामा गाडेका त्यो विजय ध्वजा
फरफराइरहेछ, अझै बोलाउँदैछ
फेरि यात्रा सँगै तय गरौँ
मानिस यहाँ,
आधुनिकताले जनावर बन्दैछ
सबै यन्त्रमा परिवर्तित भइसके,
खुसी पाउने तनावमै व्यस्त छन्
दिनानुदिन बन्दगी भै सके
कमाउन अनि जमाउनमै
जीवन भुलिसके
आइज जीवन !
कहाँ भाग्छस् टाढा ?
निकालौँ ती बिझेका काँडा
समयले नेटो काट्नुअघि,
एकपल्ट फेरि कदम दौडाऔँ
पार गरौँ,
उर्लेको बाढी, धमिलिएको पानी,
घाम नअस्ताउदै, टाकुरा चुमेर आऔँ
आइज जीवन
एकपल्ट फेरि अङ्गालो हालौँ ।

वी.पी.को.स्वा.वि.प्र, धरान