dr. surj

घर?
कसको घर छ र यहाँ ?
भाडा मै त छन् सब् ।
फरक यत्ति हो,
कोही चाडै छोड्दैछन् त कोही ढिलो ।
हे मित्र !
दीन, दुःखी, असाहाय र विरामीको
मनमा सजिएको तिम्रो घर
अनि, हरेक मानिसको दिलमा
बनाउन सकेको घरको आनन्द
ती कंक्रिटका महलमा कहाँ पाउछौ र  ?
तिमीलाई थाहा छ ?
पीपलको वृक्ष मुनीको छहारी हो घर,
आमाको न्यानो काखको सहारा हो घर,
दुःख बिसाएर शान्ति लिने टहरा हो घर ।
अझ !
एक एक गरि चुच्चोले बटुलेर
रुखको हाँगामा बनाइएको
परालका त्यान्द्रा र सिन्कोका
गुजुल्टो हो घर ।
अनि,
वरपरका जुठो खाना खाएर
भरिएको आमाको स्तन चुस्न
पर्खिरहेका ती छाउराहरुको
भोक मेटाउने खोर हो घर ।
रत्न जडित सङ्गमर्मरका महल भित्र
घृणा र द्वन्द्वको हुन्डर पर्छ भने,
ईर्ष्या र षडयन्त्रको भुमरी चल्छ भने
त्यो जाबो महल ढल्न कति बेर लाग्छ र !
घर एक पवित्र स्थल, त्यहाँ
विचारहरुका मन्द पवनले
जीवनमा सुभाष ल्याउँछ,
अभावका तापहरुले छहारी पाउँछ,
पारिवारिक प्रेम र सदभावले सधैं भजन गाउँछ ।
आमा बुवाको आशिर्वादले भरिपूर्ण रहन्छ ।
बाल्यकालको सम्झनाले ओतप्रोत हुन्छ ।
स्वर्णिम भविष्यको कल्पनामा मनै रमाउँछ ।
घर जहाँ
इच्छा र चाहना लुकामारी खेल्दै
दिनभरि लडेर थाकेको स्थूल
शरीरले विश्राम पाउँछ ।
अनि,
सपना सगँ रमाउदा रमाउदै
त्यहाँ मीठो निद्रा आउँछ ।
त्यो हो घर,
त्यो हो मेरो घर ।
        – वी.पी.को.स्वा.वि.प्र., धरान ।
धन्यवाद