कागजको चङ्गासरि जीवन,
उडदा उडदै टाढिन खोज्छ
लट्टाइमा बेरी नजिक्याउँछु,
हावाको झोँकाले फेरि पर हुर्याइदिन्छ
झिनो धागोले तान्न खोज्छु,
झन् झन् साह्रो भइदिन्छ
म र जीवनको खिचातानी
उर्लेको बाढी, धमिलिएको पानी
धागो चुट्टिने संन्त्रास अनि बेचैनी
आइज जीवन !
सजगतामा जिऊ,
सँगै हाँसौँ, उत्सव मनाऔँ
असीम समागममा चुर्लुम्म डुबौं
एकबारको जुनी, आउँदैन फेरि
अलौकिक आनन्द लिऊँ
कहिले अभावका ताता बालुवामा हिँडदा,
कहिले असफलताका तिता करेला चपाउँदा,
कहिले इच्छाले आत्महत्या गर्दा,
अनि, कहिले दुःखका उचाइ चढ्दा,
थाकेका मेरा पदचाप घिसारेरै
टाकुरा टेकाउने नि तैँ होस्
टाकुरामा गाडेका त्यो विजय ध्वजा
फरफराइरहेछ, अझै बोलाउँदैछ
फेरि यात्रा सँगै तय गरौँ
मानिस यहाँ,
आधुनिकताले जनावर बन्दैछ
सबै यन्त्रमा परिवर्तित भइसके,
खुसी पाउने तनाव मै व्यस्त छन्
दिनानुदिन बन्दगी भै सके
कमाउन अनि जमाउनमै
जीवन भुलिसके
आइज जीवन !
कहाँ भाग्छस् टाढा ?
निकालौँ ती बिजेका काँडा
समयले नेटो काट्नुअघि,
एकपल्ट फेरि कदम दौडाऔँ
घाम नअस्ताउँदै, टाकुरा चुमेर आऔँ
आलिङ्नमा समाहित रहौँ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।