गुलज़ार हुसैन

मूल कवि: गुलज़ार हुसैन
मुज़फ़्फ़रपुर, बिहार

 

प्रेम जरुरी छ

प्रेम गर ताकि भाँचियोस्
प्रत्येक घरमा बुहारीहरूका लागि भनेर लुकाएर राखिएको
दाइजो प्रताडनको लाठी

प्रेम गर ताकि
कुनै पुरुषले आफ्नो गर्भमै रहेकी छोरीको
हत्या गर्ने हिम्मत गर्न नसकोस्

प्रेम गर ताकि
कुनै पुरुषले महिलालाई डङ्किनी वा पिचासे भन्दै
उसको अनुहारमा तेजाब नछ्यापोस्

प्रेम गर ताकि
जातिय वर्चस्वको घमण्ड देखाउँदै
जुँगामा ताउ लगाउँदै कुनै पुरुषले
इज्जतका लागि आफ्ना छोराछोरीको
गोली हानेर हत्या नगराओस्

प्रेम गर ताकि
तोडियोस् मान्छे-मान्छे बिचको सदियौंदेखि बनेको पर्खाल

प्रेम गर
धनी-गरिब
जाति-धर्मको सबै पर्खाल भत्काएर
प्रेम गर ।

******

पहिलो वर्षात

पहिलो वर्षातको फोहरा
कसैले स्पर्श गर्छन्, बार्दलीबाट
प्रफुल्लित हुन्छन्

जबकि कोही चिन्तित हुन्छन्
झुपडीको छतबाट चुहिएको पानीबाट कसरी बचाउने हो बच्चाबच्चीका किताबहरू

कसरी सुताउने हो
भिजेको ओछ्यानमा
आफ्ना छोराछोरीलाई

सडकको घुँडाघुँडासम्म भरिएको पानी
जब झुपडीमा पस्न थाल्छ
छोराछोरी डराउँछन्

वर्षात, मात्र खुसी लिएर आउँदैन !

******

त्यस रात

त्यस रात ऊ जिउँदै थियो
जब टोलका घर जलाइँदै थियो
घरघरबाट थुतेर चक्कु प्रहार गरिँदै थियो
नाबालिगसँग बलात्कार हुँदै थियो
किताब पढिरहेका विद्यार्थीलाई
बन्दुकको निसाना बनाइँदै थियो

ऊ त्यस रात मुख बन्द गरेर
भाग्दै- लुक्दै
जीवित रहेको थियो

त्यसैले दिनमा
ऊ मर्‍यो ।

*****

कवि लेख्नेछ !

कवि भ्रष्टाचारविरुद्ध लेख्नेछ
उसलाई चोकमा गोली हानेर मारिने छ
कवि नरसंहारको विरोधमा आवाज उठाउने छ
उसलाई देशद्रोही करार गरेर फाँसी दिइने छ
कवि बलात्कारविरुद्ध नारा लगाउने छ
उसलाई रातारात उठाएर बीच समुद्रमा फालिने छ
कवि यो घृणा फैलाउने समयमा
अन्तरजातीय प्रेम गर्ने छ
उसको अंगअंग काटेर जिउँदै जलाइने छ
कवि दुःख दिइएका, सताइएका र अधिकारबाट वञ्चित समूहको पक्षमा उभिने छ
उसको शरीरलाई तातो फलामले डामिने छ

यद्यपि यो सब भएर पनि
कवि जीवित रहने छ
किनकि उसलाई जिउनु छ
त्यो अन्तिम पङ्क्ति लेख्नका लागि
जसलाई लेखेपछि
हातमा बाँधिएको साङ्लो
मुखमा बाँधिएको पट्टि
खुल्ने छ

जसलाई लेखेपछि
सुकेको वृक्षको हाँगामा हरियो पालुवा पलाउने छ

कवि लेख्नेछ- यो भयानक अपराधमा त्यहाँको सत्ता पनि समावेश छ ।

*****

झुपडीमा गर्भवती

डेराको त्यो साँघुरो झुपडीमा
साङ्ला, मुसा र कनखजुरोसँग बसोबास गर्छिन्
गर्भवती महिला

अबेरसम्म पानी भर्ने
बिहान सबेरै उठेर खाना बनाउनाले
थकित भएकी महिला
श्रीमान् काममा जाने बित्तिकै
भुइँमा गुन्द्री ओछ्याएर
पल्टिन्छिन्

स्याउलाको भित्तासँग गफिँदै
आँटा-चामलको डिब्बा-झोलामा
उफ्रिँदै, दौडिँदै गरेका मुसालाई हेर्दै
थाहै नपाई भुसुक्कै निदाउँछिन्

सन्ध्याकालमा निस्सासिएर
बेचैनीका साथ आँखा खुल्छ
पेट समात्दै
लडखडाउँदै
ढोका खोल्छिन्
लामोलामो सास फेर्न थाल्छिन्

उनी सोच्छिन् –
यो झुपडीमा एउटा झ्याल भइदिएको भए !

******

सबैभन्दा अगाडि

उनीहरूले सबैभन्दा धेरै लेख्नुपर्छ
जसको सदियौँसम्म कलम खोसिरह्यो

उनीहरूले सबैभन्दा अधिक पढ्नुपर्छ
जसको कानमा पगालेको सिसा हाल्दिने
डर देखाएर
टाढा राखियो पठनपाठनबाट

उनीहरूले सबैभन्दा बढी बोल्नुपर्छ
जसको आवाजमा ताल्चा ठोकेर
नजर झुकाउन लगाइयो

जसलाई अगाडि बढ्नबाट रोकिएको छ
मात्र हिँडनुले केही फरक पर्ने छैन
उनीहरू हिँड्नुपर्छ सबैभन्दा अगाडि ।

*****

ऊ तटस्थ बस्न चाहन्छ

ऊ महान् लेखक
महान् चित्रकार
महान् पत्रकार

महान् अभिनेता हो
तर ऊ देशमा जटिल समस्या सिर्जना गर्ने घटनाहरूमा
एक शब्द पनि बोल्दैन ।

ऊ लक्ष्मणपुर बाथे नरसंहारको आरोपितहरूको रिहाईमा चुपचाप छ ।

ऊ चौरासीको सिख विरोधी दंगा
र गुजरातमा घटेको हत्याको घटनामा
विरुवामा पानी हाल्दै चुरोटको धुवाँ उडाउँदै छ

ऊ बाबरी मस्जिद भत्याइएको विषयमा
आफ्नो विचार राख्दैन

ऊ तटस्थ बस्न चाहन्छ
किनकि
उसको कला सबैका लागि हो
हत्याराको लागि पनि

कुव्यवस्थाको सिकार भएकाहरूका लागि पनि

के उनीहरू साँच्चै महान् कलाकार हुन् –
जसको कलाकृतिमा कुनै आवाज छैन ?

भावनुवाद: जनक कार्की