जनक कार्की

भान्सा कोठाको तख्खतामा  लस्करै राखिएको
अचारको डब्बामा डम्म ढुसीको कुहिरो लागेको छ
एक सप्ताहदेखि जुठा भाँडाले स्नान गरेका छैनन्
ग्यास चुलोको वरिपरि चाउचाउका खोस्टाहरूले
खात लगाएर विश्राम गरिरहेका छ्न्
साङ्लाले जुलुस लिएर आक्रमण गर्दैछ
अन्न भण्डारको चौकीमा
बेताल बेतालको संगीत चलिरहेछ
बेस्वाद बेस्वाद छ
जब देखि आमाको हातका चुराहरूले
छिनछिन गीत गाउन छोडेका छन्
ह्याङ्गरमा खिजीमिजी भएर बसेका पाइन्टले
इस्त्रीको चुम्बन पाएको छैन्
सर्टसँग सम्बन्ध विच्छेद गरेर गएका टाँकहरू
पुनःस्धापित हुन पाएका छैनन्
सोफालाई गर्लम्मै अँगालो हालेर बसेका छन- धुलोहरूले
एस्ट्रेमा चुरोटको ठुटाहरूले बनाएको छ- सगरमाथा
बिस्तारामा राज गरेर बसेका छन-उडूसहरूले
झ्यालमा माकुराहरू  सर्कस देखाइरहेका छन्
बेरङ्ग बेरङ्ग छ भित्ताहरू
जब देखि आमाको कुचीकारले चित्र कोर्न छोडेका छन्
बगैँचाभरि  फूलहरूले निर्जल अनशन बसेका छन्
तुलसीको मजेरोमा झारपातको पर्दा लागेको छ
आँगनमा डम्पिङ्ग साइट मानचित्र कोरिएको छ
सहरको नामी निर्माण कम्पनीहरू
सपनाको सुन्दर घर बनाउन
टेलिभिजन,रेडियो ,पत्रपत्रिका र होर्डिङ्बोर्डमा
छड, सिमेन्ट, इट्टा , ढुङ्गा बालुवाको
विज्ञापन गरिरहेका छ्न्
आमाको ममता,करूणा र आशीर्वादविना ;
एउटा घर कसरी पूर्ण घर बन्दो रहेछ र?
साहुजी के तपाईँको हार्डवयर पसलमा पाइन्छिन आमा?
पाल्पा