मञ्जुल मितेरी विसं. २०३७ साल कार्तिक १ गते बुवा/आमा – ईन्द्र बराइली/सरिता राईको सन्तानको रूपमा मोरङको मिक्लाजुङमा जन्मिएका हुन् । स्नातकोत्तरसम्मको अध्ययन पूरा गरेका उनी हाल जापानमा बस्छन् । जापानको विशाल चट्टानी पहरामा यो शताब्दीमै विश्वकै सबैभन्दा विशाल गौतम बुद्धको मूर्ति निर्माणको नेतृत्वकर्ताको रूपमा कार्य सम्पन्न गरेर नेपालीको गौरवलाई थप उचाइमा पुर्‍याएका छन् ।

मञ्जुल मितेरी

मञ्जुल मितेरी

अरनिकोको जीवनीदेखि प्रभावित भएर एघार वर्षको उमेरदेखि नै मूर्तिकला यात्राको शुभारम्भ गरे । उनले एकहजार विश्वप्रसिद्ध व्यक्तित्वको अर्धकदका शालिक बनाएर राष्ट्रलाई उपहार चढाउने महान् लक्ष्य पनि बोकेका छन् । हजार शालिक मध्य हालसम्म १ सय ८० वटा शालिकको निर्माण कार्य सम्पन्न गरिसकेका र बाँकी शालिकको निर्माणाधीन छन् ।

उनी कलाका विभिन्न विधामा सक्रिय छन् । गीत लेख्ने,लय बनाउने र गाउने काम पनि गर्छन् । उनका करिब दशवटा गीतसंगीत विमोचित भइसकेका छन् । `आस्था ´ कवितासंग्रह (२०५७), `अर्काको देशमा´ कथासंग्रह (२०७१) र `कामी´ कवितासंग्रह (२०७९) उनका प्रकाशित साहित्यिक कृति हुन् । उनी उसु (कुङ् फू) मार्शल आर्टको राष्ट्रिय खेलाडी र प्रशिक्षक पनि हुन् ।नेपाल सरकारद्वारा २०७२ सालमा राष्ट्रिय युवा प्रतिभा पुरस्कार, क्षेत्रीय प्रतिभा पुरस्कार (२०७९) सहित विभिन्न ५० भन्दा बढी पुरस्कार तथा सम्मानहरू प्राप्त गरिसकेका छन् ।

प्रस्तुत छ, उनै कवि, कलाकार मञ्जुल मितेरीसँग साहित्यपोस्टका लागि जनक कार्कीले गरेकाे कुराकानीकाे सम्पादित अंशः

 

यहाँको पछिल्लो कवितासंग्रह ‘कामी’मा समाविष्ट कविताले दलित साहित्य र दलित सौन्दर्यको चिन्तनलाई आत्मसात् गरेको छ । दलित सौन्दर्य चिन्तनको अलिकति व्याख्या खोज्न सक्छु ?

– मूलभूत रूपमा ‘कामी’ कवितासंग्रहले दलित साहित्य र दलित सौन्दर्य चिन्तनलाई आत्मसात् गरेको छ । दलित साहित्य र दलित सौन्दर्य चिन्तनको अवधारणाको बारेमा नेपाली साहित्य घनीभूत रूपमा छलफल हुन बाँकी नै छ । तथापि यसले अबको नेपाली साहित्यमा अनिवार्य र हस्तक्षेपकारी रूपमा अगाडि आउन जरुरी छ ।

नेपाली समाजमा सदियौंदेखि जात व्यवस्थाले संरक्षण गर्दै आएको जातीय विभेदको दलनमा परेका दलित समुदायसहित सम्पूर्ण शोषित पीडित वर्ग र समुदायहरूको आवाज बोकेको साहित्य नै दलित साहित्य हो । दलित साहित्यले परिकल्पना गरेको समाजभन्दा अर्को सुन्दर समाजको परिकल्पना अरू कुनै पनि साहित्यले गर्नै सक्दैन । दलित साहित्यले समाजमा सबै खाले श्रमको सम्मान, शोषण र उत्पीडनको अन्त्य, एक आपसमा भाइचारा, समानता र बहिष्करण–तिरस्काररहित समाजको कल्पना गर्दछ ।

अरू समुदाय वा साहित्यका आ–आफ्नै अवधारणा र सौन्दर्य चिन्तन भएजस्तै दलित साहित्यको पनि आफ्नै सौन्दर्य चिन्तनको बारेमा बहस भइरहेको छ । दलित समुदायको इतिहास, गौरव, कला, सीप, सौन्दर्य, आदर्श र बिचारहरूलाई उजागर गर्नु दलित साहित्यको मूल उद्देश्य हुनुपर्दछ भने समाजमा विद्यमान जातीय, वर्गीय, लैंगिक, धार्मिक, भौगोलिक वा सबै खाले विभेदहरूका विरुद्ध सशक्त रूपमा आवाज उठाउँदै, ती विभेदहरूका विरुद्ध विद्रोह गर्दै समाजमा सबै खाले श्रमको सम्मान, शोषण र उत्पीडनको अन्त्य, एक आपसमा भाइचारा, समानता र बहिष्करण–तिरस्काररहित समाजको परिकल्पना नै दलित सौन्दर्य चिन्तनको विशेषता हुनुपर्दछ ।

कामी

कामी

तपाईंले कवितासंग्रहको नाम ‘कामी’ राख्नुभएको छ । कामीको अर्को अर्थ पनि निकाल्न सकिन्छ । यद्यपि जात विशेषलाई हेपाहा सम्बोधनको रूपमा कामी भनेर बोलाइने एउटा असभ्य अभ्यास हाम्रो समाज विद्यमान छ । कुनै पल यहाँको जीवनमा कामी शब्द सुन्दा जुन किसिमको ग्लानि महसुस पनि हुन्थ्यो होला । अहिले त्यही कामी नामलाई गर्वको साथ नाम स्थापित गर्न लाग्नुभएको छ । यस पछाडिको साहसिक कदमको यात्रा जान्न सक्छु ?

– सदियौंदेखि अथाह उत्पीडन र उत्तिकै गौरवपूर्ण इतिहास बोकेको एक गौरवशाली जातिको नाम हो ‘कामी’ । ‘कामी’ जात होइन, यो त जाति हो । मेरो जातिमा म सदैव गर्व गर्दछु । यो समाजलाई विभेदरहित युगसम्म डोर्याउन सक्ने मैले कल्पना गरेको युग पात्रको एक सुन्दर नाम हो ‘कामी’ । त्यसैले मैले मेरो कवितासंग्रहको नाम सगर्व ‘कामी’ राखेको हो ।

जहाँसम्म कामी जातिलाई तल्लो जातको संज्ञा दिएर हेपाहा मनसायले सम्बोधन गर्ने विकृत चलन अहिले पनि विद्यमान छ । आफू कच्चा उमेर र बिचारमा भएको बेला देखे–भोगेका विभेदका घटनाहरूका कारण आफ्नो जातप्रति ग्लानि भन्दा पनि असाध्यै माया लाग्ने गर्दथ्यो । त्यो बालमस्तिष्कले सधैं समानताको उपाय खोजिरहन्थ्यो । जब मभित्र बिचारको परिपक्वता बढ्दै गयो, म मेरो जाति र समुदायको सौन्दर्य र शक्तिलाई समाजमा स्थापित गरेरै छाड्नेछु भन्नेमा दृढसंकल्पित बनेको छु ।

दैनिक अखबार छुवाछूत र जातीय विभेदको घटना रातो अक्षरमा लतपतिएर आउँछ । एउटा मान्छेलाई अमानव बनिरहन के कुराले प्रोत्साहन गरिरहेका छ जस्तो लाग्छ ?

– जब जब मैले बाँचेको समाजमा जातको आधारमा विभेद र अन्याय गरेको समाचारहरू देख्छु, म असाध्यै रुन्छु । अघिल्लो पुस्ताले गरेको विभेदको हिसाब बाँकी छँदै छ । तर अहिलेको शिक्षित भनौंदा पुस्ताले पनि विभेद गर्दा मन एकै पटक विक्षिप्त र आक्रोशित बन्छ । मान्छेभित्रको अमानवीयता, क्रूरता, ढोंग, पाखण्ड, शोषक मानसिकता, अशिक्षा, अन्धविश्वास र विभिन्न स्वार्थहरूले ग्रसित बनेर अहिलेको पुस्ता पनि विभेदको मामलामा उत्तिकै बदनाम छ ।

यहाँ आफैं पनि एउटा दलित परिवारमा हुर्किनुभएको हो । यहाँले दलितलाई गरिने अपहेलना त पक्कै सहनु भएकै छ । एउटा बालक जो समाजमा अछुत भनेर हेपिन्थ्यो त्यति बेला यहाँको मनोविज्ञानमा के कस्तो असर परेको थियो ?

– मैले थाहा पाएदेखि नै आफैले भोगेको जातीय विभेदको फेहरिस्त निकै लामो छ । झन् मेरा आफन्तहरूले र मेरो समुदायले भोगिरहेको विभेद त अवर्णनीय छन्, असंख्य छन् । आफ्नै समाजमा आफू र आफूजस्ताहरूलाई गरिने विभेदले त्यही बेलादेखि नै मनमा एक किसिमको आक्रोश र विद्रोहको वीजारोपण भइसकेको थियो । बालमनस्थितिमा त्यस्ता खाले विभेदले चौतर्फी रूपमा नकारात्मक असर पर्दो रहेछ । मानसिक रूपमा, शारीरिक रूपमा वा सामाजिक रूपमा आफू कमजोर रहेछु भन्ने लाग्दो रहेछ । जातकै कारण आफूले पाउनुपर्ने कुनै अधिकार र अवसरबाट वञ्चित हुँदाको असर पुरा जिन्दगीभर रहिरहन्छ । जसको प्रभाव मैले पनि भोगिरहेकै छु । तर जातकै आधारमा गरिने विभेदहरूको निरन्तरको आक्रमणले म अहिले तिनीहरूको सामु पहाड भएर उभिएको छु ।

यहाँ अहिले जापानको विशाल चट्टानमा शताब्दीकै विराट बुद्धमूर्ति सिर्जना गर्ने जिम्मेवारीमा हुनुहुन्छ । जुन मूर्तिलाई विश्व सम्पदा सूचिमा पनि सूचिकृत गर्ने तयारी हुँदै छ । यस्तो ऐतिहासिक कर्ममा यहाँले जोडिने अवसर कसरी प्राप्त गर्नुभयो ?

– सन् २०१६ मा म लगायत नेपालका अन्य मूर्तिकार साथीहरूलाई जापानको एक विशाल चट्टानी पहरामा बुद्धमूर्ति निर्माण गर्नका लागि जापानमा रहनुभएका नेपालीहरूको सम्पर्क सूत्रमार्फत जापानबाट प्रस्ताव आएपछि हामी त्यही बेलादेखि जापान आएर सो मूर्ति निर्माण गरिरहेका छौं । ७० फिट उचाइ र २०० फिट चौडाइमा फैलिएको सो चट्टानी पहरामा ६५ फिट अग्लो बुद्धमूर्ति सहित अन्य थुप्रै विशाल मूर्तिहरू निर्माण सम्पन्न गरेर अब उद्घाटनको तयारी भइरहेको छ । जापान सरकारले यसलाई विश्व सम्पदा सूचिमा राख्नका लागि प्रक्रिया अगाडि बढाइसकेको छ । अरनिको पश्चात् नेपाली ललितकलाको इतिहासमा नेपाली कलालाई विश्वमाझ चिनाउने सम्भवतः यो नै दोस्रो ठूलो काम हो जुन मेरो नेतृत्वमा सम्पन्न भएको छ ।

एउटा ढुङ्गामा व्यापारीले पैसा, धार्मिकले भगवान् देखेजस्तै मूर्तिकारले त पक्कै मूर्ति नै देख्छ । मूर्तिकारको लागि ढुङ्गा निर्जीव हुन्छ कि सजीव ?

– वास्तवमा पत्थरमा पनि प्राण हुँदो रहेछ । माया र स्नेहले सुमसुम्याउँदा पत्थर पनि मुस्कुराउँदो रहेछ । पत्थरले त ऊजस्तै प्रेम गर्न सिकाउँदो रहेछ, विद्रोह गर्न पनि सिकाउँदो रहेछ । पत्थरले ऊजस्तै कोमल बन्न पनि सिकाउँदो रहेछ, कहिले ऊजस्तै दृढ बन्न पनि सिकाउँदो रहेछ । पत्थरसँगको मेरो तीस वर्षसम्मको मितेरीले मलाई यही ज्ञान भयो, यही सिकें ।

अधिकांश मानवले आफ्नो रुचिको काम गर्न पाउँदैन । तपाईंले आफ्नो रुचिलाई नै पेशा बनाउने सुअवसर प्राप्त गर्नुभयो । युवापुस्तालाई प्रेरणा मिलोस् भनेर एउटा प्रश्न गर्न मन लाग्यो । आफ्नो रुचिलाई नै पेशा बनाउन के कुरामा ध्यान दिनपर्ने रहेछ ?

– मैले ११ वर्षको उमेरदेखि नै मूर्तिकलाकारिता शुरु गरेको हो । हुन त त्यही बेलादेखि नै साहित्य र संगीतलाई पनि सँगसँगै हिंडाइरहेको छु । साहित्य र संगीत समाजसेवा र आत्मसन्तुष्टिका लागि भयो भने मूर्तिकला चाहिँ मेरो जीविकोपार्जनको लागि पेशाको रूपमा अँगालिरहेको छु । आफ्नो रुचिको विषयमा साधना, मोह, स्नेह, विश्वास, समर्पण र दृढ संकल्प भयो भने यसैलाई आफ्नो पेशाको रूपमा अँगालेर खुशी बन्न सकिन्छ ।

तपाईंको रोल मोडल भनेको अरनिको हो भन्ने सुनेको छु । आजको समयको अरनिको पनि बन्नु भएको छ । अरनिको जस्तै बन्छु भन्ने दृढ संकल्प लिएपछि अरनिको बन्न यहाँले के कस्तो साधना, समर्पण गर्नुभयो ?

– मैले अरनिकोको जीवनीबाट प्रेरित बनेर मूर्तिकला शुरु गरेको हो । मूर्तिकलामा आफ्नो रुचि भएरै होला, यसलाई जस्तोसुकै कठिन अवस्थामा पनि निरन्तरता दिइरहें, साधना गरिरहें । त्यो बेला अरनिकोले जस्तै यस्तो काम गर्ने अवसर पाउँला भन्ने त मैले कल्पना गरेको थिइन । तर जब जापानको पहरामा यो शताब्दीमै विश्वकै सबैभन्दा विशाल बुद्धमूर्ति बनाउने प्रस्ताव आयो, यो मेरो मात्रै व्यक्तिगत अवसर नभएर मेरो देश र नेपाली ललितकलाको महिमालाई विश्वमाझ चिनाउने महान् अवसर ठानेर सबै खाले अप्ठ्यारा, असजिला र कष्टहरूलाई झेल्दै अन्ततः यो इतिहासको निर्माण गर्न सफल भएका छौं ।

कलाको धेरै विधासँग यहाँको संगत छ । मूर्तिकार त हुनुहुन्छ नै सँगसँगै कवि, गीतकार, संगीतकार र गायक पनि हुनुहुन्छ । कुनै पनि मान्छे जब कलाको संगतमा हुन्छ उसको जीवन जिउने कला, दर्शन र दृष्टिकोणमा के कस्तो भिन्नता आउँछ ?

– कला, साहित्य वा संगीतमार्फत मैले मेरो जिन्दगीलाई समाज र संसारको हितको खातिर सम्भव भएसम्म सदुपयोग गर्ने प्रयत्न गरिरहेको छु ।

जब एउटा मान्छे कला या साहित्यको संगतमा हुन्छ, उसले समाजमा चलायमान कतिपय कुराहरूलाई बेठीक देख्न थाल्दछ र ती बेठीकहरूका विरुद्ध बोल्न थाल्दछ, विद्रोह गर्न थाल्दछ । त्यस्तै, जब एउटा मान्छे कला या साहित्यको संगतमा हुन्छ, उसले समाज र जिन्दगीका कतिपय कुराहरूलाई ठीक देख्न थाल्दछ । अनि ती कठिनाइ र सत्यहरूलाई आत्मसात् गर्दै संघर्ष गर्न थाल्दछ, प्रयत्न गर्न थाल्दछ, आशावादी बन्न थाल्दछ ।

तपाईंले अन्तर्जातीय बिहे गर्नुभएको छ । एउटा दलितले आफूभन्दा कथित ठूलो जातसँग बिहे गर्दा ज्यान समेत गुमाउन परेको उदाहरण हामी माझमा छ । यहाँको विवाह कत्तिको चुनौतीपूर्ण रह्यो ?

– हुन त मेरो बुवा आमाको पनि अन्तर्जातीय विवाह नै हो । मेरो बुवा कामी, आमा राई । त्यो बेला मेरी आमाले विवाह गरेदेखि १६ वर्षसम्म माइत जानुभएको थिएन । १६ वर्षसम्म भेट्न नपाएका आफ्ना बुवा र आमाको निधन भएको खबरले मेरी आमा घरमै महिनौंसम्म छटपटिँदै रोएको देखेको छु मैले । मेरो बालमस्तिष्कमा मेरो समाजले मलाई दिएको कहिल्यै नमेटिने चोट हो त्यो ।

तर मेरो विवाह पनि अन्तर्जातीय नै भए पनि समाजका केही विभेदकारीहरूको दुष्प्रयासको बाबजुद मेरी श्रीमतीका माइती पक्षले हाम्रो सम्बन्धलाई स्विकार्नुभयो र अहिलेसम्म पनि अभिभावकत्व र संरक्षण प्रदान गरिरहनु भएको छ ।

कानुनमा जातीय विभेदलाई अपराध मानिएता पनि मानसिकतामा परिवर्तन आउन सकेको छैन । यसको पछाडिको कारण के देख्नुहुन्छ ?

– विभेदकारी जात व्यवस्था, न्याय प्रणालीमाथि विभेदकारीहरूको हस्तक्षेप र शासन, न्याय सम्पादन र सजायमा ढिलासुस्ती र अकर्मण्यता, विभेदकारी कसुरहरूको पक्षपातपूर्ण फैसला, समाजको लाचारीपन र नैराश्यताले हाम्रो समाजमा जातीय विभेद ज्युँ का त्युँ छ ।

विविध आधारबाट तपाईं सफल हुनुभएको छ । सफल भएपछि सामाजिक दायित्व पनि बढ्छ । यहाँको अबको सपना के छ ?

– सफलता के र कतिलाई मान्ने भन्ने बारेमा यसको निश्चित मापन गर्ने एकाइ नभएकोले सफल भन्दा पनि संघर्षशील व्यक्तिको रूपमा मैले आफूलाई चिनेको छु । आफू संघर्षशील भइरहँदा पनि परिवार र समाजमा पनि आफ्नो दायित्वबोध गरेको छु । समाजका कतिपय कुराहरूमा मैले बोल्नैपर्छ, लेख्नैपर्छ भन्ने ठानेर म बोल्ने गर्छु, लेख्ने गर्छु । र यसलाई निरन्तरता दिइरहनेछु । मैले बाँचेको समाजका असमानता र बेथितिहरूका विरुद्ध नलेखी बस्ने छुट छैन मलाई । त्यस्तै, नेपाली ललितकलाको समृद्धिका लागि जीवन पर्यन्त साधना पनि गरिरहनेछु ।

यहाँले सरकारलाई एक हजार मूर्ति बनाएर दिने घोषणा गर्नुभएको कुरा पढेको थिएँ । मूर्ति राख्ने ठाउँ नभएर अस्तव्यस्त बनेका मूर्तिको समाचार पनि पढेँ । यहाँले राज्यलाई यति ठूलो सहयोग गर्न खोज्दा पनि राज्यले यहाँलाई सहयोग नगरेको हो कि भन्ने पनि लाग्यो । अहिलेको अवस्था कस्तो छ र कति वटा मूर्ति निर्माण गरिसक्नु भयो ?

– हजुर, हो । मेरो देशलाई उपहार दिन भनी मैले एक हजार विश्वप्रसिद्ध व्यक्तित्वहरूका अर्धकदका शालिकहरू बनाइरहेको छु । हालसम्म १८० वटा ती मूर्तिहरू निर्माण भइसकेका छन् । बिचमा बुद्धमूर्ति बनाउन जापान आउन पर्यो । तर पनि मेरी जीवनसंगिनी कौशिलाले त्यसका लागि आवश्यक ढुङ्गाहरू संकलन गर्ने र त्यसका आवरणबाहिरका ढुङ्गाहरू फाल्ने काम गरिरहेकी छन् । दुःखसुख ती मूर्तिहरूलाई आफैले संरक्षण गरिरहेका छौं । अहिले नै राज्यले सहयोग गर्नुपर्छ, हेरिहाल्नु पर्छ भन्ने नठानेर वा बेला नभएर हुन सक्छ यसमा राज्यको चासो आई नपुगेको । अब जापानबाट फर्केलगत्तै केही वर्षभित्रमा ती हजार मूर्तिहरू निर्माण गरिसकेर राज्यलाई उपहार चढाउने लक्ष्य अनुरूप नै म अगाडि बढिरहेको छु ।

‘कामी’ कवितास‌ंग्रहमा एउटा कविता छ ‘ईश्वरको मृत्यु’ जसमा ईश्वरको मृत्यु बारे चर्चा गरिएको छ । अहिले यहाँले बुद्धलाई ईश्वर मान्ने देशमा बुद्धको मूर्ति बनाएर ईश्वरलाई जीवित राख्ने अभियानमा पनि साथ दिनुभएको छ । खासमा ईश्वरलाई जीवित राख्नुपर्ने अवस्था छ कि अब ईश्वरको मृत्युको घोषणा गर्दा पनि हुन्छ ?

– हुन त म अलावाका ईश्वरमा विश्वास गर्दिन र बुवा आमाभन्दा मेरो अर्को ईश्वर छैन पनि । यदि अलावाका ईश्वर मान्नेहरूले अलावा ईश्वरको अस्तित्वलाई स्विकार्छन् भने उनीहरूको त्यो ईश्वर सम्भवतः यति बेला मृत्युशय्यामा होलान् । र त्यसो हुनुमा अलावाका ईश्वरको निन्दा गर्नेहरूका कारण नभएर उनको नामको अन्धभक्ति र पाखण्डले गर्दा हुँदो हो ।