चितवन वरपर एलबी सरका रूपमा परिचित साहित्यकार एलबी कवि डाँडा साहित्य समाजका अध्यक्ष हुन् । उनी हरेक वर्ष चितवनमा फरक शैलीको साहित्यिक कार्यक्रम गरेर देश विदेशका साहित्यकारहरूका कुरा सुन्छन् भने वर्षभरि नै युवासँग जोडिएर साहित्यमा नयाँ पुस्तालाई प्रेरणा दिइरहन्छन् ।
एलबी सरको जीवन पनि अनौठो छ । २०२२ सालमा भारतको उत्तर प्रदेश इलाहाबाद बोर्डबाट एसएलसी पास गरेपछि उनी चितवन आएर प्राथमिक शिक्षक बने ।
केही वर्ष शिक्षक बनेपछि संयोग वश उनी भारतीय सेनामा भर्ना भए । सेनामै छँदा स्नातकसम्म अध्ययन गरेका उनले थप शिक्षाका लागि सेनाबाट राजीनामा दिएर पटना विश्वविद्यालयबाट स्नातकोत्तर गरी स्वदेश फर्केँ ।
२०४४ सालदेखि बीरेन्द्र बहुमुखी क्याम्पस, भरतपुरबाट पुनः शिक्षण सेवा सुरु गरेका क्षेत्री त्यही कलेजका प्रमुखसम्म बने । शिक्षणसँगै साहित्यमा रुचि बढाएका एलबी शिक्षण पेसाबाट निवृत्तपछि नै पूर्ण रूपमा साहित्यसेवी बनेका हुन् ।
प्रस्तुत छ, विविध रङ भेगेका एलबीसँग यिनै विविध विषयमा साहित्यपेस्टका लागि जनक कार्कीसँग गरिएको कुराकानी:
उमेरको सात दशकको लामो यात्रामा तपाईंले जीवनका धेरै रङहरूको क्यानभास बनाइसक्नुभएको छ । अहिले आएर उमेर के रहेछ भन्ने लाग्छ ?
– सात दशकको लामो यात्रामा उमेरका धेरै रङ्गहरूसँग परिचय प्राप्त भएकै हो । मलाई लाग्छ रङ्गिन चित्र बनाउँदा चित्रकारले हातमा समाएर प्रयोग गरेको कूची वा ब्रसको महत्त्वपूर्ण भूमिका हुन्छ । साथै कस्तो कागतमा चित्र बनाइँदै छ ? कुन र कस्तो(सस्तो वा महँगो) रङ्गको प्रयोग गरिँदै छ ? अनि उज्यालोको कुन प्रहरमा चित्रले आकार ग्रहण गर्दै छ ? जीवन दर्शनको चित्रकारितामा यी सबैको कतै न कतै केही न केही भूमिका हुन्छ ।
मेरो चित्र आफै बनाएको हो भनेर अहम् गर्नु अघि प्रारम्भिक रेखाङ्कन मेरा आमा बाले नै गरेको सत्यलाई आत्मसात् गर्नको विकल्प छैन । उहाँहरूसँग मेरो जीवनका सुन्दर १५ वर्ष बिते । मेरा पिता भारतीय स्टेट ब्यांकमा सेक्युरिटी गार्डको जागिर खानहुन्थ्यो ।
मेरी आमा मेरो बुबाको घरेलु हिंसाको सिकार हुँदै गरेको मैले ५ वर्षको उमेर देखी अनुभव गर्दै पीडा खप्दै आएको हुँ ।हाम्रो घरमा बाका साथीहरू आउँथे, ताडी र रक्सी, जुवा खेल्थे । कहिलेकाहीँ जुवा थलो मै जथाभाबी अपशब्दका डङ्गुर र कुटाकुटको यथार्थ नाट्य दृश्य हेर्दै हुर्केको हो म । हो, म त्यही जगमा हुर्केको एउटा बिरुवा हो । यति हुँदाहुँदै पनि मेरो आफ्नो इच्छा शक्ति र आमाको माया, सहयोग र प्रेरणाले १५ वर्षको उमेरमा भारतको उत्तर प्रदेशबाट एसएलसी सरहको हाई स्कुल उत्तीर्ण गरेँ ।
भारत बसाइ अपरिचित भएकाले हुनसक्छ, बाले भारतबाट नेपाल (चितवन) बसाई सराइ गर्ने निर्णय गर्नु भयो । यता आएपछि उच्च शिक्षाले निरन्तरता पाउन सकेन । तर चितवनमा त्यो बेला प्राथमिक शिक्षकको पद खाली रहेछ । १६वर्षकै उमेरमा म शिक्षक भएँ ।
पढ्ने उमेरमा शिक्षक बनेर आफ्नो उच्च शिक्षा पढ्ने लालसाको अन्त्य हुने डर भयो । म एक वर्ष पनि नबिती झोलामा एसएलसीका प्रमाण पत्र लिएर जागिर खाँदै पढ्ने ठाउँ खोज्न म पुनः भारत तिर लागेँ ।
यसरी हेर्दा प्रावि शिक्षण छाडेपछिको मेरो चित्रको चित्रकार म आफै हो, रङ्ग मेरै हो, ब्रस मेरै हो । इच्छा र महत्त्वाकाङ्क्षा मिश्रित लहड र संयोगको सहयोगमा आफ्नो कथा आफै चित्राङ्कित गर्दै गएँ । यसमा म बाहेक अरू कसैको हस्तक्षेप थिएन । मैले स्वतन्त्र रूपमा आफ्नो चित्र आफैँ बनाएको भन्दा सायद फरक नपर्ला ।
म हैदराबादमा भारतीय सेनामा भर्ना भएको थिएँ । त्यो बेला सायद सेनामा भर्ना हुन गाहे थिएन । यहाँ जागिर खाँदै कुनै न कुनै रूपमा पढ्न सकिन्छ भन्ने मेरो विश्वास थियो । तर सेनामा एक वर्ष पूर्ण रूपमा तालिममा बित्ने भयो । त्यो बेला पढाई छुटेकोमा अफसोस गर्थें । आई ए कसरी पढ्ने भनेर चिन्तित हुन्थेँ । मेरो महत्वाकाङ्क्षी चित्रकारिताले फेल खाएको अवस्था थियो ।
एकातिर शिक्षाको तिर्खा अर्कोतिर बढ्दै गरेको उमेर । कहिलेकाहीँ यौवनले दुःख दिन्थ्यो । मनले भन्थ्यो, शिक्षा पूरा नगरुन्जेल विवाह गर्दिन, शरीरले भन्थ्यो, तालिम सकिए लगत्तै विवाह गर्नुपर्छ ।
सन् १९७२ एसाे कुनै एक दिन, तालिम सकेर फुर्सदमा थिएँ । देखेँ, गौचरणमा गाई भैँसी चराउँदै गरेकी एउटी युवती । अचानक विवाह गर्नुपर्छ भन्ने भावना जागेर आयो । तत्कालै आमालाई गुहारेँ – ‘आमा म विवाह गर्छु’ ।
मैले इसारा के गरेको थिएँ, आमाले बुहारी हेरिसक्नु भएको रहेछ । माग्न गइयो, सेनाको जागिरेलाई सजिलै केटी दिए । विवाहपछि अचानक संसार परिवर्तन भयो । उनीसँग मेरो अगाध प्रेम बस्यो । किशोरावस्थामा शिक्षा-प्रेमको सपना बोकेर हिँडेको म, युवावस्थामा विवाह बन्धनमा प्रवेशपछि पत्नी-प्रेमको विशाल सागरमा बल्झिथेँ । उमेरको रङ्ग निचोरेर कुन सुन्दर चित्र कोर्नु थियो कुन कोर्न पुगेँ आफैलाई थाहा भएन ।
जनक भाइ । उमेर के रहेछ, भनेर कसरी व्याख्या गरौँ ?उमेर बढ्दै जाँदा यौनिक भूमिकाले अन्य भूमिकालाई परास्त गर्दो रहेछ । उमेरलाई जीवन्त बनाउन उमेरले भनेको मान्न पर्दो रहेछ । उमेरले मान्छे वर्तमान बाँच्नु पर्छ भन्दो रहेछ । विवाहपछि हामी बिचको प्रेम सर्व विजयी भयो । प्रेमका अगाडी युवा हृदयका ठुला ठुला आदर्श पछारिँदा रहेछन् ।
० ० ०
यौनका कुरा निस्किहाल्यो । संसारमा सबैभन्दा धेरै सोचिने विषय यौन हो भनेर दार्शनिक र अन्वेषकहरू बताउँछन् । जीवनमा सबैभन्दा विवादित र आवश्यकता नै यौन देखिन्छ । तपाईँले चाहिँ यौनलाई कसरी व्याख्या गर्नुहुन्छ ?
– प्रश्नको मूल धारमा आउनु अघि मानव जीवन यात्रालाई ठ्याकै बुझ्नका लागि मानव जीवन कालहरूलाई यसरी छुट्याएर हेर्दा राम्रो होला । जन्मकाल, बाल्यकाल, विद्यार्थीकाल, युवाकाल, घर-गृहस्थीकाल, उत्तरदायित्वकाल, समाजसेवाकाल, प्रौढकाल, वृद्धावस्थाकाल र अन्त्यमा प्रस्थानकाल ।
मान्छेको जीवनमा यौनको महत्वलाई कसरी व्याख्या गर्ने ? यस विषयमा धेरै कलम चलेका छन् । अर्थ शास्त्रको कुरा गर्दा मार्क्स झैँ फ्रायडको अनुपस्थितिमा र ओशोको प्रसङ्ग बिना त शायद यस विषयको अध्ययन नै अपूर्ण हुन्छ ।
यौनलाई अध्ययनको विषय बनाएर हेर्दा किशोरावस्थादेखि नै कामेच्छाकाे प्रभावले मानव शरीरमा प्राथमिकता पाउन थाल्छ । यौन मनोवैज्ञानिकहरूले त ५ वर्षको उमेरमा पनि यो लक्षण देखिन्छ भन्छन् तर व्यवहारिक पक्ष हेर्दा प्युबर्टी-एजसँगै बालक बालिकामा कामेच्छाको लक्षण देखिन थाल्छ । यौनेच्छाकाे फिल हुँदा किशोर किशोरीले चरम कामेच्छा निराकरणका लागि हस्त मैथुनको सहयोग लीन सक्छन् । कामेच्छा उमेरसँगै क्रमशः बढ्दै जाने हो । केटीहरूको सन्दर्भमा १६ वर्षको उमेर धेरै चाँडो होला तर १९ वर्षको उमेर क्लाइमेक्स भन्न सकिन्छ । केटाहरूका लागि १६ वर्षको उमेर धेरै चाँडो तर २४/२५ वर्षको उमेर क्लाइमेक्स भन्न सकिन्छ । केटीहरूको केशमा २७-२८ वर्षको उमेरदेखि यौनेच्छामा नैराश्यता आउन सक्छ भने केटाहरूको केसमा २५ देखि ३५ वर्ष सम्मको उमेरसम्मलाई कामेच्छाको क्लाइमेक्स समय भन्न सकिन्छ ।
मेरो कुरा गर्दा म १३ वर्षको थिएँ । कक्षा ८ मा पढ्थें । एक दिन साँझ स्कुलबाट घर पुग्दा ढोका घप्टाइएको थिएँ । मैले ढोका घचेटेर भित्र पस्दा दीपा सानीमा (खासमा आमाको साथी भएकाले हामी सानिमा भथ्याैँं) लाई ब्लाउजको बटन लगाउँदै गरेको र पेटीकोट तल झरको अवस्थामा देखेँ । तत्काल ‘ए।।’ भनेर म फर्केँ । किनभने यस्तो दृश्य केटाकेटीमा सामान्य नै हो । तर त्यो रात र अन्य केही रात दीपा सानिमाको दाहिने वक्षको केही भाग, उनको बाटुलो गोरो साँप्रा, उहाँको पछिल्तिरको पुटुक्क उठेको पुठो सम्झेर बारम्बार इरोटिक भइरहें ।
म पहिलो पटक ५५ वर्षको उमेरमा अस्ट्रेलिया पुग्दा एक पटक स्केयरक्रो बिच (समुद्र किनार) पुग्दा निकै रोमाञ्चित भएको थिएँ । त्यहाँ पुरुष भन्दा महिलाको सङ्ख्या बढी थियो । बिकिनी र ब्रा मात्र लागाएका महिलाहरू बिच कुनै सङ्कोच बिना आफूलाई पाउँदा निकै रमाइलो लाग्यो । जीवन वर्तमान मात्र हो जस्तो लाग्यो । कारण कामेच्छा होइन विपरीत लिङ्ग यौनाकर्षण थियो । ती महिलाहरूसँग परिचय लिँदै र दिँदै, कुरा गर्दै, पौडी खेल्दै समुद्रको किनारबाट अलिक टाढै पुगेको थिएँ । आकर्षण अरू केही होइन उही नग्न साँप्रा नै हो वा महिलाको ९० प्रतिशत कुनै पनि वस्त्रले नढाकिएको शरीर । ४ महिनाको बसाइँमा क्रमशः यो यौन आकर्षण विकर्षणमा परिवर्तित हुँदै गयो । पछि छोराहरूले जाऊँ बुवा स्केयरक्रो बिच भन्दा ‘तिमीहरू जाओ म जान्न भन्न थालेँ ।’
अर्को कुरा, हामी सामाजिक प्राणी । कति हजार वर्षको परीक्षणपछि हाम्रो यो मानव समाज निर्मित भए होला ? पहिलो प्रश्न समाज चाहिन्छ की चाहिन्न ? समाज चाहिन्छ भने समाजले स्थापित गरेका मान्यता पनि त मान्नु पर्यो । ल ठिक छ पुराना मान्यता, रूढिवादी मान्यतालाई क्रमशः विस्थापित गर्नु पर्छ । मान्यताहरूलाई विस्थापित मात्र गर्ने हो भने एक दिन मान्यता विहीन समाज बन्ने छ । तसर्थ पुरानो मान्यतालाई विस्थापित गर्दै जाँदा नयाँ मान्यताको स्थापना अपरिहार्य हुन्छ । अब प्रश्न आउँछ नयाँ मान्यता कस्तो बनाउने ? यौनलाई नलुकाउने संस्कारको मान्यता ? यस एङ्गलबाट सोच्दा जनक जी नेपाली समाजले कमाएको सभ्यता र संस्कारलाई के गर्ने ? विवाहले पनि नेपाली संस्कार र सभ्यताको परिचायकको भूमिका खेल्छ । मानव जीवनमा यौनको अहम् भूमिका छ साथै नेपाली समाजमा सभ्यता र संस्कारको पनि उत्तिकै भूमिका छ ।
मेरो विचारमा – प्रकृतिद्वारा प्रदत्त मानव शरीरमा यौनेच्छा पूर्ति लागि विवाह नै सबै भन्दा उचित र वैज्ञानिक आधार बन्न सक्छ । यस विषयमा अनावश्यक प्रश्न निषेधित छन् ।
० ० ०
सभ्यताको विकासमा आएको एउटा सुन्दर र कुरूप दुवै मिश्रित परम्परा हो, वैवाहिक संस्था । वैवाहिक संस्थाले समाजलाई निकै सुन्दर सभ्यताको उपहार दिएको छ । तर यति हुँदाहुँदै पनि विवाह एउटा बन्धन पनि हो । तपाईंलाई के लाग्छ विवाह एउटा सभ्यताको सुन्दर अभ्यास हो कि मानवको इच्छालाई कारागारमा राख्ने माध्यम ?
– मानव सभ्यताको विकाशको क्रममा मान्छे सामाजिक प्राणी बनेको हो । अर्थात् ऊ जनावर जीवनबाट मानव जीवन बाँच्न थालेको हो । आदिम युगमा के महिला के पुरुष सबै नाङ्गै हिँड्थे । सभ्यताको परिभाषाको लामो दूरीको दूरबिनले हेर्दा तिनीहरू असभ्य थिए । मानव सभ्यताको विकाशको क्रममा मानव प्रजातिले लुगा लगाउन थाले । १६,१७ र १८ शताब्दी तिर महिलाले आफूलाई पिडिमलासम्म छोप्थे । अहिलेको क्रममा क्रमशः लुगा छोटा हुँदै गए र नाम मात्रका लुगा लगाएर स्वछन्द हिँड्न थालेका छन् । फेशन पारदर्शिताको नाममा गुप्ताङ्गहरू देखिन थालेका छन् । यसरी हेर्दा परिभाषाद्वारा निर्मित मानव सभ्यताको विकाशले पूर्णता शायद कहिल्यै पाउँदैन । १९ औँ, २० औँ र २१औँ शताब्दी त आधुनिक विकाशका चरम शताब्दी हुन् । २१औँ शताब्दी उत्तर आधुनिक नै भइसक्यो । प्रत्येक मान्यताको विश्वासको केन्द्र नै भत्किएको मान्यता छ ।
‘The falcon cannot hear the falconer’ WB Yeats
मानव विकाशको परिपेक्षमा मनन गर्नु पर्ने धेरै कुराहरूमा तीन वटा महत्त्वपूर्ण अध्याय लाग्छन् ।
एउटा, विकाशको चरम उज्यालो विश्वभरि छरिएको हुँदा पनि विश्वका धेरै कुनाहरूमा चरम अन्धकार पनि छ । विकाशका परिभाषा पनि त्यही अनुरूप स्थापित छन् । अर्को, मानव सभ्यताको विकाशको प्रथम चरणमै (हजारौँ वर्ष अघि) सङ्गठित र सुगठित भएर बस्नु पर्ने र यौनको व्यवस्थापन गर्नु पर्ने जस्ता सोच पलाएको हो । र, तेस्रो परिवर्तन अपरिहार्य छ ।
अब मानव सभ्यतासँग जोडिएको विवाह बारे । विवाह मानव सभ्यताको सबै भन्दा सुन्दर र सभ्य विकाशको सूत्रधार हो ।
विवाह एउटा संस्था हो । यो संस्था कुरूप परम्पराको थालनी होइन । भन्न सकिन्छ विवाह यौन व्यवस्थापनको सबै भन्दा सुन्दर र सभ्य उदाहरण हो ।
समाज शास्त्रीय अध्ययनको आधारमा के स्वीकार गर्न सकिन्छ वैवाहिक संस्थाका केही अति कुरूप पक्ष वा परम्परा पनि निर्माण गरिए तर संस्था आफैमा कुरूप होइन ।
विवाह विश्वका प्रत्येक देश, समुदाय, जाति व्यवस्थामा हुन्छ । भारत र नेपालको परम्परा विश्वका अन्य देशका परम्परा भन्दा भिन्न छन् । हाम्रो माटो, जङ्गल, पानी र हामीले श्वास फेर्ने हवाबाट प्रत्युत्पादित सोच पश्चिमेली विकाशको सोचबाट निकै फरक छ ।
हाम्रो हिन्दु समाजमा वैवाहिक व्यवस्थापनको कुरा गर्दा हिन्दु धर्मले व्याख्या गरेको जीवनका चार आश्रम मध्ये गृहस्थाश्रम सबै भन्दा प्रमुख आश्रम हो । यी आश्रमबारे हिन्दु धर्ममा मात्र बोलिएको छ शायद तथापि गृहस्थाश्रम प्रत्येक देशको सामाजिक व्यवस्थापनमा देखिने एउटा सुनिश्चित अङ्ग हो । मान्छे जन्मँदा परिवारमा जन्मन्छ र एक्लो जन्मन्छ । पछि उमेरको हुर्काइसँगै आफूमा केही कमी वा अपूर्णताको आभास गर्न थाल्छ र आफैभित्र जीवनमा पूर्णताको खोजी गर्न थाल्छ । भन्न सकिन्छ ऊभित्र आफ्नो भिन्नै संसार निर्माण गर्ने अभिलाषा पलाउँछ ।
विवाहले उसलाई त्यो अवसर दिन्छ । यसलाई राम्रोसँग बुझ्न मानव जीवनलाई चार भागमा विभाजित गर्न सकिन्छ – विवाह अघिको काल, विवाह पछिको काल, सामाजिक दायित्व काल अनि विश्राम काल । विवाह अघिको कालमा हुर्कने क्रममा एक समयमा उसले आफूमा अपूर्णता महसुस गर्न सक्छ । विवाहपछि उसले पूर्णता पाएको महसुस गर्छ र यहाँबाट नै आरम्भ हुन्छ उसको गृहस्थ जीवनकाल । मानव जीवनको यो सबै भन्दा महत्त्वपूर्ण न्युक्लिअस (केन्द्र) काल हो । जीवनको यस कालमा रोमाञ्चित र स्वछन्द जीवन बाँच्दै गर्दा उसले अनेकौँ उत्तरदायित्वहरूसँग मितेरी गाँस्नु पर्छ ।
वर्तमान अवस्थामा विवाह के हो त भन्ने प्रश्न पनि उठ्छ । त्यसमा मलाई के लाग्छ भने विवाह परिवारको प्रारम्भ हो । जीवन सङ्घर्षको पनि प्रारम्भ हो । महिला र पुरुष दुवैको जीवनमा सङ्घर्षको अहम् भूमिका हुन्छ । दुवैले सङ्घर्षको त्यस अभियानमा एउटा साथीको खाँचो महसुस गर्छन् । सङ्घर्षको त्यो विशाल र अँध्यारो मार्गमा विवाहले उज्यालो छर्छ । यस अभियानमा व्यक्तिगत स्वार्थ हराएको हुन्छ । लक्ष्यले दिशा निर्देशित गरिरहेको हुन्छ । अवसरले साथ दिन खोजेको हुन्छ । प्रेमले कर्तव्य बोध गराउन मद्दत गर्छ । यस अवस्थामा विवाह बन्धन होइन एक तपस्या, एक ठहरा बन्न पुग्छ । विवाह बन्धन हो भने पनि पवित्रताको, समर्पणको र नारी र पुरुष एक लक्ष्य-सूत्रमा बाँधिएर गरिने अनवरत यात्राको । यसरी विवाह सामाजिक मात्र नभएर सार्वभौमिक बन्न पुग्छ ।
अब मूल कुरा विवाह संस्थाले भोग्नु परेका चुनौती र कुरूपताबारे । मान्छे प्राकृतिक प्राणी हो र ऊ स्वतन्त्र भएर बाँच्न चाहन्छ यसमा दुई मत छैन । तर मानव सभ्यताको विकाशको क्रममा मान्छेले नै मान्छेको सीमा रेखाङ्कन गर्दै सभ्यताका मापदण्ड बनाउँदै गर्दा केही प्रतिबन्धहरू पनि कोरेको छ । तीनै हिजोका मान्छेद्वारा कोरिएका प्रतिबन्धका बुँदाहरू आजका मान्छेलाई सामाजिक बन्धन बनेको छ ।
मान्छे प्राकृतिक प्राणी हो । उसले स्वतन्त्रताका साथ जिउने इच्छा राख्नु अस्वाभाविक होइन तर आफैले निर्धारित गरेको सामाजिक कानुनी सीमाभित्र रहेर वा ती सीमा भत्काएर ? यसरी हेर्दा असभ्यबाट सभ्य जीवन बाँच्ने चाहनाले गर्दा मान्छेले आफ्नो स्वतन्त्रतामाथि प्रतिबन्धका धर्का आफैले तानेको हो । किनकि उसले प्राचीन जीवन बाँच्ने शैलीमा परिवर्तन चाहन्थ्यो । ऊ आधुनिक बाँच्न चाहन्थ्यो । हजारौँ वर्ष लाग्यो सभ्यताका यी धर्का तान्न । आज तिनै धर्काहरूभित्र मान्छेले उकुसमुकुस महसुस गर्छ र धर्का मेटाउन खोजिरहेको छ मेटाइरहेको छ । कतै कतै त सभ्यताका पुराना भित्ताहरू नै भत्काइँदै छन् । ऊ उत्तर आधुनिक बाँच्न चाहन्छ । हजारौँ वर्ष जङ्गलमा नाङ्गै हिँड्ने मानुष प्राणीले लुगा लगाउन थाल्यो र केटा र केटीको विवाह गर्ने सभ्यता बनायो तर आज उसले सभ्यताको नियमावलीमा पुनः संशोधन गरेको छ ।
उत्तर आधुनिकको अभ्यासमा केटाको केटासँग र केटीको केटीसँग विवाह हुन थालेको छ । विवाह नगरी रिलिसनसिपमा बस्न थालेका छन् । यौन परिपूर्ति र सन्तुष्टिका लागि बनाइएको महिलाको योनी र पुरुषको लिङ्ग आज खानका लागि बनाइएको मुख र दिशा गर्नका लागि बनाइएको गुहद्वारा पनि सोही प्रयोजनका लागि प्रयोगमा ल्याइएको छ । मानव यौनक्रीडा प्रणालीले एकलबाट उही पुरानै प्राकृतिक स्वरूप लिँदै छ । हिन्दु परम्परामा विवाहले जन्माएको कुरूपताको कुरामा केन्द्रित हुँदा भन्न सकिन्छ
पुरुष प्रधान समाजको पुरुषसत्ताले सभ्यताको नियमावली बनाउँदा महिला प्रति घोर पक्षपात र अन्याय गरेको छ ।
जब कुनै नाबालिग कन्यालाई विवाह मण्डपमा पिताद्वारा दान स्वरूप कुनै पुरुषलाई प्रदान गरिन्छ भने यस भन्दा कुरूप प्रथा के हुन् सक्छ र ? महिला दान गरिने वस्तु होइन । जब कुनै महिला विवाह पछि पतिको घर पुग्छिन् त्यहाँ उनलाई दोस्रो, तेस्रो श्रेणीमा राख्दै यौन प्रयोजन र सन्तान उत्पादन गर्ने माध्यम मात्र मानिन्छ भने त्यो भन्दा कुरूप प्रथा के हुन् सक्छ । महिलाको गर्भाशयको दुरुपयोग गर्ने अधिकार पुरुषलाई छैन । जब पत्नीको इच्छा विपरीत पतिले बलात्कार गर्छ त्यस भन्दा कुरूप दृश्य के होला ? पत्नी वेश्या होइन ।
यी नै दृष्टान्तको अर्को पाटो नियाल्दा केही प्रश्न यस्ता पनि बन्छन् – बुहारीको पद लिएर ससुराली घरमा दुलहीले प्रवेश गर्दा छोरी सरहको स्थान, सम्मान र माया पाउँदा कस्तो होला ? पतिको घरमा प्रवेश गरेको घर पति पत्नी दुवैको सामूहिक सम्पत्ति बन्न पुग्दा कसो होला ?
पहिला मान्छे स्वतन्त्र थियो । जसरी पनि बाँच्न पाउँथ्यो । त्यो मानव सभ्यताका नियमावली नकोर्दैको युग थियो । आज चाहेर पनि ऊ आदिम युगको स्वतन्त्रता उपभोग गर्न पाउँदैन । कारण उसले नै आफूलाई सभ्य घोषित गरेको छ । सभ्यले असभ्य बाँच्ने नियम लेखेन उसले । तसर्थ असभ्य बाँच्न सक्दैन । सक्दैन मात्र होइन पाउँदैन नै । सडकमा नाङ्गै हिँड्न पाउँदैन । अर्का की श्रीमतीसँग शारीरिक सम्बन्ध राख्न पाउँदैन । हाडनाता वा नाबालिगसँग विवाह गर्न पाउँदैन । यसरी हेर्दा सभ्य जीवन बाँच्ने लोभमा मान्छेले आदिम युगमा बाँचेको स्वतन्त्रता माथि अङ्कुश लगाउने गरी नयाँ कानुनको पुस्तक लेखेको छ । किनकि हजारौँ वर्ष जङ्गली जीवन बाँचेको अनुभवबाट आजित भएर सामाजिक जीवन बाँच्ने चाहना गर्यो । वर्तमानमा बाँच्दै गरेको सभ्य सामाजिक जीवनबाट आजित भएर पुनः पुरानै जीवन शैलीमा फर्कन चाहन्छ । तर, उही आदिम युगका मूल्य र मान्यता ग्रहण गरेर होइन, उत्तर-आधुनिक युगको नयाँ चोला ओढेर ।
मान्छे आज धर्म सङ्कटमा छ – स्वतन्त्रतालाई कसरी परिभाषित गर्ने ? चन्द्रमामा पुगी सकेको अवस्थामा, न्युक्लियर युद्धको सङ्घारमा, आफैद्वारा निर्मित रोबोटले आफैलाई पन्छ्याउन खोज्दै गर्दा मान्छे दुबिधामा छ- नव-सभ्यताको नयाँ परिभाषा कसरी लेख्ने ?
अन्त्यमा एउटा कुरा । मानव जीवनमा यो प्रेम भाव कुन युगदेखि प्रवेश गर्यो भन्न मेरो अनुभव पर्याप्त छैन तर लाग्छ मानव मस्तिष्कको विकाशसँगै अनौठो भावनात्मक जीवनको पनि विकाश भएको हुनु पर्छ । आदिम कालदेखि वा त्यस अघिदेखि नै प्रेम सबैभन्दा शक्तिशाली भावना भएर जन्मियो र यसले पहिलो काम एकताको गरायो । कालान्तरमा मानव सभ्यताको विकाश हुँदै गर्दा त्यही प्रेमले भावनात्मक एकताको खाँचो महसुस गर्यो र परिणाम स्वरूप एकल विवाह संस्था जन्मायो र आज सम्म यसले निरन्तरता पाएको छ । म विश्वस्त छु जबसम्म मानव जीवनमा प्रेम भावनाको उपस्थिति रहन्छ युगौँदेखि संस्थागत भएको संस्था विवाहले पनि निरन्तरता पाई रहन्छ । आदिम युगको प्राकृतिक विवाहको कुरा नगरौँ विकसित समाजको एकल विवाह नै कालान्तरसम्म जीवित रहन्छ । यस संस्थाले पुरुषलाई पति र महिलालाई पत्नीको सम्मान दिन्छ र विश्वको यो सबैभन्दा सुखमय सम्बन्ध हो र जब सम्म यी दुईमा कुनै एक दुष्ट हुँदैनन् यो सम्बन्ध सबै भन्दा बढी दिगो पनि रहन्छ ।
प्रारम्भमै भनेको छु विवाह सबै भन्दा पवित्र, सुन्दर, व्यवस्थित र सुरक्षित संस्था हो । तर यसको आधार प्रेम, विश्वास, सहयोग र निष्ठा हो । जब यी दुई मध्ये एक जना दुष्ट र कुपात्र बन्न पुग्छ त्यो विवाह कुरूप अवस्थामा पुग्छ । विवाह संस्थाको सबै भन्दा कुरूप चित्रण त्यो नै हो जस्तो लाग्छ ।
० ० ०
तपाईं साहित्यसँग गहिरो प्रेममा हुनुहुन्छ । तपाईं नेपाली साहित्यको कुन विधामा लेख्न बढी मन पराउनु हुन्छ ?
– आफूलाई कविता कोर्ने मान्छे नै भन्छु । मेरा प्रकाशित कृतिहरूमा एउटा कविता सङ्ग्रह- ‘भीडमा हराएको मान्छे’ र तीन वटा कथा सङ्ग्रह – ‘त्रिशंकुको देशमा; र ‘इन्द्रमायाको देशमा’ र ‘व्रत्भंग’ छन् । म राम्रा आख्यान पढ्छु तर कथा लेखन बढी रुचाउँछु र समय पनि दिन्छु । कथा एल बि स्टाइलका नै हुन्छन् । ओ हेनरी, समरसेट मोम, चेखब, भारतका जयशंकर प्रसाद, प्रेम चन्द, आचार्य चतुर्सें आदिबाट प्रभावित छु । म प्रत्येक दिन अरूका कृति पनि पढ्छु । कारण यसले विचारको विकाश गर्छ र नयाँ कुरा सिकिन्छ ।
समय निर्धारण गरेको छु यो समय देखि यो समय पढ्ने र बाकी समय लेख्ने । उपन्यास लेखनमा हात हालेको हो तर सकिन । शायद त्यो स्तरको अध्ययन रहेन वा गर्न सकिन । जे पाई त्यै लेखेर कागत र समय खेरा फाल्न चाहिन र अपूर्ण उपन्यासहरूलाई थन्काइदिएँ । तर, पुस्तकका लागी धेरै सामग्री जम्मा भएका छन् । अमेरिका भ्रमण, युरोप भ्रमण, अस्ट्रेलिया बसाइँबारे । अप्रकाशित कथाहरूलाई जम्मा गर्दै छु, उस्तै अप्रकाशित कविताहरू पनि जम्मा गर्दै छु, मैले लेखेका संस्मरणहरूको पनि फाइल तैयार पारिसकेको छु । कविता सङ्ग्रहको काम त भई पनि सक्यो । मेरो नयाँ कविता सङ्ग्रह छिट्टै आउँदै छ । म फेसबुकमा महत्त्वपूर्ण घटनामा आधारित डायरीको पाना लेख्ने गर्छु । तिनको पनि सङ्ग्रह निकाल्ने हो भने सकिन्छ ।
तपाईं अङ्ग्रेजी साहित्यको विद्यार्थी अनि त्रिभुवन विश्वविद्यालयमा अङ्ग्रेजी साहित्य नै पढाउनु भयो । हाल नेपाली साहित्यमा रमाउनु भएको छ । नेपाली साहित्य विश्व साहित्यको दाँजोमा पुग्न किन सकिरहेको छैन ?
– अङ्ग्रेजी साहित्यको तुलनामा नेपाली साहित्य त के विश्वका धेरै साहित्यहरू पछि छन् । विश्वका अन्य साहित्य भन्दा नेपाली साहित्य नराम्रो पनि होइन तर उत्कृष्ट कृतिहरूको कुरा गर्दा हाम्रा कृति सङ्ख्यामा निकै कम छन् । यसका विभिन्न कारण छन् । कुनै पनि देशको साहित्य निर्माणका लागि समाज निर्माण पहिलो आवश्यक हो कि ? ग्रीक साहित्यको वा अङ्ग्रेजी साहित्यको इतिहास धेरै पुरानो छ किनकि यी देशहरूको समाज निर्माणको इतिहास पनि धेरै पुरानो छ । एउटा अर्को उदाहरण अस्ट्रेलिया धेरै सम्पन्न देश हो तर यसको समाज निर्माणको इतिहास धेरै पुरानो छैन यसर्थ अस्ट्रेलियाको आफ्नो साहित्य पनि धेरै पुरानो छैन । यसरी नै नेपाली साहित्य लेख्न सक्ने नेपाली समाज निर्माणको इतिहास पनि निकै छोटो रहेकोले नेपाली साहित्यको इतिहास पनि छोटो छ ।
नेपाली साहित्य उत्कृष्ट हुन नसकेको कारण हाम्रो समाज नै उत्कृष्ट बन्नबाट सधैँ वञ्चित रहे जस्तो छ । राणाकालका कलमधारीहरूलाई डराई डराई बाँच्नु पर्थ्यो । पञ्चायत कालीन परिवेशमा नेपाली जीवन हराई हराई बाँच्न बाध्य थिए भने प्रशासकहरू स्वार्थपूर्ण तरिकाले लुट्नु लुट्थे । ४६ सालको आन्दोलन पछि देशले शान्ति प्राप्त गर्छ कि भनेको जनयुद्ध प्रारम्भ भयो । त्यही क्रममा युवाहरूमा सुनिश्चित भविष्यको खोजीमा पलायनवादको रोग पलायो र यो क्रम अझै पनि जारी छ । त्यसपछिबाट हालसम्म आन्दोलन, भ्रष्टाचार,राजनैतिक कुरीति, कोतपर्व, भागबन्डा, कुण्ठा, आक्रोश, बन्दुक, रगतको बहाव आदि आदिमा नै व्यस्त छ नेपाली जीवन र त्यसरी नै प्रतिबिम्बित छ नेपाली साहित्य मस्तिष्कमा, कागतमा अनि छापामा । पश्चिमेली जगतमा जस्तै आगस्टन वा एलिजाबेदन वा स्वर्णिम युग नै आएन नेपालमा । नेपालले लामो सास फेरेर शान्तिसँग केहि लेख्न पाए कै छैन । कसरी जन्मोस् यहाँ उत्कृष्ट साहित्य । फेरी पनि रामायण, मुना मदन, माधवी, सुम्निमा, अलिखित जस्ता केही अमर कृति जीवित छन्।
तपाईं निरुत्साहित हुनुहुन्छ ? नेपाली साहित्यलाई विश्व साहित्यको दाँजोमा पुर्याउन के गर्नु पर्छ त ? अङ्ग्रेजी भाषामा अनुवाद कत्तिको आवश्यक छ ?
– छैन, म निरुत्साहित छैन । जे छ ठिकै छ । विगतमा यो भएन त्यो भएन भनेर अफसोस गर्नु भन्दा वर्तमान सुधार्नु पर्छ भन्ने मेरो मान्यता हुन्छ । विगत एक दशकमा नेपाली साहित्यमा केही हलचल भएकै हो । राम्रा राम्रा कृतिहरूले नेपाली साहित्य बजार तातेकै हो । धेरै लेखक जन्मे, धेरै प्रकाशन संस्था खुले । नेपाली साहित्यको बजारमा प्रकाशक, लेखक र पाठकको भाग दौड सुरु भएकै हो । साहित्य लेखिएका छन् तर विश्व साहित्यको दाँजोमा पुग्ने स्तर कायम हुन सकेको छैन । केही लेखक द्वारा राम्रा कृति आए र आउने दिनहरूमा झनै उत्कृष्ट कृति आउने छन् भनेर आस पनि जाग्यो तर दुखको कुरा तिनै लेखकका अन्य कृतिले पहिलाको स्तरलाई पनि निरन्तरता दिन सकेनन् । कसै कसैले एक दुई मध्य स्तरका कृति निकालेर सेलाए । कोही भने ठुला ठुला स्वाङ रचे, चर्को स्वरमा आफ्नो परिचय दिए, पुस्तकको भव्य आवरणसहित हुङ्कार लगाए तर भित्र हेर्दा टाँई टाँई फिश्श्श…। दम छैन ।
सर्वप्रथम नेपाली साहित्यलाई विश्व स्तरमा पुर्याउन स्तरीय रचना आउनु पर्यो । ती स्तरीय रचना अङ्ग्रेजीमा अनुवाद हुनु पर्यो । अनि विश्व बजारमा लानु पर्यो । विश्व बजारमा लानुका लागि अनुवादको स्तरीयताको पनि खाँचो पर्छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज भनेर पनि विदेशमा साहित्यिक संस्थाहरू गठित छन् तर नेपाली साहित्यलाई विश्व बजारमा लान कुनै प्रयास छैन कुनै पहल छैन । लक्ष्मी जयन्ती, लेखनाथ जयन्ती, सरस्वती पूजा, कविता वाचन आदिमा सीमित छन् विदेशका यी संस्थाहरू ।
एक दुई अपवाद बाहेक नेपालबाट पलायन भएर गएकाहरू आफ्नो रोजी रोटी, घर जाम, सम्पत्ति जोड्ने, मौज मस्ती गर्दै केही छिटपुट कविता, नियात्रा, संस्मरण आदि पनि लेखि रहेछन । यतिले मात्र नेपाली साहित्य विश्व बजारमा पुग्दैन । नेपाल प्रज्ञा प्रतिष्ठानले यसमा राम्रो भूमिका खेल्न सक्छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज जस्ता साहित्यिक संस्थाहरूमा आफैले हस्तक्षेप गरेर वा सहकार्य गरेर नेपाली साहित्यका उत्कृष्ट रचनाहरूलाई अनुवाद गराउने अनि आक्फोर्ड, क्याम्ब्रिज जस्ता विश्व विद्यालयहरूमा आफ्ना प्रतिनिधि पठाएर उनका पाठ्यक्रममा हाम्रा पुस्तक राख्न लगाउने हो भने आगामी केही वर्षमा नेपाली साहित्य पनि Non western literature अन्तर्गत सामेल हुन सक्छ ।
० ० ०
यहाँको जीवनलाई फर्केर हेर्दा एउटा उपन्यास जस्तो लाग्छ । तपाईंको जीवन हेर्दा प्रेरणादायी र चुनौती लिन सक्ने व्यक्तिको रूपमा हेर्न सकिन्छ । चुनौतीपूर्ण परिस्थितिमा पनि हरेक क्षेत्रमा सफल हुनुभएको पनि देखिन्छ । आखिर जीवनमा सपना साहस र चुनौतीलाई कसरी सन्तुलन गर्नुपर्ने रहेछ ?
– खासमा सङ्घर्षको अर्थ नबुझ्दैदेखि सङ्घर्षको बानी परेको हो ।
मेरो जीवनको सात दशकको यात्रापछि जीवनलाई केही मात्रामा बुझे जस्तो लाग्छ । तर जे बुझेको छु मेरो तरिकाले बुझेको छु । सबैको जीवन भोगाई र बुझाई आ-आफ्नै तरिकाका हुन्छन् । मेरो भोगाई र बुझाई अनुसार मलाई जीवन सङ्घर्ष बाहेक केही लागेन । जीवनलाई पूर्णताका साथ पूर्ण आनन्दसँगै बाँच्नु छ भने जीवनलाई योजनासहितको सङ्घर्षका रूपमा लिनु पर्छ । बिना योजनाको यात्राले दुर्घटना निम्त्याउन सक्छ । योजनामा मध्यान्तर पनि तोक्नु पर्छ र मध्यान्तरको समयलाई चिन्तनमा सदुपयोग गर्दै विगतको मूल्याङ्कन गर्दै भविष्यको योजना बनाउनु पर्छ । यस प्रक्रियाले कर्तालाई बौद्धिक आनन्द दिन्छ । र, यही क्रममा मध्यान्तरको क्रममा प्राप्त चिन्तन आनन्दले अग्रिम सङ्घर्षको बाटो तय गर्छ र जीवनले निरन्तरता पाउँछ ।
मैले प्राविमा पढाउने काल मेरो प्रथम मध्यान्तर काल थियो र स्व-विमर्शको आधारमा भारत प्रस्थान गर्ने निर्णय लिएँ । यस्ता धेरै मध्यान्तर कालमा विगतको अनुभवसँग आत्मसात् गर्दै अघि बढ्दै गरेँ । भारतीय सेनाबाट मुक्ति पाउँदाको क्षण मुक्तिबोधको आनन्द प्राप्त भएको थियो । पटना विश्वविद्यालयबाट स्नातकोत्तर उत्तीर्ण गर्दाको Iण अपार हर्षित भएको क्षण थियो । त्रिभुवन विश्वविद्यालयको शिक्षक हुन् पाउँदाको क्षण गौरवान्वित भएको क्षण थियो ।
त्रिविको शिक्षक भएको केही समयपछि क्याम्पस प्रमुख हुने सपना देखें । २०६१ सालमा त्यो सपना पुरा भयो । बीरेन्द्र क्याम्पसमा धेरै सुधार गर्ने अवसर पाएँ । फ्याकल्टी थपियो । स्नातकोत्तरका कार्यक्रम थपियो । कक्षा सञ्चालनका लागि अपुग कोठा थपियो । हाइवे सडक देखि क्याम्पससम्म सडक पहिला ग्राभेलपछि पिच गरियो । भारतीय राजदूतावासको सहयोगबाट प्राप्त रु १ करोड ४० लाखको पुस्तकालय निर्माण गरियो । क श्रेणीको क्याम्पस प्रमुख बस्ने मर्यादा अनुसारको कार्यालय बनाइयो ।
देशको एक मात्र सरकारी विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयको विकृतिलाई ध्यानमा राख्दै मेरो क्याम्पस प्रमुखको कार्यकाल समाप्त हुँदै गर्दा त्रिविको रजिस्टार भएर सुधार गर्ने चाहना गरेको थिएँ । यसका लागि निकै प्रयास गरेँ । नेताहरूकोमा धाएँ । तत्कालीन उपकुलपति समक्ष अनुरोध र योजना लिएर पुगेँ । तर त्यो पद मेरो नियतिमा थिएन । त्यसैले पुरा भएन । सबै सपना पुरा पनि कहाँ हुन्छन् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।