माघको चिसो हावा झ्यालको कप्चेराबाट प्रवेश गरेर मलाई काउकुती लगाइरहेको छ । मोबाइलको लाइट बालेर समय हेर्छु, एक बजेर एघार मिनेट गएको छ । कस्तो सुन्दर देखिएको तीनवटा सँगै उभिँदा ! चुरोटको खिल्ली जस्तो बराबर । सतर्क भएर बसेका ज्ञानी विद्यार्थी झैँ ।
एक नम्बरको अंकमा एउटा लौरोले टाउकोमा क्याप टोपी लगाए सिलित्त परेको पुरुष उभिरहेको जस्तो देखिरहेकी छु । कति ठिङ्ग उभिन सकेका यो एक नम्बर ! बिना हलचल । बिना खलबल । अङ्ग्रेजी डिजिट एक नम्बरलाई हेरेर म रोमाञ्चित हुन्छु । एक नम्बरलाई देखेर एक मिनेटसम्म त्यही मोबाइलमा 01:11 दृश्यलाई हेरेर के के पो कल्पेछु । मोबाइलको स्क्रिनको घडी 01:11 बाट 01:12 भयो । तीनवटा एक अब दुईवटा भइसक्यो एउटा एक चाहिँ लुत्रुक्क लत्रेर दुई भयो ।
यो माघ हो । बाघसँग भन्दा बढी माघको चिसोसँग डराउँछन् मान्छेहरू । अहँ मलाई किन जाडो भएको छैन । एक किसिमको उष्णताले शरीर गुम्सेको छ । कुनै ज्वालामुखी बाहिर निक्लन खोजे जस्तो उकुसमुकुस छ, भित्र । यो सिरक गोड्यानतिर हुत्त्याउँछु । यस्तो लाग्दै छ शरीरभित्र एउटा ज्वाला दन्किरहेछ । त्यो ज्वाला निभाउन जरुरी छ । मलाई बाथरुम छिरेर घण्टौँ नुहाउन मन छ, यति बेला ।
जबर्जस्ती निदाउन खोज्दै आँखा चिम्म गर्छु । आँखा अगाडि औंलाको आकृति नृत्य गर्दछ । यो औंला सप्तकको हो । सप्तकको औंलासँग म राम्रोसँग परिचित छु । उसले मलाई बिहे गरेको चालीस दिनमा छोडेर गए पनि उसका औंलासँग मेरो प्रगाढ सम्बन्ध छ । उसँग भन्दा उसका औंलासँग बढी संगत भयो मेरो चालीस दिनमा । उसले पहिलो स्पर्श मलाई औंलाको माध्यमबाटै गरेको थियो । त्यसैले पनि उसका औंला मलाई आत्मीय लाग्छ ।
पहिलो पटक टिकाटालो गर्दादेखि विदेश जाँदा आँखाभरिका आँसु पनि औंलाले नै पुछेको थियो । उसका औंलाले मेरो हत्केलालाई गरेको प्रेमिल स्पर्श । अनुहार छेकेर बसेका कपाल हटाउन पनि उसले औंला नै त प्रयोग गरेको थियो । म लजाएर भुइँतिर झुक्दा चिउँडोमा औंला नै राखेर माथि उठाएको थियो ।
अहिले मेरो अनामिका औंलामा टल्किएको औँठी पनि त उसले आफ्नै औंलाले लगाइदिएको हो । उसका औंलाले मेरो सारा वदनमा एकछत्र राज गरेको छ । एक्काइस वर्षसम्म कसैलाई झुक्किएर पनि छुवाउन नदिएको अंगहरूलाई पनि उसका औंलाले निस्फिक्री छोएको छ । उसका औंला मेरा शरीर र मन जताततै फैलिएको छ । मैले पहिलो पल्ट उसको औंलालाई नै त हो चुमेको पनि । उसको औंला जिम्मेवारीको हो । उसको औंला बदमास केटाकेटी हो ।
उसका औंलाहरू कुनै बच्चाको कलिलो पैताला जस्तो लाग्छ । बच्चा एउटा हरियो चउरमा आकर्षक उन्मादको हलचलमा दौडिरहेको छ । उसका नरम पैतालालाई बिझाउला कि भनेर दुबो पनि कपास बनिदिएका छन् । जसरी दबेका दुबो पुनः जुरमुराएर ठडिन्छन् । कसैगरी उसका औंलाको स्पर्शमा मेरा रौं ठाडा हुन्छन् ।
उफ् ! यो गर्मी कसलाई सुनाऊँ माघमा पनि पसिनाले भिजेकी छु भनेर । सुनाउनै नसक्ने कस्तो रोगी भएकी छु म । झ्याल खोल्छु एक झोँका हावाको अँगालोमा बेरिन्छु । लामो श्वास फेर्छु । पुनः ओछ्यानमा आएर पल्टिन्छु । निदाउने कोसिस गर्छु । आँखा चिम्लिन्छु । स्मृतिको फाइलबाट दिउँसो छिमेकी दाइले गरेको गिद्धे नजरपान पल्टाउँछु । निकै दिनदेखि ख्याल गरेकी छु । उनी मलाई असहज लाग्ने गरी हेर्छन् । मलाई देख्यो कि आँखाबाट मेरो हरेक संरचनाको नाप लिन्छन् ।
उनलाई देख्ने बित्तिकै म आफ्नो हाउभाउमा परिवर्तन ल्याइहाल्छु । उनी चल्ला टिप्न चलखाई गरेको कौवा जस्तो मेरो वक्षस्थलतिर चिहाउँछन् म चुन्नी मिलाएर छाती ढाकी हाल्छु । शरीर कत्ति पनि हलचल नहोस् भनेर हिँडाइको गति घटाउँछु । छ्या ! कस्तो नकचरो छ त्यो दाइ । दुईवटा सन्तान छन् । त्यति राम्री भाउजू हुनुहुन्छ । पुरुष भनेको घरमा छि: सधैं आलुको तरकारी भन्दै नाक खुम्चाउने तर रेस्टुरेन्टमा वाह ! फ्रेन्च फ्राइज भन्दै जिब्रो पड्काएर खाने जातको नाम हो । उनको हेराइ मलाई नेसनल जियोग्राफिक च्यानलमा मृगलाई बाघले झम्टिन दाउ पर्खिरहे झैं लाग्छ । भैगो के सम्झिरहनु त्यस्ता फोहोरी मान्छेलाई । पारो तातेर आउँछ ।
कोल्टे फेर्छु । सिरानीमा टाउको मिलाउँछु । एउटा सिङ्गो टाउको अनगिन्ती विचारको भारी लिएर पल्टिरहेको छ ।
विचारको लहर स्मृतिको ढुङ्गामा गएर रमेशको छविसँग ठोकिन्छ । रमेश मेरो कलेजको साथी । हेर्दा आकर्षक वाह ! भन्ने खालको होइन । तर उसमा अनौठो मान्छेलाई खिच्न सक्ने खुबी थियो । हरेक कुरामा आफ्नो धारणा राख्न सक्ने, उत्सुकताले भरिएको ऊर्जावान् मान्छे थियो । कुनै पनि कुरालाई कसरी सकारात्मक सोच्न पर्छ भन्ने कुरा ऊबाट सिक्न सकिन्थ्यो ।
किस्साहरू सुनाएर साथीभाइका ओठमा मुस्कान टाँस्न सक्ने क्षमता थियो । मलाई रमेश एकदम मन पर्थ्यो । उसलाई अनेक संकेत दिन्थेँ । कहिले बुझ्न सकेन । उसले प्रस्ताव राखोस् भन्ने मान्यता राख्थेँ । केटी मान्छेले अगाडि सर्न हुन्न भन्ने ममा पुरातन महिलावादी रोग थियो । उसले भन्न सकेन, मैले भन्न चाहिनँ । यसरी एउटा प्रेम बतिलामै खस्यो । अहिले रमेश लोकसेवामार्फत नाम निकाली हिमाली क्षेत्रमा वडासचिव भएर काम गर्छ । कास म नै अगाडि सरेर भन्न सकेकी भए आज रमेशसँग हुन्थेँ कि ! ऊसँगै हिमाली क्षेत्रमा उसको श्रीमती बनेर बसेकी हुन सक्थेँ । अहिले जुन किसिमको उष्णता बोकेर म छट्पटिएको छु । उसँग हिमपातमा मेरो चुल्होमा ननिभेका कोइला निभाउँथेँ होला !
कल्पनाबाट बाहिर निक्लन्छु । छ्या ! कस्तो खराबखराब कुरा सोच्न थालेकी म । म जुन किसिमको गर्मी ओढेर बसेकी छु, श्रीमान् खाडी त्योभन्दा बढी गर्मी सहेर बसेका छन् । हाम्रो जीवनको बाध्यताले एउटा अलगअलग गर्मीको सिर्जना गरेको छ । ऊ पनि त एउटा जवान पुरुष हो । चालीस दिनमा एउटा नवदुलहीलाई छोडेर जानुको मानसिक, शारीरिक, आर्थिक र सामाजिक पीडामा छ । तर, ऊ केटा मान्छे हो । विदेशमा त केटा मान्छे कस्तो कस्तो ठाउँमा गर्मी सेलाउन पुग्छन् रे भन्ने कुरा अलिअलि सुनेकै हो । गयो होला नि ।
यतिकै त के बस्यो होला र ? मान्छे अनुशासित हुने भनेको अवसर नपाउँदासम्म मात्र हो । अवसर पायो भने उसको आदर्शको वस्त्र कसरी उत्रिन्छ देखेकै हो । मान्छेलाई नैतिकताको पाठ समाजले जबर्जस्ती भिडाएको हुन्छ । नैतिकता प्राकृतिक त हुँदै होइन । अप्राकृतिक नै भए पनि यसले समाजलाई सहज ढंगबाट अगाडि बढाउन भने पक्कै सहयोग गर्छ । नैतिकताको विपक्षमा कुरा गर्ने बित्तिकै जिब्रो काट्न आउने सेनाहरूको कमी छैन । होइन ठीक छ आफूलाई अनैतिक देखाउने इच्छाहरू सकेसम्म घटाएकै राम्रो हो नि । समाजले अनैतिक मानेका कुरा कल्पनामा पनि नल्याउन असम्भव नै छ ।
हरेक मान्छेको मस्तिष्कमा समाजले अनैतिक भनेका कुरा नखेल्ने पक्कै होइन होला । मान्छेले त्यसलाई दबाएर व्यवहारमा नउतार्ने मात्र हो । आखिर सभ्य हुनु भनेको महान् अभिनेता हुन नै त हो । जति उत्कृष्ट अभिनय गर्यो, उति अब्बल सभ्य कहलिने त हो । हत्तेरी ! कताकता पो पुग्छु । के नानाथरी कुरा खेलेको होला ।
घाँटी सुके जस्तो हुन्छ । उठेर पानी पिउँछु । चिसो पानी पिउँदा पनि शरीरमा पुगेर तातो रगतमा मिसिएर झन् तातो भएको अनुभव गर्छु । अम्खरा राख्दा गिटारमा गएर हात ठोकिन्छ । निदाएका तारहरू अचानक ब्युँझिएर छ वटा सात सुरले ऐया भन्छन् । गितारको सुरले मेरो मनलाई झङ्कृत बनाउँछ ।
यो गितार उसको हो । उसले मलाई चालीस दिनसम्म खुब गितार बजाएर सुनायो । बिहेको पहिले दिनमै `तिम्रो आँखा देखेर एउटा गीतको याद आयो भन्दै `गाजलु ती ठूलाठूला आँखा..´ भन्ने गीत गाएर सुनाएका थिए । म गमक्क परेकी थिएँ । उसले गितार बजाउँदा यति मस्त डुबेर ध्यान लागे जस्तो गरी बजाउँछ नि म आनन्दित हुन्थेँ, त्यो निर्दोष अनुहार हेरेर । अझ उसका औंलाहरूले गितारको तारलाई स्पर्श गर्दा यति समर्पित देखिन्थ्यो कि म रोमाञ्चित हुन्थे । उसका औंला मलाई जादुगर जस्ता लाग्थे । त्यहीँ औंलाहरूले त हो उसले मेरो सिउँदोमा रातो सिन्दुरको रेड लाइट बालेर अरूलाई निषेध गरी आफ्नो अधिकार जमाएको । तिनै औंलाहरू त हुन् मेरा वदनका एकएक अंगसँग वार्तालाप गरेका । अझै म महिनावारीले पेट दुखेर छट्पटी हुँदा उसका न्यानो औंलाहरूले `कहाँ दुख्यो ? भनेर मसाज गर्दिन्थ्यो, त्यो झन् कति मीठो औंलाहरू !
मलाई उसका औंलाहरूको बिछट्टै माया लागेर आउँछ । अनि हृदयबाट सम्मान पनि गर्छु, उसका औंलाहरू खाडीमा चलिरहेका छन् र त परिवार चलेको छ । उसका औंला मलाई महान् लाग्छ ।
उसले हरेक चालीस रातको प्रणयसूत्रको सुरुवात गितार बजाएर गर्थ्यो । कर्ड परिवर्तन गर्दै एक फ्रेटबाट अर्को फ्रेटमा पुगेका उसका औंलाहरू कलात्मक लाग्थे । म कल्पनामा बहकिन्छु । उसले आफ्नो गितार उठाएर काखमा राख्यो । मानौं उसले गितारलाई होइन मलाई काखमा राखिरहेको छ । एकाएक म गितारको रूप धारण गरेर उसको काखमा राखिएकी छु । अब उसले गितार बजाउने मेसो मिलाउँदै छन् ।
उसले गितारको हेड स्टोकमा औंलाहरू लग्यो । मलाई उसले आफ्नो कपाल सलबलाइदिएको जस्तो लाग्यो । अनि ट्युनिङ पेग्समा लगेर सुर मिलाउँदा मेरै कान बटारे जस्तो हुँदैछ । त्यसपछि उसका औंला गितारको नेकमा पुग्यो; मलाई घाँटीमा काउकुती लाग्यो । उसले चिप्लिएको गितारलाई आफ्नो काखमा अलि कसेर राख्यो ; तरङ्गित म पो हुन थालेँ ।
गितारको बडीमा बेलाबेला कुइनाले घोच्दा; म चस्किएँ । उसले तीनवटा तारको सुर चापेर जि-मेजर कर्ड बनायो; म तीन ठाउँमा एकैपटक दबाइएको महसुस गरेँ । तीनवटा सुरले एउटा मीठो सुर सिर्जना गर्यो । उसले जि-मेजरबाट ए-माइनर कर्डमा औंला सार्यो, हुँदैहुँदै सि-मेजर, डि-मेजरमा कर्डलाई आवश्यकता अनुसार खेलाउँदै गयो; झङ्कृत म हुँदै गएँ । हरेक कर्डको फरकफरक सुरले म अलगअलग काउकुतीको सरगममा बगिरहेँ । तारमा प्लकिङ र स्ट्रमिङ गर्दा म झनन्न झङ्कृत हुँदै इम्पल्स महसुस हुँदै गएकी छु । औंलाको तारसँगको खेलमा एउटा हार्मोनी उत्पात भइरहेको छ । पोजिसन मार्क अनुसार उसका औंलाको यात्राले साउन्ड बक्समा भाइब्रेसन निर्माण भएको छ ।
उसले आफ्ना औंलाहरूलाई मन्द्र सप्तकको क्षेत्रमा पुर्याएर औंलाको गतिलाई घटाउँदै कोमल धुनको सिर्जना गर्यो । मखमली सुर खोज्दै छ,सायद । केहिबेर उसले कुनै प्वाँखले तारमा स्पर्श गरेझैँ नौनी धुन चखाइरह्यो । त्यसपछि मध्य सप्तकको क्षेत्रमा पुगेर औंलाको गतिलाई थोरै बढाएर बजाउन थाल्यो । एउटा प्रफुल्ल वातावरणमा पवनले खसेका पहेँला पातलाई फिरफिर फिरफिर नचाए जस्तै नचाउन थाल्यो ।
अब उसमा आवेग देखिन थालिरहेछन् । तार सप्तकको क्षेत्रमा औंला पुर्यायो । आफ्नो गतिलाई बढायो । कर्डलाई कसिलो बनाएर समात्यो । अनि शक्तिका साथ रिलेटिभ कर्डमा आफ्ना औंलाहरू छिटोछिटो सार्न थाल्यो । उसका औंलाका टुप्पोबाट रगत चुहिएला कि जस्तो हुँदैछ । यस्तो लाग्दै छ, कुनै विजयोल्लास मनाइरहेको सामूहिक नृत्य जस्तै प्रफुल्लतामा होस् गुमाएका मान्छे खुमारीमा पुगेका छन् । तीव्रताका साथ बजिरहेको रिदमले हृदयको स्पन्दन बाहिरै श्रवण गर्न सकिएको छ । यो गति, आवेग, उल्लास, उत्सव केही पल यसै गरी चलिरह्यो …..
मेरा खुट्टाका औंलाहरू तिनिक्क तन्किएर मेरो शरीर कम्मरबाट उचालियो ।
त्यसपछि गितारको तार च्वाट्ट चुँड्यो । चुँडेको तारले छोडेर गएको एउटा झंकार विलीन हुँदै गयो ।
त्यसपछि एउटा मौनताको मौसम आयो । शून्यताले शरण लियो । विचारहरू थाकेर निदाउन थाले । अहम् उष्णताले बनाएको बाफ बनेर उड्यो । वातावरणमा एउटा परमानन्दको पुष्प पल्लवित भयो ।
बिस्तारै अहम् शीत बनेर तप्प मैमाथि चुहियो । भित्ते घडीको टिकटिक महसुस हुन थाल्यो । जङ्गलबाट स्याल कराएका धमिलो आवाज सुनिन थाल्यो । पवनको चिसो स्वाँठले हिर्कायो । शून्यबाट विचार उक्लियो । म होसमा आएँ । सिरक भुइँमा खसेको थियो । म लम्पसार छु । मेरा औंलाहरू त्यहाँ छन्; जहाँबाट गर्मी उत्पादन हुन्छ । मेरा औंलाहरूले आगो निभाएछन् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।