सर्जकलाई कुनै पनि सीमानाले बाँध्नु सकिन्न । यसैले कुनै पनि सर्जक कुनै जात-गोष्ठी वा जातिको मात्रै सर्जक बनिरहन सक्दैन । जब कुनै सर्जकको कृति अनुवाद हुँदछ तब भूगोल र भाषाको पनि सीमाना भत्केर जान्छ । यदि कुनै सर्जकलाई कुनै परिधिभित्र थुनेर राख्छौँ तब त्यो उनको अकाल मृत्यु जस्तो बन्छ । सिर्जनाले कुनै पनि हालतमा त्यो परिधि भत्काउने जमर्को भने गरिराखेकै हुन्छ । विश्वसाहित्यको अवधारणा यसैले त बाँचेको छ । नत्र भने विश्व साहित्य भनेको कुन हो ? तोक्न सकिने कुनै ठोस् भाषा र यसको भाषिक संरचना के छ र ?

म यो आलेख विशेष तमू जात-गोष्ठीद्वारा प्रकाशित पत्रिकाको निम्ति लेखिरहेको छु । यसको अर्थ म यो जातिसित नजिकको सम्बन्ध अवश्य राख्छु । तर म मेरै जातिको निम्ति अनि मेरै जातिको सर्जकमाथि मात्र बोलिरहेको छुइन । यदि मैले यसो गर्ने प्रयास गरेँ भने माथि उल्लेखित दुर्घटना घट्नेछ । यसैले यो आलेखलाई अलिक फरक अनि व्यापक दृष्टिले अध्ययन गरिदिने अनुरोध आरम्भमै राख्छु । यसैले यो एक चुनौति अनि विरोधाभाषपूर्ण कार्यलाई चोखो साहित्यिक विमर्शभित्र राखेर हेरिदिने पनि आग्रह राख्छु ।

जब एउटा मान्छे हराउँछ

जब एउटा मान्छे हराउँछ

हुनु त म जुन सर्जकका सिर्जनाबारे परिचर्चामा छु त्यसले भाषिक भूगोलसितै राजनैतिक, प्रशासनिक अनि सांस्कृतिक भूगोलको जम्मै परिवृत्त तोडिसकेको छ । यहाँ आएर यो लोकप्रिय सिर्जनालाई एउटा विशेष वर्ग, जाति र भाषिक समुदाय सापेक्ष मात्र हेरिनु पनि हास्यास्पद हुनेछ । मेरो भय भनेको म जहाँ यो लेख प्रकाशित गरिरहेछु त्यसको अवस्थानले कतै फरक परिहाल्छ कि भन्ने त्रास मात्र हुनसक्छ ।

हजुर; म कुरो गरिरहेछु मेरा समकालीन विद्वत् अनि अति संवेदनशील कवि चन्द्र गुरूङकृत ‘जब एउटा मान्छे हराउँछ’बारे । उनी यता भारतमा निकै चर्चित अनि परिचित कवि हुन् भने जहाँसम्म लाग्छ उनको कृति ‘जब एउटा मान्छे हराउँछ’ यता भारतमा पनि अहिले सर्वाधिक वितरित कविताकृति हुनुपर्छ नेपालतिरको ।

कृति ‘जब एउटा मान्छे हराउँछ’ जसले हेर्ने, पठन र अध्ययन गर्ने काम गरेका छन् उनीहरूले कवि चन्द्र गुरूङलाई कृतिमा समाहित वरिष्ठ समालोचक राजकुमार बानियाँ लिखित भूमिकारूपी समीक्षात्मक आलेख ‘सुन्दर संसार विस्तारमा चन्द्र गुरूङका कविता’को पठनले सहजै चिन्न पाएका छन् । समालोचक बानियाँले व्यक्ति र सिर्जनामा देखिने कवि चन्द्रको शालीनतालाई मिठो तरिकाले हामी पाठकसामु राखिदिएका छन् जहाँ कवि चन्द्र गुरूङलाई चिन्न उनका कविताहरू मात्र पठन गर्दा पनि व्यक्ति चन्द्र गुरूङको आकृति आँखाभरि आउँछ । शालीन भाषा र सौन्दर्यचेत लिएर प्रेम, सौहार्द र सङ्गतिका मात्र कविता होइनन् अपितु बागी, विद्रोही र विसङ्गतिलाई व्यङ्ग हान्ने कविता समेत लेख्न सामर्थ्य राख्ने कविको रूपमा चिन्न सकिन्छ कवि चन्द्रलाई ।

कृति ‘जब एउटा मान्छे हराउँछ’मा आठवटा झुण्डमा ५१ वटा कविता समाहित गरिएका छन् । प्रत्येक झुण्डलाई निकट भावसम्य कविताहरूले सजाउने प्रयत्न गरिएका छन् । झुण्डलाई प्रतिनिधित्व गर्ने महत्वपूर्ण कविताले झुण्डका नाम पनि वहन गरेका छन् । यसले कविता पठनमा एउटा भाव ऐक्यताको बोध दिँदछ र पाठक कविताभित्र घुलिएको मीठो सौन्दर्यानुभूतिले मक्ख पर्दछ । फेरि अर्को झुण्डमा प्रवेश गर्दा अर्कै भावानुभूतिको संसारमा विचरण गर्न पुग्दछ । कविताको यो सजावट निकै महत्त्वपूर्ण हुँदोरहेछ यहाँबाट स्पष्ट हुन्छ ।

कृतिको पहिलो काव्यझुण्ड छ ‘गीत गाइरहन्छ जीवन’ । ‘गीत’ र ‘जीवन’को लयात्मकताको खोज र अभीष्ट यस झुण्डका कविताहरूले बोक्दछ । उहिल्यै प्लेटोले भनिराखेका छन्- ‘Music and rhythm find their way into the secrete places of the soul’. कविताले खोज्ने जीवनको लय वा गीत हृदयको कुनै कुनामा विद्यमान छ । कवि चन्द्र गुरूङ यही यात्रामा छन् यसरी:-

“मलाई राम्रो लाग्छ

धेरै राम्रो लाग्छ

जब सबले सुनाउँछन्-

“तेरो अनुहार काटाकुटी तेरै बाको जस्तो”

                                    -बाको अनुहार पृ. १३

हामी सबै विगतकै नयाँ संस्करण हौँ । परम्पराको कापबाट उम्रिएका विचार, व्यवहार र कर्म काटाकुटी उस्तै नहुनसक्छ नवीनताको बोधसित तर पहिचान अनुहारको दुरूस्त हुनुपर्छ विगतकै जस्तो । ‘बाको अनुहार’ लगायत ‘निर्बन्ध खुशी’, ‘यस साँझ’, ‘झरिरहेछ पानीको मुसधारे आगो’, ‘झुक्दा झुक्दै’, ‘अहङ्कार’, ‘ईश्वरको हत्या’ जस्ता कविताले विविध मूहर्त र क्षणलाई समेट्न सकेको छ । देखिइएका विसङ्गत दृश्य-परिदृश्यबाटै तर उनले ‘गीत गाइरहन्छ जीवन’ जस्तो सकारात्मक अनि सिर्जनात्मक विचारपुञ्जलाई प्रकाशमान गर्ने कार्य गरेको अर्थपूर्ण लाग्छ । निजात्मक अनुभूतिलाई सार्वजनिन बोधसित साझा गर्न कविले कवितालाई वैयक्तितादेखि धेरै अलग पार्न सकेकाले कविता हामी पाठकलाई मेरै कविता लाग्नसक्छ ।

जेलिइरहन्छन् समस्याहरू

भत्किरहन्छन् यात्राहरू

तर हरेक बिहान, उदाउँछ आशको नयाँ घाम

डडेलोले खाएको ठुटोमाथि बसेर एउटा चरीझैँ

गीत गाइरहन्छ जीवन ।

-गीत गाइरहन्छ जीवन पृ. १९

कवितालाई विचारको जति बलियो थाँक्रो दियो उति सशक्त कविता जन्मँदोरहेछ । त्यसमा थप काव्यिक शिल्प र संरचनासौन्दर्यले सुनमा सुगन्धको काम गर्दछ । कृति ‘जब एउटा मान्छे हराउँछ’को दोस्रो झुण्डका कविताहरू ‘भोक र नपुङ्सक सरकार’ यस्तै प्रबल अनि प्रखर वैचारिकताले सजिएका कविताहरू हुन् । विचारका आगोका लप्काहरू हुन् । यहाँ आधुनिकतावाददेखि कविताले उत्तरआधुनिकतावादतर्फ फड्को हानेको स्पष्ट देखिन्छ । राष्ट्रियतावाद (न्यासनलिजम्) आधुनिकतावादको उपज मानिन्छ । यसमा देशप्रेम देशको सार्वभौमिकता र यसको मर्यादासित नङमासुझैँ जोडिएको हुन्छ ।

‘मर्दैन देशभक्ति त चुत्थै देश भए पनि’ समेली दर्शन यो आधुनिकतावादको पराकाष्ठ अवधारणा हो । ‘राष्ट्र’को अवधारणासित सत्ता वा शासकको केन्द्रीयता (लोगस)माथि प्रश्न गर्ने, शङ्का गर्ने काम भने उत्तरआधिनिकतावादको उपज हो । केन्द्रभञ्जन गर्दै सीमान्तकृतहरूका उपस्थितिलाई महत्त्व दिने काम वा किनारीकृतहरूका आवाजलाई प्रतिध्वनित गराउने काम उत्तरआधिनिकतावादले गर्छ ।

कविको देशप्रेम तर यहाँ आलोचनात्मक दृष्टिपरक देखिन्छ । ‘अलपत्र छ अनिकालमा छोडेर गएको घरजस्तै/भूकम्पमा ध्वस्त कुनै गाउँजस्तै/ ठडिएको छ यो बुडो ल्याम्पपोस्ट झैँ/ समयको अँध्यारोमा मेरो देश’ बल्बहरू फ्युज्ड छन् ती ल्याम्पपोस्टको जसलाई फेर्ने सरकार/सत्ताको कुनै चासो देखिन्न । (बूढो ल्याम्पपोस्ट)  । ‘यस कुरूप समयमा/ देखिन्छ यो देश/ भित्तामाथि झुन्डिएको थोत्रो मानचित्रमा हड्डीको एउटा टुक्रो जस्तै’ (देश, हड्डी र कुकुरहरू), ‘न विकासको चुम्बन/ न शान्तिको सहवास/ न उज्यालो भविष्यको बीजारोपण/ मात्रै नपुङसक सरकार/ र, बाँझो देश’(देशप्रति केही कविताहरू), ‘त्यो थोत्रो भाँडो/ त्यो रित्तो थैलो/ त्यो चिसो चुलो/ एकसाथ गिज्याउँदै छन् भोको मान्छे झैँ लाचार नपुङ्सक सरकारलाई’ (भोक र नपुङसक सरकार)

प्रयुक्त बिम्ब र प्रतीकले देशको जुन स्वरूप हाम्रो आँखामा आउछ नि त्यो आजको यथार्थ हो । देश वा राष्ट्रको नयाँ प्रतिबिम्ब आज विश्वभर यस्तै छ । यसैले त छ शीतयुद्ध, गृहयुद्ध र आन्तरिक क्रान्ति, विरोध र विद्रोह विश्वभरिनै । देश तर एउटा संवेदनशील कविले बाँच्ने माटो र भूगोल मात्र होइन । चेतनगत यसका फरक फरक बोध हुनसक्छन् ।

बैँशालु युवकले मौकामा सदुपयोग गर्नलाई

पर्समा चेपिराखेको ब्रान्डेड कन्डमले

विज्ञापन गर्छ- निस्फिक्री ग्यारेन्टी !

यस्तो सस्तो र सुलभ साधन होइन देश ।

*******

दुई तिघ्राको कापमा

सल्केको लुतो वा खटिरा होइन देश महाशय !

एकान्ततिर चुपचाप कन्यायो ख्वार्र ख्वार्र

भरपूर आनन्द लियो ।

  • देश पृ. ४०

आधुनिकतावादले सत्ताको अधिपति राजा, मन्त्री, सेनापतिहरूका गाथालाई टिपेर महाकाव्य वा महाख्यानको सिर्जना गर्यो । केन्द्रको महिमागान गर्यो । आज त्यो समय सकिसकेको छ । आज केन्द्र भत्किरहेको समय हो यो । सीमान्तकृतहरूको बेला हो यो । यसैले आजको सूक्षमाख्यानमा यस्तै छाडिएका ‘अन्य’ भनिइएका, अवहेलितहरूले आफूलाई केन्द्रमा पाउँछन् । यस झुण्डमा कवि चन्द्रले ‘नेता’ (केन्द्र)को विपरित ‘कार्यकर्ता’ (किनार) लाई केन्द्रमा राखेर कविता सिर्जना गरेका छन् । यो एक बिनिर्माणी कार्य हो ।

वरिपरि छन्

बेरोजगार युवा अनुहारहरू

अभावमा झुकेका शिरहरू

आशामा जोडिएका हातहरू

निराशामा दबिएका आवाजहरू

 

यो अभावमा

यो निराशामा

यो अँध्यारोमा

नेताले देख्छ- आफ्ना लागि थुप्रै जवान सम्भावनाहरू ।

-कार्यकर्ता -३ पृ. ४५

शृङ्खलाबद्ध यी सूक्ष्माख्यानले तर गौरवगाथा नबोकेर आजको तीतो र कालो यथार्थलाई सर्लक्क राखिदिएको छ । कार्यकर्ता जो आमजनता हुनसक्छन् उसले आफ्नो अनुहार यी कविताहरूबाट स्पष्ट र सजिलै चिन्नसक्छन् ।

कृति ‘जब एउटा मान्छे हराउँछ’को अर्को कविता झुण्ड छ- ‘चराहरूले छोडेर गएपछि’ । यो पनि अघिल्लो झुण्डकै विस्तारण हो भन्न सकिन्छ । यसमा पनि देशप्रेम, माटोको माया र आफन्तहरूको अङ्गालोलाई विमर्शमा ल्याइएको छ । देश छोडेर जाने परदेशीले सम्झिरहने देशको यादलाई, गाउँको मायालाई अनि यहाँको आत्मीयतालाई दुवै कोणबाट; देशको मनोभावबाट अनि परदशीको मनोभावबाट हेरिएका सुन्दर अभिव्यक्तिहरू यसमा छन् । यसमा कविको आफ्नै अनुभूतिको लामो प्रसव पनि देख्नसकिन्छ ।

उता त देश झल्झली याद आउँछ, भन्दै

केहीले देश मनभरि अटाएर लगे

केहीले कोसेली बनाएर लगे

केहीले छात्भरि सजाएर लगे

केहीले दिमागको भित्ताभरि टाँसेर लगे

धेरैले, धेरै तरिका गरेर आफूसित देश लगे ।

 

यता बाँकी देश

दु:खिरहन्छ

यी जानेहरूका सम्झनामा ।

-बाँकी देश पृ.५२ ।

कविको यो ‘देश’ अनि ‘परदेश’को वैपरित्य चेत (बाइनेरी अपोजिसन)को द्वन्द्वबाट धेरै कविताहरू सिर्जित छन् । वास्तवमा कृति ‘जब एउटा मान्छे हराउँछ’को आधारभूत विचारगर्भ यसैबाट निसृत छ भनी किटान गर्न सकिन्छ । लामो समय परदेशी जीवन भोगेका कविले देशको महत्त्व र मर्यादालाई निकटबाट बोध गर्ने अवसर पाएका छन् । कृतिको अन्तिम कविता झुण्ड ‘जब एउटा मान्छे हराउँछ’का कविताहरू पनि यसै परिवृत्तभित्र छन् । यसो हेर्दा उनमा यो अति रोमान्टिकताको आधिक्य हो कि भन्ने शङ्कासमेत गर्ने ठाउँ छ । ‘परदेश’ शृङ्खला १ देखि ४ यसका दस्सी हुन् । तर कृतिनामको ‘जब एउटा मान्छे हराउँछ’ र ‘आमा’ जस्ता कविता सौन्दर्यभित्र यस्ता  शङ्कालु भाव नगन्य लाग्छ ।

प्रेमिल भाव, मनका सुन्दर अनुभूति र केही अव्यक्त मूर्छनाहरूले कोरिएका नैसर्गिक भावानुभूतिको कलात्मक अभिव्यक्तिहरूले सुसज्जित कविताझुण्ड हो ‘यादको झरी’ । यी कविताहरूलाई आत्मसात् गर्न समालोचनाकोभन्दा भावसंवेदन र कोमल हृदयको आवश्यकता महसुस हुन्छ । केही नयाँ प्रतीकविधानसित यी कविताहरू निकै फरक र ताजा लाग्दछ ।

हेर त

मेरा थकित लुगाहरू

अनाथझैँ बनेका किताब, कलम र पानाहरू

बेवारिस लासझैँ पल्टेका चुरोटका ठुटाहरू

चमक हराएको ऐना

सबै सबैलाई

छ तिम्रो एक स्पर्शको पर्खाइ ।

  • विश्वास पृ. ६६

हामी जहिल्यै र सबै कविताले तरङ्गित हुदैनौँ ।  कविताका केही विशेष अवयव, गति र लयले जब हामीलाई छुन्छ तब हामी थाहा पाउछौँ त्यो कविताको शक्ति । प्रबुद्ध समालोचक कवि मनप्रसाद सुब्बाले एक ठाउँ भनेका रहेछन्- “कविताको शक्ति के हो? उत्तरमा भन्न सक्छौँ- पाठकको मनलाई समात्न सक्नु, उसको संवेदनालाई तरङ्गित गर्नसक्नु, ऊभित्र एक किसिमको कम्पन छुटाउन सक्नु साथसाथै उसको चेतनाको एक कुनामा झिलिक्क झिल्का चम्काउन सक्नु जस्ता कुराहरू नै कविताको शक्ति हो” ( काव्यास्था पृ ५७)  ।

कवि चन्द्र गुरूङका कविताहरू पठन गर्दा यस्ता भावहरू र क्षणहरू आइरहन्छन् । ‘अचेल हामी भेट हुँदा’ झुण्डका कविताहरूले हामीले बाँचिरहेका थुप्रै विप्ल्याँटा परिस्थितिहरूसित सोझै साक्षात्कार गराउँछन् । ‘सब ठीकठाक छ’ लागेका फरि ‘सब ठीकठाक हुनै सक्दैन’ लागेका वैयक्तिक सोच, सामाजिक बेथिति, राजनैतिक चलखेल, ह्रास हुँदै गएका आत्मीयता, कृतिम सम्बन्धका प्रदर्शनी यी सबैभित्र हामी मानवेत्तर बन्दै गइरहेका छौँ । कविताले परोक्ष लाखेस् गर्छ, चेताउनी दिन्छ ।

रणबाट

फर्केका छन् जितेर विशाल देश-परदेश

फर्केका छन् जितेर अर्को सरकार

फर्केका छन् जितेर ऐश्वर्य ।

तर

अझै जित्न सकेका छैनन् युद्धमा 

थुप्रै थुप्रै हृदयको साम्राज्य ।

-अधुरो जीत पृ. ७८ ।

कवितामा कवितालाई नै माध्यम बनाएर जीवनका यथार्थहरूलाई अक्षर, शब्द र वाक्यहरूले कपेर जीवनका यथार्थ कुँद्ने शिल्प कविसित मात्र छ । कृति ‘जब एउटा मान्छे हराउँछ’भित्रको अर्को खण्ड यसै प्रवृत्तभित्र छ । कविताहरूले कवि हुनुको अपरिमेय बोधलाई थुप्रै दृश्यबिम्बले सजाएका छन् । ‘कविझैँ बाँचेको बूढो पहाड’, ‘कवि र कविताभित्र छ प्रकृतिसित अहर्निश प्रेम गर्ने प्रेमिल कवि’, ‘मातृभाषाको राजमार्गमा रमाउँदै हिँड्ने सचेत कवि’ जस्ता कविताभावले कवि र कविताको अन्तरङ् अनि प्रगाढ सम्बन्धलाई जोडेर राखेको छ ।

कवि अब सामाजिक सरोकारदेखि भाग्न चाहँदैनन् । सामाजिक विद्रुपता, विसङ्गति र विकृतिलाई खुलेर विरोध गर्ने सामर्थ्य लिएर कवि अघि आएका हुन्छन् । उत्तरदायित्वको यो गह्रौँ भारी कविले कवितामा कतै बागी स्वर दिएर, कतै क्रान्तिको शङ्खनाद गरेर, कतै व्यङ्ग र परिहासको चक्रव्यूह रचेर समाजलाई काँधमा लिएर हिँडेका हुन्छन् । समाजिक वर्गविभेद, मानसिक हेजीमोनी अनि सांस्कृतिक अतिक्रमणमाथि कवि चन्द्र गुरूङका शालीन कविताहरूले पनि उत्तिकै चर्को विरोध र हस्तक्षेपी स्वर कुर्लेका छन् । कृतिको अघिल्लो झुण्डको शिर्षक नै छ- ‘पानी नचल्ने मान्छे’ । दलित चेतनालाई पोषण गर्ने यस खण्डमा अन्य कविता पनि समाजलाई झकझकाउने खालको नै छ ।

मेरो गाउँमा

मोटर गाडी आइपुगेपछि

फैलियो सचिवको घडेरीको क्षेत्रफल, फैलिएन सडक

बढ्यो ठेकेदारको घरको उचाइ, बढेन सडक

थपियो मन्त्री आवासमा नयाँ ‘बार र स्पा’ थपिएन सडक

बनियो इन्जिनियरको घर, बनेन भत्किएको सडक ।

  • गाउँमा मोटर पृ ९४ ।

मलाई लाग्छ कवि चन्द्र गुरूङका कविताबारे धेरै बोल्नु/लेख्नु पनि कविताको सौन्दर्यचेतलाई एउटा अदृश सीमाभित्र जब्बरजस्ती कोचार्नु हुनेछ । कविताको सरलताले सबैको मनलाई सहजै छुन्छ । सरलताको नाममा तर आजभोलि कविताभित्र कवितै नभेटिने कविता लेखिन्दैछन् तर कवि चन्द्र गुरूङको सरलता उनको भाषिक संयोजन मात्र हो ।

कविताको कथ्य, विचार, शिल्प र संरचना लिएर कवि चन्द्र जति सचेत छन् त्यत्तिकै सबल कविताहरू हामीलाई कृति ‘जब एउटा मान्छे हराउँछ’ले दिएका छन् । पढिरहनु मन पर्ने कविताकृतिमा यो पनि एक हो भन्न म हिच्किचाउँदिनँ ।

                                                                                                            रोङ्गो, कालेबुङ