कथाकार प्रदीप गुरु ङः परिचयन-
आख्यानकार प्रदीप गुरुङ भारतेली नेपाली साहित्यमा नौलो नाम अवश्य होइन । उनको जन्म २१ अक्टोबर १९५४ दिन भानुटोल, कृष्णनगर मिरिकमा भएको हो । नेपाली साहित्यमा स्नातकोत्तर तथा बी.एड. तहको शिक्षार्जन गरी सन् १९८० देखि जुद्धवीर हाइ स्कुलमा शिक्षण सेवामा लागेका उनी सन् १९९७ देखि भने यसै विद्यालयमा प्रधानाध्यापकको रूपमा कार्यरत रही सेवा निवृत्त भएका हुन् । हालसम्म उनका असुरक्षित (कथासङ्ग्रह, १९८०), यस्तै अनि यस्तै (कथासङ्ग्रह, २००१), बिरिमफूल (कथासङ्ग्रह, २००६), पोस्टर र लात (सूत्र उपन्यास, २०१०), प्रेमिल (कवितासङ्ग्रह, २०१५), बैरीमाया (कथासङ्ग्रह, २०१६), एक सब्तु सपना (कथासङ्ग्रह, २०२३) शिरोनामित जम्मा सातवटा सिर्जनात्मक कृतिहरू प्रकाशनमा आइ सकेका छन् ।
कथाकार गुरुङको कथासंग्रह ‘असुरक्षित’ मा १० वटा, ‘यस्तै अनि यस्तै’ मा १९ वटा कथा, ‘बिरिमफूल’ अन्तर्गत १४ वटा कथा, ‘बैरीमाया’ मा २२ वटा कथा छन् भने ‘एक सब्तु सपना’ कथासङ्ग्रहमा १२ वटा कथा सङ्गृहीत छन् । वस्तुतः उनका हालसम्म प्रकाशनमा आएका कथासङ्ग्रहका आधारमा कथाकार गुरुङको कथाकारिता एवम् कथा शिल्पबारे प्राज्ञिक अध्ययन-अनुशीलन तथा मूल्याङ्कन हुनुपर्ने आवश्यकता देखिन्छ ।
भारतेली नेपाली साहित्यमा एउटा बेग्लै स्थान सुरक्षित राख्न उनी सफल बनेका छन् । उनका कथाकारिता, कथा शिल्प-शैलीबारेमा डा.कविता लामा, डा.राजकुमार छेत्री, प्रा. नवीन पौड्याल, डा.सपन प्रधान आदि जस्ता समीक्षक-अध्येताहरूले धेरथोर रूपमा अध्ययन-अनुशीलन तथा मूल्याङ्कन गरेका छन् । उनी सङ्ख्यात्मक भन्दा गुणात्मक प्रकृतिका साहित्यकार हुनुहुन्छ ।
====
प्रदीप गुरुङका कथाकारिता एवम् कथागत प्रवृत्ति: पर्यवेक्षण-
गुरुङका कथाहरूमा निन्मवर्गीय मानिसहरूका पीडाको यथार्थ अङ्कन, सामाजिक वस्तु-यथार्थ, तराई-मधेस क्षेत्रका आदिवासीका जनजीवनको अङ्कन, नारीहरूको कारुणिक अवस्था, मनोवैज्ञानिक स्पर्श, सामयिक सामाजिक र राजनैतिक व्यङ्ग्य चेतना, प्रगतिशील विचार, नवोन्मेषमुखी तथा इतिहास चेतना आदि जस्ता प्रवृत्तिगत विशेषताहरू परिलक्षित छन् । साठी प्रतिशत कथाहरू सामाजिक यथार्थवादी प्रकृतिका छन् भने दस प्रतिशत कथाहरू मनोविश्लेषणात्मक प्रवृत्तिका छन् । कथाकार स्वयमले आफ्ना कथाहरूको सम्बन्धमा –‘आफ्ना कथाहरूमा जगत् र जीवनमा जे भइरहेछ र त्यो भइरहेको भित्रको हाहाकार र पीडाको अभिव्यक्ति, घटनाको सानो सूत्र समाउन पाए लेख्दै जाँदा कथा बनिन्छ, संसार रमाइलो मात्र बनिंदैन, विसङ्गति र दिशाहीनताको भ्रमले जन्माएको कुण्ठा पनि कथा बनिन्छ’ भन्ने विचार अभिव्यक्त गरेका छन् ।
प्रदीप गुरुङ यथार्थवादी कथाकार हुन् । वर्तमान समयमा हाम्रो समाज र देशभित्र तथा बाहिर के के भइरहेको छ, जनमानस के कुराले र किन कसरी कुन कुराले तरङ्गित भइरहेका छन् यस्तै सन्दर्भको यथार्थतक प्रस्तुति पाइन्छ ।
दार्जिलिङ पहाड भनेको गोर्खालीहरूको वर्चस्व भएको ठाउँ हो तर यहाँ विभिन्न कारणले यो वर्चस्व बिस्तारै खस्किँदो अवस्थामा छ । यहाँको राजनीति बढी स्वार्थकेन्द्रित, नेताकेन्द्रित, सत्ताकेन्द्रित अर्थात् पैसाकेन्द्रित बन्दै गइरहेको देखिन्छ । यस किसिमको वस्तुस्थितिलाई कथाकारले आफ्ना केही कथामा अघि सारेका छन् । समाजमा बुद्धिजीवीलाई महत्त्व नदिनु अर्थात् उनीहरूको महत्त्व कम हुँदै जानु नै यहाँको राजनैतिक धरातल कमजोर बन्दै जानु हो । कथाकार गुरुङले दार्जिलिङे समाजको विद्रुप अवस्थाको चित्रण तथा सङ्केतन गरेका छन् ।
उनका कथामा दार्जिलिङको बिग्रँदो राजनैतिक स्थिति, नेताहरूको स्वार्थी मानसिकता, जसको फलस्वरूप जनतामा परेको नैराश्य, सामाजिक, सांस्कृतिक, राजनैतिक उत्तरदायित्वबाट विमुख रहेको अवस्था, युवा वर्गमा देखा परेको अराजकता, अनुशासनहीनता, कुलत र दुर्व्यसनको लतमा परेको युवावर्ग आदि पक्षलाई कथामा उतारिएको पाइन्छ । अहिलेको समयमा विशेष गरी दार्जिलिङ पहाडमा अधिकांश नोकरीहरू नेताका झोले प्रवृत्तिकाहरूले मात्र पाउने, नेताहरूको स्वार्थी मनोभाव, राजनेताहरू राजनैतिक गुणको कमीका कारणले समाजमा विकृति आएको देखिन्छ ।
‘लभ यू दार्जिलिङ’ कथामा दार्जिलिङलाई नै पात्रका रूपमा प्रयोग गरिएको छ भने हाम्रा मानिसका बिग्रँदो मानसिकतालाई विभिन्न परिप्रेक्ष्यबाट उतारिएको छ । कथामा मृत्यु चेतनालाई समेत कथ्यवस्तु बनाइएको छ भने ‘कोर्ने सङ्केत’ कथामा लेखक आफैँले कथा लेख्दै छु भनेर सङ्केत गरेका छन् । पाठकलाई कथा पढ्दै छु वा हाम्रै समाज वरिपरिका वास्तविक घटनावली पढ्दै छु, कतै कथा-उपन्यास पो पढ्दै छु कि संस्मरणात्मक शैलीको गद्यरचना पढ्दै छु, कथामा प्रयुक्त पात्र-चरित्रहरू काल्पनिक हुन् कि वास्तविक हुन् कि भन्ने कुरामा बारम्बार भ्रममा परिरहन्छन् । कथामा दार्जिलिङको भविष्यबारे पनि प्रत्यक्ष-परोक्ष रूपमा सङ्केत गरिएको छ । दार्जिलिङ हाम्रो हो भन्ने ठानिन्छ, हाम्रा विविध जनजातीय संस्कृतिहरूको मिश्रित रूपमा हाम्रो नेपाली संस्कृति बनेको छ ।
‘एक सब्तु सपना‘का कथाहरूमा वैचारिक मन्थन गरिएको छ । दार्जिलिङ पहाड र हाम्रो गोर्खे समाजको शल्यचिकित्सा गरिएको छ, सामाजिक पर्यवेक्षण गरिएको छ । कथामा सामाजिक, राजनैतिक तथा वैचारिक विद्रुपता र कुरूपता, अराजकता र अनैतिकतालाई देखाएको छ । मानिसभित्रको फोहोरीपन, अनैतिकता, स्वार्थता र आडम्बरी प्रवृत्तिलाई दर्शाइएको छ ।
====
प्रदीप गुरुङका कथाशिल्प एवम् संरचनाः कथानुशीलन-
‘एक सब्तु सपना‘मा एक सब्तु सपना, अन्त्याङ्कन, कोर्ने सङ्केत, खोलामा वास, पानफुल, फोहोर सहर, मुत हरफ, मृत्यु निनाद, मौन क्यानभास, लभ यू दार्जिलिङ, हलि मसिन र अन्तिम गीत शीर्षकका कथाहरू सङ्गृहीत छन् । पुस्तकको भूमिका राजेन्द्र भण्डारीको रहेको छ । भण्डारीको छोटो-छरितो भूमिका आफैमा कथाकार गुरुङका कथालेखन शिल्पबारे एउटा गहकिलो सिर्जनात्मक समीक्षा जस्तो भएको छ । भूमिकामा कथाकार गुरुङको स्वभाव, आनीबानीदेखि लिएर उनका कथागत प्रवृत्तिबारे तथा उनी एकजना कुशल भायोलिन वादकसमेत रहेको कुरो सङ्केत पनि गरिएको छ । सङ्ग्रहका कथाहरूमा हाम्रै वरिपरिका कुराहरूलाई कलात्मक ढङ्गले प्रस्तुति दिइएको छ । यस सङ्ग्रहमा रहेका कथाहरू ‘मौन क्यान्भास’ कथाबाहेक अन्य प्रायः सबैजसो कथाहरू बृहत्तर आयामका छन् । सब्तु शब्दले किराँती समाजमा प्रचलित बाँसको चोयाबाट निर्मित पेरुङ्गो जस्तो जाँड राख्ने एक प्रकारको वस्तु बुझाउँदो रहेछ । यसैबाट एक सब्तु सपना कथा निर्मित भएको छ ।
गुरुङले आफ्ना प्रायः सबैजसो कथामा हाम्रै नेपाली-आदिवासी समुदायको गाउँघर, चियाबारी पाखातिर घटिरहने विविध प्रकारका घटना-प्रसङ्गलाई वस्तुको रूपमा टिप्छन् । दार्जिलिङ तथा डुवर्सतिरका नेपाली, बङ्गाली, आदिवासी समाजमा घटिरहने साना ठुला घटनाहरूलाई कथावस्तु बनाएर मनोसामाजिक प्रकृतिका कथाहरू लेखेको भेटिन्छ । अतः उनका कथाका कच्चा पदार्थ हाम्रै वरिपरिका छन्, अविदित छन्, जुन सामान्य कुराहरू आजसम्म यतिका कलात्मक रूपमा लेखिएका थिएनन् । कथा सर्जक गुरुङले यी एक दर्जन कथाहरूमा भिन्नाभिन्नै बान्कीमा १२ किसिमकै विषयवस्तु चयन गरेका छन् भन्न सकिने प्रशस्त आधारहरू छन् । समाजका दृश्य–अदृश्य, विदित-अविदित, प्रस्तुत-अप्रस्तुत दर्जनौं कथ्य विषयवस्तुलाई टिप्न सफल बनेका छन् । एक प्रकारले भनौं भने हाम्रो वर्तमान समाजमा देखिएका विविध सामाजिक विसङ्गति र विकृतिको शल्यचिकित्सा नै गरेका छन् भन्न सकिन्छ ।
‘एक सब्तु सपना‘ शीर्षक कथा कोरोनाको समयमा गाउँबाट रोजगारीको खोजीमा चेन्नै गएर सानोतिनो काम गरेको र त्यहीँ अलपत्र परी मरेको मार्मिक प्रसङ्गको वर्णन छ । किरात राईकी छोरी भए पनि चेन्नैमा नै मृतदेह अग्निदाह गरिएको प्रसङ्ग उल्लेख छ । उसको घरमा शोकको लहर, उसको आत्मशान्तिका निम्ति राई माङ्पाको रीति अनुसार चिन्ता बस्नु, उनीहरूका घरछेउको गोठनेर बस्ने लठेप्रा र लठेप्री मिलेर बस्नु र लठेप्रीको पनि मृत्यु हुनु आदि यसका मूल पक्ष हुन् । प्रस्तुत कथालाई समाज-सांस्कृतिक परिप्रेक्ष्यबाट अध्ययन-अनुशीलन गर्न सकिन्छ । यसमा विशेष गरी किरात जातिको मृत्यु-संस्कारसित सम्बन्धित धेरै कुरोको जानकारी पाइन्छ । कथामा रिनाको मृत्यु-संस्कार गर्न माङ्पाले चिन्ता बसेको, शुभ-अशुभ कार्यमा जाँड-रक्सी हाम्रो संस्कृतिको अङ्ग बनेको र यसले चाड-पर्व, आशुँ-हाँसो, सुख-दुःखमा समेत साथ दिएको सन्दर्भ उल्लेख छ ।
‘अन्त्याङ्कन’ कथामा भने सरकारी कर्मचारीचन्त्रको कुरूपता, भ्रष्टाचारी प्रवृत्ति, ठगी र कामचोर प्रवृत्तिको वास्तविकता देखाइएको छ । तेस्रो तहका अस्थायी कर्मचारीले भोग्नुपरेको आर्थिक कार्यगत शोषण, कर्मचारीका मार्मिक अवस्था कथामा चित्रण गरिएको छ ।
‘कोर्ने सङ्केत’ कथामा पनि कोरोनाबाट उब्जेका मानसिक अवसाद, सामाजिक, आर्थिक, नैतिक, विचलन अवस्थाको वास्तविक वर्णन-विवरण कलात्मक रूपमा पाइन्छ । मान्छे आफू मात्र खुशी र शान्तिसँग बाँच्न कति प्रयासरत् छ भन्ने कुरो यस कथाले देखाइएको छ ।
‘खोलामा बास’ शीर्षक कथा भने अलिक भिन्न प्रकृतिको छ । यस कथामा लेटाङ्गेहरू गोरुबथानको उर्लँदो चेल नदीको भँगालोमा फसेकाले रातभरि बस्नुपर्ने अवस्थाको मार्मिक चित्रण गरिएको छ । सबै प्राणीलाई आफ्नो जीवनप्रतिको मोह हुन्छ । अनाहकमा भेलमा पसेर जीवन गुमाउन कोही पनि चाहँदैनन् । मानिसले दुःख पाउने र सुख पाउने भन्ने कुरो मानिसह जहाँ गए पनि त्यो हुने नै हो । तो भाग्यको खेल हो भनेर मानिलिन सकिएला । लेटाङ्गे र उसकी स्वास्नी प्रेममा परी भागेर पहाडबाट मधेस झर्नु, गोरुबथान आएर भेनाको आडमा एउटा सानो छाप्रो हालेर बस्नु, घाँस दाउरा गरी जीवन यापन गर्नु, चेलको भेलमा परेर रातभर त्यहीँ बास बस्नु आदि जस्ता घटना प्रसङ्गहरू यस कथाको कथ्य विषय हुन् ।
‘पानफुल‘ कथामा कसरी शान्तिराज भन्ने सामान्य ट्युसन गरेर परिवार पाल्ने पात्रको चित्रण छ । उसले आफूसित भएभरका गरगहना र अन्य सम्पत्ति समेत बेचेर भए पनि आफ्नी श्रीमतीलाई एउटा सानो नोकरीमा झुण्डाउने इच्छाले एउटा सत्ताधारी दलको दलाललाई आफूसित भएको सबै रकम बुझाउँछ । सत्ताधारी पार्टीको त्यो दलालले भने ट्युसन मास्टरले बुझाएको रकम केही कामै नगरी जम्मै पचाइदिन्छ । यस किसिमको विश्वासघातले मन गलेर पागलतुल्य बनी शान्तिराजको मृत्यु समेत हुन्छ । वस्तुतः यस कथामा पानफूलका नाममा हाम्रा समाज र देशमा घुस्याहा प्रवृत्तिको बढ्दो प्रभावलाई झल्काइएको छ । सरकारी आरक्षण भन्ने भूल नीतिका कारण शान्तिराज शर्मा जस्ता सुदक्ष व्यक्तिहरूले समेत नोकरीको निम्ति कुनै अवसर पाउँदैनन् ।
श्याम व्यङ्ग्यात्मक शैलीमा लेखिएको ‘फोहोर सहर‘ कथामा शहरमा नवनिर्मित शौचालय उद्घाटनमा समेत निकै गतिलो जुलुस हिँडेको देखाइएको छ । शहरमा कुकुर मरेर दुर्गन्ध फैलिएको छ तर त्यसलाई हटाउने कुरोमा भने कसैको ध्यान गएको छैन । कुप्रे र लङ्गडे भिखारीहरूले हाम्रो कुकुर हो भन्ने चिनेपछि गन्हाउने भइसकेको कुकुरको मृत शरीर लिएर जान्छन् र आफूहरूले सके र जाने जति सगदगति गरिदिन्छ । यसमा शहरको वैचारिक तथा सामाजिक विकृति र विसङ्गतिको अङ्कन गरिएको छ । मान्छेमा आएका स्वार्थीपन,पैसा, रक्सी र मासु भनेपछि जनता नेताको पछि केही नसोंचि कुदिहाल्ने प्रवृत्ति तथा दार्जिलिङको नाङ्गो सामाजिक-राजनैतिक यथार्थलाई दर्शाइएको छ ।
‘मुत हरफ‘ कथामा दार्जिलिङ पहाडको सामाजिक, वैचारिक, राजनैतिक, आर्थिक अवस्थाको वास्तविक चित्रण पाइन्छ । एकातिर हाम्रा युवापिँढीमा अत्यधिक मद्यपानको व्यसन, अराजकता, शिक्षाप्रति वितृष्णा रहेको पाइन्छ । हाम्रै कमी-कमजोरीका कारण हाम्रो आफ्नो भूभाग ठानिएको दार्जिलिङ पहाडमा पनि अन्य जातिका बिस्तारै आफ्नो प्रभुत्व जमाइरहेको, आर्थिक, प्रशासनिक, राजनैतिक, शैक्षिक क्षेत्रमा समेत बाहिरकै मानिसहरूको हालीमुहाली दिनप्रतिदिन बढ्दै गइरहेको स्थिति देखिन्छ । कथाको मूल पात्र बी. बी. भुजेल (सर)-मा यो जातीय चेतना प्रखर छ तर उ आफै रक्सी धोकेर हिँड्छ । उसको छोराले पनि परिवारबाट उचित शैक्षिक संस्कार नपाएर मद्यपान र अन्य लागु पदार्थको कुलतमा फसेर बिग्रेको छ । बी. बी. आफैँ पनि सत्ताधारी राजनैतिक दलको कोटामा शिक्षकको काम पाएको छ । यस प्रकार प्रस्तुत कथामा हाम्रो सामाजिक विसङ्गति र विकृतिलाई यथार्थ रूपमा देखाइएको छ ।
‘मृत्यु निनाद‘ कथामा एकजना भूतपूर्व अधिकारी, जो गोर्खा हुन् । उनको चरित्रमा नारीलाई घृणा गर्ने, नारीप्रति द्वेषभाव, घृणाभाव राख्ने प्रवृत्ति देखाइएको छ । आफू बाल्यावस्थामै आफ्नी आमाले आफ्नो बाबुलाई हत्या गरेको देखेको हुनाले त्यस पात्रमा यस्तो किसिमको मानसिक विकृति आएको हुन सक्छ । कश्मीरमा आफू फौजमा छँदा पनि उसले युद्धका नाममा नारीहरूलाई छानी-छानी हत्या गरेको हुन्छ । वृद्धावस्थामा भने सानी बालिका देखेपछि उसको त्यो रोग केही साम्य हुन पुग्छ तर पनि जीवनमा आफूले गरेको अनेकौं कुकृत्यको अपराधबोधले ऊ मृत्युको मुखको सम्मुखिन हुन् पुग्छ । मौन क्यान्भास कथा भने बाग्राकोटका लेखक बद्रीनारायण प्रधानको निधनबाट जनभावनामा उब्जेको तरङ्ग, शोक भावना, अन्तिम संस्कारका निम्ति विभिन्न साहित्यिक सामाजिक व्यक्तिहरूको उपस्थिति आदिको प्रसङ्ग उल्लेख गरिएको पाइन्छ । यसमा केही वास्तविक व्यक्तिहरूको भावनालाई अघि सारिएको छ ।
‘लभ यु दार्जिलिङ‘ कथामा सुन्दर दार्जिलिङ शहरभित्रको फोहोर मैला, युवा वर्गमा आएको पलायनवृत्ति तथा लागु पदार्थ सेवन, युवाहरूमा आफ्नोपनको अभाव, पर्यटन विकासको नाममा यसबाट सिर्जेका विविध कुप्रभाव आदिलाई पनि यथार्थ रूपमा देखाइएको छ ।
‘हलि मसिन‘ कथामा गाउँमा नाम्ग्याल बतिमले हलो जोत्ने मसिन ल्याउँदा गोरु पालेर गाउँमा खेत जोत्ने, निम्न आयआर्जन गर्ने मने मगर जस्ता किसानको पेटमा लात हानिएको छ । जसको फलस्वरूप मने मगरको मनमा विरक्ति छाउँछ । मसिनको कारणले नै गोरु जोत्ने मनेको रोजीरोटी खोसिएको छ । यस्तो मसिन गाउँमा आउँदा उसको हलगोरुका निम्ति साँच्चै सौता हाले झैँ भएको छ । अब गाउँ-घरमा आफ्नो कुनै महत्त्व र औचित्य नरहेको, गाउँमा उसको कुरा काट्न थालिएको समेत सुन्छ । दिनप्रतिदिन बिस्तारै बिस्तारै निराशाले उसलाई गाँज्न थालेपछि, सीमा नाघेपछि लाचार भएर उसले आफ्ना दुई प्यारा गोरु बेचिदिन्छ ।
‘अन्तिम गीत‘ कथामा आरक्षण कानुन देशका निम्ति घातकसिद्ध भएको, यसले कहिलेकाहीँ योग्यलाई अयोग्य र अयोग्यलाई योग्य तुल्याउँछ भन्ने कुराको सङ्केत मात्र होइन तर सिद्ध समेत गरी देखाएको छ । रामप्रसाद शर्मा अर्थात् आर. पी. अङ्ग्रेजी विषयमा सम्मान लिएर स्नातक गरेको सुशिक्षित, सङ्गीत प्रेमी, लोकप्रिय गायक सबै कुरोमा योग्य भएर पनि अनारक्षित भएका कारणले सरकारी जागिर पाउँदैन । रामप्रसादभन्दा धेरै सामान्य तहको टाँसी र सुमिरा जस्ता सामान्य शैक्षिक योग्यता भएकाहरू भने सरकारी पद आरक्षणका फलस्वरूप उच्च सरकारी अधिकारी बनेका छन् । हाम्रा समाजका सयौं हजारौं रामप्रसादहरू योग्य भएर पनि शैक्षिक स्तर अनुसारको उचित कामदाम नपाएपछि नैराश्य भएर मद्यपान सेवन गोरु जीवन बरबाद पारिरहेका छन् भने टाँसीहरू भने त्यस्तालाई रक्सी खुवाएर, अझ पतनोन्मुख तुल्याइरहेका देखिन्छन् ।
कथाकार गुरुङले आफ्ना कथाका पात्र-चरित्रको चयनमा धेरै सचेतता अपनाएका छन् । अधिकांश पात्र-चरित्रहरू र प्रतिनिधिमूलक र साङ्केतिक प्रकृतिका छन् । उनका कथामा प्रदीप गुरुङ, राजेन्द्र भण्डारी, भोलानाथ शर्मा, टार्जन मामा, बी बी भुजेल, बद्री सर, शान्तिराज, रामप्रसाद शर्मा (आर.पी. शर्मा), माइला म्हेम्हे, लछेप्रो-लछेप्री, माङ्पा, आसेङ, हाफ् बढाइ अर्थात् कुप्रे कान्छा, पारूहाङ, छोरा पुसाइ, सेरे, इस्लामपुरे मिस्त्री, टिटि सर, लेटाङ्गे कान्छा-कान्छी, काजी भेना, श्रीमती शान्तिराज, सरकारको दलाल, सफाइकर्मी, वयस्क, सम्भ्रान्त महिला, भट्टु केटाहरू, लङ्गडो भिखारी, कुप्रो भिखारी, दार्जिलिङ, मने मगर, नाम्ग्याल बतिम, टासी, छुना, मगर्नी, समिरा सुब्बा, रिना, बुहारी, आदिलाई सफल प्रतिनिधि चरित्रका रूपमा लिन सकिन्छ । यी सबै पात्र-चरित्रहरू आ-आफ्नो वर्ग वा समूहलाई प्रतिनिधित्व गर्ने प्रकृतिका छन् । यी हाम्रै समाज वरिपरिका जीवन्त चरित्रहरू हुन् । आइ लभ दार्जिलिङ कथामा भने दार्जिलिङलाई नै मूल पात्र बनाइएको छ ।
कथाकार गुरुङ समय र समाज सचेत कथाकार हुन् । कथामा कतै संवाद, कतै धामीले बकेको अर्थात् बोलेको संवाद साङ्केतिक रूपमा देखाइएको छ । कथामा आवश्यकता र सन्दर्भअनुसार लेखकीय र चरित्रगत दुवै किसिमका भाषा प्रयोग गरिएको पाइन्छ । कथाहरूमा सब्तु, हिर्दोक, इस्लामपुरे मिस्त्री, एकान्तिक, छिप्पट जाँड़, एडहकको नोकरी,जेबीको ज्याकेट, मुग्धमार लोकल खट्टु, लुइतामे, पानफुल, ट्याकट्याके मोबाइल, म्हेम्हे, पानीगुण्डा, बुढाखाडा, कोरेन्टिन, जिउजनङ्गे, सिटापुल्ठो, सिमेन्टी मसला, बासिरी, बित्तोल, तइन, बाबुनी, दिव्याङ्ग, कोर्ने, रामधुलाइ, लङ्दुर, डौंठे औंला, कङकलाविधि, कपुरथान, फुँकेर आदिजस्ता ठेट तथा स्थानीय प्रचलित जनबोलीका शब्दहरू प्रयोग गरिएको छ । अतः कथाकार गुरुङले दार्जिलिङ पहाड र तराई-डुवर्स इलाकातिर प्रयोग गरिने स्थानीय शब्द, बोल्ने शैली तथा विविध जनगोष्ठीका बोली सुनेका हुनाले उनका कथामा यी सबै प्रकारका भाषाका व्यक्ति बोलीका शब्दहरू उतारेका छन् ।
====
मूल्याङ्कन-
भारतेली नेपाली साहित्यमा कथाकार प्रदीप गुरुङलाई एकजना सामाजिक यथार्थवादी, मनोविश्लेषणवादी, प्रयोगवादी तथा समय र समाज सचेत कथाकारका रूपमा सर्वपरिचित छन् । कथाहरूले दार्जिलिङलाई जुरुक्क बोकेका छन् । दार्जिलिङका कतिपय अविदित र अदेख सच्चाइहरू छर्लङ्ग रूपमा देखाइदिएका छन् । एक सब्तु सपनाका कथाहरू आफ्नै किसिमको विशिष्ट मौलिकता, चिन्तनशीलता, प्रयोगशील प्रवृत्ति, समाज-सांस्कृतिक विद्रूपको चित्रण, सामाजिक पर्यवेक्षण तथा नौलो शिल्प-शैली तथा स्वरूप र बान्की लिएर देखा परेको छ ।
====
सन्दर्भ विवरण-
छेत्री, राजकुमार (सन् २००९)-सिर्जनाको समावलोकन, दार्जिलिङ: गामा प्रकाशन
लामा, कविता (सन् २०१०)- अनुशीलन, दार्जिलिङ: माया प्रकाशन
प्रधान, सपन(सन् २०११)- कृति-कीर्ति, दार्जिलिङ: श्याम प्रकाशन
छेत्री, राजकुमार (सन् २०१८)-अक्षरहरूमा संवाद, दार्जिलिङ: मनमाया प्रकाशन
पौड्याल, नवीन (सन् २०२३)-साहित्य पोस्ट, अनलाइन साहित्यिक पत्रिका
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।