
विगत केही वर्षयता नेपालका प्रायः सबै वृत्तमा पटक पटक प्रयोग भइरहेको अथवा चल्तीमा रहेको शब्द हो ‘रूपान्तरण’ । राजनीतिक वृत्तका पुग्यो – राजनीतिक रूपान्तरणको मुद्दा बहसमा रहेको सुनिन्छ । सामाजिक परिवेशमा हेर्यो – सामाजिक रूपान्तरणको विषय अग्रपङ्क्तिमा उभिएको भेटिन्छ । कला, साहित्य, संस्कृति जहाँ जहाँ हेरौँ शब्दको एकोहोरो रटान लाग्छ रूपान्तरण – राजनैतिक रूपान्तरण, सामाजिक रूपान्तरण, सांस्कृतिक रूपान्तरण आदि आदि । तर अति गम्भीर विषय चैँ के छ भने जो जसबाट जहाँ जहाँ रूपान्तरणका विषयहरू उठान गरिएका छन् के तिनीहरू सबै “रूपान्तरण”को अन्तरवस्तुसँग परिचित होलान् त ? कि ‘रूपान्तरण’ जस्तो अति गहन र बोधगम्य विषयलाई सस्तो लोकप्रियताका लागि मसलाका रूपमा मात्र प्रयोग गरिएको छ ?
यी प्रश्नहरू मेरा मथिङ्गलमा बार बार बज्रिरहे जब म अङ्ग्रेजी साहित्य सिद्धान्तका विद्वान अरुण गुप्ताको हालै नेपाली भाषामा प्रकाशित कृति ‘संस्कृति चिन्तन’ माथि विचरण गरिरहेथेँ । जति जति सर्जक गुप्तोका शब्दहरूमा हराउँदै गएँ त्यति त्यति नै नेपाली साहित्य, राजनीति र संस्कृतिमा निर्माण गरिएका कतिपय भाष्यहरूमा म अधैर्य बन्दै गएँ । भाषा, कला, संस्कृति, राजनीति कुनै पनि क्षेत्रको सतही ज्ञान अथवा टिप्पणीले कुनै भाष्य निर्माण गर्न त सक्ला तर त्यसले समय, काल र परिस्थितिमा आफै परिमार्जन अङ्गिकार गरेको हुन्छ भन्ने शाश्वत विचारमा सर्जक गुप्तोका २९ ओटा निबन्ध लेखहरू परम्परित लेखनको अभ्यासभन्दा अलि फरक कोणबाट उपस्थित भएको पाएँ ।
संस्कृतिको निर्माण कुनै क्षणिक लहडबाट हुन असम्भव छ भन्ने उद्घोष बोकेका यी लेखहरूले हाम्रै समाजका यावत तत्त्वमाथि फरक कोणबाट प्रश्न गर्ने सामर्थ्य राख्दछन् । नायक-खलनायक, देवी विमर्श, पात्र-विमर्श, विश्वविद्यालय र सहर गरी चार खण्डमा विभक्त यी लेखहरूको अन्तर्य भने लगभग एउटै छ । त्यो हो – हरेक विषयवस्तु प्रश्न गर्न लायक हुन्छन्, प्रश्न गरिनु पर्दछ र सोही प्रश्नले नै त्यसको गहनता निर्माण गर्न सहयोग गर्दछन् ।
जहाँ प्रश्नको सामर्थ्य हुन्छ त्यहाँ संस्कृतिको निर्माण हुन्छ र विचार स्खलित हुन पाउँदैन भन्ने अन्तर्यमा पहिलो खण्डका लेखहरू रचित छन् । नायक र खलनायकको विमर्शमा सीमान्तकृत वर्गको वकालत गर्ने प्राध्यापक गायत्री स्पिभागलाई साङ्केतिक रूपमा प्रवेश गराएका गुप्तोको पारिजातको उपन्यास शिरीषको फूलको मुख्य खलपात्र सुयोगवीरको मूल्याङ्कन सामान्यतया: स्थापित साहित्यिक र सामाजिक मूल्याङ्कनलाई चोरी औलो ठड्याउने सामर्थ्यको पाइन्छ । तत्कालीन नेपाली समाज र प्रकृतिको निर्मम समीक्षा गर्न कै खातिर पारिजातले सुयोगवीरलाई त्यस्तो भूमिकामा प्रस्तुत गरेकी हुन् भन्ने तर्क सुयोगवीरको चरित्र चित्रणमा उभिएको छ । गुप्तो को सटिक टिप्पणी छ ः
“बरीलाई महत्त्वहीन रूपमा हेर्नु सुयोगको चरित्रहीन सुनियोजन हो ।” (पृष्ट ४१)
सुयोगवीरको वैयक्तिकीलाई पश्चिमी साहित्यका कतिपय स्थापित पात्रको कार्यशैली र चरित्रसँग राखेर विमर्श गर्नु आफैमा बहसको एक शृङ्खला हो ।
त्यसै गरी ‘आजका युवा, भोलिका कर्णधार’ भन्ने भाष्यलाई पनि प्रश्न गर्नु जरुरी देख्ने गुप्तोले बौद्धिक आँखाबाट ‘युवा’लाई चियाउने प्रयास गरेको पाइन्छ । हाम्रोमा ‘ब्रेन ड्रेन’ प्रतिको बुझाई मै समस्या रहेको देख्ने गुप्तोको निचोड छ :
“देश गरीब भए पनि हाम्रो युवामा गरिबी देखिँदैन ।” (पृष्ट ४७)
हरेक युवा आफ्नो समयको नायक हुनु पर्ने तर हाम्रो युवा केमा विलीन छ, समय मै बहस गरिनु जरुरी छ भन्ने गुप्तोको तर्क छ
‘हिरोको एउटा विशेषता हुन्छ । ऊ भीडमा पनि एक्लो हुन्छ ।’ (पृष्ट ५०)
भीडमा पनि एक्लो हुनु भनेको आफ्नै कमजोरी प्रति पनि असहिष्णु हुनु हो । आफै प्रति क्रूर हुन सक्नु निकै कठिन कार्य हो । कठिन परीक्षा हो । जो यस परीक्षामा उत्तीर्ण हुन्छ, ऊ मात्र सच्चा नायक हुनसक्छ । त्यस्तो निर्मम आत्मसमीक्षाका लागि आवश्यक हुन्छ त्याग, आहुति, धैर्यता र सहनशीलता । तर वर्तमानका तथाकथित नायकमा यी विशेषताहरू शून्य प्रायः रहेको टिप्पणी सर्जक गुप्तोको छ :
‘आज न त आहुतिको भावना छ न त नायक । छ त केवल मिडिया, माला अनि स्तुति । खासमा यिनै चिज नायक निर्माणका बाधक पनि हुन् । कसैले कसैलाई अक्षरहरूको पगरी गुथाइ दिँदैमा ऊ नायक हुँदैन । हो, कसैलाई ऊ नायक भएको भ्रम भने गराइदिन सक्छ ।’ (पृष्ट ५५)
यही यथार्थको वरिपरि नेपाली राजनीतिक व्यवस्था घुमिरह्यो विगत लामो समयदेखि । र सोही व्यवस्थाले निर्धारण गरिदियो सामाजिक, सांस्कृतिक मूल्य मान्यता पनि । परिणामतः हामी एक्काइसौँ शताब्दीमा आइपुग्दा सम्म पनि अझै रैती मै सीमित भइरहेका छौँ । इतिहासको खुल्ला मैदानमा खेल सामग्री जस्तै जब पटक पटक हामीलाई खेलाइरहियो; बजारिया बस्तुको मूल्यमा मानिसको उपस्थिति गराइरह्यो तब सर्जक गुप्तोको कलमले आक्रोश बोल्यो तः
‘के मानिस इतिहासमा फ्याँकिएको निर्जीव वस्तु हो ?’ (पृष्ट ६०)
अदूरदर्शी र असक्षम नायकको नायकीमा अझै रैती बन्नुपरेको यथार्थ माथि गुप्तोको टिप्पणी छ – यथार्थमा हामी को हो ? रैती या नागरिक । नागरिकले त आफूलाई विवेक र तर्कबाट निर्देशित गर्दछ । तर धरातलीय यथार्थमा के हामी नागरिक भैसकेका छौँ त ? गुप्तोको आशङ्का अति सङ्गिन छ ।
‘राजनीतिक परिवर्तनले हामीलाई शाब्दिक रूपमा ‘नागरिक’ त बनायो, तर हाम्रो हैसियत ‘प्रजा’बाट माथि उठेको छैन । नागरिक र नागरिकताको बुझाइ राहदानीको नम्बरले निर्धारण गर्न सक्दैन ।’ (पृष्ट ५६)
त्यसैले त हामी सदियौँदेखि रैती भइरहेका छाैँ । हिजो राजाले शासकका रूपमा, आज सांस्कृतिक, आर्थिक ठेकेदारका रूपमा अदृश्य शक्तिको हामीमाथि चरम शासन छ । तर हामी दृष्य-अदृष्य ती शासकका रैती बन्न मै मस्त छौँ । धेरै जसो हामीलाई यसको बोधसम्म छैन ।
यस यथार्थको बोधका लागि बौद्धिक बहस जरुरी हुन्छ जसलाई विश्वविद्यालयहरूले नेतृत्व गर्नु पर्दछ । तर गुप्तोको निष्कर्ष छ, हाम्रा विश्वविद्यालयहरू विश्वविद्यालय जस्ता छैनन् । यसमाथि राज्यको ठाडो पकड छ । त्यसैले यसबाट उत्पादित बौद्धिक जनशक्ति पनि रैतीभन्दा माथि उठ्न सकेको छैन । विश्वविद्यालयहरूमा वैचारिक बहस शून्य प्रायः छ । अनुसन्धान कर्मकाण्डी र सस्तो बजारिया कर्म बनेका छन् । यस विषयको गाम्भिर्यतामाथि संवेदनशील भएर तर्कशास्त्रको भरपुर उपयोग हुनुपर्ने हो तर त्यही निषेध छ । आत्मसमीक्षा हाम्रा विश्वविद्यालयको तर्क विज्ञानमा कहीँ कतै जीवित देखिँदैन अचेल । त्यसैले त गुप्तोको टिप्पणी छ तः
‘विश्वविद्यालय भनेको प्रश्न गर्ने ठाउँ हो ? त्यहाँ पनि प्रश्न गरिन्न भने कहीँ पनि गरिन्न । विश्वविद्यालयमा जस्तो पनि प्रश्न गर्न सकिन्छ । देउतालाई राक्षस र राक्षसलाई देउता भन्न सकिन्छ । (पृष्ट ६१)
तर सर्जक गुप्तोले भनेजस्तै के हाम्रा विश्वविद्यालयमा प्रश्न गर्ने वा प्रश्नलाई ग्रहण गर्न सक्ने सामर्थ्य छ त ? प्रश्न आफैमा गम्भीर र अनुत्तरित झैँ लाग्दछ ।
आफ्ना लेखहरूमा अत्यन्त तटस्थ र बौद्धिक बनेका गुप्तोका हरेक लेखहरूले विभिन्न कालखण्डमा नेपाली परिवेशमा घटेका घटना र पात्रलाई विश्व परिवेशको तराजुका राखेर एक बौद्धिक दृष्टिकोण प्रस्तुत गरेका छन् । नेपाली भू-राजनितिलाई नजिकबाट नियालेका गुप्ताको घोषणा छ – ‘यो समय राजनीतिक खलनायकहरूको हो ।’ (पृष्ट ७६) . त्यस्ता खलनायक जसले आफूले गरेका त्रुटि या हिंसालाई अर्काले गरेको त्रुटि या हिंसासँग दाँज्दछन् । र आफूले गरेको त्रुटिमा ग्लानि महसुस गर्नुको सट्टा चरम सन्तुष्टि प्राप्त गर्दछन् । (पृष्ट७९)
अर्कातर्फ देवी विमर्शमा एउटा लामो समय, शक्ति र सिर्जनाको खर्च गरेका गुप्तोका लेखहरूले वर्तमानमा हेर्ने गरिएको धर्म, संस्कृति, कला र तिनका प्रतीकहरूमाथि राम्रोसँग हस्तक्षेप गरेका छन् । नेपाली एक पक्षको जनजीवनसँग मात्र वस्तुगत रहेर विमर्श गर्ने हो भने पनि देवीको दार्शनिकता निकै फराकिलो रहेको गुप्तोको निष्कर्ष छ । धर्म र संस्कृतिमा निर्माण र विनिर्माणको चक्र सदैव चलिरहने यथार्थलाई आत्मसाथ गरेका गुप्तोको बुझाइ छ :
‘कार्ल मार्क्सले धर्मबारे टिप्पणी गर्न निकै हतार गरेका हुन् ।’ (पृष्ट ८८)
धर्मलाई विज्ञानको र विज्ञानलाई संस्कृतिको झ्यालबाट पनि हेरिनु पर्छ भन्ने तर्कलाई आजको एक्काइसौँ शताब्दी सुहाउँदो तर्क विज्ञानसँग जोडेर गुप्तोले देवीका विविध रूप र स्वरूपमाथि धारिलो दृष्टिकोण पस्किएको पाइन्छ यी हरेक आलेखहरूका । माया, करुणा र क्रोध यी तिनैको सम्बन्ध मानव जीवनसँग छ भन्ने गुप्तोको तर्क छ -ः
‘शरीरलाई नबुझे धर्मलाई बुझ्न सकिँदैन । धर्म आध्यात्मिकताको शास्त्रबाट मात्रै बनेको हुँदैन ।’ (पृष्ट १२४)
धर्मलाई निषेधको साँघुरो परिधीमा बाँध्नाले नै सांस्कृतिक विचलन आउने र त्यसले सामाजिक द्वेष र विखण्डनमा भूमिका खेल्ने कुरामा बौद्धिक जगत् सचेत रहनुपर्ने यथार्थको वरिपरि गुप्तोका विमर्शहरू छन् भन्ने तर्कको पुस्ट्याइँ हो पात्र विमर्श खण्ड । इतिहासका विभिन्न पात्रलाई समय र चुनौतीको कठघरामा उभ्याएर उसका यावत पक्षको केस्रा केस्रा मूल्याङ्कनमा गुप्तोले खर्चिएका शब्दहरू हुन् यी ।
चाहे कथा, उपन्यासका पात्र हुन । चाहे देश, समाज र परिवेशका पात्र हुन् । तिनले गरेका हरेक गतिविधिलाई बौद्धिक विमर्शमा उतारेका गुप्तोले तथ्यको नजिक पुगेर त्यसलाई केलाउने प्रयास गरेको पाइन्छ । राष्ट्र, राष्ट्रियता र राष्ट्रवाद आम जनमानसमा बिकाउको अत्यन्त सस्तो एजेन्डा बनाइएको प्रति गुप्तोको असन्तुष्टि स्पष्ट देख्न सकिन्छ :
‘जब मान्छेले केही काम गर्नु छैन, राष्ट्रको चिन्ता छैन, विकासको चिन्ता छैन, उ राष्ट्रवादी बन्छ ।’ (पृष्ट १३८).
हाम्रा राजनीतिक पात्र र तीनको चरित्रमा आएको उदाङ्गोपन पनि गुप्तोको कलमबाट लुक्न सकेको छैन । राष्ट्र सञ्चालक र संरक्षकहरूको बहुलठ्ठीपन प्रति गुप्तोको रोष छ :ः
‘घर परिवार वा टोलमा झगडा भएपछि म फलानोसँग बोल्दै बोल्दिनँ भने जस्तो गरेर हुँदैन देश देशबीचको सम्बन्धमा ।’ (पृष्ट १३७)
यस्तो अपरिपक्वताका पछाडि राजनैतिक नेतृत्वले राजनीति, कला र संस्कृतिलाई समानान्तरमा बुभ्mन नसक्नुमा छ भन्ने गुप्तोले डेमोक्रेसीको परिभाषा कलाको सम्मिश्रण भित्र खोजेको पाइन्छ । डेमोक्रेसीको परिभाषामा चुनाव मात्र बुझ्नु नै एक अभिशाप ठान्ने गुप्तोको तर्क छ ः
‘संसारको राजनीतिक परिदृश्य हेर्दा डेमोक्रेसीलाई खतरामा ल्याउने दुई वटा पक्ष देखिन्छन् । पहिलो, लामो समयसम्म शासन गरिरहने मोह । दोस्रो, विज्ञानलाई अस्वीकार गर्ने चिन्तन ।’ (पुष्ट १४९)
डेमोक्रेसीले विज्ञानलाई आत्मसात् गर्न किन जरुरी छ भने विज्ञान आफ्नो पद्धतिलाई समेत आलोचना गर्दै अगाडि हिँडिरहन्छ । र त्यही आलोचना आत्मसात्को अभाव डेमोक्रेसीमा छ । त्यसैले त डेमोक्रेसी एक प्रकारको संस्कृति हो जो निरन्तर निर्माण र विनिर्माणको चरणबाट गुज्रेको हुन्छ । र संस्कृतिको त्यो तरलता बुझ्न सकिएन भने यसको जगेर्ना पनि असम्भव प्रायः छ । यस तथ्यमा सर्जक गुप्तोको स्पष्ट मत छ कि ‘संस्कृति जहिल्यै धरापमा हुन्छ’ (पृष्ट १६५) । आदिम संस्कृति अहिलेको बहुकम्पनी संस्कृतिमा एकादेशको कथा जस्तो भइसकेको तर्क अघि सार्दै गुप्तोले हाम्रो संस्कृतिको ठिमाहापनलाई मिहिन ढङ्गले केलाएको देखिन्छ संस्कृति चिन्तनमा ।
विभिन्न संस्कृतिको निर्माणमा मिथकको प्रयोग यथेष्ट हुने गरेको दृष्टान्त यस पुस्तकभित्रका प्राय हरेक लेखमा भेट्न सकिन्छ । सुदूर बस्तीहरूमा प्रचलित कतिपय चलनहरू नै आज मानिँदै आएका स्थापित संस्कृतिहरूका जग हुन् तर अवैज्ञानिक अथवा अन्धविश्वासी मानिएका तिनै प्रचलनका नदेखिएका पाटोबाट संसारलाई परिभाषित गर्ने दृढता सर्जक गुप्ताको कम आँटिलो कर्म पक्कै होइन । समाजमा प्रचलित तिनै परम्पराहरू मानव जीवन र परिवेशका साक्षी हुन् या होइनन् भन्ने खुट्याउन पनि हरेक कार्यकलापको तटस्थ समालोचना हुनु आवश्यक देख्ने सर्जक गुप्तो नेपालमा समालोचनाको एउटै पनि राम्रो र मौलिक पुस्तक नपाएकामा अत्यन्त चिन्तित भएको पाइन्छ । र त्यो हुन नसक्नुमा फेरि पनि गुप्तोको रोष भने विश्वविद्यालय र यसको पद्धतिसँग नै छ ।
यसरी हेर्दा विद्वान अरुण गुप्तोको संस्कृति चिन्तन बहस केन्द्रित विचारहरूको पुञ्ज हो । त्यसो त सर्जक स्वयम्ले भने जस्तो यी विचारहरूको पनि निर्मम समीक्षा हुनु जरुरी होला । तर हरेक कुराका प्रश्न गरिनुपर्छ भन्ने गुप्तोका लेखहरूले वर्तमान नेपालको हरेक प्रणालीमा थुप्रै प्रश्नहरू उब्जाएका भने पक्कै छन् ।
हाल नेपालको हरेक वृत्तमा देवत्वकरण र दानवीकरणको अनन्त शृङ्खला देख्न पाइन्छ । त्यसैगरी कला, साहित्य र संस्कृतिलाई सङ्कीर्ण घेराबाट परिभाषित गरिनाले यसको नेपाली मौलिकपन र अन्तर्य धुमिल हुँदै गएर अर्कै अन्तर्यमा घुलित भएको दृष्टान्त छ । विश्वविद्यालय राजनीतिको साँघुरो घेराका सास फेरिरहेको अवस्था छ । जैविक-अजैविक शक्तिको परस्पर द्वन्द्वमा पर्यावरण र जीवनको अन्योन्याश्रित सम्बन्धमा दरार उत्पन्न भएको छ । यस्तो बेलामा बहसको प्रचुर प्रयोग गरेर जनजीवन र जनजीविकालाई दृश्यमा उतार्नुपर्ने शैक्षिक, राजनैतिक, आर्थिक र सामाजिक नायकत्व लिएकाहरूको खलनायकी उदाङ्गो उल्टिएको प्रति गुप्तोको कलम अलि असहिष्णु हुनु स्वाभाविक हो ।
हुन त बौद्धिक उँचाइ लिइसकेका एक गुरुको लेखनीमा उनकै शिष्यले टिप्पणी गर्ने सामर्थ्य राख्छ राख्दैन थाहा छैन । तर संस्कृति चिन्तन पढिरहँदा एक पाठकका नाताले कतै कतै केही कुराहरू भने खड्किएको आभास हुन्छ नै । गुरुको लेखाइ हो भनेर मैले ती कुराहरूलाई नजरअन्दाज गरेँ भने भोलि गुप्तो गुरुबाटै मैले गाली खानेछु । यो मलाई राम्ररी थाहा छ । किनकि गुप्तो गुरुलाई सिर्जनात्मक गाली खुब मन पर्छ ।
एक पाठकका नाताले मेरो गुनासो यत्ति मात्र हो कि यति राम्रो बौद्धिक खुराक सार्वजनिक गर्नुअघि बरु २-४ दिन ढिलो गरेर थोरै सम्पादन गर्न पाएको भए कति उत्तम हुन्थ्यो होला । हुन त अङ्ग्रेजीका विद्वान गुप्तो गुरुको नेपाली भाषामा प्रकाशित यो पहिलो कृति हो तर यो पहिलो सिर्जना भने होइन । टङ्कण र मुद्रण दोषलाई छाड्ने हो भने पनि ठाउँ ठाउँमा देखिने भाषिक विचलनले बौद्धिक लेखको गरिमालाई अलि हलुको त बनाई रहेको छैन भन्ने चिन्ता आम शुभचिन्तकलाई पक्कै हुनेछ यो कृति पढिरहँदा ।
यसका साथै यदाकदा वाक्यांश पुनरावृत्ति हुनु सामान्य कुरा हो तर ठाउँ ठाउँमै पुरै वाक्य, वाक्यहरू र अनुच्छेद नै पुनरावृत्ति हुनुलाई संयोग मात्र मान्न सकिने अवस्था रहँदैन । यो पक्कै पनि सम्पादनका क्रममा भएको हतारो हो भन्ने पाठकीय बुझाइ छ, जुन एक विद्वान लेखकबाट आम पाठकले अपेक्षा गरेको हुँदैन ।
यी र यस्ता त्रुटिहरूलाई सामान्यीकरण गर्ने हो भने गुप्तोद्वारा रचित संस्कृति चिन्तन यो समयको समालोचकीय चिन्तन हो, तर्क शास्त्रीय दर्शन हो र नजरअन्दाज गरिएका विषय र पक्षहरू माथिको बहस र दस्ताबेज हो भन्ने कुरामा विमति नरहला । सङ्कलित लेखहरूका शीर्षकहरू मात्र सङ्कलन गर्ने हो भने पनि वर्तमानलाई बुझ्न धेरै सहज हुन्छ ।
अन्त्यमा, यत्ति चैँ भन्न मन लाग्यो ।
गुप्तो सर, तपाईं नै भन्नुहुन्थ्यो नदी सभ्यता हो, नदी संस्कृति हो । आज तपाईं कै लेख पढेँ “नदीहरूको मृत्यु” जहाँ तपाईंको उद्घोष छ “काठमाडौँका नदीहरूको मृत्यु भइसकेको छ” (पृष्ट २०९) । मन कटक्क खायो, मस्तिष्कमा धेरै ज्वारभाटाहरू उत्पन्न भए । सोच्दै छु, के साँच्चिकै नदीहरूको मृत्यु भएकै हो त ? कि तिमीहरू दूषित मात्र भएका हुन् ! अथवा भनौँ नदीको आदिम रूपलाई परिवर्तन गर्ने मानव दुष्कर्म हाबी भएको हो ।
यो शिष्यले, यो पाठकले अझ बढी यस विषयको अन्तर्यमा बौद्धिक बहसको अपेक्षा गरेको छ । माफ गर्नुहोला, खुकुरी भन्दा कर्द लाग्ने हुन खोजेको भने पक्कै होइन ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

