
असमको राजधानी गौहाटीकी एक विदुषी डा. शान्ति थापा (१९६१-२०२०) नेपाली साहित्यमा एक उल्लेखनीय नाम हो । उनको जन्म गौहाटीको शान्तिपूर भन्ने ठाउँमा भएको हो । उनी एक जाँगरिली लेखक, एउटी साहित्य अध्येता र बहुभाषी व्यक्तित्व थिइन् । उनी हिन्दी साहित्यमा विद्यावारिधि गरी गौहाटीको एउटा महाविद्यालयमा हिन्दी विषय पढाउँथिन्। यद्यपि उनको सेवाको लक्ष्यभाषा नेपाली हो।

डा. शान्ति थापा
उनका प्रकाशित पुस्तकहरूमा ‘माया’ (गीतसङ्ग्रह २००४), ‘आवर्तन’ (कथा सङ्ग्रह, २००७), ‘असमेली नेपाली कथायात्रा’ (सम्पादित २००८), ‘मोहनी डट कम’ (उपन्यास २००९) । उनी ‘हाम्रो ध्वनि’ मासिक पत्रिकाको सम्पादकको रूपमा रहेकी थिइन् । गौहाटी विश्वविद्यालयद्वारा सञ्चालित दूरशिक्षा निर्देशनालय अन्तर्गत स्नातकोत्तर नेपाली विषयको पाठ्यपुस्तक निर्माणको मूल संयोजकसमेत रहेकी थिइन् । उनले विभिन्न प्रान्तमा भारतीय नेपाली नारी लेखकको रूपमा धेरैवटा कार्यपत्र प्रस्तुत गरिसकेकी छन् । पुरस्कारको हकमा उनले ‘नामघरे’ उपन्यासका लागि २००२ – मा ‘साहित्य अकादमी अनुवाद पुरस्कार’ प्राप्त गरेकी थिइन् ।
यसैगरी साहित्य सेवाका निम्ति ‘सञ्जयनारायण प्रधान स्मृति स्वर्णपदक’ (१९९८). आवर्तन’ कथासङ्ग्रहका निम्ति ‘टङ्कनाथ स्मृति पुरस्कार (२००८) र ‘गुञ्जन प्रतिभा पुरस्कार पाएकी छन् ।
‘हाम्रो ध्वनि’ नेपाली पत्रिकाबाहेक उनले हिन्दी पत्रिकाहरूको पनि सम्पादन कार्य गरेकी छन् । ‘लोहित घाटी की कहानियाँ (सम्पादन), ‘अन्तरङ्ग’ पत्रिकाको नेपाली कथा विशेषाङ्कको अतिथि सम्पादक, ‘रङ्गघर’ पत्रिकाको नेपाली साहित्य संस्कृति विशेषाङ्क तथा दस्ताबेज’ पत्रिकाको असम विशेषाङ्कको सम्पादन गरेकी छन् । यसैगरी ‘मृण्मय’ बहुभाषी शोध पत्रिका र ‘पूर्वा’ को सम्पादन पनि गरेकी छन् ।
यसरी हेर्दा डा. शान्ति थापा एक कथाकार, गीतकार, उपन्यासकार, अनुवादक, सम्पादक, समालोचक र एक साहित्यिक अध्येताका रूपमा प्रस्तुत छिन् । ‘असमेली नेपाली कथा – यात्राको भूमिकामा डा. थापाले असममा नेपाली कथाको लेखन परम्परा, कथाकारका कथागत प्रवृत्ति र नेपाली कथाको विशिष्टतामाथि गम्भीर चिन्तन-अध्ययन प्रस्तुत गरेकी छन् । उनी हरेक दिन नै नेपाली साहित्यमाथि केही न केही चिन्तन, लेखन, अध्ययनमा डुबेकी हुन्थिन् ।
उनी एक कुशल उपन्यासकार, कथाकार, गीतकार समालोचक हुन् । यिनको जन्म ९ जनवरी, १९६१ मा माधवदेव पथ, दुर्गा सरोवर, गौहाटीमा भएको हो । यिनका बाबुआमाको नाम स्व. कालु थापा र श्रीमती यशोदादेवी हो । उहाँ राधा गोबिन्द कलेजकी हिन्दी विभागमा प्राध्यापन गर्दै डिसेम्बर, २०२० मा सेवानिवृत्त भएकी थिइन् । उनले हिन्दी साहित्यमा उच्च अध्ययन गरेकी थिइन् । उनले हिन्दी र नेपाली रोमान्टिक कविताहरूको तुलनात्मक अध्ययनमाथि पिएचडी गरेकी थिइन् । उनी कोलाज आन्दोलनसित पनि प्रत्यक्ष रूपमा संलग्न थिइन् । यसका मूल अविनाश श्रेष्ठ, नवसापकोटासित पनि यसको विभिन्न कार्यक्रमतिर सरिक हुन्थिन् ।
यिनीद्वारा सम्पादित ‘असमेली नेपाली कथा-यात्रा’ अत्यन्त गहकिलो सन्दर्भ-ग्रन्थ प्रकाशित छ । यिनले उक्त ग्रन्थको सम्पादन गर्दा असमेली नेपाली कथाको सर्वेक्षण र प्रवृत्तिहरू खुट्याई प्रायः प्रमुख कथाकारको मूल्याङ्कन गरिएको छ। यसबाहेक ‘समन्वयकी साँघु : गीता उपाध्याय’ (२०१४), ‘अस्मिताका कवि नवसापकोटा’ (२०१५) जस्ता साहित्यकार मूल्याङ्कन ग्रन्थहरूको सम्पादन पनि गरेकी थिइन् । सर्वेक्षणात्मकता, विषयवस्तुगत सूक्ष्म निरीक्षण, तथ्यात्मकता, इतिहासपरकता आदि उनका समालोचकीय गुण हुन् । यिनी मूलतः हिन्दीमा आफ्नो उच्च अध्ययन गरेकी हुनाले हिन्दीमा पनि समालोचना लेखेकी थिइन् ।
उनी एक कुशल अनुवादक थिइन् । उनले केही पुस्तकलाई हिन्दी र असमीयबाट नेपालीमा अनुवाद गरेकी थिइन् । उनले अनुवाद गरेको नामघरे उपन्यासले साहित्य अकादमीको अनुवाद पुरस्कार पाएकी थिइन् । यसबाहेक उनले अस्तराग उपन्यासको पनि असमीयबाट नेपालीमा अनुवाद गरेकी थिइन् । यी दुई उपन्यासमा पनि यिनको लेखन सिप झल्किन्छ । उनले भारत के स्वाधीनता आमन्दोलन में पानवारी रेल दुर्घटनाको हिन्दी अनुवाद, लोहित घाँटीकी कहानियाँ आदिको सम्पादन गरेकी छन् । उनले हिन्दी पत्रिकका अन्तरङ्गको नेपाली कथा विशेषाङ्क, रङ्गघर हिन्दी पत्रिकाको नेपाली साहित्य संस्कृति विशेषाङ्क तथा दस्तावेजको असम विशेषाङ्कको सम्पादन र मृण्मय हिन्दी पत्रिकाको सम्पादन कार्य गरेकी थिइन् । हिन्दीमा काम गरे पनि विषय त नेपाली साहित्य हुन्थ्यो । उनी अन्य हिन्दी भाषी पाठकलाई नेपाली भाषा साहित्य र जाति चिनाउन कम्मर कसेकी थिइन् ।
सन् २००९–मा´ अनुराग प्रकाशनको प्रकाशकत्वमा प्रकाशित उनको ‘मोहनी डट् कम्’ एक विशिष्ट र प्रयोगशील उपन्यास हो । जम्मा बीसवटा अध्याय र १९२ पृष्ठहरूमा आबद्ध प्रस्तुत उपन्यासले नेपाली साहित्यमा एक उल्लेखनीय स्थान ओगट्न सफल बनेको छ । यस उपन्यासको भूमिका खण्डदेखि नै कथावस्तुको थालनी भएको छ, औ यही भूमिका प्रसङ्गले गर्दा उपन्यास अधिख्यानात्मक बन्न पुगेको छ ।
भूमिकामा नै उपन्यासकारले एउटा सौरभ श्रेष्ठ नामका एक युवकले उपन्यासकारलाई एउटा डायरी सम्पादन प्रकाशन गर्ने जिम्मेवारीसहित डाकद्वारा पाइदिएको हुन्छ औ उपन्यासचाहिँ यही डायरीभित्रको कथावस्तुलाई आधार बनाइ प्रस्तुत गरिएको छ। उनको मोहनी डट कम उपन्यासमा नयाँ शिल्प र शैली प्रयोग गरी यसलाई रोचक बनाएकी छिन् । असमको सामाजिक ऐतिहासिक, समसामयिक पक्षहरूलाई नजिकैबाट केलाएर प्रस्तुत गर्दै त्यसमा स्वैरकल्पनाको प्रयोग पनि गरेकी छन् । असमेली नेपाली उपन्यासमा यसले ठुलो नाम राखेको छ। धेरै समीक्षित र चर्चित बनेको छ।
‘मोहनी डट्कम्’ मूलतः एक यथार्थवादी उपन्यास हो। यसमा विशेष गरी एउटा युवकको दृष्टिकोणबाट असम राज्यको सामाजिक, आर्थिक, सांस्कृतिक, साहित्यिक, राजनैतिक, भौगोलिक, ऐतिहासिक, शैक्षणिक आदि परिवेशको झलक पाइन्छ।
अझ यसमा विशेष गरी असीकाे दशकमा असममा चलेको अतिवादी ‘विदेशी बहिष्कार’ वा ‘भूमिपुत्र आन्दोलन’को पिरो धुवाँले पिरोलिएका नेपालीहरूको तीतो यथार्थलाई प्रखर रूपमा दर्शाइएको छ। त्यहाँका केही भूमिगत उग्रवादी सङ्गठनहरूले कसरी रैथाने नेपालीहरूलाई असमबाट धपाउनु, गाउँ-घर जलाइदिनु, छोरी-चेलीको इज्जतको हुर्मत लिनु, अपहरण र हत्या गर्नु जस्ता कुतसित कुकृत्य गरेको कहालीलाग्दो घटनाहरूलाई नजिकैबाट निरीक्षण गरी प्रस्तुत गरिएको छ। त्यस्तो अवस्थामा हाम्रा नवयुवक, विद्यार्थी वर्गलगायत अरू सबैले त्यसको प्रतिवाद र प्रतिरोधको कार्यक्रम सञ्चालन गरी जनतामा जागरणको आन्दोलन सम्पन्न गरेको कुरो तथ्यगत रूपमा प्रस्तुत छ।
असमको तेल उत्पादन क्षेत्र डिग्बोई दुलियाजान इत्यादि ठाउँहरूको स्थलगत सर्वेक्षण गरिएको छ। त्यहाँको तेल कम्पनीका इञ्जिनियरको हत्या, कर्मचारीको आत्महत्या, अपहरण काण्ड तथा तेलकुवामा लागेको आगलागी काण्ड, हरिभक्त कटुवालको बिरामी र मृत्यु प्रसङ्ग इत्यादि जस्ता पक्षहरूलाई नजिकैबाट यथार्थपरक चित्रण गरिएको छ । ‘मोहनी डट् कम्’ उपन्यासमा ऐतिहासिक तथ्यहरूलाई देखाइएको छ।
यसमा जातीय सङ्कटको व्यापक सर्वेक्षण गरिएको छ। विशेष गरी सन् १९७९ देखि सन् १९८३-८४ सम्म असममा चलेको विदेशी बहिष्कारको आन्दोलनले हाम्रो ठुलो नोक्सानी भएको थियो। सम्पूर्ण असमभरि यसको व्यापक प्रभाव परेको थियो।
प्रस्तुत उपन्यासमा पनि दुलियाजन, डिगबोई बापापुङ, डिहिङ आदि स्थानतिर उपवादी सङ्गठनहरूले आतङ्क फैलाएका कुरा देखाइएको छ। त्यसको प्रतिवादमा हाम्रा विभिन्न सङ्गठनहरूले पनि दुलियाजान र डिगबोईतिर खुकुरी जुलुस गरी केही मत्थर पारेको तथ्य प्रकाश हुन्छ। नवयुवकहरू साइकल र बाइकहरूमा जातीय जागरणको अभियान चलाएको, असमका उग्रवादी सङ्गठनमा हाम्रा केही युवाहरू पनि संलग्न भएको तथ्य प्रस्तुत छ।
म पात्र सौरभलाई एक प्रकारले अपहरण गरी अनकन्टार जङ्गलको भूमिगत क्याम्पमा लगिएको र त्यहाँ कोही मेघबहादुर सुनार भन्ने नेपाली युवक पनि असम राष्ट्र मुक्ति आन्दोलनका नाममा चलेको एउटा सङ्गठनको एउटा छापामार कमान्डरको रूपमा रहेको कुरो उल्लेख छ। त्यस्ता किसिमका आन्दोलनमा हाम्रा युवकहरू पनि सरिक थिए थिएनन्, अनुसन्धानको – विषय बनेको छ ।
यस उपन्यासमा तायिक यथार्थवादका अतिरिक्त प्रेमपरक यथार्थलाई पनि झकझकाइएको छ । प्रेमका नाममा वासना पनि छ: पागलपन पनि छ । उपन्यासको नायक सौरभको जीवनमा दिनु, माया, सुधा र सुगन्धाजस्ता युवतीहरू प्रेमिकाका रूपमा देखा पर्छन् औ बिछोड भई ओझेल पनि हुन्छन् । ती प्रेमिकाहरूप्रति सौरभको स्वाभाविक यौनासक्ति र आकर्षण तथा बिछोडको वेदनालाई यथार्थ रूपमा अभिव्यक्त गरिएको छ। यसरी समग्रमा हेर्दा ‘मोहनी डट् कम्’ एउटा यथार्थवादी उपन्यास हो।
‘मोहनी डट् कम्’ उपन्यासमा साना ठुला गरी धेरै घटनावली रहेका छन्। कथाहरू खापमाथि खाप रहेका छन्। सौरभको कथासङ्ग्रहको विमोचन कार्यक्रममा सुगन्धा नामकी युवती पुग्नु र त्यहाँ सौरभ ऊप्रति एक प्रकारले आसक्त हुनुबाट उपन्यास सुरु भई सुगन्धाकै सामीप्यमा उपन्यास समाप्त भएको छ, यद्यपि बिचमा अरू धेरै कथाहरू जेलिएका छन्।
सौरभ र सुधाकी प्रेमप्रसङ्ग, सुधाले बिहे प्रस्ताव राख्दा सौरभले नमान्नु, त्यसपछि सुधा अल्पिनु, सन् १९७१ मा एउटा दुर्घटना कारण असमभरि उग्रवादी आन्दोलनको सुरुवात, चारैतिर आतङ्क फैलिएको, हरिभक्त कटुवाल बिरामी भएको खबर हुनु र त्यसको इलाजका लागि केही स्वयम् सेवकहरूसँग सौरभ पनि चन्दा उठाउन जानु र कटुवालको निधन भइहाल्नु, त्यस चन्दा सङ्ग्रह टोलीलाई पनि असमेलीले शङ्का गरी खेद्नु, डिगबोईतिर नेपाली परिवारका गाउँ नै जलाइदिनु र यसको विरोधमा नेपालीहरूले खुकुरी जुलुस गर्नु, सौरभका पिताप्रति श्रद्धाभाव उसकी दिदीको प्रेम प्रसङ्ग र विवाह, बिहेपछि भेनाले अर्की ल्याएर विद् पलायन हुनु, दिदीहरू बिल्लिबाठ हुनु तर एक दिन पति आउँदा दिदीले माफ दिनु, बिनुसितको प्रेमप्रसङ्ग र बिछोड इत्यादि अनेकौँ कथा-उपकथा उपन्यासभित्र समावेश छन्।
प्रस्तुत उपन्यासमा नारीलाई महिमाशाली देखाइएको छ। सुधाको सौरभसित प्रेम हुँदा घरबाट सुधालाई अन्य युवकसँग बिहे गर्न चाप आउँछ। सुधा प्रेममै अडिग रही सौरभलाई बिहे गर्ने प्रस्ताव राख्छे तर सौरभले उसलाई बिहे गर्ने आँट गर्दैन। सुधा लाचार भई ठिक पारिएको केटासँग बिहे गर्छे।
सौरभकी दिदीको भने दुःखलाग्दो स्थिति छ। लोग्नेले जति वटा बिहे गरे पनि स्वास्नीचाहिँ त्यही लोग्नेको सतमा बस्नुपर्ने, आफूलाई बिल्लिबाठ पार्ने लोग्ने धेरै पछि घर आउँदा खुसी हुने सबै क्षमा गर्ने, सौरभले भेनालाई कुटपिट गर्न खोज्दा दिदीले रुँदै भेनाको पक्षमा माफ माग्नु. यसैमा नारीको कमजोरी र शक्ति निहित छ भनी निक्यौल गर्नु जस्ता कुरा उल्लेख छन्।
उपन्यासमा जीवनमा जे जे कुरा आइपर्दछन्, प्रायः सबैको निरीक्षण गरिएको छ । सौरभको घर परिवारको पृष्ठभूमि, बाबुसित सिद्धा सम्बन्ध, बाबुले पनि छोरालाई मित्रवत् व्यवहार गर्ने, स्कुले विद्यार्थी र कलेजियन विद्यार्थीका रूपमा सौरभको एक प्रकारको जीवन, त्यसपछि उसको अलमस्तीपन, दिनरात रक्सीको ह्याङओभर बिनु साथी भाइको प्रिय हुनु सहयोग गर्न हरदम तत्पर हुनु आदि उसका व्यक्तित्वका विविध पाटाहरू हुन्।
उपन्यासमा कथावस्तुभन्दा चरित्रचित्रण पक्ष बढी प्रबल छ। यहाँ पात्रबहुलता छ। सौरभले जीवनमा विद्यार्थीकाल – बालककालको आनन्द पायो। असममा चलेको अतिवादी आन्दोलन पनि भोग्यो, यसको प्रतिवादी कार्यक्रम पनि गर्यो, प्रेमका मिलन र बिछोड दुवैको अनुभव गर्यो र पछि पछिबाट आफ्नो अलमस्ती जीवन पनि भोग्यो। जीवन भन्नु नै अनुभवको सार हो। उसले देखेका भोगेका बुझेका पाएका हरेक कुरा नै जीवनगत समष्टि रूप हो।
उपन्यासको एउटा सरल बरूवा भन्ने व्यक्तिले छोरी तनयाको क्षणिक यौनावेशमा कमजोरीका कारण घरिघरि युवक प्रेमी बदली गर्ने बानीले गर्दा आत्महत्या गर्छौ। त्यसै गरी सौरभको मित्र धीरूले पनि लक्ष्मीसित क्षणिक यौनभोग गर्छ। यही यौन पनि कहिले काहीँ मानिसको दुःखको कारण बन्न पुगेको हुन्छ। यसर्थ, संसार नै दुःखको मूल हो भन्ने दर्शन प्रस्तुत छ। यसमा ईश्वर चिन्तन पनि छ। ईश्वरप्रति आस्था-अनास्था दुवै व्यक्त छन्। यो पनि मानिसको जीवनको परिस्थितिमाथि निर्भर हुने कुरा हो। ईश्वर आस्थाभन्दा नैतिकताको बडी भूमिकामय छ जीवनजगत्मा। सौरभले नैतिकता-अनैतिकता दुवै देख्यो। यसर्थ, प्रस्तुत उपन्यासको बुनोट र संरचना पक्षभन्दा वैचारिक र दार्शनिक पक्ष बढी प्रबल छ।
‘मोहनी डट कम’ उपन्यासलाई प्रयोगवादी उपन्यासका रूपमा प्रस्तुत गर्न सकिन्छ। यसमा अधिख्यानका साथै स्वैरकल्पना, पूर्वद्वीप्तिः प्रकृतवाद जस्ता शैली र प्रवृतिहरू प्रयोग गरिएको छ। उपन्यासको भूमिकामा उपन्यासकार स्वयमले अर्काको डायरीभित्र वर्णित कुराहरूलाई लिएर यो उपन्यास तयार पारेको भन्ने जानकारी दिइएको छ उपन्यासमा घरि प्रथम पुरुष र घरी तृतीय पुरुष दृष्टिबिन्दुको प्रयोग छ, जो दृष्टिबिन्दु परिवर्तनको प्रविधि अपनाएको छ। प्रायः अध्यायमा प्रथम पुरुष दृष्टिकोण छ भने एघारौँ अध्याय भने ‘ऊ’ पात्र पाइन्छ।
अझ भनौं भने भूमिका खण्डदेखि नै उपन्यास सुरु भएको छ। यसमा वास्तविकता र काल्पनिकताको मिश्रित रूप दिइएको छ। औपन्यासिक कथालाई नै वास्तविक कथा र वास्तविक कथालाई नै औपन्यासिक काल्पनिक कथाको रूपमा प्रस्तुत छ। यसमा सौरभको डायरीभित्र वर्णित वास्तविक झैँ लाग्ने कथा नै उपन्यासको रूपमा प्रस्तुत छ। यसै गरी यस उपन्यासमा अतीत पक्ष नियाल्दै भविष्यको पनि काल्पनिक तर्जुमा गरिएको छ। उपन्यासको अन्तमा सुगन्धा र सौरभले असममा नेपाली जातिको सङ्ग्रहालय खोल्ने परियोजना काल्पनिक रूपमा राखिएको छ अन्तको स्वैरकल्पनाले उपन्यासलाई अर्कैतर्फ मोडिदिएको छ।
प्रस्तुत उपन्यासमा केही मात्रामा विसङ्गतिवादको पनि प्रयोग गरिएको छ अर्थात् विसङ्गतिवादी धारणाले पनि प्रस्तुत उपन्यासलाई छुट्टै रूपमा नियाल्न सकिन्छ। यसमा जीवन र जगतलाई निस्सार र विसङ्गतिको रूपमा झल्काइएको छ। सौरभले चार-चारवटी युवतीहरूसँग प्रेम गर्छ र सबै बिछोडिन्छन्। असमको उग्र जातीयतावादी आन्दोलनले तहसनहस पारेको विसङ्गत स्थितिको वर्णन छ। जीवनमा मर्नु र बाँच्नुको कुनै निर्धारित कार्यक्रम हुँदैन। अनाहकमा निर्दोष मानिसहरू आतङ्ककारीको हातबाट मारिन्छन्। छोरीको चर्तिकलाकै पिरले बरुवाले आत्महत्या गर्छ। हरिभक्त कटुवालको इलाजको निम्ति उठाइएको चन्दाको राशि कटुवाल परिवारमा दिन नपाई कटुवाल मरेको खबर आउँछ। जीवनमा यसो गरुँला, उसो गरुँला भन्ने चाहना सबै निस्सार छन्।
यसरी हेर्दा डा. शान्ति थापाको प्रस्तुत उपन्यासमा जीवन-जगत्बारे विभिन्न दर्शन व्यक्त गरिएको छ । असमको प्राकृतिक सौन्दर्य, तेलखानी र त्यसको कारखानामा काम गर्ने कारिगरहरूको स्थिति, उनीहरूको आशा-निराशाका भावहरूलाई नजिकैबाट हेरिएको छ । सौरभ र राङली नदीबिचको भावात्मक सम्बन्धलाई मानव र प्रकृतिबिचको प्रत्यक्ष-परोक्ष तादात्म्यताका रूपमा हेर्न सक्छौँ । यसरी नै यसमा जातीय जागरणको चेतना, असमको इतिहासको एउटा कलङ्कको रूपमा रहेको विदेशी हटाओ आन्दोलनको यथार्थ, जीवनप्रति नौलो चेतना र दर्शन, नारीवादी चिन्तन इत्यादि सबै पक्षबाट उपन्यास उत्कृष्ट बनेको छ।
प्रस्तुत उपन्यास असमेली नेपाली जनजीवनको एक झलक हो, जातीय चेतनाको नमूना हो।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

