आत्म-संस्मरण र नियात्राको संयोजन गरेर लेखिएको बेलायती डायस्पोराका नेपाली साहित्यकार गणेश राईको अमेरिका डायरी संरचनात्मक हिसाबले निकै फरक कृति हो । वि.सं. २०७९ मा प्रकाशित यो पुस्तक मूलतः सन् २०११ मा लेखकले सपरिवार संयुक्त राज्य अमेरिकाका विभिन्न राज्य र सहरहरूमा गरेको तीन हप्ता लामो भ्रमणको पृष्ठभूमिमा लेखिएको छ । क्रिस्टोफर कोलम्बसको ‘अर्किटाइपल’ विम्बलाई साहित्यकार राईले यो नियात्रासङ्ग्रहमा सावधानीपूर्वक सिर्जनात्मक प्रयोग गरेका छन् ।

खोटाङ जिल्लाको जन्तेढुङ्गा गाउँपालिका मूलभूमि भएका गणेश राई एक भूतपूर्व ब्रिटिस गोर्खा आर्मी हुन्  । उनले सन् १९८२ मा फोकल्याण्डको साहसिक युद्ध लडेका थिए । गणेश राईका प्रकाशित आठ ओटा पुस्तकहरूमध्ये ‘राइफलले फलाकेको जिन्दगी’ कवितासङ्ग्रह हो । राइफलको नालबाट जीवन नियाल्दा संस्मरणात्मक उपन्यास हो । यसरी नै उनले दुई ओटा युद्ध उपन्यास लेखेका छन् । तिनीहरू युद्ध एम्बुसमा राइफलको सङ्गीत र राइफलको मुर्च्छना हुन् ।

फोकल्याण्ड युद्धको कहालीलाग्दो स्मृति उनले फोकल्याण्ड जर्नल र गोर्खा गन्स भन्ने क्रमशः नेपाली र अङ्ग्रेजीका पुस्तकमा समेटेका छन् । गणेश राई युद्ध साहित्यका एक अभियन्तासमेत हुन् । उनले नरेश काङमाङसँग मिलेर युद्ध साहित्य, सिद्धान्त र सृजना भन्ने पुस्तकको सहलेखनसमेत गरेका छन् । युद्ध साहित्यलाई सैद्धान्तिकीकरण गर्ने विषयमा अन्य लेखकसँग मिलेर गणेश राईले निरन्तर काम गरिरहेको देखिन्छ । हालसम्म सबैभन्दा पछि प्रकाशित ‘अमेरिका डायरी’ उनको नियात्रासङ्ग्रह हो ।

सन् १४९२ मा अमेरिका पत्ता लगाउने अन्वेषक क्रिस्टोफर कोलम्बसको विम्बलाई नियात्राकार गणेशले बिजविम्बका रूपमा सङ्ग्रहभरि यत्रतत्र प्रयोग गरेका छन् । पृष्ठकथामा उनले पहाडी विद्यालयको कक्षाकोठामा पढेको कोलम्बसको विम्बलाई समातेर कतिपय अवस्थामा आफैँलाई पनि कोलम्बसको एक संस्करणका रूपमा चित्रण गरेका छन् । कोलम्बस विम्बलाई उनले कहिले कोलम्बसकै रूपमा, कहिले पश्चिमा मुलुकबाट आएको व्यक्तिका रूपमा र कहिले आफ्नै रूपमा प्रस्तुत गरेर एक रहस्यमयी विम्ब बनाएका छन् ।

गणेश राई एक परादेशीय नागरिक हुन् । उनका नियात्राहरूमा उनको बाल्यकालीन किराँती सांस्कृतिक पृष्ठभूमि, फोकल्याण्ड युद्धको धङधङी, बेलायती जीवनका अनेकौँ प्रक्षेप र अन्तर्राष्ट्रिय पुँजीवादी प्रणालीलाई हेर्ने दृष्टिकोण आदि मुखरित भएको पाइन्छ । छोरी सुजनको ग्राजुएसन सेरेमोनीमा अमेरिका यात्रामा निस्किएको लेखक राईको पारिवारिक कथाको आवरणभित्र मातृत्व, वात्सल्य, सांस्कृतिक चेत, अमेरिकामा चिनियाँहरूको आर्थिक पकड, मुनाफामुखी पुँजीवादको कर सङ्कलन विधि, अमेरिकाले गरेको विकासको चमत्कार, सोचाइमा पुस्तागत अन्तर, चिनियाँहरूको पिङपोङ डिप्लोमेसी, भियतनामी युद्धमा अमेरिकाको लज्जास्पद पराजय, आतङ्कवाद, आप्रवासीहरूको पीडाजस्ता विषय पनि सहज तरिकाले उजागर भएका छन् ।

कहाँकहाँ घुम्दा के के देखियो मात्रको विवरण नियात्रा होइन भन्ने चेतना गणेशका नियात्राले  बोकेका छन् । भूतपूर्व सिपाहीका रूपमा गणेश राईले युद्ध लडेका थिए । नियात्राहरूमा उनको मानवीय संवेदनाको पाटो पटक पटक झल्किन्छ । परिवारका सन्दर्भमा कतिपय ठाउँमा उनले जान अनजानमा प्रकट गरेको भावुकतापूर्ण भाषा यसको प्रमाण हो ।

नियात्राकार राईले अमेरिकी यात्राका क्रममा भौतिक वैभव, प्राकृतिक सौन्दर्य र प्रविधिकृत कृत्रिम सौन्दर्यको वर्णन मात्र गरेका छैनन्; अपितु त्यसलाई मान्छेको जीवनसँग जोडेर समानता र बन्धुत्वको चस्माले परीक्षण गरेका छन् । यसरी हेर्दा अमेरिकी सभ्यता र वैभव बढी भौतिकवादी र पुँजीवादी चरित्रको देखिन्छ । पुँजीवाद एक आर्थिक प्रणाली हो जसले गणेश राईका शब्दमा “कदम कदममा पैसा, पाइला पाइलामा ट्याक्स, आफ्नै फोक्सोको श्वास-प्रश्वास गर्न पनि पैसा तिर्न बाध्य” पार्दछ (अमेरिकामा १२४) ।

पृष्ठ कथाबाहेक यो सङ्ग्रहमा चौबिस ओटा नियात्रा छन् । सूचना र जानकारीका दृष्टिबाट समेत अमेरिका डायरी पठनीय छ । चाइना टाउन, नायगरा फल्स, युनिभर्सल स्टुडियो, ट्विन टावर्स, ज्याक्सन हाइट, हलिउड, हर्बार्ड विश्वविद्यालय, रातमाटे रोयल गोर्ज आदिको वर्णनले संयुक्त राज्य अमेरिकाबारे विभिन्न जानकारी र ज्ञान प्राप्त हुन्छ ।

कोलोराडो राज्यमा रहेको सुक्खा र रातमाटे प्रकृति भएको रोयल गोर्जलाई एक भव्य पर्यटकीय गन्तव्य बनाएर त्यसको व्यवसायीकरण गरिएको वर्णनले नेपालका असङ्ख्य रातमाटे प्याङ्खरहरूको चित्र आँखामा नाच्छ । क्यालिफोर्निया राज्यको राजधानी लस एन्जलसमा रहेको हलिउडको सन्ध्याकालीन दृश्य र माइकल ज्याक्सनको प्रतिरूपको वर्णनले पाठकलाई मन्त्रमुग्ध बनाउँछ । संसारको सबैभन्दा ठुलो फिल्म स्टुडियो युनिभर्सल स्टुडियोको भ्रमणपछि लेखकले फिल्म भनेको ‘ट्रिक एण्ड एल्युजन’ (चलाखी र भ्रम) को संयोजन हो भनेका छन् ।

घटना र दृश्यको सपाट वणर्न मात्र नियात्राकार राईको चासो होइन । उनी अमेरिकाका विभिन्न स्थानमा देखिएका घटना र दृश्यलाई विश्व राजनीति, आफ्नो नेपाली गृहभूमिको संस्कार, संस्कृति र परिवेश तथा आफूले सन् १९८० को दशकको पूर्वार्द्धमा लडेको फोकल्याण्ड युद्धसँग जोडेर विश्लेषण गर्छन् ।

डायरीमा नियात्राकारले पटक पटक अमेरिकी पुँजीवादी प्रणालीले केन्द्रमा राखेको नाफा मनोविज्ञानलाई औँल्याएका छन् । अमेरिकी बजारमा चिनियाँहरूको बाक्लो उपस्थिति र अर्थतन्त्रमाथिको सशक्त पकड पनि उनले पटक पटक उल्लेख गरेको पाइन्छ । उनी लेख्छन्, “अमेरिका वास्तवमा चीन मन पराउँदैन … फुटेको आँखाले हेर्न नसकेको चीन जहीँतहीँ छिरिसकेको छ अमेरिकामा” (अमेरिका १३०) ।

नियात्राकार राईले विभिन्न नियात्राहरूमा उपभोक्तामाथि कसरी अमेरिकी अर्थ प्रणालीले आफ्नो प्रभुत्व कार्यान्वयन गर्छ भन्ने उदाहरण औँल्याएका छन् । टिप्स संस्कृतिबारे उनी लेख्छन्, “टिप्समै व्यवसाय अडेको छ अमेरिकामा । जीवन भन्नु टिप्स लिनु दिनुलाई मात्र भनेजस्तो रहेछ अमेरिकामा । रेस्टुरेन्टमा खायो टिप्स, ट्याक्सी चढ्यो टिप्स… पुँजीवादले उपभोक्ताको ढाड भाँचिने गरी टिप्स लाद्दो रहेछ अमेरिकामा” (अमेरिका १०२) ।

लेखक राईको अमेरिका यात्रामा उनकी श्रीमती, छोरा, छोरी, विभिन्न आफन्तहरू र छोराछोरीका साथीसमेत संलग्न हुन्छन् । उनीहरूबिचका जीवन्त संवादले लेखकको जीवन र जगतलाई हेर्ने दृष्टिकोण उजागर हुँदै जान्छन् । हवाई उडानका क्रममा लेखकको परिवारका सदस्यहरूबिच यसरी भलाकुसारी चल्छ :

अमेरिका अरे जहाजमा पानीधरि किन्नुपर्ने…

“पानी पनि किनी किनी कोही खान्छ जहाजमा, भो नकिन… त्यसै अमेरिका धनी भा’को हो र … रकम तिरेपछि कमसेकम एक गिलास पानी दिँदा कति नै पो नोक्सानी हुँदो होला र” (अमेरिका २८/२९)

नियात्रा लेखनको प्राविधिक पक्षबाट नियाल्दा लेखक राईले यो सङ्ग्रहमा आफूलाई ‘बाबा’ र आफ्नी श्रीमतीलाई ‘मामु’ भनेर प्रस्तुत गरेका छन् । घटनावली प्रस्तुत गर्ने बकन्ते आफैँ भएर पनि उनले कतै पनि आफूलाई म पात्रका रूपमा उभ्याएका छैनन् । तृतीय पुरुषको दृष्टिविन्दुबाट विषयवस्तुहरू उजागर भएको पाइन्छ ।

चर्चा गर्दै जाने हो भने साहित्यकार गणेश राईको यो नियात्रासङ्ग्रहमा आप्रवासीका विषय, नेपाली राजनीतिक संस्कारका कुरूप पक्ष, उत्तरआधुनिक पुस्ताले इतिहासप्रति देखाउने अनिच्छालगायत धेरै विषय आएका छन् । व्यक्तिका रूपमा लेखक राईले विश्वका धेरै मुलुकहरू भ्रमण गरेका छन् । उनले बेलायतमा बसेर बेलायतको साम्राज्यवादी विरासत बुझेका छन् ।

अमेरिका, बेलायतजस्ता प्रथम विश्वका थुप्रै मुलुकमा बढिरहेको आप्रवासीहरूको उपस्थिति र शक्तिलाई उनले नजिकबाट नियालेका छन्  । त्यसकारण उनको विश्लेषण विश्वसनीय र आधिकारिक लाग्दछ । लेखनमा आफ्नो छुट्टै कवितात्मक शक्ति भएका गणेश राईले गरेको वस्तु, घटना र परिस्थितिको विश्लेषणले काव्यिक गुणस्तरलाई कायम राख्न सफल भएको पाइन्छ ।

सङ्क्षेपमा, केही प्राविधिक त्रुटिहरूलाई छोडेर भन्नुपर्दा अमेरिका डायरी चेतनशील लेखकले पारिवारिक भ्रमणको नालीबेलीसहित विश्व राजनीति र विश्व आर्थिक प्रणालीमाथि प्रस्तुत गरेको विश्लेषणात्मक विवरण हो ।