मान्छेको जीवनका भोगाइ फरक हुन्छ । सोच परिवर्तन हुन पनि सक्छ नहुन पनि सक्छ तर यात्री बनेर जीवनमा देखेका कुरालाई कथामा ढाल्नु सजिलो छैन ।

विषय प्रवेश :

विश्वराज अधिकारीको जन्म छतौना सर्लाहीमा २०१५ सालमा भएको थियो । हाल उहाँ अमेरिकाको अक्लोहोमा सिटीमा बस्नुहुन्छ । नेपाली भाषा साहित्यमा स्थापित स्रष्टा हुन् । उनका प्रकाशित कृति २६ वटा छन् । प्राध्यापन पेसा अङ्गालेर अमेरिकाको ओक्लहोमा बस्नु भएपनि नेपाल प्रतिको अगाध प्रेम छचल्केको हामीले पाएका छौँ ।

भाषा साहित्यको उत्थानको लागि अहोरात्र खट्ने स्रष्टाको रूपमा चिनेकी छु उहाँलाई। आजका मान्छे आफ्नोबाहेक अरुको तारिफ सुन्न चाहँदैनन् । समय भएपनि भ्याउँदिन भन्छन् । अति व्यस्त छु भन्न खोजिरहेका हुन्छन् तर अति व्यस्त जीवनशैलीको बाबजूद पनि विश्वराज अधिकारीले नेपाली भाषा साहित्य र साहित्यकारलाई संसारभरि चिनाउने कार्य गर्नु उच्च सोच हो भन्ने लाग्छ ।

विश्वराज अधिकारीको सर्वाधिक प्रिय विधा कथा अथवा आख्यान नै हो । सबैभन्दा बढी आख्यान नै लेखेको कुरा हामीलाई थाहा छ ।

२०७६साल ज्येष्ठमा प्रकाशित भएको छ ।

प्रकाशकीय कृष्ण बजगाइँले लेखेका छन् ।

नलेखिएको भूमिका शीर्षकमा कृसु क्षेत्रीले लेखेका छन् ।

मेरा दुई शब्द शीर्षकमा सारदा पौडेल निशा लेख्छिन्, “हरेक कथा सामाजिक धरातलमा उभिएका छन् ।”

शुभकामना शीर्षकमा मन्दिरा मधुश्री भन्छिन्, ” यो कथा सङ्ग्रह अन्य सङ्ग्रह भन्दा फरक खालको छ । ”

अधिकारीको कथाप्रति मेरो दृष्टिकोण शीर्षकमा निशा अर्याल लेख्छिन्, “विद्यार्थी अवस्थाका एकतर्फी प्रेम, प्रेमिका हुन नसकेकी व्यक्तिलाई प्रेमीले चार दशक पुरानो आफ्नो मनोदशा वर्णन गरेको छ ।”

मेरो दृष्टिकोण शीर्षकमा विश्वराज अधिकारी लेख्छन् ,”युवा वा युवतीहरू जब पहिलो संसारमा बाँच्छ त्यत्तिकै दोस्रो संसारमा पनि बाँच्छ । यथार्थमा भन्ने हो भने मानिस दोस्रो संसारमा बढी बाँच्छ र बाँच्दा रमाउँछ पनि । दोस्रो संसारमा मानिस धेरै क्रियाहरू गर्न स्वतन्त्र हुन्छ ।”

आयाम :

‘नलेखिएको कथा’मा तेह्रवटा कथा सङ्ग्रहित छन् । बयानब्बे पेजको रहेको यस सङ्ग्रहमा छोटा कथा सङ्ग्रहित छन् । फरक विषयको उठान गरिएको छ । हरेक कथामा नयाँपन छ ।धेरै कथा प्रेमलाई मुख्य विषय बनाएर लेखिए भए पनि सबै प्रेम सफल भएका छैनन् ।

कथाभित्र प्रवेश गर्दा

पहिलो कथा “वाटरलु”, “मञ्जू म्याडम र काका” कथामा म न्युयोर्कबाट टोरन्टो घुम्न पुगेको थिएँ । टोरन्टो पुगेको भोलि पल्ट बिहान काकाले भन्नुभएको थियो, “श्रीभव वाटरलु जाने हो ?” “अवश्य जान्छु , यो त्यहीँ वाटरलु होइन, जहाँ नेपोलियन बोनापार्टले भीषण युद्ध हारेका थिए । चालीस हजार व्यक्ति मारिएका थिए रे । यस्तो ऐतिहासिक स्थान हेर्न कसैले छुटाउँछ त ?” यो कथामा नेपोलियनका धेरै कुरा समेटिएका छन् । काकाले मञ्जुको कुरा अर्थात् आफ्नो कुरा समाप्त हुनु र वाटरलु पुग्नु एकैपटक भयो ।

यसरी “जिते हारेको युद्ध” कथामा भावनासँग मेरो बिहे हुन दिनु भएन बाले । बाका अनेक बलिया तर्कहरूमा जेलिएर म बाहिर आउन सकिनँ । भावनासँग बिहे गर्छु भनेर अडिग हुन सकिनँ, तिमी आफ्नो निर्णयमा अडिग भएजस्तो । त्यसकारण तिमीले त्यो युद्ध जितेर देखाइदियौ जुन मैले हारेको थिएँ।

“नाम नपाएको सम्बन्ध” कथामा मेरा अन्तरङ्ग मित्र दिवाकरकी पत्नी , राधाका बारेमा मेरी छोरी ग्रीष्मालाई मैले विस्तारमा मैले यति धेरै कुरा बताएको थिएँ , उनको भद्रताको, उनको बौद्धिकताको, उनको सुन्दरताको बारेमा कथा यसरी सुरु गरिएको छ।

“चालीस वर्षदेखिको पश्चाताप” कथा मुटुमा एउटा किला रोपिएको निस्कन सकेको थिएन । चालिस वर्षदेखि निरन्तर रूपमा पीडा दिइरहेको थियो । कथाको सुरुवात नै आकर्षक छ । कौतूहलता छ ।

“म आशीर्वाद र ऊ” कथाको बीचमा छु म । अचानक सद्भाव हराए । काठमाडौंबाट नै बेपत्ता भए । अचम्मसँग हराए उनी । कथाको बीचमा पनि कोतूहलता छ । चुम्बकीय आकर्षण छ ।

अर्को “नाता” कथामा मालती र माधवीले निकैबेरसम्म एक अर्कालाई हेराहेर गरे । मालतीले फेरि भनिन,

मेरो पूर्ण स्वीकृति हुनेछ । त्यो अर्को नाताका लागि । बरु अब सफललाई दाइ भन्न छोडिदेऊ, है माधवी । समर्थन छ। सद्भाव छ । जीवनमा गर्नुपर्ने त्याग छ ।

“पत्रमा के लेखिएको थियो ?” कथामा एउटा पतिले पत्नीलाई लेखेको पत्र छ । काकीलाई लेखिएको पत्र पढेपछि मेरो विश्वास दूधजस्तो र काकाको पत्र अमिलो रसजस्तो हुन पुगेको थियो । कथालाई कसी लगाइएको पत्तै हुँदैन ।

“तिमीसँग मरो सम्झनाको खात छ” कथामा के तपाईंले म जति गहिरो प्रेम गर्नुभएको छ ? के कहिले कसैको एकोहोरो प्रेममा पर्नुभएको छ ? प्रश्नको झटारो पनि छ कथामा ।

“मलाई पश्चाताप छैन कथा”मा अब हामीले भोगाइ र जीवनप्रतिको हाम्रो पुरातन दृष्टिकोण फेर्नुपर्छ । खास गरी विधवा र यौनको बारेमा । कथाले सकारात्मक सोच राखेको छ ।

नलेखिएको कथा सङ्ग्रहको हरेक कथाका शीर्षकले सुन्दर कथा बोकेको भान हुन्छ । शीर्षक पढ्दा पूरा कथा पढ्ने कौतूहलता मनमा उत्पन्न भएर पुस्तक पढ्ने हौसला दिन्छ । मैले कथाको धेरै पुस्तक पढेकी छु तर शीर्षकमा एउटा कथा भएको कमै पढेकी छु । यो पुस्तकले समाजको वास्तविकतालाई उज्यालो पारेको छ । कताकता मैले लेख्न नसकेको कुरा लेख्न हौसला दिएको छ । आज नलेखे कहिले लेख्ने भाव उत्पन्न गराएको छ ।

भाषाशैली :

सरल र तरल कथामा पाएँ । शब्द सुन्दर शैलीमा उनेको माला झैँ लाग्छ । कथा पढ्दा पढिरहूँ लाग्छ । एकपटक पढेर मनले मानेन । मनको भाव पानी झैँ बगेको छ । बग्नु पानीको स्वभाव हो हामीलाई थाहा भएपनि पोखरी खन्छौँ । बोतल र गिलासमा भर्छौं । यहाँ कथालाई उसको स्वभावअनुसार बाँच्न दिइएको छ खुसीमा उत्ताउली हुन दिइएको छ । पीडामा बेस्सरी रुन पाइएको छ । कतै छेकेको आभास भएन । पढ्दा लाग्छ म यो कथामा बगिरहेकी छु । नदी बनेर । बग्ने छु उन्मादमा छाल झैँ । कथामा सिङ्गो जीवन जगत पढिन्छ ।

पात्र चरित्रचित्रण :

काका, काकी, आमा, बुहारी सासूका भनाइ माधवीलाई गुनासो भन्दा स्नेह बढी अनुभूत भयो । बुहारी माधवी र सासूबीचमा बितेको पाँच वर्षमा कहिले मतभेद भएन । विधवा सासू र विधवा बुहारीलाई मेल गराइएको छ । सासू र बुहारी आमा छोरी झैँ रहेको कुरा उल्लेख गरिएको छ । अपराजिता र सौम्यको सम्बन्धले उमेरको बारलाई तोडेको छ ।

प्रिय पत्नी रन्जु सम्बोधन गजब छ । धेरै कथामा सकारात्मक सोच भएको पात्र पाइन्छ । मधुले प्रेममा विजय हासिल गरेकी छिन् भने रीनाको भनाइ सही हो कि गलत छुट्टयाइएको छ । नीताको रुचिको कुरा उठाइएको छ । पात्र र चरित्र सुन्दर रूपमा छनोट गरिएको छ ।

परिवेश :

हरेक कथामा फरक परिवेश छ । नेपाल र अमेरिकाका विभिन्न ठाउँमा कथाकार पुगेर लेखेका कथा छन् । एकदिन उमेशले कान्तालाई पुतलीसडकको रेस्टुरेन्टमा बोलाएको छ । गढीमाई मन्दिरको कुरा छ , तेजारथ टोल जानु छ । विरगञ्जबाट रक्सौल जाँदाको कुरा छ । सुनेको भरमा परिवेश तयार गरेको कथामा मिठास दिन सकिन्न । टोरन्टो, न्युयोर्क ,वाटरलु जस्तो धेरै ठाउँमा पुगेको आभास हुन्छ ।

उद्देश्य :
उद्देश्य विहीन कथा छैनन् । हरेक कथामा नयाँपन छ । फरक परिवेशमा लेखिएका छन् । विषय फरक र नौला र रोचक छन् । प्रस्तुति सुन्दर रहेको छ। घटनाक्रम सुस्तरी बढेको छ तर कतै स्थिर छैन । तरल भएर बगेका कथाले पाठकलाई तानेको छ ।

निष्कर्ष :

प्रेम रेल जस्तो होइन जहिले पनि सरल रेखा र समतलमा मात्र गुड्ने । प्रेम आफैंले ऐन कानुन बनाउँछ ।

उनले शब्दहरू खोजिरहेका थिए वा शब्दभण्डार रित्तिएको महसुस गर्दै थिए ।

मान्छेको जीवनका भोगाइ फरक हुन्छ । सोच परिवर्तन हुन पनि सक्छ नहुन पनि सक्छ तर यात्री बनेर जीवनमा देखेका कुरालाई कथामा ढाल्नु सजिलो छैन । यस सङ्ग्रहभित्रका कथामा कथाकारको उपस्थितिको अनुभूति हुन्छ ।

कथा लेख्छु भन्ने स्रष्टाको लागि यो पुस्तक उपयोगी हुन्छ । एउटा मान्छेले देखेका भोगेका कुरा अर्को मान्छेले सोच्न पनि सक्दैन त्यसैले हामीले हरेक कथाकारको कथामा नवीनपन पाउँछौ भन्दै कथाकार विश्वराज अधिकारीको सफल साहित्य यात्राको कामना गर्छु ।