
भागवत खनालका लागि खस्यौली मुटुको धड्कन हो । आँखाको नानी हो । आस्थाको धरोहर हो । जीवनको जग हो । चेतनाको पुञ्ज र पुर्खाको निसानी हो । यो अति प्यारो गाउँका बारेमा नलेखेर/नबोलेर उनलाई भोकनिद्रा लाग्दैन ।
…
निबन्धकारसँग पहिलो प्रत्यक्ष भेट ‘आत्मबोध’को लोकार्पण समारोहमा भएको हो । हुन त उहाँ पनि निजामती सेवाबाट निवृत्त र म पनि त्यहीबाट निवृत्त । तर यसअघि ‘फेस टु फेस’ भएका थिएनौँ । एकपटक भेट्ने जमर्को गरेका थियौँ तर परिस्थिति अनुकूल भएन । त्यसरी थाँती रहेको भेट गतिलै समारोहमा साकार हुन लेखेको रहेछ ।
हामी एकआपसमा फेसबुकबाट परिचित भएका थियौँ । नजिक हुँदै गएका हौं । आत्मीय भाव पनि बढ्दै गएको हो । सायद त्यही नाताले आत्मबोध लोकार्पण समारोहमा म आमन्त्रित भएको हुँ ।
लोकार्पण समारोहमा फारो गरेर पढ्न पर्ने पुस्तक भनी एक जना वक्ताको टिप्पणी सुनिएको थियो । त्यो शब्दले छिटै पढ्ने लालसाको ज्वार चलेको थियो । कार्यक्रम स्थलबाट घर फर्कंदा पुस्तक हातमा थियो ।
आत्मबोधका स्रष्टा खनाल बैँस ढल्केका तन्नेरीहरू माझ छोटो अवधिमै गहिरो प्रेम हासिल गर्न सफल भएका स्रष्टा हुन् । फुटकर रचनाले नै आफूतिर आकर्षित गर्न उनी सफल छन् । उनको पहिलो प्रकाशित कृति ‘बा मेरो पिआर आयो’ आख्यानले उनी उदीयमान साहित्यकारको रूपमा सुपरिचित भए । अहिलै बैँस चढ्दै गरेका, बैँस भरिएका र बैँस ढल्किएका सबै उमेर समूहलाई साहित्यिक खुराक दिनसक्ने एक सिद्धहस्त स्रष्टाको रूपमा उनी स्थापित छन् ।
भागवत खनालका सिर्जनाहरू जब सामाजिक सञ्जालबाट सार्वजनिक हुन थाले त्यही बेलादेखि उनका रचनाउपर पाठकहरूका दृष्टि पर्न थालेका हुन । उनको शब्द चयन, वाक्य बनोट र कथानिर्माणको कला बेजोड छ । हलुका शब्द, ओजिला भाव र गहकिला सन्देश सम्प्रेषण गर्न उनी माहिर लाग्छन् । रैथाने शब्दको स्वाद पस्कन उनी खप्पिस छन् । शब्दका फुलले बन्दुके प्रहार गर्न सक्ने उनको अद्भुत खूबी छ । गद्य र पद्य दुवै विधामा उनी सिर्जना गर्नसक्ने सामर्थ्य राख्छन् ।
आत्मबोध निबन्ध सङ्ग्रहमा समाहित तीस वटा निबन्ध पढ्दा स्रष्टामा बाल्यकालदेखि नै साहित्यप्रेम र प्रतिभा भएको झझल्को मिल्छ । तर यति प्रतिभा सम्पन्न भएर पनि भागवत निजामती सेवाकालभर साहित्य विधामा अलग पहिचान बनाउन किन पछि परे ?
सङ्ग्रहको पहिलो निबन्ध ‘मेरो प्यारो म’ रहेको छ । यस निबन्धले स्रष्टाको पारिवारिक परिवेश, जन्मेहुर्केको पाल्पाको खस्यौली गाउँ, त्यहाँको जनजीवन, प्रकृति र संस्कृतिको विशिष्टताको परिचय दिन्छ । उनी पाल्पाको तानसेन पढ्न आउँदा आमाको ‘आफूभित्रको हरिलाई कहिल्यै नबिर्सनु’ भन्ने आशीर्वचन र बुबाको भैरव देवता दर्शनको आज्ञा नै उनमा मेरो प्यारो म भन्न सक्ने आत्मज्ञानको जग बस्छ । उनी पढाइमा अब्बल हुन्छन् । साथसाथै मगनमस्तीमा पनि उत्तिकै विन्दास हुन्छन् । इलामे होटलका विष्णुप्रसाद नेपालसँगको आत्मीयता उनलाई जीवन बुझ्ने खुला पाठशाला हुन्छ । त्यो दोस्ती रामरमाइलो र जीवन अवलोकन दुवै पाटोमा कोशेढुङ्गा साबित हुन्छ । यस निबन्धले वात्सल्यकी प्रतिमूर्ति आमाको अमृत वचनले भागवतका हृदयमा आसीन भगवान् भागवतको बोध हुन्छ । यो निबन्धले आत्माको प्रतिनिधि ‘म’ जान्न सिकाउँछ । त्यही ‘म’ हरि हो भन्ने बोध गराउँछ ।
‘जिउन बहुतै कठिन छ वत्स’ भन्ने निबन्ध पढ्दा निबन्धकार भागवतभित्र महाभारत, गीता, श्रीमद्भागवत जस्ता आध्यात्मिक ज्ञानग्रन्थ र पश्चिमा विद्वानका आधुनिक रचनाका बारेमा गहिरो दखल छ भन्ने स्पष्ट हुन्छ । कथा बुन्न, जोड्न र सारसन्देश सम्प्रेषण गर्न सक्नु उनको विशेषता हो । उनले देवव्रत भीष्मको दृष्टान्त बताएर ‘जिउन बहुतै कठिन छ वत्स’ शीर्षकको निबन्धलाई ‘क्लाइमेक्समा’ पुर्याएका छन् । उनी लेख्छन् – ‘भीष्मले आफ्ना विमातृ भाइहरू चित्ररथ र विचित्रवीर्यका लागि पनि कन्याहरू अपहरण गरेरै ल्याएका थिए । त्यति गर्दा पनि उनको जीवन सुखी भएन । न प्रतिज्ञा काम लाग्यो न त परिवारलाई मिलाएर राख्न सके । त्यागको त्योभन्दा दर्दनाक तमासा के होला? । तैपनि बाँच्नु छ । न जन्म सुखद, न योवन सुखद, न वृद्धावस्था सुखद न त मृत्यु नै । जिन्दगीलाई ख्यालठट्टा झैँ ठान्दै भविष्यको विचार नगरेर निर्णय गर्ने जो कोहीको जीवन भीष्म पितामहको झैँ कठिन हुन्छ । यो जगतको करीब करीब प्रत्येक मनुष्य प्रकारान्तरले एउटा भीष्म हो । हतारमा गरेको आफ्नै निर्णयको अभागी भागीदार । मैले पनि त्यस्ता भूल गरेको छु । कुनै वर्णनीय र कुनै अवर्णनीय ।’ यो निबन्ध व्यवहारिक ज्ञानको खजाना हो । परिभाषा, प्रसङ्ग र परिदृश्यको बेजोड संयोजले यो लेख सुरुचिपूर्ण छ । चखाउने कुरा यत्ति मात्र । अघाउन त पुरै निबन्ध पढ्नुपर्छ ।
‘मित्रताको मन्थन’ निबन्धको थालनी नीति श्लोकबाट गरिएको छ । न कोही कसैको मित्र हुन्छ, न त कोही शत्रु । परिस्थितिले नै कसैलाई मित्र र शत्रु बनाइदिन्छ । यही अर्थ बोकेको छ सो श्लोकले । पौराणिक कथाको दृष्टान्तबाट निबन्ध अघि बढ्छ । माधो सिंह र मालोक्य सिंह अति घनिष्ट मित्र हुन्छन् । राजकुमारी सुरम्याले एक जना सुयोग्य वर छान्ने सिलसिलामा माधो सिंहलाई छान्छिन् । मालोक्य सिंहलाई विसाद हुन्छ । मित्रताको डोरी त्यहीँ चुडिन्छ । गजब उठान छ निबन्धको । यो निबन्ध पढ्दै जाँदा घतलाग्दा प्रसङ्ग भेटिन्छन् । मित्रताका प्रकार र परिभाषाको ज्ञान प्राप्त हुन्छ । नित्य अनित्यको मेसो जानिन्छ । निबन्धको समापन लाओत्सुको कथनबाट हुन्छ । जसमा ‘सबैप्रति असल व्यवहार, इमानदार व्यवहार गर्नु जीवन सहज बनाउने सम्यक विधि हो’ भन्ने उपदेश छ । यस निबन्धलाई पनि स्रष्टाले टमाटरको चटनीलाई आलो टिमुरको वासनाले उघारे झैँ विभिन्न सन्दर्भरूपी मसलाले मगमगाउने बनाएका छन् ।
चौथो निबन्ध ‘किन लेख्नु हुन्छ ?’ मा निबन्धकारले आफैँलाई पात्र बनाएका छन् । एक दिन उनका एकजना पूर्वपरिचित मित्र घरमा आइपुग्छन् । दुवैका बीचमा शिष्टाचार प्रकट हुन्छ । प्रेमिल वार्तालाप हुन थाल्छ । तर मित्रको प्रशंसा र प्रश्न मिश्रित भनाइले भागवतलाई च्यास्स पार्छ । उनी चिन्तामग्न हुन्छन् । तर क्षणभरमै उनको चिन्ता चिन्तनमा रूपान्तरित हुन्छ । चिन्तनले उनलाई ‘जब म लेख्छु, म स्वयंलाई अरुका सामु पस्किरहेको हुन्छु । म के हुँ र के होइनको एक चिनारी ।’ भन्ने भाव जागृत हुन्छ । यसरी स्वयंले स्वयंलाई आश्वस्त बनाएर लेखन कर्ममा उनी जुटेको प्रष्टोक्तिबाट निबन्ध अघि बढ्छ । महात्मा गान्धी, सुकरात, लाओत्सु लगायत अनेक महापुरुषका दृष्टान्त जोडेर निबन्धलाई गहकिलो पारिएको छ । आलस्यलाई जाँगरमा बदल्न निबन्ध सञ्जीवनी साबित भएको छ ।
‘हरेक उचाइको तल एउटा खाल्डो हुन्छ’ शीर्षकको निबन्ध निकै मार्मिक छ । जीवनोपयोगी छ । निबन्धमा घतलाग्दा प्रसङ्ग छन् । खानेले खान्छ नखानेले लगत राख्छ भनिन्छ । लगत राख्नेलाई असैह्य लागेको अवस्थामा खानेलाई पखाला लाग्ने बनाउन त्यही लगत राख्ने नै अग्रसर हुन्छ । यो उक्ति समाजमा घटित भएको देखिन्छ । ठ्याक्कै यही भाव छ प्रस्तुत निबन्धमा । शिखर चढ्न र फेदीमा पछारिन बेर लाग्दैन भन्ने सन्देशलाई अत्यन्त सुन्दर ढंगले अर्थ्याइएको छ । ‘स्वार्थी दुनियाँमा खुट्टा तान्ने तमाम हुन्छन्’को दृष्टान्त पेश गरिएको छ । खाडलको हेक्का राखेर उचाइको यात्रा गर्न यो निबन्ध अमृतमयी छ ।
‘बाको घर’ निबन्धको वाक्य ‘आवाज र आँसु लुकाएर जो रुन्छ त्यही नै बा हो’ मा नजर पर्छ, मन भक्कानिन्छ, आँखा रसाउँछन् । ‘बा रोएको समाजले देख्यो भने पामर भन्छ’ कति मार्मिक छ यो वाक्य । बा भएर जीवन कसरी जिउनुपर्छ भन्ने जीवन्त दर्शन यस निबन्धमा मिल्छ । यसमा आमाका सन्दर्भ आउँछ । निबन्धकारको पारिवारिक परिचय सहितको यो आलेख पढ्दैजाँदा म पनि मेरा बालाई सम्झन पुगें । भक्कानिएँ । बा चिनेका सन्तानका लागि वा आफू बा भएर गृहस्थी चलाइरहेकाहरूका लागि धेरै सन्दर्भ मिल्छ । ग्रामीण जीवनको यथार्थ चित्रणले निबन्ध पढ्दा रसिलो र पढिसकेपछि गुनिलो लाग्छ । संस्कृतका सूक्ति, लेखकका उक्ति र ग्रामीण जीवनयापनका जुक्तिको सम्मिश्रणले निबन्ध अनुपम छ ।
निबन्ध ‘अनेकौं दुःशासन’ले दुःशासन जस्ता दुष्टहरू परिवार, समाज, कार्यस्थल, राष्ट्र जहाँ पनि हुने भएकाले त्यस्तो नहुन सजगताको सन्देश दिएको छ । महाभारतमा दुष्ट भनेर दुर्योधन, शकुनि, कर्ण र दुःशासनको गठबन्धन छ । ती मध्ये दुःशासन विवेकशून्यताको बिम्ब हो । ऊ फगत पछुवा हो । दुर्योधन हाँस्दा हाँस्ने र रुँदा रुने हो भन्ने विचार प्रष्ट पारिएको छ ।
‘तनसेन तडप’मा तानसेनका अनेक चिनारी छन् । मनोरम हिल स्टेशन । शैक्षिक केन्द्र । आधुनिक उपचारको राम्रो सुविधायुक्त शहर । जिल्ला सदरमुकाम । तत्कालीन राजा मुकुन्दसेनको राजकाज केन्द्र । पाल्पाली करुवा र ढाका टोपीको प्रसिद्धिले गौरवान्वित उद्यमी जिल्ला । मिहिनेती, शिष्ट र सभ्य समाजको चिनारी भएको ऐतिहासिक केन्द्र । यही तानसेनमा भागवतले स्नातकसम्मको अध्ययन गर्छन् । अध्ययनकालका अनेक घटनाको नालीवेली हो तानसेन तडप । खनालले तडपको बर्को ओढाएर निबन्धको विट मारेका छन् । तानसेनमा पढ्दैगर्दा एकातर्फ चढ्दो बैंसको कुतकुत अर्कोतर्फ अन्तर्मुखी स्वभावले खनाल असमञ्जसमा परेको छनक यस निबन्धमा पाइन्छ ।
निबन्ध ‘दरबारमार्गमा अढाई घण्टा’मा दरबारमार्गमा भोजभतेर खाएको अनुभव त थियो तर भागवत आफ्नै गोजीको पैसा तिरेर खाने हिम्मत गरेका हुँदैनन् । एकदिन प्यारो साथीले ‘आज दरबारमार्गमा गएर ड्रिङ्क गरौं’ भन्ने प्रस्ताव गर्छन् । आफ्नै खल्तीबाट खर्च गरेर दरबारमार्गमा खाएको मान्छे हुँ भन्ने आत्मरति हुने साथीको तर्कमा उनी सहमत हुन्छन् । यसरी बनेको त्यो कार्यक्रममा भागवतले आफूमा सुरापानले शक्ति र स्वतन्त्रताको महसूस हुँदै जाँदा सम्झना, कल्पना, योजना र अठोटका रङ्गीचङ्गी घटनाहरूको नालीबेली पस्कन्छन् । निबन्ध पढ्दा यथार्थ र मार्मिक लाग्छ । यो जीवनकै एक उपक्रम हो वा कल्पनाशीलताको द्योतक हो, त्यो बताउने स्रष्टाकै जिम्मा । पाठकमा निबन्ध प्रतिको कौतूहल जीवन्त रहोस् भन्ने हेतुले यस भन्दा बढी नलेखौं ।
‘साधारण–असाधारण’मा जीवन दर्शन छ । गौतम बुद्ध र महात्मा गान्धीका जीवनपथका दृष्टान्त छन् । सुकरातको सरलतामा छिपेको महानताका वर्णन छ । महाकवि लक्ष्मीप्रसाद देवकोटा र राष्ट्रकवि माधवप्रसाद घिमिरेको रोचक सन्दर्भको बयान छ । पौराणिक पात्रहरू जनक, याज्ञवल्क्यको साधारण जीवन असाधारण योगदानका कुरा समेटिएका छन् । नेपालको राजनीतिमा गणेशमानको त्यागलाई पनि यसमा जोडिएको छ । बौद्धिक खुराक यसमा पाइन्छ ।
‘सराबी साँझमा सदाचार संवाद’ शीर्षकको बनोट र यसले सम्प्रेषण गर्न खोजेको सन्देशमा अनौठो गठजोर अनुमान गर्न सकिन्छ । मदिरामस्त मानिस सूचनाको सही श्रोत हो भन्ने मेरो अनुभव छ । निबन्धको प्रारम्भिक वाक्यहरू– ‘त्यहाँ मद्यपानमा आवेग र जोसका कुरा हुँदै रहे । मदहोसीमा मदान्धता पोखिन्थ्यो भुइँभरि । जति छिल्लिन सक्यो त्यति नै मजा । झोलिलो पदार्थको तात्कालिक मस्ती ।’ ले नै प्रष्ट संकेत गर्दछ कि सदाचारका आदर्श छाँट्न सराबी साँझले झनै साहस पैदा गर्दछ । मदशालाका पारखीहरू आआफ्नो आसनमा गफ दिइरहेका रङ्गिन माहोललाई निबन्धकारले गजबले संयोजन गरेका छन् । पढ्दै जाँदा कतिपय सन्दर्भले आफैँलाई छुन्छन् । पाठ सिकाइका प्रसङ्ग पनि यसमा प्रशस्त छन् ।
‘म पनि कालीगण्डकीको सन्तान हुँ’मा स्रष्टाले आफ्नो जन्मथलो खस्यौलीलाई अङ्गालो मारिरहन्छन् । तानसेनसँग जोडिएका प्रेम कहिल्यै भुल्न सक्दैनन् । भैरव स्थानप्रति अगाध आस्था छ । भगवान हृषीकेश विराजमान रिडी प्रतिको श्रद्धाले उनको शिर सँधै निहुरन्छ । पवित्र कालीगण्डकी नदीको महिमाले उनमा अध्यात्म ज्ञानको अभिशेष हुन्छ । यही यथार्थता भित्र बाल्यकालदेखिका अनेकथरी अनुभवलाई शृङ्गार गरेर सुन्दर निबन्धको स्वरूप दिएका छन् स्रष्टाले ।
‘सबैको आफ्नै निजस्व हुन्छ’ भन्ने निबन्धले मानव विकासको आदि कालका चरित्र चिनाउँछ । सभ्यताको शृङ्खलाको सूक्ष्म ज्ञान दिन्छ । राज्यको उत्पत्तिका बारेमा पनि जानकारी मिल्छ । मूलतः व्यक्तिका निजस्वको वकालत गर्नु यस निबन्धको धर्म रहेको छ । सकारात्मक र नकारात्मक निजस्वका दृष्टान्तको चर्चा यसभित्र छ । मानिस समय, शक्ति, श्रोत र सुविधालाई कसरी उपयोग गर्छन् भन्ने राम्रा नराम्रा सन्दर्भलाई उनेर कथामाला बनाउन यहाँ पनि स्रष्टा अब्बल साबित भएका छन् । दार्शनिक रुसोका भनाइ ‘प्रकृतिले मलाई खुशी हुनका लागि जन्माएको हो । यदि म खुशी छैन भने त्यो समाजको गल्ती हो ।’ बाट विट मारिएको प्रस्तुत निबन्धमा जीवन दर्शनका घतलाग्दा आयाम छन् ।
‘चिउरेनी ढिकः एक अभिज्ञान’ निबन्ध अनुसार भन्न सकिन्छ । आफ्नो पुर्ख्यौली गाउँ पाल्पा खस्यौलीका घरगोठ, पानीपधेंरो, ढिँकीजाता, घाँसदाउरा, ग्यालाबछेला, वनपात, भीरपाखा, खेतवारी, मेलापर्व लगायतका परिदृष्यबाट टाढिन सक्दैनसक्ने पुरुष हुन् भागवत खनाल । ठेट बोलीचालीका श्लील वा अश्लील शब्दावलीले उत्पन्न गरेका अतीतका रोमाञ्चकारी संवादलाई शब्दमा उतार्न उनी खप्पिस छन् । यस निबन्धमा सबै आयाम समेटेका छन् र आलोक चम्काएका छन् । यो निबन्ध पढ्दापढ्दै म पनि आफ्नै काब्रेदह, ठुलोदमार, दहखोलीका ती दिन सम्झन पुगेछु । जीवन्त प्रस्तुति छ चिउरेनी ढिकको । स्रष्टाको कुर्कुरे बैँस चढ्दाका दिनको यथार्थ चित्रण छ । सुन्दर कलाको प्रदर्शनको रूपमा यस निबन्धलाई अर्थ्याउन सकिन्छ ।
अर्को निबन्ध हो – ‘किन बुढो भा..को त ?’ । यसमा खनालले आफ्ना मित्र डीपी जैसीको फेसबूक स्टाटस र त्यस्मा विभिन्न व्यक्तिले जनाएको प्रतिक्रियालाई टिपेर मार्मिक निबन्ध तयार गरेका छन् । काठमाडौं उपत्यका भित्र चल्ने ट्याक्सी चालकका बोलीको अंश हो निबन्धको शीर्षक । ट्याक्सी चालकको यो प्रश्न राष्ट्रकवि माधव प्रसाद घिमिरेलाई पनि गरिएको हुन्छ । यो सत्य कुरा राष्ट्रकविका सुपुत्र राजीव घिमिरेले डिपी जैसीको स्ट्याटसमा प्रतिक्रिया जनाउँदा उजागर गर्छन् । यस निबन्धले काठमाडौंमा यात्रुलाई पैदल हिंड्नको सकस बोलेको छ । निबन्धकारले व्यक्तिगत अनुभूतिलाई पात्रको परिचय सहित प्रसङ्ग जोडेर सजाएका छन् । प्रौढावस्थाका दारुण दृष्य शब्दमा उतार्न स्रष्टाको सीप उत्कृष्ट छ ।
‘जीवनको मूल्य’मा पशुपति परिसरमा जम्मा भएका थरिथरिका मानिसको मनोविज्ञानलाई उतारेका छन् । निबन्धकारले आफ्ना आँखाबाट नियालेका पात्र, कल्पना गरेको परिवेश र अध्ययनबाट जानेका जीवनका अनेक रुचि, रहर र बाध्यतालाई मिसाएर मथ्नेकाम गरेका छन् । निबन्ध पढ्दा त्यसरी मथिएको मालबाट निस्किएको सारलाई जीवनको मूल्यको रूपमा अर्थ्याइएको छ । निबन्ध जीवन दर्शनले प्रदीप्त छ ।
‘विकीर्ण चिन्तन’ लाई निबन्धकारले पाल्पाली मित्रहरू राजेन्द्रगोपाल सिंह, केशवबहादुर थापा र विनोद नेपाल बीच बाठमाडौंमा भेटघाटको संयोग जुरेका सन्दर्भबाट निबन्ध शुरू गरेका छन् । मित्रहरूको खासियत जनाउने वाक्यहरू निबन्धमा परेका छन् । मित्र चतुष्ट्यका बीच हाँसो ठट्ट्यौली देखि गम्भीर दार्शनिक विषयमा समेत गफ चल्छन । जीवन दर्शनका आध्यात्मिक र आधुनिक उपागमलाई श्लोक, सन्दर्भ र संश्लेषणले पुष्टि गर्ने प्रयत्न गरिएको छ । वास्तवमा निबन्धमा विकीर्ण चिन्तन जीवन्त छ ।
परिवार, समाज र सरकारलाई चेत खुलाउने शिक्षाप्रद निबन्ध हो – ‘नग्नता देखि नग्नता’ । मानिस वस्त्रले शरीर छोप्ने प्राणी हो । त्यसैले नग्नताको अर्थ निर्वस्त्र मानिस भन्ने बुझिन्छ । तर निबन्धले शरीर निर्वस्त्र हुने कुरा मात्र गर्दैन अपितु चिन्तन, वचन र कर्ममा देखिने नग्नताको दृष्टिगोचर गर्दछ । महर्षि वेदव्यास आवरणमा नग्न हुँदैनन् तर उनको चिन्तन वासनायुत्त हुन्छ । वेदव्यास पुत्र सुकदेवको शरीर निर्वस्त्र हुन्छ तर उनको मनमा कुनै विषय वासना हुँदैन । यो सन्दर्भ सहित हृदय मोहिनी वाक्यले नग्नता देखि नग्नताको बयान गरिएको छ ।
निबन्धकार जन्मेहुर्केको गाउँठाउँको सुवास मगमगाउँछ ‘सीमान्त चेतना’ मा । मामुली विषयलाई पनि मार्मिक र गहन बनाउन सक्ने उनको सामर्थ्यले गर्दा दोहरिरहने गाउँठाउँका नाउ पनि नदोहरिएको झैं लाग्छ । मिठास र रुचिमा कत्ति कमी हुँदैन । शब्द शीतल छन् तर भावमा विभेदको पीडा दर्शिन्छ । उम्दा छ यो निबन्ध ।
स्रष्टाको आफ्नै जीवनको शिरपुछार हो – ‘हरपल कर्म पलपल जीवन’ । निजामती सेवाबाट अवकाश हुँदाको स्वाभाविकता, साठी नाघेको आयुको हर्ष र आफूले बनाएका मित्रको साथसहयोगलाई सन्तोषका आधार मानेर निबन्धको दाइँ हालेका छन् । कर्मशील जीवनका पक्षपाती स्रष्टाले हरपल कर्म गर्नाले पलपल जीवन उत्सवमय हुने ठोकुवा गर्छन् । शास्त्रका उपदेश, आफैंले देखेभोगेका घटना र आफ्नै उत्तरार्धका दैनिकी मिश्रण गरेर सिर्जना गरिएको निबन्धले राष्ट्रसेवकको पगरी गुथेकालाई उपदेशयुक्त गुदी पस्कन्छ ।
‘उद्यानमा बस गई…. ’मा पाल्पा खस्यौली घरको सम्पूर्ण परिवेशलाई टिपेर निबन्धकारले रैथाने स्वाद पस्केका छन् । घरको कडा अनुशासनको छनक दिन पनि भ्याएका छन् । कलकलाउँदा किशोरहरूले ग्वाला जाँदा गर्ने गफ र त्यसले सिर्जना गर्ने रोमाञ्चकको बयान पनि यसमा छ । भूल्ली नामकी पात्रको दैनिकीको चित्रण सारै मार्मिक छ । चन्द्रगुप्त मौर्य र विष्णुगुप्त चाणक्यको वार्तालापको लघुअंशले निबन्धलाई उचाइमा पुर्याएकोछ । परदेशी दाइले ल्याएको सानो पुस्तकमा महाकविको कविताको अंश ‘उद्यानमा बस गई सब तत्त्व खुल्छन्’ले स्रष्टालाई यो निबन्ध सिर्जना गर्न उत्प्रेरित गरेको बुझ्न सकिन्छ । त्यही अशंलाई सार्थक बनाउन गाउँघरका कथाव्यथा देखि पौराणिक महाभारतका प्रसंग मिसाएर सुन्दर निबन्ध निर्माण गर्न स्रष्टा सफल भएका छन् ।
लक्का जवान र फकिरको संवादले गृहस्थ र साधुको भिन्नता बोध गराउने निबन्ध हो – ‘त्यो मानव, यो मानव’ । यस निबन्धले आदिमकालको उन्मुक्त मानवको तस्वीर दर्शाउँछ । सभ्यताको विकाससँगै सम्पन्न र विपन्न धारमा विभक्त मानवको कथाव्यथा सुनाउँछ । मानव चेतनाका अनेक उपागमको यसमा चर्चा छ । लोभको परिपूर्तिलाई सम्भव तुल्याउन असम्भव छ । तर मानिस त्यसैका लागि कसरत गरिरहन्छ । सन्तोष कसरी हुने भन्ने शिक्षा यस निबन्धले दिएको छ ।
निबन्धकार परिवार, समाज, कार्यस्थलमा देखिने र सुनिने कुरालाई असाध्यै जतन गर्छन् ‘देवता, कुब्जासुन्दरी र बुढो खनियाको रूख’ निबन्धमा । यसमा आफ्नी हजुरआमाले वृद्धावस्थामा सपना र बिपनामा बताएका कुरालाई सजाएका छन् । देवता, कुब्जा सुन्दरी र बुढो खनियाको रूख बिम्ब हुन् । आस्था, विश्वास र आत्मीयताका पर्यायवाची छन् ती बिम्ब । पराक्रम, प्रशंसा र पहिचानको दिव्य दृष्टान्त हुन् यिनीहरू ।
निजामती अस्पतालमा खनाल एकजना सज्जनसँग वार्तालाप हुन्छ । त्यही वार्तालापलाई केन्द्रमा राखेर तयार पारिएको निबन्ध हो – ‘बुद्धिमानलाई पनि अर्तिको खाँचो छ’ । मामुली घटनालाई पनि फूलबुट्टा भरेर आकर्षक आकार दिन खप्पिस छन् खनाल ।
‘आँपको बगैंचामा जीवन दर्शन’ सत्य घटनामा आधारित छ । आँप दानी वृक्ष हो । यो वृक्ष फुल्छ र फल्छ । फलहरू पाकेर खान योग्य भएपछि वृक्षले फलदान गर्न अग्रसर हुन्छ । फुत्रुकफुत्रुक फल खसाइँदिदै जान्छ । मानिसहरू गदगद भएर आँप पान गर्न वृक्षमुनि झुम्मिन्छन् । माथि हाँगाबाट पाकेका पहेलपुर आँपका दाना तल खस्दै जान्छन् । आँप विटोर्न जम्मा भएकाहरू रमाउँदै जान्छन् । यस्तै यस्तै दर्शन समावेश छ प्रस्तुत निबन्धमा । विभिन्न पात्रलाई अघि सारेर निबन्ध सारगर्भित बनाइएको छ ।
‘फेटेर दिनुस्’ निबन्ध मार्फत स्रष्टाले आफ्नै गाउँ परिवेशलाई झल्काएका छन् । हुन त चियामा विस्कुट मिसाएर त्यसलाई फिट्ने र ग्राहकलाई दिने कार्य नै फेटेर दिनुस् हो । तथापि निबन्धकारले सो चुरोकुरोलाई मार्मिक, मनोहर र मनचिन्ते रूपमा आकार दिएका छन् । हटारुले पिठ्यूँमा बोकेर बजारका बस्तु गाउँ पुर्याउनुपर्ने त्यो जमानाका दिनचर्यालाई शब्दचित्रले सजाउन निबन्धकार कुशल साबित भएका छन् । निबन्ध पढ्दै जाँदा आफैँलाई बिर्सेर त्यही परिवेशमा निमग्न भइन्छ ।
फेरि पनि निबन्धकार जन्मथलोमै जोडिन्छन् – ‘सानी काफ्लीबाट जीवनलाई नियाल्दा’मा । घरदेखि अलि पर चौतारी छ । सानो काफलको रूखलाई घेरेर सो चौतारी चिनिएको छ । काफलका रूख त कति हुन्छन् कति । तर त्यो सानो रूखले नाम पाएको र प्रसिद्ध कमाएको छ । त्यही चौतारीमा बसेर जीवनलाई नियाल्ने काम गरेका छन् स्रष्टाले । सिद्धार्थ गौतमले पिपल वृक्षमुनि तपस्या गरेर बुद्धत्व प्राप्त गरेका थिए । खडेरी यामले शुष्क बनेको शरीरमा काफलको फल खाँदा जीउ सर्सिए झैँ निबन्ध पढ्दा जीवन प्रतिको चेत सर्सिन्छ । सानी काफ्लीको अङ्गालोमा बसेर निबन्धकारले आफ्ना अनुभवका रील घुमाउँछन् । अनेक दृष्य सामुन्नेमा आउँछन् । पूर्व पश्चिमका दार्शनिकको कालजयी भनाइको पनि स्मरण हुन्छ । सलल बगेको यो निबन्ध सन्देशका अनेक शृङ्खलाले सुशोभित छ ।
अतीतलाई गजबले अर्थ्याएको छ निबन्ध हो – ‘अतीत र आत्मबोध’ । सङ्ग्रहको नाम नै आत्मबोध हो । सिन्दूर हाल्नासाथ विवाह अतीत भयो जस्ता अनेक दृष्टान्त पस्केर अतीतको अर्थ सम्झाइएको छ । अतीत र आगत अनिश्चित अवधिका छन् । असीमित ! तर वर्तमान सारै छोटो छ भन्ने चेत प्रस्तुत निबन्धले दिन्छ । तथ्य र तर्कले अतीत शब्द सुसज्जित छ ।
‘अतीत नै दर्दको दीक्षान्त हो । अतीत नै आत्मबोधको जरिया पनि ।’ भन्ने लेखकको निष्कर्षमा सहमत हुन सकिन्छ । वेदान्तका प्रसङ्ग जोडेर आत्मबोधलाई छर्लङ्ग पार्ने कोशिश गरिएको छ । अहं ब्रह्मास्मी, तत् त्वम् असि, प्रज्ञानम् ब्रह्म जस्ता वेदान्ती सूत्रहरू निबन्धमा प्रयुक्त छन् । जीवनमा ज्योति भर्न आत्मबोध अपरिहार्य छ भन्ने सन्देश पाइन्छ ।
‘मेरा’ निबन्धमा प्रष्ट पारिएको छ – मायाले आफ्ना र पराया, मेरा र तेराको लक्ष्मण रेखा कोर्दछ । वासुदेव कृष्णका बालसखा अर्जुनलाई त्यही मेरा कारणले गर्दा युद्धमैदानमा युद्ध छेड्न हिचकिचाहट पैदा भयो । प्रस्तुत निबन्धमा मेरा शब्दको तात्पर्य अनेक दृष्टान्त र स्रष्टाको तर्कले सम्झाउने प्रयास गरिएको छ । मेरा को हुन को होइनन् भन्ने कुरामा स्थायित्व हुँदैन भन्ने अर्ति निबन्धले दिन्छ । आज मेरा भोली तेरा । आज आफ्ना भोली पराया । यही अन्तर्वस्तुबाट निबन्ध सजिएको छ ।
सङ्ग्रहको पुछारमा उभिएको निबन्ध हो ‘अचेल खस्यौली अबेरसम्म सुत्छ’ । यहाँसम्म पढ्दा लाग्छ– भागवत खनालका लागि खस्यौली मुटुको धड्कन हो । आँखाको नानी हो । शरीरको रक्त कोषिका हो । आस्थाको धरोहर हो । श्रद्धाको शिखर हो । जीवनको जग हो । चेतनाको पुञ्ज हो । पुर्खाको निशानी हो । यो अति प्यारो गाउँका बारेमा नलेखेर नबोलेर उनलाई भोक निद्रा लाग्दैन । जब लेख्छन वा बोल्छन उनको हृदय पुलकित हुन्छ । अचम्मको शान्ति मिल्छ । गर्वले छाती फुल्छ । टन्न खान्छन् । भुसुक्क निदाउँछन् ।
प्रस्तुत निबन्धमा खस्यौलीका बस्तीको कुरा छ । बासिन्दाको परिचय छ । विद्यालयको चिनारी छ । बजार तथा व्यापारको चर्चा छ । बाटोघाटो, विद्युत, सञ्चार जस्ता कनेक्टिभिटीको सुविधा छ । सिंचाई प्रणालीको जानकारी छ । श्रम, सीप, र पेशा व्यवसायको परिचय छ । सामाजिक सम्बन्ध, धर्म संस्कृति र रहनसहनको वर्णन छ । यी आयाममा समयले आधुनिकताको उपहार गाउँमा पुराएको छ । त्यसैले भालेको डाकोमा बिउँझने खस्यौली अहिले आइफोनको कलवेलमा बिउँझन बानी परेको छ । यसरी निबन्धकारको निष्कर्ष अचेल खस्यौली अबेरसम्म सुत्छ भन्ने टिप्पणी सटिक लाग्छ ।
खनालको ‘आत्मबोध’का अग्रपृष्ठको उपरिभागमा हल्का बादल मिश्रित नीलो आकाश, मध्य भागमा समुद्र र अधोभागमा जमीन प्रतीत हुने रङ संयोजन गरिएको छ । जमीन भागमा मानव आकृति छ । नितम्ब मुनीको भाग जमीनमा लुकेको दखिने सो मानव आकृतिले आफैंलाई अँगालो हालेको देखिन्छ । पुस्तक पढिसक्दा पाठकमा गुनगान गर्ने मनोविज्ञान बन्छ । खासै गुनासो उब्जँदैन । यद्यपि व्याकरण जानेकालाई शुद्धाशुद्धिमा सुझाव दिने ठाउँ भेटिन सक्ला, साहित्यका सिद्धहस्तलाई मिठास भर्न सल्लाह दिने ठाउँ भेटिन सक्ला । तर सामान्य पाठक र समीक्षकको हैसियतमा मेरो गुनासो छैन ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

