हामीले जिउँदै गरेको जिन्दगीको अर्को पल के हुन्छ ? कसलाई पो थाहा होला र ? यो पल जे छ, सोच्न नपाउँदै अर्को पल आइहाल्छ । यहाँ केही पनि रोकिएको हुन्न । जे छ त्यो हुँदैछको सिलसिलामा दौडिरहेको हुन्छ । आनन्दसँग रुखको हाँगामा बसेर नृत्य गरिरहेको पातलाई कुन झोक्काले झारेर पतिङ्गर बनाउने हो ! यो आँखाले देखिरहेको दृश्य, काम गरिरहेको हात, हिँडिरहेको पाइताला, चलिरहेको मुटु; कतिबेला सधैँको लागि बन्द हुने हो के थाहा ? आज मैले लेख्न खोजिरहेको कथाको जीवन्त पात्र पनि यही अप्रत्याशित, अनियोजित, अकल्पनीय घटनाको भुक्तभोगी हुन्।

दीपक नेपाली उर्फ दीप सिजन २०४५ साल असार २२ गते गोरखामा आमा देउमाया नेपाली र बुद्धिबहादुर मालबुलको सुपुत्रको रूपमा जन्मिएका हुन् । उनी पाँच सन्तानमध्येका जेठा छोरा हुन् । हाल लमजुङको बासिन्दा दीपक नेपालीको बाल्यकाल पनि त्यति सुखद बितेन । मुटुमा प्वाँल परेको कारणले ओरालो झर्दा कुनै समस्या नभएपनि उकालो चढ्दा स्याँस्याँ भएर हिँड्नै गाह्रो हुन्थ्यो । मुटु फुट्लाजस्तो हुन्थ्यो । लामो बाटो हिँडदा ठाउँठाउँमा बिसाएर हिँड्नु पर्थ्यो । अध्यनको भोक भने उनमा सानैदेखि थियो । लामो समय हिँडेर स्कुल जान्थे । मुटुको प्वाँलको पीडाले उनको पढ्ने इच्छाशक्तिलाई कहिले रोक्न सकेन । उनी कक्षामा कहिले दोस्रो भएनन् । शिक्षक र साथीभाइको प्रिय पात्र थिए । चञ्चले, जिस्किरहने, हाँसीमजाक गर्ने र हाँसो कहिले मुहारबाट नउतार्ने दिपकको स्वभाव थियो ।

एसएलसीपछि सबैको सल्लाहअनुसार उनी मुटुको शल्यक्रिया गराउन काठमाडौं पुगे । शल्यक्रियापश्चात् उनको जीवन सहज हुने आशा बोकेका थिए । शल्यक्रिया भयो र होस पनि आयो । जब होस आयो धेरै कुरा परिवर्तन भयो । बोल्न खोज्दा आवाज आएन । हातखुट्टा चलाउन खोज्दा चलेन । अचानक सबै कुरा गुम्यो । नदी बनेर सागर छुने सपना पोखरी बन्यो । चन्द्र छुने उद्देश्य खाटमा लम्पसार भयो । भोलि सुधार होला कि पर्सि होला भन्दाभन्दै वर्षौं बित्यो । एसएलसीभन्दा पर औपचारिक शिक्षा जान सकेन । दिनदिनै शरीर अररो हुँदै गयो । आवाज अस्पष्ट हुँदै गयो । हातका दस औँलामा एउटा मात्र चल्ने भयो । अहिले उनले जे जे कुरा मलाई बताए यी सबै त्यहीँ एउटा औँलाले मोबाइलको किप्याडमा टाइप गरेर लेखेका हुन् ।

सानैदेखि दीपकलाई लेख्न पढ्न मनपर्थ्यो । उनी पाठ्यसामग्रीबाहेक साहित्यका पुस्तक पनि निकै पढ्थे । पढ्दापढ्दै उनलाई लेख्न पनि मन लाग्यो । गजल र कवितामा कलम चलाउन थाले । शारीरिक पक्षघातले अहिले उनको मात्र एउटा औँला चल्छ । त्यो औँलाले कलम समाएर लेख्न सक्दैनन् । उनी भन्छन्, `एउटा मात्र औँला चल्छ, त्यही औँलाले मोबाइलमा लेख्छु ।´

जब उनको शारीरिक अवस्था बिग्रँदै गयो । उनको जीवनशैलीमा अकल्पनीय परिवर्तन आयो । सबै कुरा भताभुङ्ग भयो । दैनिकी कष्टकर बन्यो । हिँडडुल गर्न नसक्ने भए । आफैँ खाना खान पनि धौधौ भयो । हरेक कुरामा सहयोगी चाहिन थाल्यो । जीवन अस्तव्यस्त बन्यो । परिवारले गर्ने व्यवहार फरक भयो । समाजले हेर्ने दृष्टिकोण बदलियो । आफन्तले तिरस्कार गर्न थाले । साथीभाइ टाढिन थाले । जीवन वरदानबाट श्राप बन्यो । उनले अमिलो मन बनाएर भन्छन्, `हामी जस्ता अपाङ्गका लागि न परिवार हुन्छ्न् न त सरकार नै ।´

यस्तो अवस्थामा नकारात्मक सोच आउनु स्वाभाविक हो । आफ्नै अवस्था देखेर दया लागेर आयो । आँगनको डिलसम्म पुग्न पनि सहयोगी चाहिने भएपछि मन छिन्नभिन्न भयो । निराशाले धेरैपटक गिजोलिरह्यो । परिवार, आफन्त, साथीभाइले छि:छि दुरदुर गरेपछि आत्महत्याको प्रयास पनि गरे । तर आत्महत्यालाई पूर्णता भए दिन सकेनन् । आत्महत्या गर्न के कुराले रोक्यो भनेर सोध्दा, उनी भन्छन्, `जबजब जीवनमा उत्साह हराउँछ, म एउटै कुरा सोच्ने गर्छु; मलाई साथ, भरोसा,आँट दिने, यहाँसम्म पुग्न सपोर्ट गर्ने,सल्लाह दिने शुभचिन्तकको हौसला,प्रेरणा सम्झन्छु । अनि दृढ संकल्प गरेर मनमा आइहाल्छ । धेरैले लगाएको गुनको एक कित्ता मात्र भए पनि यो समाजलाई फिर्ता गरेर मात्र मर्न पाऊँ भन्ने कामना गर्छु ।´ उनी झमक घिमिरे र स्टेफन हंकिग्सलाई आफ्नो प्रेरणाको स्रोत मान्छन् । उनीहरू शारीरिक रूपमा कमजोर भए पनि कहिले हार नमानेर सफलता हासिल गरेको कुराले आत्मविश्वास दिन्छ उनलाई । झमक घिमिरेको `जीवन काँडा कि फूल´ पढेर धेरै पटक एकान्तलाई भिजाएका छन् । उनी भन्छन्`उहाँहरूले जत्तिकै समाजलाई योगदान दिन नसके पनि केही न केही त गर्छु कि भन्ने लाग्छ ।´

उनलाई अवसर पाएमा धेरै कुरा गर्न सक्छु भन्ने लाग्छ । उनलाई आफ्नै कमाइमा बाँच्न मन छ । आफ्नै खुट्टामा उभिन मन छ । उनलाई लाग्छ,`पकेट दह्रो भयो भने बाँच्ने हौसला पनि बढ्ने रहेछ ।´ उनका केही सिमित सपना छन् । पहिलो सपना भनेको एउटा फोटोकपी पसल खोलेर फिक्सड मूल्य राखिएका समान बेँच्ने पसल खोल्नु हो । अरू धेरै कुरा शारीरिक पक्षघातले सम्भव नभए पनि यस्तो किसिमको पसल खोल्न सके काम गर्न सक्ने इच्छाशक्ति उनमा छ । एकपटक यस्तै पसल खोले पनि तर आर्थिक अभावका कारण बन्द हुनपुग्यो । अर्को सपना हो साहित्यिक रचनाको किताब निकाल्ने ।

यसभन्दा अघि उनले वि.सं २०७१ सालमा `पुष्पदिप´ (गजल,कविता र मुक्तक) सङ्ग्रह प्रकाशित पनि गरेका छन् । अब गजल, कविता, उपन्यास र मान्छेका भोगाइको संवेदनशील पाटो केलाउने लेख रचना प्रकाशित गर्ने सपना रहेको छ । अनि उनको अन्तिम इच्छा हो आफ्नो स्वास्थ्यको उपचार गर्ने । उनको मुटुको शल्यक्रियापछि टाउकोमा नसाको रक्तसञ्चार रोकिएकोले पक्षघात भएको कारण बताइएको छ । यसको शल्यक्रिया गर्न १०-११ लाख रुपैयाँको अभावले गर्दा उनी कुजिँदै गएका छन् । कोही मनकारी संस्था वा व्यक्तिको सहयोग पाए उनको सपना पूरा हुन्थ्यो भन्ने आशा पनि राखेका छन् । सरकारले पनि कुनै सहयोग गर्दिए हुन्थ्यो भन्ने अपेक्षा पनि गर्दछन् ।

अहिले उनले अपाङ्ग भत्ता स्वरूप मासिक चार हजार सरकारबाट प्राप्त गर्छन् । बुवाको निधन भइसकेको छ । भाइहरू आफ्नोआफ्नो परिवार पाल्नमा व्यस्त छन् । उनको लालनपालन उनकी आमाले मेलापात,अधिया र निमेक गरेर गरिरहेकी छिन् । उनको लागि आमा भगवानको अर्को रूप हो । आमाको प्रशंसा र श्रद्धालाई देखाउन सकिँदैन भन्छन् । उनलाई मात्र एउटा कुराको दुख लाग्छ,`बुढेसकालमा आमालाई कमाएर खुवाउने बेलामा अपाङ्ग छोराको स्यारसुसारमा बिताउन परेको छ ।´

उनको प्रेमकथा एकदम वियोगान्त छ । कमला गुरुङसँग उनको एघारवर्ष प्रेम सम्बन्ध चलिरहेको थियो । छिट्टै प्रेमलाई विवाहमा रूपान्तरण गर्ने योजना थिए । अचनाक दुर्घटनामा प्रेमिका कमलाको देहान्त भयो । उनको जीवनमा खुसीहरू कहिल्यै धेरैबेर टिकेन । उनका खुसीहरू पालैपालो चुहिँदै गयो । खुसी उनको लागि फेब्रुअरी २९ जस्तो थियो जो आउनलाई वर्षौं कुर्नुपर्थ्यो अनि आउन नपाई जान हतार गर्छ । उनलाई अचेल खुसीदेखि डर लाग्छ । दुख उनको स्थायी साथी हो । अहिले पनि कमलालाई सम्झिएर उनी वर्षिन्छन् । सोच्छ्न, `यतिबेला कमला भएको भए एउटा लठ्ठी त हुन्थ्यो ।´

उनको जीवनको पहिलो प्रेम यसरी गुमाए अब अर्को प्रेमको लागि कहिले सोच्न पनि सक्दैनन् र सम्भव पनि नहोला लाग्छ उनलाई ।

उनलाई जीवन के हो भनेर सोध्दा उनले भने,”जीवन दुख पनि हो सुख पनि हो, मेरो अनुभवमा । त्यो आफ्नो-आफ्नो भोगाइले तय गर्ने हो कि जस्तो लाग्छ । सुख पाउनेहरूले जीवन स्वर्गभन्दा हुन्, दुखाइ सहेर बाँच्नेहरुले जीवन पीडा हो भन्छन् ।”

प्रेम गर्नेहरुको लागि सबैथोक यही हो भन्लान् ।आ-आफ्नो भोगाइअनुसारको परिभाषा होलान् जीवनका तर मेरो भोगाइमा चाहिँ जीवन दुख पनि हो, सुख पनि हो अभाव पनि हो, हाँसो पनि हो खुसी पनि हो । समग्रमा जीवन इन्द्रेणी हो, रङ्गहरू घोलिँदै जाँदा कहिले रङ्गीन त, कहिले फिक्का कहिले गाढा, कहिले चम्किलो अनि कहिले मधुरो ।

सुखभन्दा दुख बढी देखेका दीपकलाई सुखदुख के रहेछ  भनेर सोध्दा यसो भन्छन्, “सुख र दुख सिक्काको दुई पाटाजस्तो हो जहाँ एक पाटो छोपिए अर्को पाटो देखिन्छ नै, सुखको पाटो छोपिए दुखको देखिन्छ, दुखको छोपिए सुखको निश्चित छ नि, यो त…त्यस्तै हो जिन्दगीमा सुखदुख, भाव अभाव सबै आउँछन्, जान्छन् । दुख छ र नै सुख हुन्छ, खुसी छ र नै हाँसो हुन्छ ।”

उनीसँग फुर्सदै फुर्सद छ । केही गर्छु भन्दा पनि आर्थिक समस्या र शारीरिक अवस्था तगारो बनेको छ । आफ्नो फुर्सदको समयलाई उनले पुस्तक पढेर, साहित्य सिर्जना गरेर, फेसबुकमा च्याट गरेर, गीतसंगीत सुनेर, मोबाइलमा गेम खेलेर बिताइरहेका हुन्छन् । उनी आफूलाई सकारात्मक राख्न अत्यधिक कल्पना शक्तिको प्रयोग गर्छन् । कल्पनाले उनलाई कहिले हरेस खान दिँदैन । विदेशमा फरक क्षमता भएका मानिसलाई सरकारले संरक्षण गर्ने, उनीहरूको प्रतिभा माझ्ने, अवसर दिन्छन् तर नेपालमा खासै प्रोत्साहन गरेको देखिन्न ।

उनी भन्छन,”अरु देशमा परिवारमा कोही अपाङ्गता भयो भने हाम्रो लागि सेवा गर्ने अवसर दिएका हुन् भगवानले भनेर सेवा गर्छन् रे तर हाम्रो समाजमा भगवानको श्राप परेको भन्दै छि:छि दुरदुर अपहेलना गर्ने गर्छन्; यो सोच बदलिएको दिन कस्तो होला हाम्रो देश ? यो सोचमा परिवर्तन भएको दिन, सरकार पनि हाम्रो पक्षमा हुन्छ कि भन्ने लाग्छ ।”

*****

उनका केही कविता र गजल पनि यसै लेखमा प्रस्तुत गर्न मन लाग्यो । जसमा उनले आफ्नै समस्यालाई पनि लेखेका छन् :

मलाई विश्वास छ
अवश्य आउने छ
मेरो शरीरमा अझै नयाँ ऊर्जा भरेर,
खाली मस्तिष्कमा ज्ञान उमारेर
नयनमा छुट्टै सपना सजाएर,
हत्केलामा हजारौं जिम्मेवारी थुपारेर,
पैतालामा स्वाभिमानमा टेकाएर
अवश्य आउने छ
मैले देखेको मुक्तिको सपना
एकदिन लौरो टेक्दै-टेक्दै भए पनि
आउने छ

उज्यालो घाम लिएर
मेरो बैँश फर्किनेछ
मलाई अटुट विश्वास छ
अवश्य आउनेछ
एकदिन सुन्दर बिहानी लिएर
अवश्य आउनेछ
सदा वहार
यही साघुँरो संसारमा निभ्न लागेको दियोझैँ जिउनु पर्ने
मेरो आगत र अनागतलाई चिरेर
एकदिन मेरो खुसीको फेरो
मेरै समीप आउनेछ
मलाई विश्वास छ
मेरो खुसीको दिन
जरुर आउनेछ

मेरा जिन्दगीका पीडासँग साटिएर आउनेछ
मेरा आँसुसँगसँगै बगेर जानेछ दुख

सुखको नदी उर्लेर आउनेछ र मलाई बगाएर
लानेछ त्यो पारीको बस्तीमा…

*****

मेरो जातको खिर चल्छ भात नचल्ने साहेब किन हो ?
दलितको पेशा चल्छ जात नचल्ने साहेब किन हो ?

मान्छेको के कुरा र ,भगवान पनि स्वार्थी छन् यहाँ हेर्नुस्
मन्दिरमा पनि फूल चल्छ, पात नचल्ने साहेब किन हो ?

सकेसम्म नारीलाई नङ्ग्याउन मात्रै खोज्छ हर पुरुष
लुकीछिपी मजा चल्छ तर साथ नचल्ने साहेब किन हो ?

दिनमा लुटे नेता हुन्छौ ,राति लुटे डाँका रे, यही भन्थ्यो भैरे
बेला हेरी लुट्न सिक, दिन चल्छ, रात चल्दैन साहेब किन हो ?

*****

हाम्रो देशमा प्रज्ञा प्रतिष्ठान छ । तर किन खोज्न सक्दैन यस्ता प्रतिभाहरूलाई ? सीमित व्यक्तिको समालोचना छाप्नै व्यस्त छ । दोहोरिरहने सर्जकलाई अटाउनमा नै मस्त छ । फरक क्षमता भएका सर्जकलाई समेटेर उनीहरूको सिर्जनालाई किन छाप्न सक्दैन । निजी प्रकाशनगृह पनि च्याउझैँ उम्रेका छन् । उनीहरूलाई त व्यापार मात्रै गर्नु छ । कसैले यस्ता प्रतिभालाई अवसर दिएर किन सामाजिक दायित्व निर्वाह गर्न सकिरहेको छैन ? दीपक नेपालीहरू जस्ता धेरै छन् समाजमा, जसले एउटा अवसरको प्रतीक्षा गरिरहेका छन् । उनीहरूको हौसला र प्रेरणा बन्न सक्ने मनहरूलाई पनि दीपक नेपालीहरूले पर्खिरहेका छन् ।

दीप सिजनसँग जोडिन फेसबुकमा यही नामबाट जोडिन सकिन्छ अथवा इमेल आइडी ; apangadipaknepali99@gmail.com मा सम्पर्क गर्न सकिन्छ ।