पाल्पाका कवि आर.बी निश्चल तीन दशकदेखि साहित्य कर्ममा तल्लीन छन् । हालसम्म मौन हिमाल (२०६२), सपना फूल (२०६२), आँसु खस्दै गर्छ (२०६३), पैताला पुकार (२०७३), र किस्ताकिस्तामा जिन्दगी (२०७६) प्रकाशित छ भने गएको हप्ता मात्रै उनका कृतिमा थपिएको अर्को कवितासंग्रह हो, ‘उल्टो धार’। शिक्षण पेशामा आबद्ध रहेका उनका सिर्जनामा जातीय विभेद, विसङ्गति, सीमान्तकृत मुद्दा, अस्तित्व र दर्शनको झिल्का भेट्न सकिन्छ ।
प्रस्तुत छ, उनै आर.बी निश्चलसँग साहित्यपोस्टका लागि जनक कार्कीले गरेकाे कुराकानीकाे सम्पादित अंशः
यहाँले गएको हप्ता मात्रै आफ्नो नवीनतम कवितासंग्रह ‘उल्टो धार’ सार्वजनिक गर्नुभएको छ । उल्टो धारको विम्बले कस्ता कविताहरूलाई बोकेको छ ?
— ‘उल्टो धार’मा समय चिन्तन, प्रश्न र आफ्नै आँखा गरी ३ वटा खण्डमा ४८ कविता समेटिएको छ । यसमा अस्तित्व, समय, जीवन, प्रेम, र नारी विषयक कविता समेटिनुका साथै, समाजमा व्याप्त छुवाछुत कुप्रथाको विरोध गरिएका कविता समेटिएको छ । बहुमत जनले विश्वास गरिएका र सत्य ठानिएका कतिपय विषय गलत हुन पनि सक्छन् । ती विषयको विरुद्धमा बोल्ने अथवा सुरुमा उल्टो धारमा बग्न दुःसाहस गर्ने व्यक्ति सुरुमा एक्लै हुन्छ । तर अन्ततः उल्टो धार सुल्टिन्छ र सुल्टिनु पर्छ भन्ने भावका कवितालाई ‘उल्टो धारְ’ले बोकेको छ ।
यहाँ करिब तीन दशकदेखि कविता र साहित्यका अन्य विधामा निरन्तर कलम चलाइरहनुभएको एउटा अथक स्रष्टा हुनुहुन्छ । मोफसलमा बसेर साहित्य कर्म गर्न कत्तिको चुनौती देख्नुहुन्छ ?
— चुनौती त थुप्रै छन् । मुख्य चुनौती चाहिँ प्रकाशन गर्न र पाठकसम्म पुग्नु नै हो । प्रचारप्रसार गर्न पनि चुनौती छ नै ।
हामीहरू कविता त लेखिरहेका छौँ । कवितामा सीमान्तकृत, विभेद, विसङ्गतिदेखि लिएर धेरै विषयवस्तुले कवितामा स्थान ओगटेको पनि हुन्छ । तर जसको लागि कविता लेखिएको हो उसलाई नै थाहा हुन्न । कविता आम जनतासम्म नपुग्नुको कारण के देख्नुहुन्छ ?
— जसको निम्ति कविता लेखिएको हो उसलाई नै थाहा नहुनु दुःखद पक्ष हो । तर पनि कला, साहित्यले सीमान्तकृतका, विभेद र विसङ्गतिका विरुद्ध आवाज उठाउन छोड्नु हुन्न । सीमान्तकृत, विभेद वा विसङ्गति शून्यमा सिर्जना हुँदैनन् । यी विषयसँगै मूल धारको, विभेद गर्नेको अनि विसङ्गतिमै रम्नेको पनि कुरो आउला । नारीमुक्तिको कुरा गर्दा पुरुष जोडिन्छ । दलितमुक्तिको कुरा गर्दा कथित उच्च जात नजोडिने कुरा हुँदैन । पीडित छ भनेपछि पिडक हुने नै भयो । पिडकले बुझिदिने हो भने पीडित पीडित नै रहँदैन कि ?
ब्युँझिएकाले मस्त निद्रामा सुतिरहेकालाई नब्युँझाउने हो भने संसार सधैँ कुरूप र अन्धकार नै रहन्छ । एक रोगी डाक्टर बन्न नसके पनि डाक्टरले रोगीको रोग निको पार्न सक्छन् र पार्नु उनीहरूको कर्तव्य हो । यसको अर्थ सुतिरहेकाहरूले ब्युँझन, र रोगीहरूले आफू निको हुन प्रयास नगर्ने भन्ने होइन । मुटुको धड्कनलाई हामीले ख्याल नगरे पनि त्यो चलिरहन्छ र त जीवन चलिरहेछ ।
प्रविधिको विकासले गर्दा अहिले जसको निम्ति कविता लेखिएको हो ऊसम्म पुग्न केही सहज भएको छ । कविता आम जनतासम्म पुग्न पहिलो कुरा शिक्षा र चेतना हुनुपर्छ ।
एउटा कविले समाजलाई आम मान्छेले भन्दा फरक दृष्टिकोणबाट पक्कै हेर्छ । कवि भएर जिउनु भनेको के रहेछ ?
— आहा ! कति सुन्दर प्रश्न ! कवि पनि आम मान्छे नै हो । उसका पनि तिर्खा, भोक र अनेक इच्छा/आकाङ्क्षा हुन्छन् । तर, तीबाहेक अस्तित्वले उसलाई अज्ञात सत्यका झिल्काझिल्की दर्शन गर्न सक्ने दिव्य दृष्टि प्रदान गरेको हुन्छ । मलाई लाग्छ- कवि भएर जिउनु भनेको एक अर्थमा “पागल” हुनु हो । र, अर्को अर्थमा, एकै निमेषको निम्ति भए पनि बुद्धत्व प्राप्तिको, एक झिल्को प्रकाशको अनुभव गरी सच्चिदानन्दमा बाच्न पाउनु हो।
तपाईंको दृष्टिकोणमा कविता भनेको के हो र यसले समाजमा कस्तो प्रभाव पार्न सक्छ ?
— दर्शनबीज जब कविहृदयको भावभूमीमा छरिन्छ, तब काव्यपुष्प फक्रिन्छ । समाजमा कविताले पार्ने प्रभाव अनेक हुन सक्छन् । सशक्त र स्पष्ट भाव भएका कतिपय कविताले बिस्तारै विचार परिवर्तन गरी मान्छेको बानी व्यवहार समेत परिवर्तन गर्न सक्छन् ।
तपाईंले यो कवितासंग्रह ‘नवीन सत्य, सौन्दर्य र अस्तित्व देख्नेलाई’ भनेर समर्पण गर्नुभएको छ । यो सबै गुण हुन मानिसमा के हुनुपर्छ ?
— जिज्ञासु प्रवृत्ति । जीवन के हो ? अस्तित्व के हो ? हामी किन अस्तित्वमा छौँ ? यो ब्रह्माण्ड के हो ? जस्ता जिज्ञासामा घोत्लिने हो भने रहस्यका पर्दाहरू बिस्तारै आफै खुल्दै जान्छन् वा खोज अनुसन्धानको बाटोमा लाग्न उत्प्रेरित गर्छन् जस्तो लाग्छ ।
यसै संग्रहमा एउटा कविता छ, ‘नयाँ कविता : पुरानै भाव’ यो कविता मार्फत एउटा कवि आफ्ना चेतनामा धर्मसंस्कार, परम्परा, विभेद, छुवाछुत आदि बोकेर हिँडिरहेका छन्; बारम्बार नयाँ कवितामा पुरानै भावलाई दोहोर्याएको आरोप लगाउनु भएको छ । नयाँ कवितामा नयाँ भाव ल्याउन एउटा कविले आफ्नो चेतनामा अब कस्तो परिष्कृत गर्न पर्ने देख्नुहुन्छ ?
— हुन त ‘नयाँ’को परिभाषा पनि सापेक्षमा हेर्नु/गर्नुपर्छ होला । तर, कतिपय अमानवीय व्यवहार छाड्न भने मानवतावादी, जीवनवादी र जीवनप्रेमी हुनुपर्छ भन्ने लाग्छ ।
कविता संग्रहभित्र विभेद र छुवाछुतका मुद्दालाई आधार बनाएर धेरै कविताहरू लेखिएका छन् । तपाईं आफै पनि दलित समुदायको प्रतिनिधित्व गर्नुहुन्छ । यहाँसँग छुवाछुतले पारेको मानसिक आघातको सिङ्गो कथा छन् । मलाई जान्न मन लागेको एउटा दलित समुदायको बाल्यकालले जब छुवाछूत प्रथासँग जम्काभेट गर्छ । त्यसको मनोवैज्ञानिक असर कस्तो खालको हुन्छ ?
— त्यसलाई शब्दमा व्यक्त गर्न गाह्रो हुन्छ । देखाउन खोज्दा पनि आइसवर्ग झैँ धेरै भाग लुकेर थोरै मात्र देखिन्छ । मेरो अनुभवमा त्यस्ता घटनाले मानसिक पक्षाघात गराउँछन् । यो त्यस्तो मानसिक रोग हो जुन रोगले छुवाछुत गर्ने र भोग्ने दुवैमा उस्तैउस्तै किसिमले कुरूप तर बलियो असर पार्छ । त्यसैले नै मजस्ता धेरैले यस्ता घटना भोगिरहेका छौँ र भोगाउनेले त्यो भोगाइरहेकै छन् । त्यो आघात निकै पिडादायी हुन्छ । यस्ता घटना अवचेतनमा गहिरो गरी बस्ने भएकोले त्यो हाम्रो जीवन प्रणाली, व्यवहार बनिसकेको हुँदो रहेछ । बच्चैमा पिँजडामा राखेको चरोलाई बर्षौंपछि खुला आकाशमा छोडिदिँदा उड्न कठिन भए झैँ हुँदो रहेछ ।
तपाईंले एउटा कवितामा भयंकर विम्बको निर्माण गर्नुभएको छ, ‘जात क्वारेन्टाइन’को । यो मानव सभ्यताको सबैभन्दा घृणित अभ्यास पनि हो । निश्चित जातलाई कथित तल्लो जात भनेर यो समाजले शताब्दीदेखि क्वारेन्टाइनमा राखेको कुरा लज्जास्पद सत्य हो । कथित ठूला जातले मान्छेलाई जात क्वारेन्टाइनबाट किन निकाल्न सकिरहेको छैन ?
— उनीहरूले निकाल्ने ? उनीहरू त यसलाई नयाँनयाँ रूप र ढङ्गमा कायम राखिराख्न चाहन्छन् (केही अपवाद बाहेक) । बरु, किन राख्न चाहन्छन् भन्नुहुन्छ भने कारण यी हुन सक्छन् ।
स्वार्थ – राजनीतिक, आर्थिक, सामाजिक आदिआदि कारण ।
अहंकार – मै मात्रै जान्नेबुझ्ने र मै मात्रै ठूलो हुँ भन्ने ।
आरक्षण – सत्ता र शक्तिमा रहिरहन गरिएको षड्यन्त्र हुनाले उनीहरू ( धर्म ?)आरक्षण छोड्न चाहन्नन् । यो तोडियोस् भन्ने चाहन्नन्।
तपाईंलाई दार्शनिक कविको उपमा पनि दिइएको छ । यो युगलाई तपाईंले छोड्न खोजेको दर्शन के हो ?
— उल्टो धारमा प्रा. डा. गोबिन्दराज भट्टराईले ‘यो संग्रह केही दर्शन …’ लेख्नुभएको, ‘जगदम्बा नेपाली साहित्यको बृहत् इतिहास’ पुस्तकमा प्रा. डा. लक्ष्मणप्रसाद गौतमले ‘उनका कवितामा… आध्यात्मिकता र दार्शनिकता सबैभन्दा बढी पाइन्छ भनी उल्लेख गरेको’ र ‘पाल्पाको भाषा, कला, साहित्य र संस्कृति’ पुस्तकमा ‘पाल्पाली कवि र कविताको संक्षिप्त इतिहास’ शीर्षक लेखमा डा. शंकरप्रसाद गैरेले आर. बी. निश्चलको परिचय दिने क्रममा ‘दार्शनिक कवि’ उल्लेख गर्नुभएकोले होला ।
उल्टो धारमा संग्रहित ‘आह्वान’ शीर्षक कवितामा लेखेको छु –
“समयनदीमा धर्महरू, दर्शनहरू मिसिँदै गर्छन्, मिसिन दिऔँ
तर
ती धर्म र दर्शनको रंग, प्रतिबिम्ब हाम्रो अनुहारमा नदेखियोस्
त्यो विचारको ज्योति हाम्रा आँखामा नचम्कियोस्
त्यो दर्शनको प्राण हाम्रो हृदयमा नधड्कियोस्
त्यो दर्शनको वाणी हाम्रो जिब्रोबाट प्रकट नहोस्
हामीभित्र छुट्टै दर्शन छ, साधनाले फुलाउनु छ
बन्द छन् आफ्नै आँखा ज्ञानको ज्योति खुलाउनु छ
अर्को एक कविता छ – हेर्नू छ : आफ्नै आँखाले । “
यिनै कवितांशको आधारमा मेरो विचार प्रस्ट हुन्छ होला ।
‘प्रमाण पेश गर्न’ भन्ने शीर्षकको कवितामा लेखिएको छ :
उसो त हाम्रा कयौं कर्तव्य छन्
तर, एउटा प्रमुख कर्तव्य बाँकी नै छ – आफू ज्युँदै रहेको प्रमाण पेश गर्न ।
तपाईंको यो कविताले विभेदमा परेका र सीमान्तकृतका लागि युग बोलेको कविता हो । यहाँ विभेद र सीमान्तकृतका नाममा राजनीति गरिएको हुन्छ । अहिले दलित साहित्य सौन्दर्यको कुरा पनि अभियानको रूपमा चलेको छ । दलित साहित्य र प्रभावको अवस्था के देख्नुहुन्छ ?
— दलित साहित्यको विज्ञ म होइन । सकेसम्म अध्ययन गर्ने गर्छु । मैले बुझेसम्म दलित साहित्य र प्रभावको अवस्था नित्य फुल्दो-फक्रिंदो र सुवास फैलँदो छ । यो निरन्तर विकसित हुँदै आइरहेको छ । भविष्य उज्ज्वल देखिन्छ ।
तपाईंले कवितामा धर्म, अध्यात्म, दर्शन हुँदै विज्ञानमा विश्वास सरेको र त्यहीँ मन अडेको कुरा पनि लेख्नुभएको छ । के विज्ञान नै अन्तिम सत्य हो ?
— अन्तिम सत्य भन्ने कुरो पनि सापेक्षतामा हेर्नुपर्छ। म तपाईंसँग संवाद गर्दै छु- यो अहिलेको सत्य हो तर अन्तिम होइन । सत्य नदीको पानी झैँ नित्य बगिरहन्छ । हाम्रो संवाद हुँदै गर्दा पनि कति सत्य बदलिसके । अन्तिम सत्य खोजको विषय हो । यो रहस्यले गर्दा नै जीवन बाँच्नुको आनन्द आइरहेछ ।
संसारलाई अब धर्मको आवश्यकता छ कि छैन ?
— कति प्रश्न यस्ता हुन्छन् जसको उत्तर ‘हो’ वा ‘होइन’ र ‘छ’ वा ‘छैन’ मा दिन अत्यन्तै कठिन हुन्छ । तथापि यति भन्छु – मन्दिर तपाईंको गन्तव्य हो भने सिँढी त्यहाँ पुग्ने माध्यम । सिँढीको पूजा गर्न थालियो भने मन्दिरमा नपुग्न सकिन्छ । धर्म बाटो हो – आवश्यकता छ हिंडौं, छैन त नहिंडौं । धर्म साधन हो, साध्य होइन ।
कविताले तपाईंलाई के कस्तो परिवर्तन गरायो ?
आफ्नो सौन्दर्य भावले सम्मोहित गरेर आफूबिना बाँच्न कठिन हुने कविताप्रेमी बनाएको छ । झिलिक्क चम्किने बिजुलीलाई पक्रिन खोज्ने पागल बनाएको छ । तर, आफू सपनाझैँ, कल्पनाझैँ घरीघरी आउने-जाने गर्छ । मलाई शान्ति र एकान्तप्रेमी बनाउनुको साथै कल्पनामै हराउँदा आनन्द आउने बनाएको छ ।
अन्तमा स्वतन्त्रताको अभ्यास गर्दै मन लागेको कुरा भन्नोस् भन्छु ।
— यो महत्त्वपूर्ण अवसर र यति राम्रा अनि गहिरा प्रश्नको निम्ति तपाईंप्रति कृतज्ञता अनि आभार प्रकट गर्दै धन्यवाद भन्छु ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।