केदारनाथ सिंह

हात

उसको हात
आफ्नो हातमा राखेर
मैले सोचेँ –
यो संसार हातजस्तै न्यानो र सुन्दर हुनुपर्छ !

****

तिमी आयौ

तिमी आयौ
जसरी गेडागुडीमा बिस्तारै-बिस्तारै रस आउँछ
जसरी हिँड्दाहिँड्दै कुर्कुच्चामा काँडा बिझ्छ !

तिमी देखियौ
जसरी कुनै बच्चाले कथा सुनिरहेको हुन्छ !

तिमी हाँस्यौ
जसरी तटमा पानी गुञ्जिन्छ !

तिमी चल्यौ
जसरी पात हल्लिन्छ !

जसरी लालटिनको सिसामा
बत्ती काँप्दछ !

तिमीले छोयौ
जसरी घामको प्रकाशमा
बिस्तारै बिस्तारै उड्छ – भुवा

र अन्तिममा
जसरी हावाले खेतमा गहुँ पकाउँछ
तिमीले मलाई पकायौ !

उसैगरी
जसरी दाना भुसबाट अलग्याइन्छ
तिमीले मलाई आफूबाट अलग्यायौ !

*****

जानु

म जाँदैछु – उनले भनिन्
जाऊ – मैले उत्तर फर्काएँ

यो थाहा हुँदाहुँदै कि
जानु हाम्रो भाषाको सबैभन्दा खतरनाक क्रिया हो !

****

एउटा पारिवारिक प्रश्न

सानोसानो आँगनमा
आमाले रोप्नुभयो
तुलसीको दुईवटा बिरुवा

बुवाले उमार्नु भएको छ
छत ढाक्ने पीपल

म आफ्नो यो सानो गुलाब
कहाँ रोपूँ ?

मुठ्ठीभर प्रश्न बोकेर
दौडिरहेछु वन-वन
पर्वत-पर्वत
बालुवा-बालुवा
व्यर्थमा !

*****

आउनु

आउनु
जब समय मिल्छ
जब समय मिल्दैन
आउनु

जसरी हातमा आउँछ जाँगर
जसरी धमनीमा आउँछ रगत
जसरी चुल्होमा बिस्तारै बिस्तारै आउँछ, आँच
आउनु

आउनु जसरी वर्षातपछि
पानीको फोक्कामा
नयाँनयाँ काँडा आउँछ

दिनलाई चिर्दै-फुटाउँदै
कसमको धज्जी उडाउँदै
आउनु

आउनु जसरी मंगलपछि
बुध आउँछ
आउनु !

****

उचाई

म त्यहाँ पुगेँ
डराएँ

मेरा सहरबासीहरू
यो कुरा कति भयानक छ कि
सहरको सारा सिँढीहरू मिलेर
जुन महान् उचाईसम्म पुग्छ
त्यहाँ कोही बस्दैनन् !

*****

प्रतीक्षा नगर

जे भन्नू छ भनिदेऊ
नत्र यस्तो हुनसक्छ कि
भन्नुको कुनै अर्थ नरहोस् !

****

सियो र धागोको बिचमा

आमा मेरो एक्लोपनलाई लिएर सोच्दै हुनुहुन्छ
पानी झरेको छैन
तर झर्न सक्छ कुनै पनि समय
मलाई बाहिर जानु छ
आमा मौन हुनुहुन्छ कि मलाई बाहिर जानु छ

यो पक्का छ कि
म बाहिर गएँ भने आमालाई भुल्नेछु
जसरी
भुल्नेछु आमाको कचौरा गिलास
र त्यो सेतो साडी जसमा कालो किनारा जडित छ
म एकदम भुल्नेछु
जसलाई यो सम्पूर्ण दुनियाँमा
आमाले मात्र पहिरिनु हुन्छ

त्यसपछि जाडोयाम आउने छ
मैले देखेको छु
जब जाडो आउँछ
आमा थोरै झुक्नुहुन्छ-
आफ्नो छायातर्फ
छायालाई लिएर आमाको विचार एकदम कडा छ
मृत्युको विषयमा भने कोमल
पंक्षीको बारेमा आमाले कहिले केही भन्नुहुन्न
जबकि निन्द्रामा आमा स्वयं
पंक्षी जस्तै देखिनुहुन्छ

आमा थाकेपछि
सियो र धागो समाउनुहुन्छ
मैले देखेको छु
जब सबै सुतेका हुन्छन्
तब सियो चलाउने उहाँका हात
अबेर रातसम्म
समयलाई बिस्तारै बिस्तारै सिउनुहुन्छ
मेरो फाटेको कुर्था जस्तै

बितेको साठी वर्षमा
एउटा सियो र धागोको बिचमा
दबिनु भएको छ, आमा

वास्तवमा उहाँ स्वयं
चर्खा हो
जहाँ साठी वर्ष बुनिएको छ
बिस्तारै तहमाथि तह
सघन खस्रो
साठी वर्ष !

*****

सियो र धागोको बिचमा

आमा मेरो एक्लोपनलाई लिएर
सोचिरहनु हुन्छ
पानी झरेको छैन
तर झर्नसक्छ कुनै पनि समय ।

मलाई बाहिर जानु छ
आमा मौन हुनुहुन्छ कि मलाई बाहिर जानू छ
यो पक्का छ कि
म बाहिर गएँ भने आमालाई बिर्सिनेछु
जसरी भुल्नेछु- आमाको कचौरा,गिलास
र त्यो सेते सारी जसमा कालो किनारा छ
म एकदम भुल्नेछु
जसलाई यो सम्पूर्ण दुनियाँमा
आमाले मात्र पहिरिनु हुन्छ

त्यसपछि जाडो आउने छ
मैले देखेको छु-
जब जाडोयाम आउँछ
आमा त्यतिबेला थोरै झुक्नु हुन्छ –
आफ्नो छायातर्फ
आमाको विचारमा छाया एकदम कठोर छ
भने मृत्यु एकदम कोमल
पंक्षीको विषयमा आमाले केहि भन्नुहुन्न
जब कि निन्द्रामा आमा स्वयं पंक्षी जस्तै देखिनुहुन्छ

जब आमा थाक्नुहुन्छ
सियो र धागो लिनुहुन्छ
मैले देखेको छु-
जब सबै सुतेका हुन्छन्
सियो चलाउने उहाँको हात
अबेर रातसम्म
समयलाई बिस्तारै बिस्तारै सिउनुहुन्छ
मेरो फाटेको कुर्था सिए जस्तै

साठीवर्षको अन्तरालमा
एउटा सियो र धागोको बिचमा
दब्नु भएको छ आमा

बास्तवमा उहाँ स्वयं चर्खा हो
जहाँ साठीवर्ष बुनिएको छ
बिस्तारै तह तहमा
सघन खस्रो
साठीवर्ष ।

***

दुई व्यक्ति

सडक किनारामा
कस्तो चुपचाप हिँडिरहेका दुई व्यक्ति
तिम्रो सहरलाई कति धेरै अनन्त बनाइदिन्छन्
तिमीले कहिले सोचेका छौ ?

***

पुँजी

सारा सहरमा जाँच पडताल गरेपछि
यो नतिजामा पुगेको छु –
यो विराट सहरमा
मेरो सबैभन्दा अनमोल पुँजी भनेको
मेरै चलिरहेको सास हो

मेरो छातीमा बन्द भएको यो सूक्ष्म पुँजी
जसलाई म स्वयं खर्च गर्छु
थोरैथोरै प्रत्येक दिन

यस्तो होस्
एकदिन म उठूँ
यो सहरको आखिरी मोडमा
जहाँ सासाना जनबैंक छन्
त्यहाँ जम्मा गरेर आऊ सास

सोच्छु,
त्यहाँबाट जेजति ब्याज मिल्नेछ
बडो ठाँटले जिउन सकूँ
कयौं जन्म !

भावानुवाद : जनक कार्की